सिमकोट स्वास्थ्य सेवामा जिल्लाकै अब्बल



हुम्ला ।

जिल्लाको सिमकोट गाउँपालिकाले हुुम्लाका अन्य स्थानीय तहलाई पछि पार्दै स्वास्थ्य सेवा प्रवाह र कार्यसम्पादनमा अग्रता हासिल गरेको छ । भौगोलिक विकटता, सीमित स्रोतसाधन र स्वास्थ्य सेवामा देखिँदै आएको चुनौतीका बीच आर्थिक वर्ष २०८२–८३ मा गाउँपालिकाको स्वास्थ्य शाखाले सम्पादन गरेका कामको मूल्यांकनमा जिल्लाका सात स्थानीय तहमध्ये पहिलो भएको हो ।जिल्ला स्वास्थ्य सेवा कार्यालयले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा गर्दै स्थानीय तहका स्वास्थ्य शाखाको कार्यसम्पादनलाई ४३ वटा सूचकमा मापन गरेको थियो । तीमध्ये सिमकोटले ३५ वटा सूचकमा सफलता हासिल गर्दै ७९ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य सेवा कार्यालय निमित्त प्रमुख चिकित्सक भीमबहादुर बुढाले जानकारी दिए ।

यो नतिजाले सिमकोटको स्वास्थ्य क्षेत्रमा भएको प्रगतिलाई अंकमा मात्र सीमित नगरेको उनले बताए ।उनले भने, ‘स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा, वार्षिक प्रगति, स्वास्थ्य क्षेत्रलाई स्थानीय सरकारले दिएको प्राथमिकता, स्वास्थ्य संस्थाको संस्थागत विकास र समग्र कार्यसम्पादनजस्ता पक्षमा मूल्यांकन गरिएको थियो ।’ यस्तै स्वास्थ्य सेवाको कार्यसम्पादन मूल्यांकनमा ताँजाकोट गाउँपालिका दोस्रो भएको छ । ताँजाकोटले ३० दशमलव ६३ सूचकमा सफलता हासिल गर्दै ७१ प्रतिशत अंक प्राप्त गरेको छ भने चंखेली गाउँपालिकाले ३० दशमलव ११ सूचकमा सफलता प्राप्त गरी ७० प्रतिशत अंकसहित तेस्रो स्थान हासिल गरेको छ ।

सात स्थानीय तहबीचको समग्र नतिजा हेर्दा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका गाउँपालिकाबीच अंकको अन्तर धेरै ठूलो देखिँदैन । तर सिमकोटले ४३ मध्ये ३५ वटा सूचक पूरा गर्नुले मूल्यांकनमा समेटिएका विभिन्न पक्षमा तुलनात्मक रूपमा व्यापक सफलता हासिल गरेको हो । अन्य स्थानीय तहमा सर्केगार्ड गाउँपालिकाले २९ दशमलव ८ सूचकमा सफलता प्राप्त गर्दै ६९ दशमलव ५ प्रतिशत अंक ल्याएको छ ।त्यसैगरी अदानचुली गाउँपालिकाले २९ दशमलव ७ सूचक पूरा गर्दै ६९ प्रतिशत अंक प्राप्त गरेको छ । नाम्खा गाउँपालिकाले २८ वटा सूचकमा सफलता हासिल गर्दै ६५ प्रतिशत अंक प्राप्त गरेको छ भने खार्पुनाथ गाउँपालिका २७ वटा सूचक पूरा गर्दै ६४ प्रतिशत अंकसहित अन्तिम स्थानमा रहेको छ ।

‘स्वास्थ्य सेवा कार्यालयले गरेको मूल्यांकन स्वास्थ्य संस्थामा बिरामीको उपचार भयो वा भएन भन्ने विषयमा केन्द्रित थिएन,’ कार्यालय प्रमुख बुुढाले भने, ‘स्थानीय तहले स्वास्थ्य क्षेत्रमा गरेको लगानी र प्राथमिकता, स्वास्थ्य संस्थाको संस्थागत विकासदेखि सेवा प्रवाह र कार्यसम्पादनसम्मका विभिन्न पक्षलाई मूल्यांकनको आधार बनाइएको थियो ।’जिल्लाभरी उत्कृष्ट भएपछि सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले उपलब्धिले थप काम गर्ने हौसला मिलेको बताए । आगामी दिनमा स्वास्थ्य सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य सेवाको मूल्यांकनमा पहिलो, दोस्रो र तेस्रो हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।त्यससँगै दोसल्ला ओढाएर प्रशंसापत्रसमेत प्रदान गरिएको छ ।दुई दिनसम्म चलेको वार्षिक समीक्षा कार्यक्रममा हुम्लाका सातवटै गाउँपालिकाका स्वास्थ्य शाखा तथा स्वास्थ्य सेवा कार्यालयले आर्थिक वर्ष २०८२–८३ मा सम्पादन गरेका काम र हासिल गरेको प्रगति प्रस्तुत गरेका थिए । वार्षिक समीक्षा र सूचकमा आधारित मूल्यांकनले स्थानीय तहका स्वास्थ्य संस्थाको उपलब्धि सार्वजनिक गर्नुका साथै सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्ने आधारसमेत तयार गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार