कथाः तारको जालीमा अड्किएकी कोकिला 



हरिचंद्र ढकाल 

पानीले आमालाई एकातिर र छोरीलाई अर्कोतिर बगायो । कोकिलालाई के भयो, उसलाई केही थाहा भएन । उसले केवल पानीको गर्जन सुनिरही । कहिले ढुङ्गामा ठोक्किई, कहिले काठमा । कहिले पानीमुनि पुग्थी, कहिले माथि आउँथी । उसको मुखमा माटो पस्यो । नाकमा पानी भरियो । उसले सास फेर्न खोज्दा घाँटी पोल्यो । तर हरेक पटक पानीमाथि आउँदा उसको मुखबाट एउटै शब्द निस्कन्थ्यो— “आमा १”  रसुवाको तिमुरेमा त्यो बिहान अरू दिनजस्तो थिएन । भोटेकोशी नदी अस्वाभाविक रूपमा गर्जिरहेको थियो । आकाशमा बादल बाक्लिएका थिए । पहाडका काखमा बसोबास गर्ने मानिसहरू आफ्नो दैनिक काममा व्यस्त थिए । कसैले पसल खोल्दै थियो, कसैले चिया पकाउँदै थियो, कसैले घरको आँगन बढार्दै थियो । पाँच वर्षकी कोकिला तामाङ भने आफ्नी आमा मायाको काखमा थिई । “आमा, नदी आज किन यति ठूलो आवाज गर्छ रु” उसले सोधी । मायाले छोरीको कपाल मुसार्दै भनिन्, “पानी धेरै भएर होला ।” “नदीलाई डर लाग्छ रु” माया मुस्कुराइन् । “नदीलाई के डर लाग्नु र १” “त्यसो भए मलाई पनि डर लाग्दैन ।” “तिमी पनि डराउनु पर्दैन । म छु नि ।” कोकिला आमाको छातीमा टाँसिई ।  आमाको शरीरबाट आउने न्यानो गन्ध, कपालमा मिसिएको धुवाँको हल्का सुवास र छातीमा सुनिने नियमित धड्कन—यी सबै कुरा उसले त्यस क्षणमा सामान्य जस्तै महसुस गरेकी थिई । तर पछि, जीवनभर, ती नै उसका सबैभन्दा सुरक्षित स्मृतिहरू बने । त्यो ‘म छु नि’ आमाले छोरीलाई भनेको अन्तिम वाक्य होला भन्ने कुरा दुवैलाई थाहा थिएन ।  ठ्याक्कै बिहान ८ः३० बजे तिमुरेको वातावरण चिच्याहटले भरियो । “बाढी १” “सबै माथि भाग १” “घर छोड १” “बच्चाहरूलाई समात १” भोटेकोशीको पानीले आफ्नो बाटोको सीमा भत्काइसकेको थियो । छिमेकी मुलुक चीनतर्फको हिमतालको बाँध फुटेर आएको भीषण भेलले माटो, ढुङ्गा, रुख, काठ, फलाम र घरका संरचनाहरूलाई एउटै शक्तिमा मिसाएर तलतिर हुत्याइरहेको थियो । मायाले झस्किएर छोरीलाई काखमा च्यापिन् ।  “कोकिला, मलाई बलियोसँग समात १” “आमा, के भयो रु” “केही होइन । हामी माथि जानुपर्छ ।” “किन रु” “बाढी आयो ।” ‘बाढी’ शब्द कोकिलाका लागि त्यतिबेला केवल एउटा अपरिचित आवाज थियो । उसले त्यसको अर्थ बुझिन । तर आमाको स्वरमा आएको अचानकको कम्पनले उसको शरीरभित्र डरको पहिलो चिसो लहर पठाइसकेको थियो ।

“आमा, हामी बाँचछौ रु” मायाले छोरीको निधार चुमिन् । “बाँचिन्छ । मेरी छोरीलाई केही हुँदैन ।” मायाले त्यो कुरा छोरीलाई ढाडस दिन भनिन् कि आफूलाई विश्वास दिलाउन, उनी आफैँलाई थाहा थिएन । तर छोरीको टाउको आफ्नो छातीमा थिचिरहँदा उनको मनमा पनि एउटा अनाम डर फैलिइरहेको थियो । बाहिरको गर्जनभन्दा ठूलो आवाज उनको मनभित्र उठिरहेको थियो—‘यदि केही भयो भने रु’ तर त्यो वाक्य पूरा हुन नपाउँदै घरको ढोका भत्कियो । भेल घरभित्र पस्यो । माटो र पानीको वेगले दुवैलाई उचाल्यो ।  “आमा १” कोकिलाको चिच्याहट आकाशमा हरायो । मायाले छोरीलाई आफ्नो शरीरले छोप्न खोजिन् । उनको हातले कोकिलाको टाउको समात्यो । उनले छोरीको अनुहार आफ्नो छातीमा थिचिन् । “कोकिला, आँखाहरू बन्द गर १” “आमा १” “डराउनु पर्दैन १” त्यो क्षणमा मायाको स्वरमा डर लुकेको थियो, तर उनले त्यसलाई छोरीसम्म पुग्न दिइनन् । आमाहरू प्रायः आफ्ना बच्चाहरूलाई बचाउँदा आफ्नै भयलाई पनि काखमा लुकाउँछन् । त्यसपछि दुवै छुट्टिए । पानीले आमालाई एकातिर र छोरीलाई अर्कोतिर बगायो । कोकिलालाई के भयो, उसलाई केही थाहा भएन । उसले केवल पानीको गर्जन सुनिरही । कहिले ढुङ्गामा ठोक्किई, कहिले काठमा । कहिले पानीमुनि पुग्थी, कहिले माथि आउँथी । उसको मुखमा माटो पस्यो । नाकमा पानी भरियो । उसले सास फेर्न खोज्दा घाँटी पोल्यो । तर हरेक पटक पानीमाथि आउँदा उसको मुखबाट एउटै शब्द निस्कन्थ्यो— “आमा १”  उसलाई लाग्थ्यो, आमाले पनि उसलाई खोजिरहेकी होलिन् । सायद अर्को किनारमा उभिएर बोलाइरहेकी होलिन् । सायद पानीको आवाजले मात्र उनको स्वर छोपिएको हो । अचानक उसको हात कुनै फलामे वस्तुमा अड्कियो । त्यो तारको जाली थियो । उसका साना औँलाहरूले जालीलाई कस्सिएर समाते । तारले उसको हत्केलामा चिरेर घाउ बनायो । दुखाइ तीव्र थियो, तर उसले हात छोडिन । हात छोडेपछि आमा भेटिँदैनन्, जीवन रहँदैन—उसको बालमनले यी दुई कुरालाई एउटै सत्य ठानेको थियो ।  शरीरको आधा भाग पानीमा थियो। उसको टाउको पानीमाथि थियो । ऊ रोइरहेकी थिई । “आमा।।।१” फेरि चिच्याई । “आमा, म यहाँ छु १” तर वरिपरि भोटेकोशीको गर्जनबाहेक केही थिएन । पाँच वर्षकी त्यो बालिका तारको जालीमा अड्किएर मृत्यु र जीवनको बीचमा झुन्डिरही । समय बित्यो । उसलाई कति घण्टा बित्यो, थाहा थिएन । कहिलेकाहीँ उसले आँखा बन्द गर्थी र आमाको काख सम्झन्थी । आमाको रातो सल, कपालको गन्ध, निधारमा राखिने चुम्बन—यी स्मृतिहरू उसको शरीरमा बाँकी रहेको न्यानोपन जस्तै थिए ।

उसको शरीर काँपिरहेको थियो । ओठ नीलो हुँदै थिए । आँखामा आँसु सुकिसकेको थियो । तर तारको जाली उसले छोडिन । उसलाई लाग्थ्यो, जाली छोडेपछि आमाको हात पनि छुट्नेछ । सायद त्यही जाली उसको जीवनको अन्तिम आशा थियो । बाढीले तिमुरेमा ठूलो विनाश गरिसकेको थियो । हजारौँ घर बगे । धेरै परिवार क्षणभरमै उजाडिए । कोही आफ्ना छोराछोरी खोज्दै थिए । कोही श्रीमती। कोही श्रीमान् । कोही आमाबुबा । कसैसँग खोज्ने मान्छे पनि बाँकी थिएन । उद्धार टोली घटनास्थलमा पुग्दा पानी अझै उर्लिरहेको थियो ।  उद्धारकर्मीले टाढाबाट टर्चको प्रकाशमा केही देखे । “उता हेर्नुस् १” “के हो रु” “बच्चाजस्तो छ १” उद्धारकर्मीहरू जालीतिर अघि बढे । एक जनाले चिच्याए, “नानी, डराउनु पर्दैन । हामी आयौँ ।” कोकिलाले कमजोर आँखाले उनीहरूलाई हेरी । उद्धारकर्मीको आवाज उसलाई टाढाको सपना जस्तो लाग्यो । उसले उनीहरूलाई होइन, उनीहरूको पछाडि आमालाई खोजी । “मलाई मेरी आमा चाहियो ।” उद्धारकर्मी केही क्षण मौन भए ।  “तिम्रो नाम के हो रु” “कोकिला ।” “आमा कहाँ हुनुहुन्छ रु” उसले नदीतिर औँला देखाई । “आमा मलाई खोज्न जानुभएको छ ।” उसको स्वरमा विश्वास थियो । त्यो विश्वास यति गहिरो थियो कि उद्धारकर्मीले सत्य बोल्ने साहस गर्न सकेनन् । “हामी तिमीलाई आमासम्म पु¥याउँछौँ,” एक जनाले भने । कोकिलाले उनको हात समातिन् । उसले बच्चालाई सावधानीपूर्वक जालीबाट निकाल्यो ।  कोकिलाको हातमा तारले बनाएको गहिरो घाउ थियो । तर त्यो घाउभन्दा ठूलो चोट उसको मनमा थियो—आमाको हात छुटेको चोट । उद्धार शिविरमा सयौँ मानिस थिए । सबैका आँखामा एउटै प्रश्न थियो— ‘मेरो मान्छे कहाँ छ रु’ कोकिला भने एउटा कुनामा बसेर नदीतिर हेरिरहन्थी । अरू बच्चाहरू रोएर थाक्थे, निदाउँथे, फेरि उठ्थे ।  कोकिला भने निदाउन डराउँथी । आँखा बन्द गरेपछि फेरि त्यही पानी आउँथ्यो, त्यही गर्जन सुनिन्थ्यो, अनि आमाको हात उसको हातबाट छुट्थ्यो । एक महिलाले उसलाई खाना दिइन् । “नानी, केही खाऊ ।” “आमा आएपछि ।” “पहिले खाऊ, आमा आउनुहुन्छ ।” कोकिलाले महिलाको अनुहारमा ध्यानपूर्वक हेरी । “कहिले रु” महिलासँग उत्तर थिएन । उनले केवल उसको टाउको मुसारिन् । त्यो स्पर्शले कोकिलालाई केही क्षण आमाको हात सम्झायो । तर अपरिचित हातले आमाको हातको ठाउँ लिन सकेन । उसले खाना छोइन । रातो सलको कुनो समातेर बसिरही ।

केही दिनपछि बेपत्ताहरूको सूची सार्वजनिक भयो । त्यसमा एउटा नाम थियो— माया तामाङ । कोकिलाले त्यो नाम सुनी । “माया तामाङ मेरी आमा हो ।” सबै मौन भए । उसले फेरि सोधी, “उहाँ कहिले आउनुहुन्छ रु” कसैले उत्तर दिएन । त्यो मौनताले नै उसलाई उत्तर दियो । तर बालमनले त्यसलाई स्वीकार गर्न मानेन । उनले मनमनै भनिन्—‘उहाँ आउनुहुन्छ । उहाँले म छु नि भन्नुभएको छ । आमाले भूmट बोल्नुहुन्न ।’ त्यो दिन कोकिलाले पहिलो पटक बुझी— कहिलेकाहीँ मान्छेहरू फर्केर आउँदैनन् । तर बुझ्नु र स्वीकार गर्नु एउटै कुरा थिएन ।  दिनहरू महिना बने । महिना वर्ष बने ।कोकिला ठूलो हुँदै गई । तर उसको बाल्यकालको एउटा दृश्य कहिल्यै ठूलो भएन । तारको जाली । उर्लिएको भोटेकोशी । र आमाको अनुहार । उसले आमाको एउटा रातो सल सुरक्षित राखेकी थिई । सलको कपडा पुरानो हुँदै गयो, रङ फिक्का हुँदै गयो, तर कोकिलाका लागि त्यसमा आमाको उपस्थिति झन् गाढा हुँदै गयो । कहिलेकाहीँ त्यो सल निकाल्थी । आँखामा लगाउँथी । त्यसको गन्ध हराइसकेको थियो, तर ऊ गन्ध खोजिरहन्थी । कहिलेकाहीँ उसलाई लाग्थ्यो, आमाको हातले भर्खरै सल छोएको छ । कहिलेकाहीँ त्यो भ्रम हो भन्ने थाहा हुँदाहुँदै पनि ऊ त्यसलाई भत्काउन चाहँदिनथी । “आमा, तपाईंको गन्ध अझै छ ।”  उसको बालमनले आमालाई कहिल्यै मरेको स्वीकार गरेन । उसलाई लाग्थ्यो— आमा कतै हुनुहुन्छ । सायद नदीपारि । सायद कुनै टाढाको गाउँमा । सायद कुनै अस्पतालमा, जहाँ उनको नाम गलत लेखिएको छ । सायद कुनै दिन ढोका खोलेर भन्नुहुनेछिन्— “कोकिला १” त्यसैले हरेक पटक ढोका खुल्दा उसको मुटु एकछिन रोकिन्थ्यो । अपरिचित अनुहार देखेपछि त्यो फेरि भारी भएर धड्किन्थ्यो । तर त्यो दिन कहिल्यै आएन । समयसँगै कोकिलाले आमाको प्रतीक्षा गर्न छोडेकी जस्तो देखिन थाली । तर भित्र कतै एउटा सानो बालिका अझै ढोकातिर हेरिरहेकी थिई । विद्यालयमा एक दिन शिक्षकले प्रश्न गरे, “ठूलो भएपछि के बन्ने रु” कसैले डाक्टर भन्यो । कसैले इन्जिनियर । कसैले शिक्षक। शिक्षकले कोकिलालाई सोधे, “तिमी के बन्न चाहन्छ्यौ रु” कोकिला केही बेर चुप लागी । उसको मनमा धेरै उत्तरहरू आए । डाक्टर बनेर आमालाई बचाउने । उद्धारकर्मी बनेर नदीमा पस्ने । नदीलाई रोक्ने । समयलाई पछाडि फर्काउने । तर तीमध्ये कुनै पनि सम्भव थिएन । अन्ततः उसले बिस्तारै भनी, “बाढी आउनुअघि मानिसहरूलाई खबर गर्ने मान्छे ।” कक्षामा केही विद्यार्थी हाँसे । कसैले फुसफुसायो, “त्यो पनि कुनै काम हो रु”

कोकिलाको कान रातो भयो । उसले टाउको झुकाई । एकछिनका लागि उसलाई आफ्नो सपना पनि तारको जालीजस्तै कमजोर लाग्यो जसले आमालाई समाउन सकेन । शिक्षकले भने, “किन रु” कोकिलाले टाउको उठाई । उसको आँखामा आँसु थिएन, तर आवाजभित्र वर्षौँदेखि थुनिएको पीडा थियो । “किनकि मेरी आमालाई बाढी आउँदैछ भनेर कसैले समयमा खबर गरेको थिएन ।” कक्षा एकाएक शान्त भयो । बोलेपछि कोकिलालाई हलुका पनि लाग्यो, भारी पनि । उसले पहिलो पटक आफ्नो दुःखलाई शब्द दिएकी थिई । तर शब्द बाहिर आएपछि त्यो दुःख अरूको आँखामा पनि देखिन थाल्यो । शिक्षकको आँखा पनि रसाए ।  “तिमीले त्यो काम गर्न सक्छ्यौ,” उनले भने । त्यो दिन कोकिलाले आफ्नो जीवनको लक्ष्य मात्र पाइनन् । उनले आफ्नो पीडालाई अर्थ दिने बाटो पनि भेटिन् ।त्यसपछि उनको यात्रा सजिलो थिएन। विपद् व्यवस्थापनका किताबहरू पढ्दा उनी तथ्य र नक्साभन्दा पहिले मानिसहरूको अनुहार देख्थिन् । नदीको पानीको सतह बढेको ग्राफ हेर्दा उनलाई तारको जाली सम्झना हुन्थ्यो । चेतावनी प्रणालीबारे पढ्दा उनको मनमा एउटै प्रश्न उठ्थ्यो—‘यदि त्यो दिन कसैले आमालाई खबर गरेको भए रु’  कहिलेकाहीँ पढाइको बीचमै उनको हात काँप्थ्यो । पानीको आवाज सुन्दा शरीरभित्र पुरानो डर जाग्थ्यो । वर्षा धेरै परेका रातहरूमा उनी निदाउन सक्दिनथिन् । झ्यालबाहिरको पानीले उनलाई फेरि त्यही भेलमा पु¥याउँथ्यो । तर उनी डरबाट भागिनन् । उनले डरलाई पढिन् । नदीको स्वभाव पढिन् । मौसमका संकेत पढिन् । मानिससम्म सूचना पुग्ने बाटाहरू पढिन् । उनले बुझिन्—विपद् केवल पानी, पहिरो वा हावाको नाम होइनस विपद् त्यो क्षण पनि हो, जब मानिसलाई के भइरहेको छ भन्ने थाहा हुँदैन । वर्षौंको मेहनतपछि कोकिला विपद् व्यवस्थापनको क्षेत्रमा प्रवेश गरिन् । अन्ततः उनी विपद् व्यवस्थापन कार्यालयकी सूचना अधिकृत बनिन् । उनको टेबलमा कम्प्युटर थियो। फोन थियो । सूचनाका फाइलहरू थिए । मौसमका विवरण थिए । नदीको पानीको सतह नाप्ने उपकरणका रिपोर्ट थिए र उनको मनमा एउटा पुरानो तारको जाली थियो । कुनै क्षेत्रमा बाढीको सम्भावना देखिएपछि उनी सबैभन्दा पहिले सोध्थिन्, “त्यहाँका मानिसलाई सूचना पुग्यो रु” कसैले भन्थ्यो, “अझै छैन ।” उनी तुरुन्तै भन्थिन्, “पहिले सूचना पु¥याउनुहोस् । बाँकी काम पछि गरौँला ।” कहिलेकाहीँ सहकर्मीहरू उनलाई सम्झाउँथे, “प्रक्रिया पूरा हुन दिनुस् ।” उनी केही क्षण चुप लाग्थिन् । उनको मनमा फेरि आमाको अनुहार आउँथ्यो—ढोकामा उभिएकी, छोरीलाई काखमा च्यापेकी, तर बाहिरको खतरा थाहा नपाएकी । “प्रक्रिया मानिसका लागि हो,” उनी शान्त स्वरमा भन्थिन्, “मानिस प्रक्रिया पूरा हुने प्रतीक्षामा मर्नु हुँदैन ।” उनका सहकर्मीहरू कहिलेकाहीँ सोध्थे, “तपाईं किन यति संवेदनशील हुनुहुन्छ रु” कोकिला मुस्कुराउँथिन् । “किनकि म पनि कुनै समय एउटा बेपत्ता आमाकी छोरी थिएँ ।” तर उनी यति मात्र भन्थिन् ।

आपूmभित्रको पूरा कथा सुनाउन उनलाई अझै कठिन लाग्थ्यो । आमाको नाम उच्चारण गर्दा उनको स्वर बदलिन्थ्यो । त्यसैले उनी प्रायः ‘मेरी आमा’ मात्र भन्थिन्न्—जस्तो कि ‘माया तामाङ’ नाम बोल्दा नदी फेरि गर्जिन थाल्नेछ ।  कार्यालयमा बाढीसम्बन्धी चेतावनीको काम सकेर कोकिला एक्लै बसिरहेकी थिइन् । क्यालेन्डरमा रातो अक्षरमा मिति थियो, भदौ १० । त्यो मिति उनको जीवनमा केवल एउटा दिन थिएन । त्यो उनको जन्मदिन जस्तै थियो—किनकि त्यस दिन उनी पुरानो जीवनबाट छुट्टिएर अर्को जीवनमा धकेलिएकी थिइन् ।  उनले झोलाबाट आमाको पुरानो रातो सल निकालिन् । सल हातमा लिँदा पाँच वर्षकी कोकिला फेरि उनको मनमा आइन् । तारको जाली समातेकी। काँपिरहेकी । आमालाई बोलाइरहेकी । “आमा।।।१” कोकिलाको आँखाबाट आँसु झ¥यो । “आमा, म बाँचेँ ।” उसले सल छातीमा टाँसिन् । “तपाईंले मलाई बाँच्न भन्नुभएको थियो ।” केही क्षण मौन भइन् । “म बाँचेँ आमा ।” उनको मनमा वर्षौँदेखि दबिएको एउटा प्रश्न फेरि उठ्यो— ‘तपाईंले मलाई बचाउनुभयो, तर आफूलाई किन बचाउन सक्नुभएनरु’ त्यो प्रश्नसँगै अर्को आवाज पनि आउँथ्यो— ‘के म तपाईंलाई छोडेर बाँचेँ रु’ कहिलेकाहीँ उनलाई आफू बाँचेकोमा अपराधबोध हुन्थ्यो ।  आमाको हात छुटेको क्षणमा आफूले जाली समातेको सम्झँदा उनलाई लाग्थ्यो—‘मैले आमाको हात समातिरहन सकेको भए रु’ तर पाँच वर्षकी बच्चाले के गर्न सक्थी रु यो कुरा बुद्धिले बुझ्थ्यो, मनले बुझ्दैनथ्यो । “तर तपाईं किन फर्किनुभएन रु” बाहिर वर्षा परिरहेको थियो । झ्यालमा पानीका थोपा बर्सिरहेका थिए । उनी उठिन् । झ्याल खोलेर बाहिर हेरिन् । टाढा कतै नदी बगिरहेको थिया े। उनले बिस्तारै भनिन्, “अब म तपाईंलाई खोज्दिनँ आमा ।” यो वाक्य बोल्दा उनको छातीभित्र केही भाँचिएजस्तो भयो । आमालाई खोज्न छोड्नु भनेको आमालाई बिर्सनु होइन भन्ने कुरा उनले आफूलाई सम्झाइन् । खोजीको अन्त्य स्वीकार गर्नु थियो, स्मृतिको होइन ।  उनको आँखामा आँसु थियो, तर अनुहारमा दृढता । “किनकि तपाईंलाई मैले भेटिसकेँ ।” उनले आफ्नो मुटुतिर हात राखिन् । “तपाईं यतै हुनुहुन्छ ।” त्यो दिन उनले पहिलो पटक आमालाई हराएकी मानिनन् । उनले आमालाई आफ्नो काममा, आफ्नो आवाजमा, प्रत्येक चेतावनीमा भेटिन् । केही समयपछि कोकिला टिमुरे पुगिन् । त्यही ठाउँ। त्यही पहाड। त्यही भोटेकोशी । तर अब उनी पाँच वर्षकी बालिका थिइनन् । उनी एक जिम्मेवार सरकारी अधिकारी थिइन् । नदी किनार उभिएर उनले धेरै बेर पानी हेरिन् ।

पानीको सतहमा आकाशको धुमिल छाया थियो। नदी शान्त देखिन्थ्यो, तर कोकिलालाई थाहा थियो—शान्त पानीभित्र पनि शक्ति लुकेको हुन्छ । “आमा १” उनले पहिलो पटक नदीलाई ठूलो स्वरमा सम्बोधन गरिन् । “म तपाईंलाई दोष दिन आएकी होइन ।” नदी शान्त थियो। “धेरै वर्षसम्म म तपाईंलाई यही नदीले मबाट खोसेको भनेर रिसाएँ ।” उनले केही क्षण पानी हेरिरहिन् । “कहिलेकाहीँ मलाई लाग्थ्यो, तपाईंले मलाई छोड्नुभयो । कहिलेकाहीँ लाग्थ्यो, मैले तपाईंलाई बचाउन सकिनँ ।” उनको स्वर भासियो । “तर अब बुझ्दैछु—त्यो दिन हामी दुवैभन्दा ठूलो थियो ।” उनले रातो सल काँधमा राखिन् । “तपाईंले मलाई जन्म दिनुभयो ।” आँखाबाट आँसु झ¥यो । “तपाईंले मलाई बचाउन खोज्नुभयो ।” “अनि अन्तिम क्षणमा एउटा शब्द दिनुभयो—बाँच ।” उनले नदीतिर हेरिन् । “म बाँचेँ आमा ।” केही क्षणपछि उनले मुस्कुराउँदै भनिन्, “अब मेरो जीवन तपाईंको मात्र होइन ।” “अरू हजारौँ आमाहरूको पनि हो ।” “कुनै छोरीले फेरि तारको जाली समातेर ‘आमा’ भन्दै चिच्याउन नपरोस् ।” हावाले उनको सल हल्लायो ।  कोकिलाले आँखा बन्द गरिन् । उसलाई लाग्यो— कतै टाढाबाट आमाको आवाज आइरहेको छ । “छोरी, म छु नि ।” कोकिलाको ओठमा मुस्कान आयो । “हो आमा ।” उनले आँखा खोलिन् । “अब म पनि छु ।” भोटेकोशी बगिरह्यो । त्यही नदी, जसले कुनै दिन एउटी आमालाई छोरीबाट खोसेको थियो । त्यही नदीको किनारबाट एउटी छोरीले हजारौँ मानिसलाई बचाउने प्रण गरिन्। तारको जालीमा अड्किएको त्यो पाँच वर्षकी बालिका अब इतिहासको एउटा पीडादायी सम्झना मात्र थिइन्् । उनी एउटा आवाज बनेकी थिइन् । चेतावनीको आवाज । आशाको आवाज । जीवनको आवाज । र आमाको अन्तिम शब्द बोकेको आवाज— “बाँच ।”कोकिला फर्किइन् । भोलिपल्ट फेरि कार्यालयमा काम थियो । कुनै नदी बढ्न सक्थ्यो । कुनै पहिरो जान सक्थ्यो । कुनै बस्ती जोखिममा पर्न सक्थ्यो । तर अब उनी तयार थिइन् । किनकि उनलाई थाहा थियो— विपद् आउनुअघि दिइएको एउटा सही सूचना कहिलेकाहीँ एउटी आमाको काख जत्तिकै शक्तिशाली हुन्छ। र कोकिलाको जीवनको सबैभन्दा ठूलो सूचना अझै पनि एउटै थियो— “मानिसलाई बचाउन सकिन्छ, यदि समयमै खबर गरियो भने ।” उनले कम्प्युटर खोलेर नयाँ सूचना टाइप गरिन् ।  बाहिर बिहानको उज्यालो फैलिँदै थियो । उनले मनमनै आमालाई सम्झिइन् । “आमा, आज पनि म काममा जाँदैछु ।” केही क्षणपछि उनले स्क्रिनमा लेखिएको चेतावनी फेरि पढिन् । शब्दहरू औपचारिक थिए, तर उनको लागि ती शब्दहरूमा एउटा बच्चाको डर, एउटी आमाको अन्तिम आलिङ्गन र हजारौँ परिवारको सम्भावित जीवन मिसिएको थियो । उनले ‘पठाउनुहोस्’ बटन थिचिन् । त्यो सानो क्लिकसँगै उनको मनमा एउटा पुरानो गाँठो अलिकति फुक्यो । अनि पाँच वर्षकी त्यो बालिकाको सम्झना बोकेर, सूचना अधिकृत कोकिला तामाङ फेरि एउटा सम्भावित जीवन बचाउन निस्किइन्।
कथाकार ढकाल भोटेकोशीको बिपत उद्धारमा खटिइरहेका सुरक्षा अधिकृत हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार