कैलाली जिल्ला अदालतद्वारा तीन हजार एक सय मुद्दा फछ्र्यौट



धनगढी ।

कैलाली जिल्ला अदालतले गत आव २०८२–०८३ मा तीन हजार एक सय ५ मुद्दा फछ्र्यौट गरेको छ । अघिल्लो आव २०८१–०८२ मा जिम्मेवारी सरेका मुद्दा १ हजार ३०५ र गत आवमा दर्ता भएका तीन हजार तीन सय ३४ मुद्दा गरी चार हजार छ सय ३९ मुद्दा रहेकामा ६६ दशमलव ९३ प्रतिशत मुद्दा फछ्र्यौट भएका जिल्ला अदालत कैलालीका श्रेस्तेदार चेतराज पन्तले जानकारी दिए ।

उनका अनुसार गत आवमा अदालतमा एक हजार पाँच सय ३४ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । अदालतको गत आवमा तीन हजार एक सय ८२ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको थियो । अदालतमा सबैभन्दा बढी पारिवारिक विवादका मुद्दा आउने गरेको श्रेस्तेदार पन्तले बताए । उनले गत आवमा सम्बन्धविच्छेदका ८४९ मुद्दा रहेकामा ६१० मुद्दा फछ्र्यौट भएका, अंशबन्डाका ८२१ मुद्दामा ५२८, जग्गा विवादका १०३ मध्ये ६४, लेनदेनका १०३ मध्ये ६४ र लिखत बदरका १२६ मध्ये ७८ मुद्दा फछ्र्यौट भएका उनले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक शान्तिका ३० मध्ये ३० वटै, राज्यविरुद्ध कसुरका ५ मध्ये ५ वटा, हातहतियारका ९ मध्ये ५ वटा, छुवाछुतका ५ मध्ये २ वटा, बहुविवाहका ४७ मध्ये ३२ वटा, कर्तव्य ज्यानका ५० मध्ये ३२, आत्महत्या दुरुत्साहनका ३५ मध्ये २०, ज्यान मार्ने उद्योगका ५८ मध्ये ३१, जबरजस्ती करणीका १५९ मध्ये ९८ र हाडनाता करणीका ९ मध्ये ५ मुद्दा फछ्र्यौट भएका छन् ।

त्यस्तै, जबरजस्ती करणी उद्योगका २५ मध्ये १७, लागूऔषध खैरो हेरोइनका ४५८ मध्ये ३६९, गाँजा÷चरेशका २१ मध्ये २०, साधारण चोरीका १२६ मध्ये १०४, नकवजनी चोरीका ८ मध्ये ७ र बैंकिङ कसुरका ४०६ मध्ये २५३ मुद्दा फछ्र्यौट भएको उनले जानकारी दिए । अदालतका जिल्ला न्यायाधीश भुवनसिंह थापाले अदालतलाई डिजिटलमैत्री बनाउँदै लगिएको बताउँदै खुला इजलासको व्यवस्था गरेको बताए । उनले पुराना मुद्दालाई प्राथमिकता दिँदै मुद्दा फछ्र्यौट गर्ने गरिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार