कोहलपुर (बाँके) ।
बाँकेको बैजनाथ गाउँपालिका एक माध्यमिक विद्यालयमा मावि तहको गणित शिक्षक भर्ना परीक्षामा अनियमिता भएको आशंका गरिएको छ । बैजनाथ–६ स्थित ईश्वरी माध्यमिक विद्यालयको मावि तहको गणित शिक्षकका लागि भएको प्रथम पत्रको परीक्षा तथा प्रक्रियामा प्रशिक्षार्थीले प्रश्न उठाएपछि अनियमितताको आशंका गरिएको हो। ईश्वरी माविको माध्यमिक तह तृतीय श्रेणीको गणित विषयको शिक्षक भर्नाका लागि २०८२ साउन ६ गते विज्ञापन गरिएको थियो ।
विज्ञापनमा उल्लेख भए अनुसार दरखास्त दिने अन्तिम मिति साउन २० गतेसम्म ९ जनाले आवेदन दिएका थिए । तर, भदौ १ गते गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको प्रथम पत्रकार परीक्षामा परीक्षामा ५ जना मात्रै सहभागी भए । सोही दिन नै विद्यालयद्वारा प्रकाशित परीक्षाको नतिजामा सबै परीक्षार्थी अनुत्तीर्ण भए । विद्यालयको संघीय अनुदानको कोटा अन्तर्गत भएको प्रथम चरणको परीक्षाको नतिजालाई लिएर एकजना परीक्षार्थीले उत्तरपुस्तिका पुनःपरीक्षणको माग गर्दै निवेदन दिएपछि अहिले शिक्षक नियुक्ति प्रक्रिया नै रोकिएको छ ।
परीक्षाको नतिजा प्रकाशित भएको भोलिपल्ट २०८२ भदौ २ गते परीक्षामा सहभागी भएका बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ मोतिपुर बर्दियाका सागर चौधरीले उक्त परीक्षाको उत्तर पुस्तिका पुनः परीक्षणको माग गरेका छन् । चौधरीले विद्यालयलाई सम्बोधन गर्दै लेखेको पत्रमा विद्यालयद्वारा प्रकाशित नतिजा आफूलाई चित्त नबुझेको उल्लेख गरिएको छ । चौधरीले विद्यालयलाई लेखेको निवेदनमा भनिएको छ, ‘२०८३ भदौ १ गते भएको प्रथम चरणको परीक्षामा जम्मा ५० वटा प्रश्नमध्येहरू मध्ये, म निवेदको ३५ वा ३६ वटा प्रश्नको उत्तर सही दिएकोमा अनुत्तीर्ण भएकोले मलाई नतिजामा चित्त बुझेको छैन् ।’
उनले आफ्नो उत्तर पुस्तिका र गाउँपालिकाद्वारा निर्माण गरिएको उत्तर कुञ्जिकामाथि नै प्रश्न उठाएका छन् । परीक्षाको लागि निर्धारण गरिएको प्रश्नपत्र निर्माण र उत्तर कुञ्जिका निर्माणमा समेत कमजोरी हुन सक्ने भन्दै उत्तर कुञ्जिकाको (उत्तर की) समेत जाँच गर्नुपर्ने चौधरीले माग गरेका हुन् । ‘प्रश्नपत्रहरूको निर्माण र उत्तर कुञ्जिका निर्माणमा कमजोरी भएको हुन सक्ने भएकोले प्रश्नपत्रको स्तरीयता र उत्तर कुञ्जिकाको (उत्तर की) समेत जाँच गर्न अनुरोध गर्दछु,’ मिसन टुडे दैनिकलाई प्राप्त चौधरीको निवेदनमा भनिएको छ ।
विद्यालयले दर्ता नम्बर १२ मा दर्ता गरेको निवेदन उनले आफ्नो उत्तर पुस्तिका पुनःपरीक्षणको माग गरेका छन् । चौधरीको निवेदन विद्यालयका प्रधानाध्यापकले उक्त निवेदन दर्तागरी निवेदनउपर आवश्यक कारवाही अघि बढाउन विद्यालय प्रशासनलाई निर्देशन दिएका छन् । यता, सोही दिन विद्यालयद्वारा प्रकाशित प्रथम पत्रको नतिजामा कुनै पनि परीक्षार्थी उत्तीर्ण नभएको उल्लेख गरिएको छ ।
२०८३ भदौ १ गते विद्यालयका प्रधानाध्यापक मंगल बहादुर खत्रीद्वारा हस्ताक्षरित नतिजा प्रकाशित गरिएको सूचनामा ‘विद्यालयको विज्ञापन नम्बर १÷२०८३÷२०८४ को माध्यमिक तह गणित विषयको संघीय अनुदान कोटाको प्रथम चरणको परीक्षाको परीक्षाफल निम्नानुसार रहेको छ,’ परीक्षाफल प्रकाशित गरिएको विद्यालयको आधिकारिक नम्बर प्लेटबाट जारी पत्रमा भनिएको छ । परीक्षामा सहभागी सागर चौधरीसहित पाँचै जना अनुत्तीर्ण भएका छन् ।
विद्यालयको माध्यमिक तह गणित विषयको संघीय अनुदान कोटाको गणित विषयको शिक्षक माग गर्नको लागि विव्यस अध्यक्ष झगविर खत्रीको अध्यक्षतामा साउन ६ गते बसेको बैठकले १५ दिने सूचना जारी गरेको थियो । सोही अनुसार निर्धारित समयभित्र ९ जनाले दरखास्त दिएका थिए । दरखास्त दिएकामध्ये सागरसहित पाँचजना मात्रै परीक्षामा सहभागी भएको विद्यालयका प्रधानाध्यमक खत्री बताउँछन् । उनका अनुसार नतिजा प्रकाशित भएको भोलिपल्टै चौधरीले विद्यालयमा निवेदन दिएका थिए ।
उनको निवेदनउपर गाउँपालिका अन्तर्गत शिक्षा शाखासँग आवश्यक परामर्श भइरहेको प्रधानाध्यापक खत्रीको भनाइ छ । ‘हामीलाई निवेदन प्राप्त भएको छ । सम्बन्धित निकायमा जानकारी गराएका छौँ । उहाँको निवेदनउपर कसरी प्रक्रिया अघि बढाउने विषयमा मैले आवश्यक परामर्श गरिरहेको छु’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । चौधरीको निवेदनका सम्बन्धमा बिहीबार शिक्षा प्रमुख विष्णुप्रसाद ढकालसँग पीडित चौधरी, विद्यालय परिवार र सरोकारवालाबीच छलफलसमेत भएको थियो ।
छलफलमा चौधरीले परीक्षाफलमा आफ्नो चित्त नबुझेको भन्दै उत्तर पुस्तिका पुनःपरीक्षण हुनुपर्ने माग गरेका छन् । सो सम्बन्धमा बैजनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकालले शिक्षक नियुक्तिका लागि भएको परीक्षाका सम्बन्धमा प्रश्न उठेको भन्दै आफूले सो विषयलाई गम्भीर रूपमा लिएको बताएका छन् । शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता भएको गुनासो आफूलाई समेत प्राप्त भएको भन्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले सो विषयमा आवश्यक अनुसन्धानको लागि निर्देशन दिइसकेको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्