जाजरकोट ।
पहिरोपछि विस्थापित बनेका जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका नागरिकलाई अन्यत्र स्थानान्तरण गर्न हतार नगर्न भूगर्भविद्सहितको प्राविधिक टोलीले सुझाव दिएको छ । पहिरो प्रभावित क्षेत्रको जमिनको अवस्था अध्ययन गर्दै टोलीले तत्काल अन्य ठाउँभन्दा रिसाङ नै सुरक्षित स्थान रहेको पहिचान गरेको हो । रिसाङमै राखेर पुनः स्थापनाको प्रक्रिया अघि बढाउनुपर्नेमा टोलीले जोड दिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भूगर्भविद्सहित आठ सदस्यीय प्राविधिक टोली जाजरकोट पुगेर पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरिएको हो । भूगर्भविद् प्रकाश पोखरेलका अनुसार पहिरो प्रभावित क्षेत्रमा जमिनको स्थायित्व, चिरा तथा भासिएको अवस्था, पहिरोको प्रकृति, सम्भावित विस्तार र भविष्यमा आउन सक्ने जोखिमको अध्ययन गरिएको थियो ।
अन्य ठाउँभन्दा जोखिम अत्यधिक नभएको र जमिनको अवस्था अनुकूल देखिएकाले पीडितलाई तत्कालै अन्यत्र नसारी रिसाङमै राख्न उनीहरूको सुुझाव छ । टोलीले भेरी नगरपालिका–१, २, ३ र ४ का विभिन्न पहिरो प्रभावित क्षेत्रको अध्ययन गरेको थियो । टोलीमा जियोलोजिस्ट डा. लेखराज भट्ट, शाखा अधिकृत निरञ्जनप्रकाश निरौला, इन्जिनियर जगदीश विष्ट र मेटेरियोलोजिस्ट राजन लामिछानेसहित विज्ञ तथा प्राविधिक सहभागी थिए ।
गत साउन ३० गते आएको पहिरोले रिसाङलगायत भेरी नगरपालिका क्षेत्रका विभिन्न बस्तीमा ठूलो क्षति पु¥याएको थियो । पहिरोमा चार जनाको मृत्यु भएको थियो भने सयौँ नागरिक प्रभावित भएका थिए । घर, खेतीयोग्य जमिन, सडक र खानेपानीका संरचनामा क्षति पुगेपछि कतिपय परिवार अझै जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य छन् । यता पहिरो पीडितलाई राहत वितरण र पुनः स्थापनाको पहलसँगै भेरी नगरपालिकाले वास्तविक प्रभावित परिवारको तथ्यांक संकलनलाई समेत प्राथमिकता दिएको छ ।
घर पूर्णरूपमा क्षतिग्रस्त भएका, आंशिक क्षति पुगेका, अस्थायी टहरासमेत गुमाएका तथा जोखिममा रहेका परिवारको छुट्टाछुट्टै विवरण संकलन गर्न थालिएको नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख यज्ञनाथ गौतमले बताए । उनले भने, ‘वास्तविक पीडितको तथ्यांक संकलन भइरहेको छ । तथ्यांक एकिनपछि सेल्टरमै राख्नुुपर्ने पीडित बाहेक अन्यलाई आ–आफ्नो घर पठाइने छ ।’
यता जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोबाट जिल्लामा १६८ घरधुरीका ८९३ जना प्रभावित भएको तथ्यांक प्राप्त भएको छ । भने प्रभावित नागरिकका लागि विभिन्न स्थानमा अस्थायी सेल्टर सञ्चालनमा छन् । ती सेल्टरमा १०८ जना बालबालिका, ६ जना सुत्केरी र पाँच जना गर्भवती महिला आश्रय लिएर बसिरहेका छन् ।उनीहरूलाई भेरी नगरपालिका–२ स्थित विजया प्राथमिक विद्यालय र त्रिभुवन आधारभूत विद्यालयमा सञ्चिालित सेल्टरमा राखिएको छ ।
भेरी नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार विस्थापितका लागि तत्काल खाना, लत्ताकपडा तथा अन्य राहत सामग्रीको अभाव हुन नदिने गरी काम भइरहेको छ । भने सुरक्षित खानेपानी व्यवस्थापन गर्नुका साथै एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार पहिरो पीडित सबैलाई आवाश्यक पर्ने खाद्यान्न तथा लत्ताकपडासहितको राहत उपलब्ध गराइएको छ । पीडित रहेको स्थानसम्म राहत ढुुवानीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सहयोग गरेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्