
हुम्ला ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाएको छ । कञ्चनपुर जिल्लाको भारतसँगको सिमाना जोडिएको गड्डाचौकीबाट भारत लैजाने क्रममा बालबालिकालाई उद्धार गरिएको थियो । कञ्चनपुरबाट पैदलमार्ग हुँदै बिहीबार जिल्ला प्रहरी कार्यालयमा उद्धार गरी ल्याइएका ती बालबालिकाका अभिभावकलाई शुक्रबार कानुनी सचेतनासहित कागज गरेर जिम्मा लगाइएको हो । नौ बालिका र १६ बालक गरी २५ जनालाई कञ्चनपुर जिल्लाबाट उद्धार गरेर हुम्ला जिल्ला ल्याएलगत्तै अभिभावकको जिम्मामा घर पठाइएको छ ।
हुम्लाका प्रहरी निरीक्षक युवराज ढकालले यसरी बालबालिकालाई बाहिर पठाउने अभिभावकलाई कानुनी रूपमा सजाय हुने सचेतना दिइएको बताए । प्रहरीले त्यहाँ पुगेका अभिभावकलाई बालबालिका जिम्मा लगाएर दुई जना सुरक्षाकर्मीसँगै हुम्ला पठाएको थियो । बालबालिकाको अभिभावकसँग पुनर्मिलन कार्यक्रममा आठ वर्षको छोरा भारत पठाएका अभिभावक जयकृष्ण बुढाले प्रलोभनमा परेर पठाइएको र गल्ती भएको स्वीकार गरे ।
गत असोज २७ गते सिमकोट गाउँपालिका–८ को स्याँडा गाउँबाट पैदलमार्गबाट लगेर नेपालगन्ज हुँदै कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतमा लैजाने क्रममा भारतीय प्रहरी र नेपाल प्रहरीको सहयोगमा ती बालबालिकाको उद्धार गरिएको थियो । यो कार्यमा शान्ति पुनस्र्थापना गृहले पनि सहयोग गरेको थियो । त्यसपछि १४ दिनसम्म बालबालिकालाई कञ्चनपुरको बाल गृहमा राखिएको थियो ।
यसैगरी पढाइदिने भन्दै भारत लगिँदै गरेको अवस्थामा कञ्चनपुर जिल्लाको गड्डाचौकी नाकाबाट फिर्ता गरिएका बालबालिका लिने चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । चारै जनाविरुद्ध मानव बेचबिखनविरुद्धको मुद्दा कञ्चनपुर प्रहरी अदालतमा दर्ता गरेको छ । बालबालिकालाई भारत लैजाने मुख्य व्यक्तिसहित चार जनाका नाममा मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरिएको गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहले बताए ।









प्रतिक्रिया दिनुहोस्