नेपालगन्ज ।
बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ स्थित भृकुटी प्राथमिक विद्या मन्दिरमा एकजना बालविकास शिक्षक भर्नाका क्रममा मिलोमतो गरिएको भन्दै अख्तियारमा जाहेरी परेको छ । उक्त विद्यालयमा बालविकास शिक्षक भर्नाका क्रममा तोकिएको परीक्षा समयभन्दा ढिलो गरी परीक्षा लिइएको र लिखितमा एकजना मात्रै उत्तीर्ण गराइएको विषयमा मिसन टुडेले खुलासा गरेको थियो ।
उक्त विषयमा परीक्षामा सहभागी प्रतिस्पर्धीहरूले प्रश्न उठाउँदै उक्त परीक्षा रद्ध गर्न माग गरेर विद्यालय, गाउँपालिका र जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बाँकेमा निवेदन दिएपनि उक्त निवेदन दर्ता नभएपछि अख्तियारमा समेत जाहेरी दिएको एक परीक्षार्थीले जानकारी दिए । परीक्षाका क्रममा भएको ढिलाई र लिखित परीक्षामा सहभागी नौ जनामध्ये एक जनामात्रै उत्तीर्ण गराइएको विषयमा प्रश्न उठेपछि अहिले उक्त परीक्षाको नतिजा होल्ड गरिएको छ ।
साउन २५ गते लिखित परीक्षा लिइएकोमा सोही दिन साँझ पाँच बजे अन्तर्वार्ताको पनि पनि मिति र समय तोकिएको थियो । तर, परीक्षाको प्रक्रिया र नतिजामा अन्य प्रतिस्पर्धीहरूले प्रश्न उठाएपछि स्थगित गरिएको अन्तर्वार्ताको मिति अझै तय नभैसकेको विद्यालयका प्रधानाध्यापक राजकुमारी सिंहले जानकारी दिइन् ।प्रधानाध्यापक सिंहले परीक्षाका सम्बन्धमा विभिन्न निकाय र अख्तियारमा समेत जाहेरी पुगेको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा अझै छलफल भएको छैन् ।
‘उहाँहरूको निवेदनका विषयमा के गर्ने र कसरी अघि बढ्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन् । अब केहीदिनमा बसेर टुंगो लगाउनुपर्ला,’ प्रधानाध्यापक सिंहले भनिन् ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख कृष्णकुमारी भण्डारीले पनि विवाद उत्पन्न भइसकेपछि उपयुक्त निकास निकालेर मात्रै अघि बढ्ने उद्देश्यले अन्तर्वार्ताको प्रक्रिया रोक्न निर्देशन दिइएको बताएकी छन् । उनले यस विषयमा थप अध्ययन र छलफल भइरहेको बताइन् ।
बाँकेको जानकी गाउँपालिका लागि आह्वान गरिएको विज्ञापन बमोजिम नौ जनाले आवेदन दिएका थिए । साउन २५ गते बिहान १० बजेको परीक्षाका लागि प्रतिस्पर्धीहरूलाई साढे नौ बजे जानकी– ३ स्थित कन्या प्राविमा बोलाइएको थियो । तर, परीक्षाका लागि रहने छनौट समितिका सदस्यहरू नआएको भन्दै उनीहरूलाई कुराइयो । १० बजेका लागि तोकिएको परीक्षा साढे १ बजेमात्रै सुरु भयो । परीक्षामा पनि समयको कुनै ख्याल नराखिएको भन्दै अनेक आशंकाले घेरिएका प्रतिस्पर्धीहरू त्यतिबेला झनै छक्क परे जब लिखित परीक्षा पास भई अन्तर्वार्ताका लागि छनौट गरिएको नतिजामा एकजनाको मात्रै नाम उल्लेख थियो ।
प्रतिस्पर्धीहरूले परीक्षा ढिलो हुनुमा मिलोमतोको आशंका गरिएको र लिखित परीक्षाबाट अन्तवार्ताका लागि प्रतिस्पर्धी नै नरहने गरी एकजना मात्रै उतीर्ण गराइनुको कारण माग गरिरहेका छन् । तर, छनौट समितिले उत्तरपुस्तिका जस्तो थियो त्यस्तै नतिजा प्रकाशित गरेको दाबी गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक राजकुमारी सिंह समय १० बजे नै तोकिएपनि छनौट समितिका केही सदस्यहरू ढिलो आउँदा परीक्षा समयमा गर्न नसकिएको बताउँछिन् ।
परीक्षार्थी र गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णाकुमारी भण्डारीको रोहबरमै प्रश्नपत्र तयार गरिएको विषयविज्ञले दिएको नतिजाकै आधारमा नतिजा प्रकाशन गरिएको सिंहको दाबी छ । विषयविज्ञको रूपमा खटिएका शिक्षक ललितबहादुर खत्री पनि उत्तरपुस्तिकामा लेखिएको उत्तरकै आधारमा जाँच गरेर नतिजा दिएको दाबी गर्छन् । तर, परीक्षार्थीहरू भने परीक्षा समयमै नहुनु र लिखित परीक्षामा पहिलेदेखि अध्यापन गर्दै आएका शिक्षकहरूसमेत लिखित परीक्षाको नतिजामा नपर्नुले मिलोमतोको आशंका उब्जाएको बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्