भोटेकोशीको बाढीले निम्त्याएका मर्मस्पर्शी प्रसङ्गहरू



जीतबहादुर शाह

विद्वान्हरूले भन्ने गर्दछन्– ‘प्रकृति सामान्य अवस्थामा चलिरहेको अवस्थामा सबै कुरा सामान्य हुन्छन् । यस्तो सामान्य अवस्थामा मृत्यु पनि सामान्य हुन्छ । सामान्य मृत्युको अवस्थामा जन्म दिएका बाबाआमाहरूको दाहसंस्कार उनका सन्तानहरूले गर्दछन् तर जब प्रकृति सामान्य नियमअनुसार नचली प्रकोपमा परिणत हुन्छ, यस्तो अवस्थामा मृत्यु पनि असामान्य हुन्छ र यसरी हुने असामान्य मृत्युमा जन्म दिने बाबाआमाहरूले आफ्नै सन्तानहरूको दाहसंस्कार गर्दछन् ।’ अहिलेसम्म हिमपहिरोका कारणले यही भाद्र १० गते बिहान भोटेकोशीमा आएको बाढीले मृत्यु भएका मानिसहरूमध्ये हजारजति मानिसहरूको शव फेला परेको अवस्था छ र तीमध्ये कतिपयको उनका बाबाआमाहरूले दाहसंस्कार गरेको अवस्था छ । किनभने हाइड्रोपावरमा काम गर्न गएका, प्रहरी, सेना र निजामति कर्मचारीहरूमध्ये धेरैले ज्यान गुमाएका छन् जसको दाहसंस्कार पनि उनकै बाबुआमाहरूले गरेको अवस्था छ । कतिपयको शव भेटिएको छैन, कतिपयको शव भेटिएर पनि पहिचान हुन सकिरहेको छैन भने कतिपयको मरेको शव वा जिउँदो शरीर पत्ता नलागेको कारण आफ्ना सन्तानको कि त श्वास चाहियो, कि त लास चाहियो भनेर सरकारसँग हारगुहार गरिहेका छन् । बर्दियाकी शिक्षिका सुशीला गिरीको छोरा शिशिर गिरी इञ्जिनियरीङको अध्ययन गर्ने सिलसिलामा हाइड्रोपावर कम्पनीमा कार्यरत हुँदै गर्दा बेपत्ता भएका छन् । सामाजिक सञ्जालमा आमा सुशीला गिरीले भक्कानिँदै छोराको कि त सास चाहियो, कि त लास चाहियो भन्दै खोजी कार्यमा सहयोग गरिदिनका लागि घटनास्थलमै गएर सबैसँग अनुरोध गरिरहेकी छन् । त्यसैगरी जाजरकोट जिल्लाका शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीको इन्जिनियर छोरा महेन्द्रजङ शाही हाइड्रोपावरको सुरुङमा फसेको र अहिलेसम्म उक्त सुरुङमा भएका मानिसहरूको उद्धार सात दिन भइसक्दा पनि सरकारले ढिलाइ गरेकाले छिटो गरिदिनका लागि सामाजिक सञ्जालमार्फत अनुरोध गरिरहेका छन् । सल्यानको त्रिवेणी गाउँपालिकाका १२ जना अभिभावकहरूले आफ्ना सन्तानहरूको खोजी कार्यमा सहयोग गरिदिनका लागि मोबाइलमा आफ्ना सन्तानहरूको फोटो देखाउँदै घटनास्थलमै गएर अनुरोध गरिरहेका छन् । उनीहरूले चितवन, देवघाटदेखि त्रिशूली र भोटेकोशीका सबै नदी किनार पनि अवलोकन गरिसकेका छन् । तर कतै भेटिएका छैनन् सन्तानहरू । लास नभेटिँदासम्म सासको पनि आश हुनु अन्यथा होइन । अहिले भोटेकोशी र त्रिशूलीको बगरहरूमा यस्तै अभिभावकहरूको भीड छ । भोटेकोशीको बगरमा कहाली लाग्दा दृश्यहरू यी आँखाहरूले हेर्न विवश छन् । एकजना स्कुले नानी विद्यालयबाट घरमा आउँछिन् । घरमा कोही पनि छैनन् । घर पनि बगरमा परिणत भएको छ । भक्कानिएर म अब कसरी बाँचु भन्दै डाँको छोडेर रुन्छिन् । बाढीमा आफूखुसी बग्न थालेका एकजना वृद्धलाई सेनाका जवानहरूले उद्धार गरेर बगरमा ल्याएर राख्छन् र बाँकी अरुलाई उद्धार गर्न जान्छन् । त्यत्तिबेला ती वृद्धलाई ‘म मात्र बाँचेर के काम भयो र ! परिवारका सबै गइसके ! घरसम्पत्ति पनि बाँकी रहेन् ।’ भन्ने सोचले जितेपछि उनी पुनः भोटेकोशीको भेलमा मिसिन्छन् । बाबाआमा गुमाएको एकजना शरीरभरि माटो लटपटिएको बालकले गल्लीमा ‘आमा आमा’ भन्दै रोइरहेको दृश्यले जोकोहीलाई पनि मर्माहत बनाउँने गर्दछ । बालबालिका दिउँसो साथीहरूसँग खेल्ने र रमाउने गरे पनि सुत्ने बेला अभिभावकको खोजी गर्दछन्, त्यसमा पनि विशेष गरी आमाको । विस्थापितहरूलाई बसालिएको होल्डिङ सेन्टरमा राखिएका साना बालकहरूले जब रात पर्छ अनि आमाको खोजी गर्दै कराउन थालेपछि अवस्था नै करुणामय हुन्छ भन्ने कुरा होल्डिङ सेन्टरमा बसेकाहरूको अनुभव छ । कतिपय बालबालिकाको शरीर माटोमा डुबेर हातमात्र माटो बाहिर देखाएको दृश्यले पनि दायाँ मस्तिष्क सक्रिय हुने जोकोहीलाई पनि भावविह्वल बनाउने गर्दछ ।

यस्तो विपत्तिको सिकार जोकोही पनि हुन सक्छ भन्ने वास्तविकतालाई ध्यानमा राखी अहिले अधिकांश मानिसहरूले उदार मनले सक्दो सहयोग गरिरहेको अवस्था छ । विद्यार्थीहरूले कसैले खाजा खाने पैसा राहतकोषमा जम्मा गरेर सहयोग गरेको अवस्था छ । कतिपय बालबालिकाले आफ्नो भुर्की फुटालेर पनि सहयोग गरेका छन् । यसरी उठेको सहयोगको रकम राहतकोषमा सात अर्बको हाराहारीमा जम्मा भएको अनुमान छ आजका मितिसम्म । यस्तो सकारात्मक अवस्थाको बीचमा पनि कतिपय नकारात्मक प्रतिक्रियाहरू देखिएका छन् । सामाजिक सञ्जालमा कमेन्ट गर्दा ‘पालिकामा राम्रो काम नगरेको परिणाम भोग्दैछन् ।’ ‘मस्जिदहरू जलाउँदै हिँडेको परिणाम हो यो ।’ जस्ता प्रतिक्रियाहरू देखिन्छन् । यो अवस्थामा हामी संयम हुनु पर्छ । सकारात्मक लेख्न मनै लागेन भने पनि नकारात्मक नलेखौँ । यो त मलामी भएर जाने अनि जसको मलामी भएर गएको हो उसैलाई धारे हात लगाएर गाली गरेजस्तै भएन र ! जब कि बङ्गलादेशको संसद्ले भोटेकोशीको बाढीमा जीवन गुमाउनेहरूको सम्झनामा एकमिनेट मौनधारण गरेको छ । नेपालका बाढीपीडितकै सम्झनामा स्पेनको बार्सिलोनामा फुटबल क्लब र एथलेटिक्स क्लबले खेल सुरु हुनुभन्दा पहिले सबै खेलाडीहरूले एकमिनेट मौनधारण गरेका छन् र दर्शकदीर्घाका सबै दर्शकहरू उभिएर सहभागी भएका छन् । भारतका विभिन्न विद्यालयहरूमा बाढीमा परेकाहरूको सम्झनामा मौनधारण गरेका छन् । यो मानवता दुखेको परिवेशका सारा विश्वले नै ऐक्यबद्धता जनाउँदा पनि हामी नेपालीले भने धर्म र राजनीतिलाई मानवताभन्दा माथि राखेको हो कि झैँ लाग्छ । जसले बाढीबाट जोगिनका निम्ति सबैलाई सूचना सम्प्रेषण गरे, तिनै सेना, प्रहरी र सशस्त्र प्रहरीहरू समेत बाढीको चपेटामा परेर ज्यान गुमाएको अवस्था छ । बाढीबाट बच्न माइकिङ गरेका प्रहरी र सेनासमेत बाढीमा परेका छन् । यसबाट के प्रष्ट हुन्छ भने बाढी अकल्पनीय थियो । यो बाढी नभएर सुनामी थियो । जो हाम्रा अघिल्ला पुस्ताहरूले कहिल्यै देख्नु परेन । त्यसैले यस्तो सुनामी आउला भन्ने कसैलाई हेक्का नै भएन । कतिपय सर्वसाधारणले त ‘आकाशमा बादलको एक छिर्का छैन, के बाढी आउँदैछ भन्छ प्रहरीले ?’ भनेर विश्वास नै गरेनन् । तर अब यसरी हिमपहिरोको कारण र हिमताल फुटेर सुनामीको रूपमा यस्तो बाढी आउने क्रम बढ्ने कुरा निश्चित छ । शक्तिसम्पन्न औद्योगिक मुलुकहरूले अत्यधिक पेट्रोलियम पदार्थको प्रयोगको कारण बढ्दै गएको कार्वन उत्सर्जनले पृथ्वीको तापक्रम बढ्दो क्रममा छ । यो कुरा मैले र अरु कसैले लेख्नुभन्दा पनि हाम्रो जीवनमा हामी स्वयम्ले पनि भोगिरहेका कुरा सबैलाई स्पष्ट नै छ । कहिलेकाहीँ यस्तै हुँदोरहेछ, कार्वन उत्सर्जन गरेर विकसित मुलुकहरू झन् विकसित हुने त्यसको मार हामीजस्ता गरीब मुलुकका नागरिकले खेप्नु पर्ने । काम बिगार्ने मुसो, चोट पाउने बिरालो भनेजस्तै । सबै गुमाएर बाँचेका बालबालिका र अन्य नागरिकहरूलाई तत्काल खानपान, बसोबास लगायतका राहत सामग्रीको बन्दोबस्त त गनुपर्दछ नै । यसका सँगसँगै उनीहरूलाई मनोसामाजिक परामर्शको पनि व्यवस्था गर्नु पनि उत्तिकै जरुरी छ । कतिपयले त आफूलाई मेरा घरका परिवारजनले ताने भनेर बाढीमा हाम फालेको अवस्था पनि छ । त्रिशूलीकै त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका करिब सयजना बालबालिकाहरू परिवार र घरबारविहीन भएर बाँचिरहेका छन् । जब कि उनीहरू विद्यालयमा भएकाले विद्यालयको सावधानीले गर्दा उनीहरू त बाँचे तर परिवारका सदस्यहरू भने सबै बाढीमा बगे । यसरी घरपरिवारका सम्पूर्ण सदस्यहरू गुमाएर एक्लै बाँचिरहेका बुढाबुढी र बालबालिकाहरू धेरै छन् । उनीहरूलाई मनोसामाजिक परामर्शको व्यवस्था गर्न सकेनौँ भने कि त उनीहरू आत्महत्याको बाटो अपनाउछन्, कि त भने उनीहरू विक्षिप्त भएर बाँकी जीवन बिताउनुपर्ने हुन्छ ।

यस्तो बेला सरकारले नै त्यस प्रकारको मनोसामाजिक परामर्शको काम गर्ने संघसंस्था र व्यक्तित्वहरूलाई अनुरोध गरेर प्रभावितहरू बसेका होल्डिङ सेन्टरहरूमा खटाउनु पर्ने हुन्छ । जीवन के हो ? बाँकी जीवन कसरी सुन्दर किसिमले जिउन सकिन्छ भन्ने बारेमा सकारात्मक सोचका साथ मनोसामाजिक परामर्श दिन सकियो भने मानिसले मरेर गएका आफन्तहरूलाई खोज्ने काम कम गर्छ । यसका साथै होल्डिङ सेन्टरमा बिनाकुनै सुरक्षा केटाकेटीहरू सँगै राख्ने गरिएकोमा अर्को कुनै हिंसा निम्तिने खतरा पनि देखिन्छ । यसपालिको बाढीको प्रकोपमा परेका भोटेकोशी नदी क्षेत्रका कतिपय नागरिकहरू बहत्तर सालको भूकम्पबाट पनि उठिबास भएको कुरा उनीहरूको विचार सुन्दा बोध हुन्छ । हामी होल्डिङ सेन्टरमा कति दिन बस्ने ? यहाँको बसाइपछि हामी कहाँ गएर बस्ने भन्ने बारेमा सरकारसँग स्पष्ट खाका हुनु पर्दछ भन्ने माग उनीहरूको छ, जो जायज छ । अर्को कुरा, यो त सुरुवात हो, हिमपहिरोको कारणले बाढी आउने क्रम अब त हरेक वर्ष दोहोरिन सक्ने स्थिति छ । यस्तो अवस्थामा सरकारले हिमपहिरो र हिमतालका कारण बाढी आउन सक्ने नदी किनारको बस्तीलाई हटाउनु पर्दछ । अब पनि हामीले टिमुरे बजार, स्याप्रुबेसी बजार, बेत्रावती बजार र त्रिवेणी बजारको लालपूर्जाको पहिचान गरेर फेरि तत्तत् व्यक्तिहरूलाई तत्तत् स्थानहरूमा बस्ती बस्न दिने कार्य गरियो भने ठुलो भूल हुनेछ । बरु त्यहाँको भूभागलाई खेतीयोग्य जमिनको रूपमा प्रयोग गरिनु पर्दछ । त्यत्तिमात्र होइन बाढीको जोखिममा नेपालका नदी र खोला किनारका धेरै बस्तीहरू छन् जसलाई अन्यत्रै व्यवस्थित गर्नु पर्ने देखिन्छ । सरकारले आफ्नो तर्फबाट उद्धार कार्य गरिरहेको कुरालाई होइन, छैन भनेर नकार्न सकिँदैन । गृहमन्त्री स्वयम् फिल्डमा गएर अहोरात्र खटेको अवस्था छ । तथापि अरुका कुरा सुन्ने काम भएन, प्रदेश र स्थानीय सरकारसँग समन्वय र सहकार्य हुन सकेन । सुरुङभित्रका मानिसहरू निकाल्ने क्रममा विदेशी प्राविधिकहरूले काम गर्ने इच्छा प्रकट गर्दा पनि उनीहरूको प्राविधिक सहयोगलाई सरकारले स्वीकार गरेन । त्यही सुरुङ र हाइड्रोपावरमा काम गरिरहेका प्राविधिकहरूको क्षमतालाई उपयोग गर्नका लागि समेत आवश्यक वातावरणको सिर्जना गर्न सकिएन । सुरुङभित्र मान्छे फसेका छन् भन्ने जानकारी हुँदाहुँदै पनि छ सात दिनसम्म बेवास्ता गरियो, जब कि खाना र पानी नपाएपछि आफ्नै घरको कोठामा सुतेको मानिस त बोल्न नसक्ने अवस्था हुन्छ भने खाना, पानी, अक्सिजन आदि नभएको सुरुङमा ‘हामी यहाँ छौँ’ भनेर छैटौँ दिनसम्म पनि आवाज आउने परिकल्पना गर्नु अपरिपक्वता भयो कि । मानिस जहाँ फसेका छन् भन्ने जनमानसबाट खबर प्राप्त भइरहेको छ, त्यो ठाउँबाट मान्छे र अझ त्यसमा पनि सुरुङसम्बन्धी विशेष दक्षता भएको जनशक्तिलाई उद्धार गर्ने काममा सरकारले प्राथमिकता दिन नसकेकै हो कि ! मानिसहरूलाई बाढीबाट बचाउने र बाढीमा परिसकेकाहरूलाई उद्धार गर्न सेना, प्रहरी, संघसंस्था र सयौँ नागरिकहरूले प्रसंशनीय भूमिका निर्वाह गरेको कुरा दुनियाँले देखेका छन् । कतिपय दिलदार, धनीमानी र उद्योगपतिहरूले राहतकोषमा सहयोग जम्मा गरेर योगदान गरेका छन् । त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्र.अ. राजेन्द्र दवाडीको चलाकी र होसियारीले सयौँ विद्यार्थीहरू मृत्युको मुखमा पर्नबाट जोगिए । उद्योगपति विनोद चौधरीले पन्ध्र करोड राहतकोषमा जम्मा गरेका छन् । उनले पाँचसय घर बनाउने प्रतिबद्धता समेत जाहेर गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले पनि पन्ध्र करोड सहयोग गरेका छन् । कतिपय विदेशी मुलुकहरूले समेत सहयोग गरेको अवस्था छ । यस्तो अवस्थामा सहयोग गर्ने र ज्यानको बाजी लगाएर उद्धार गर्ने सबैप्रति सरकारले नतमस्तक भएर धन्यवाद दिनुपर्दछ । मान्छे जसका र जुन पार्टीका भए पनि बाढी प्रभावित क्षेत्रमा काम गर्ने सबैलाई सरकारले आफ्नै पार्टीका सम्झेर पुरस्कृत र सम्मानित गर्ने सवालमा कन्जुस्याइँ गर्नु हुँदैन । फरक विचारको सम्मान गर्नुपर्दछ । त्यस्ता विचारहरूको सान्दर्भिकताको बारेमा बहस गर्नुपर्दछ । कोशी प्रदेश सचिवलाई जस्तो २४ घन्टे सरुवा थमाउनु हुँदैन भन्ने लाग्छ । बाँकी जो हजुरको मर्जी ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार