काठमाडौँ ।
भदौ १० गते आएको भोटेकोशी–त्रिशूली बाढीले सडक र पुलहरूमा पनि क्षति पु¥याएको छ । विभागका महानिर्देशक विजय जैसीले मंगलबार पत्रकार सम्मेलन गरेर बाढी र पहिरोले गल्छी–बेत्रावती–रसुवागढी र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा सबैभन्दा बढी प्रभाव पारेको जानकारी दिए । उनकाअनुसार ५३ झोलुङ्गे पुलमा क्षति पुगेको छ । यीमध्ये ३३ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्था छ । बाढीले विभाग मातहत रहेका ३१ वटा गाडी चल्ने पुलमा पनि क्षति पु¥याएको छ ।
साथै ८२ किलोमिटरको गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ ।पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा सडकको ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात सम्पर्कविच्छेद भएको छ । गल्छी, बैरेनी, जरेखेत र पोखरे क्षेत्रमा दुईदेखि तीन मिटरसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो । ‘कतिपय पुल पूर्ण रूपमा बगेका छन् भने कतिपयको स्पानमा क्षति पुगेको छ । विभागले तत्कालका लागि तीन स्थानमा बेलिब्रिज जडानको प्रक्रिया सुरू गरिसकेको छ ।
देवीघाटस्थित तादी खोलामा ५० मिटर लामो बेलिब्रिज हाल्ने तयारी भइरहेको छ भने त्रिशूली बजार र बेत्रावतीमा पनि बेलिब्रिज जडानका लागि डिजाइन सम्पन्न भएको छ । अन्य २० वटा क्षतिग्रस्त पुलहरूको प्राविधिक सर्वेक्षण भइरहेको र आवश्यकताअनुसार बेलिब्रिज राखिने छ,’ उनले भने । धादिङबेसी जोड्ने फुर्केखोलाको पुल भाँचिएपछि माल्टार, गजुरीटार र केउरिनीघाट हुँदै वैकल्पिक मार्गमार्फत सम्पर्क स्थापित गरिएको उनले बताए । काठमाडौँबाट धुन्चे जानका लागि टोखा–छहरे–विदुर–बोगटीटार हुँदै ११० किलोमिटरको वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ ।
कृष्णभीरको अवरोध हटाउन भित्ता काट्ने वा त्रिशूली पारिबाट नयाँ ट्रयाक खोल्ने भन्ने विषयमा नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श भइरहेको महानिर्देशक जैसीले जानकारी दिए ।
सडकको आकस्मिक मर्मतका लागि सडक बोर्डको बैठकले तत्काल ३ करोड २५ लाख रूपैयाँँ विनियोजन गरेको छ । थप आवश्यक खर्च योजना अन्तर्गतकै बजेटबाट व्यवस्थापन गरिनेछ । हाल कार्यक्षेत्रमा ५० जनाभन्दा बढी वरिष्ठ प्राविधिक, इन्जिनियर र मेकानिक्सहरू खटिएका छन् । विभागले १५ वटाभन्दा बढी हेभी इक्विपमेन्टहरू विभिन्न खण्डमा परिचालन गरेको छ ।
पेट्रोलियम पदार्थ र ग्यास बुलेटको आपूर्तिका लागि त्रिभुवन राजपथ र कान्ति लोकपथलाई प्राथमिकतामा राखिएको छ । बिपी राजमार्गमा साना सवारीलाई प्राथमिकता दिने र अत्यावश्यक सामग्री बोकेका ट्रकहरूलाई रातको समयमा हेटौँडाबाट पठाउने योजना आपूर्ति मन्त्रालयसँगको समन्वयमा बनाइएको छ । महानिर्देशक जैसीकाअनुसार हाल कोदारी राजमार्ग सञ्चालनमा छ भने इलामको राँके–दुहाली खण्डको अवरोध पनि हटाइएको छ । वर्षातको मौसम अझै बाँकी रहेकाले विभागले आफ्ना सम्पूर्ण संयन्त्रलाई ‘अलर्ट’ अवस्थामा राखेको जानकारी दिएको छ ।
साथै भोटेकोशी बाढीका कारण प्रभावित विभिन्न जिल्लाका ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहका अनुसार क्षतिग्रस्त पुलमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने २० वटा सामान्य मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् । पूर्ण रूपमा क्षतिग्रस्त भएका ३३ वटा पुलको पुनर्निर्माण गर्नुपर्ने र बाँकी २० वटाको मर्मत कार्य तत्काल अघि बढाइने विभागले जनाएको छ । बाढीले पुल बगाएपछि विच्छेद भएको जनजीवन र दुई बस्तीबीचको आवागमनलाई सहज बनाउन विभागले तत्काल पाँच स्थानमा अस्थायी तुइन जडान गर्ने कार्य सुरू गरेको छ ।
नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीको इन्द्रायणी चौरमा २५५ मिटर लामो तुइन सोमबारदेखि सञ्चालनमा आइसकेको छ । यसैगरी, बेलकोटगढीको देवीघाटमा १८० मिटर लामो तुइन मंगलबारदेखि सञ्चालनमा ल्याइएको छ । बेत्रावती र रसुवाका दुई स्थानमा गरी थप तीन स्थानमा पनि तुइन जडानको कार्य प्रारम्भ हुने साहले बताए । सामान्य क्षति भएका २० वटा पुलमध्ये गल्छीभन्दा माथिल्लो क्षेत्रका ९ वटा पुलको मर्मत कार्य तत्काल सुरू हुनेछ । मर्मतका लागि आवश्यक ‘डेग’ (पाटा)हरू बजारबाट खरिद गरी जतिसक्दो चाँडो काम सम्पन्न गर्ने विभागको लक्ष्य छ ।
यद्यपि, पूर्ण रूपमा क्षतिग्रस्त ३३ वटा पुलको पुनर्निर्माणमा भने केही समय लाग्ने देखिएको छ। पुनर्निर्माणका लागि आवश्यक पर्ने ‘लठ्ठा’ (स्टिल वायर रोप) हाल मौज्दात नरहेको र भारतबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र (आईसीबी) प्रक्रिया अपनाउनुपर्ने साहले बताए । साथै, सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को प्रणालीमा आएको प्राविधिक समस्याका कारण बोलपत्र प्रक्रिया ‘हार्ड कपि’मार्फत अघि बढाउनुपर्ने बाध्यताले पुनर्निर्माणमा केही ढिलाइ हुनसक्ने उनको भनाइ छ ।
स्थानीय पूर्वाधारको पुनस्र्थापनाका लागि विभागले प्रारम्भिक लागत अनुमान समेत सार्वजनिक गरेको छ । जसअनुसार झोलुङ्गे पुल मर्मतका लागि १५ करोड रूपैयाँँ, झोलुङ्गे पुल पुनर्निर्माणका लागि ६० करोड रूपैयाँँ, अवरूद्ध ग्रामीण सडक खुलाउन र वैकल्पिक मार्गका लागि ४० करोड रूपैयाँँ अनुमान गरिएको बताए । आगामी २० देखि २५ दिनभित्र मर्मत हुनसक्ने पुलहरूको काम सम्पन्न गरी स्थानीयलाई राहत दिने विभागको योजना छ । मुख्य राष्ट्रिय राजमार्गहरूको तुलनामा ग्रामीण सडकहरूमा कम क्षति पुगे पनि स्थानीय स्तरको पहुँचलाई सुचारु राख्न विभाग केन्द्रित रहेको साहले बताए ।









प्रतिक्रिया दिनुहोस्