सम्पादकीयः रुपैडिहा रेलको अवसर



नेपाल–भारत सीमा नजिक भारतको रुपैडिहास्थित नेपालगन्ज रोड रेलवे स्टेसनबाट वाराणसीसम्म रेल सेवा सुरु हुनु पश्चिम नेपालका लागि मात्र नभई समग्र नेपाल–भारत सम्बन्धका दृष्टिले पनि महत्वपूर्ण घटनाक्रम हो । सीमावर्ती क्षेत्रमा पूर्वाधार विस्तार हुँदा त्यसको प्रभाव सीमापारि मात्र सीमित रहँदैन । मानिसको आवागमन, व्यापार, पर्यटन, रोजगारी र सामाजिक सम्बन्धमा त्यसको प्रत्यक्ष प्रभाव पर्छ । त्यसैले रुपैडिहाबाट सुरु भएको नयाँ रेल सेवाले नेपालका लागि पनि नयाँ सम्भावनाको ढोका खोलेको छ । रुपैडिहा नेपालगन्जसँग जोडिएको प्रमुख भारतीय बजार हो । नेपालगन्ज हुँदै पश्चिम नेपालका ठूलो सङ्ख्याका नागरिक भारतका विभिन्न सहरमा उपचार, शिक्षा, रोजगारी, व्यापार तथा धार्मिक यात्राका लागि जाने गर्छन् । अब रुपैडिहाबाट वाराणसीलगायतका भारतीय सहरसम्म रेलको सहज पहुँच भएपछि लामो दूरीको यात्रामा थप विकल्प प्राप्त भएको छ । सडक यातायातमा मात्र निर्भर यात्रुले रेलमार्ग रोज्न पाउनेछन् । यसले यात्राको सहजता बढाउनुका साथै सीमावर्ती क्षेत्रमा यात्रुसम्बन्धी आर्थिक गतिविधि पनि बढाउन सक्छ । यसको अर्को महत्वपूर्ण पक्ष व्यापार हो ।

नेपालगन्ज–रुपैडिहा नाका पश्चिम नेपालको भारतसँगको व्यापारिक सम्बन्धको महत्वपूर्ण आधार हो । रेल सेवाले भारतीय बजारसँगको सम्पर्क विस्तार गरेमा नेपाली व्यवसायीका लागि नयाँ बजार पहिचान गर्न र व्यापारिक आवागमन सहज बनाउन सहयोग पुग्न सक्छ । यात्रुको आवागमन बढेसँगै होटल, रेस्टुरेन्ट, यातायात, पर्यटन तथा अन्य सेवामूलक व्यवसायमा पनि सकारात्मक प्रभाव पर्न सक्छ । सीमावर्ती अर्थतन्त्र चलायमान बनाउन यस्तो पूर्वाधार उपयोगी बन्न सक्छ । धार्मिक तथा सांस्कृतिक पर्यटनका दृष्टिले पनि रेल सेवाको महत्व कम छैन । वाराणसी, अयोध्या र गोरखपुरजस्ता गन्तव्यसँग सहज सम्पर्क हुँदा नेपालबाट भारत जाने तीर्थयात्रीको सङ्ख्या बढ्न सक्छ । त्यसको अर्थ नेपालले पनि आफ्ना धार्मिक तथा पर्यटकीय गन्तव्यलाई भारतीय बजारसँग जोडेर लाभ लिन सक्ने अवसर हो । दुई देशबीचको जनस्तरको सम्बन्ध अझ सुदृढ बनाउन पनि सहज यातायातले भूमिका खेल्छ । तर अवसर आफैँ उपलब्धिमाथि परिणत हुँदैन । भारतले रुपैडिहासम्म रेल पूर्वाधार विस्तार गरिरहँदा नेपालतर्फको तयारी कस्तो छ भन्ने प्रश्न महत्वपूर्ण छ ।

रेल चढ्न रुपैडिहा पुग्ने नेपाली यात्रुको सङ्ख्या बढेमा नेपालगन्ज–रुपैडिहा सडक, सीमा नाका, पार्किङ, सार्वजनिक यातायात तथा यात्रु सहजीकरणमा चाप बढ्न सक्छ । अहिलेको पूर्वाधारले नै बढ्दो आवागमन धान्न सक्छ कि सक्दैन भन्ने विषयमा समयमै अध्ययन आवश्यक छ । नेपालगन्जलाई केवल सीमा नाकाका रूपमा हेरेर पुग्दैन । यसलाई पश्चिम नेपालको व्यापार, पर्यटन र यातायातको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ । त्यसका लागि सीमा पूर्वाधार सुधार, व्यवस्थित सार्वजनिक यातायात, यात्रु सूचना केन्द्र, पार्किङ तथा सुरक्षा व्यवस्थालाई आधुनिक बनाउनुपर्छ । व्यापार सहजीकरण र सीमा आवागमनलाई प्रविधिमैत्री बनाउनु पनि उत्तिकै आवश्यक छ । रुपैडिहासम्म रेल आइपुगेको अवसरलाई नेपालले दीर्घकालीन रणनीतिसँग जोड्नुपर्छ । भारतसँगको सम्पर्क बढ्दै जाँदा नेपालले आफ्नो उत्पादन भारतीय बजारसम्म पु¥याउने, पर्यटक भित्र्याउने र सेवा क्षेत्र विस्तार गर्ने योजना पनि अघि बढाउनुपर्छ । नेपालले समयमै आवश्यक पूर्वाधार र नीति सुधार गर्न सके यो रेल सेवा सीमापारि जाने यात्रुको साधन मात्र नभई पश्चिम नेपालको व्यापार, पर्यटन र आर्थिक विकासको नयाँ सेतु बन्न सक्छ । सीमापारि बनेको पूर्वाधारको उपयोग गर्ने क्षमता नेपालले देखाउन सक्नुपर्छ । त्यसका लागि सरकारी निकायबीच प्रभावकारी समन्वय, निजी क्षेत्रको सक्रियता र स्पष्ट कार्ययोजना आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार