लेक प्याकुरेल
प्रेमप्रकाश मल्लको वैयक्तिक जीवन
म भुइँको भुइँमै छु
तिमी हजुर भइसक्यौ
म धुलोको धुलोमै छु
तिमी गजुर भइसक्यौ,
अथवा
के भो किन भो नसोध यो दुःखी परानीलाई
आगो कसरी निभ्यो के थाहा खरानीलाई?
सिर दुख्यो, शरीर दुख्यो बेस्सरी दुख्यो
पीडा कति भो, के थाहा बिस्तर– सिरानीलाई?
उल्लिखित हरफहरूमा अन्तर्निहित मर्मले सहृदयी जो कोहीलाई प्रभावित बनाउने क्षमता राख्छ। यस्तै प्रकृतिका सूत्रात्मक हरफहरुलाई आगाको झिल्को झै संक्षिप्त संरचनामा बिजुलीको झट्काजस्तै प्रभावकारी बनाएर प्रस्तुत गर्ने स्रष्टा हुन् पश्चिम नेपालका उज्ज्वल नक्षत्र प्रेमप्रकाश मल्ल। गीत साहित्य र संगीतका त्रिवेणी प्रेमप्रकाश मल्लको जन्म विक्रम संवत १९९३ साउन ११ गते पश्चिम नेपालको साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलअन्तर्गत रुकुम जिल्लाको मुसिकोट खलङ्गास्थित सेरी गाउँमा भएको थियो । आमा विष्णुकुमारी मल्ल र बुवा होमजङ मल्लका जेठा सन्तान प्रेमप्रकाश मल्लको न्वारनको नाम प्रेमजङ मल्ल हो भने अत्यन्त सुशील, सन्तोषी र ज्ञानी भएकै आधारमा उनलाई ज्ञानबहादुर भन्ने गरिन्थ्यो। आफ्नो जन्मथलो सेरी गाउँमै बाल्यकाल बिताएका प्रेमप्रकाश मल्ललाई ५ वर्षको उमेरमा श्रीपञ्चमीको शुभमुहुर्त पारेर अक्षरारम्भ कार्य सम्पन्न गरिएको थियो। “पण्डित भूवनेश्वर, स्वामी यमुनानन्द गिरी, खप्तड स्वामी श्री सच्चिदानन्द सरस्वती आदि गुरुहरूबाट आफ्नै घरमा प्रारम्भिक शिक्षा प्राप्त गरेका प्रेमप्रकाशले वि.स. २०१० मा १७ वर्षको उमेर पुगेपछि मात्र कक्षा ६ मा भर्ना भई औपचारिक शिक्षाको सुरुआत गरेका थिए(तिमिल्सिना, अप्रकाशित शोधः२०५८)।“ २०२३ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट द्वितीय श्रेणीमा स्नातक तह उत्तीर्ण गरेका मल्लले प्राइभेट विद्यार्थीका रूपमा नेपाली विषयमा स्नातकोत्तर तहको परीक्षा दिएका थिए, तर घरायसी कामकाज र बेफुर्सदीका कारण दोस्रो वर्षको एक पत्रमा अनुत्तीर्ण भएपछि उनको शैक्षिक यात्रा स्नातक तहमै सीमित भएको थियो।
साहित्य लेखनमा प्रभाव
आँशुको थोपा थोपामा जीवनको अन्तरमिश्रण भेट्ने प्रेमप्रकाश मल्लका साहित्य सिर्जना गर्ने, धार्मिक कार्यमा सरिक रहने, पत्रपत्रिका एवं विविध साहित्यिक कृतिहरूको अध्ययन गर्ने जस्ता अनेको रुचिहरु रहेका छन्। मूलतः आफ्नी ममतामयी आमा विष्णुकुमारी मल्लको असामयिक निधन एवं एक मात्र होनहार छोरो मधुकर जङ्ग मल्लको युवा अवस्थामा भएको मृत्युबाट साहित्यिक लेखनमा प्रेरित भएका प्रेमप्रकाश मल्लमा आँशिक रुपमा पी.बी. शेली, लक्ष्मीप्रसाद देवकोटा र माधव प्रसाद घिमिरे जस्ता प्रतिभाशाली साहित्यकारहरूको प्रभाव देखिन्छ। यसबाहेक बाँकेमा क्रियाशील साहित्यकारहरूको संसर्ग, यहाँ हुने साहित्यिक गतिविधि, प्रकाशित साहित्यिक एवं समाचारमूलक पत्रपत्रिकाहरूले पनि प्रेम प्रकाश मल्ललाई साहित्य लेखनमा सक्रिय रहने वातावरण प्रदान गरेका छन् ।
साहित्यकार प्रेमप्रकाश मल्ल
प्रेमप्रकाश मल्लको साहित्यिक यात्रालाई दृष्टिगत गर्दा २००७ साल फागुनमा ममतामयी आमाको मृत्युबाट पीडित भएपछि आमा शीर्षकको कविता लेखी साहित्यको गोरेटोमा पाइला चालेका थिए। उनै प्रेमप्रकाश मल्लको अहिलेसम्मको स्थितिमा मधुकर छोटो जीवनी लामो कहानी’ (खण्डकाव्य ः २०४२), ’त्यो यौटा अजेय शिखर मधुकर’ (खण्डकाव्य २०४२), ’पञ्चगान’ (गीत सङ्ग्रहः २०४५), ’अनुभूतिका स्वरहरु’ (गीत, गजल, लघु काविता सङ्ग्रह २०५४), ’सजल’ (गजल सङ्ग्रह २०६५), ’गाउँदा गाउँदै’ (गीत गजल २०६५), ’उनी’ (रोदन काव्य २०६५), ’ओछ्यानबाट अनुभूतिहरु’ (हाइकु २०७०) जस्ता आठवटा साहित्यिक कृतिहरू प्राप्त भएका छन्। यसबाहेक दैनिक नेपालगन्ज, जनमत अर्धसाप्ताहिक, बागेश्वरी टाइम्स, स्पेस टाइम्स, रत्नश्री द्वैमासिक, नेत्रज्योति स्मारिका,कालपृष्ठ राष्ट्रिय दैनिक लगायतका विभिन्न पत्रपत्रिकामा समेत उनको कविता, मुक्तक, गीत, गजल जस्ता रचनाहरु प्रकाशित भएका छन्। काव्य आकाशका सशक्त हस्ताक्षर हुन् प्रेमप्रकाश मल्ल। उनले काव्य लेखनमा पुर्याएको विशिष्ट योगदान अविस्मरणीय छ। यस बाहेक उनको लेखनी निबन्ध र लेखसम्म विस्तारित भएको देखिन्छ। “ प्रेमप्रकाशले २०५६ सालमा निस्किएको ’रत्नश्री’ त्रैमासिक पत्रिकाको वैशाख श्रावण अङ्कमा ’आत्मपरिचय’ शीर्षकको लेख लेखेका थिए भने ’नेत्रज्योति स्मारिका’ (२०५६ साल) मा उनको ’सम्पादकको आँखा’ शीर्षक लेख प्रकाशित छ(प्याकुरेल,अप्रकाशित शोधः२०६३)।“ त्यसैगरी अन्य निबन्ध तथा लेखहरुमा ’नेत्रज्योति स्मारिका’ मा प्रकाशित ’दाता र दान एक दृष्टिकोण’, ’नेपालगन्ज एक्सप्रेस’ मा प्रकाशित ’आफ्नै कथा आफ्नै व्यथा’ लगायत रहेका छन् । यिनै कृति तथा फुटकर रचनाहरूको सेरोफेरोमा रहेर मल्लका लेखनीको मूल्याङ्कन गर्नुपर्दा साहित्यकार प्रेमप्रकाश मल्लले नेपाली साहित्यका मुक्तकदेखि गीत हुँदै खण्डकाव्य सम्मको विधागत यात्रा तय गरेको पाइन्छ।
प्रायः संक्षिप्त लमाइगत आयाम अँगालेर कृतिहरूको रचना गर्न रुचाउने प्रेमप्रकाश मल्लका सिर्जनामा मूलतः वैयक्तिक पीडा र छट्पटीहरुलाई काव्यात्मक रुप दिएको पाइन्छ।उनका कृक्तिहरूमा सामाजिक रुपमा विश्वजनीन पीडाहरुको समेत उठान गरिनुका साथै साँस्कृतिक र राजनीतिक विकृति विसंगतिहरुप्रतिको तिब्र असन्तुष्टि अभिव्यक्त भएको हुन्छ। सिर्जनामा जीवनको शाश्वत पक्षको खोजी र आदर्श जीवनको परिकल्पना गर्नु पनि उनको काव्यात्मक वैशिष्ट्य हो। प्रेम प्रकाश मल्लले मानव प्रेम, प्रकृति प्रेम र मातृभूमि प्रेम जस्ता प्रेमगत विविधतालाई आफ्ना रचनाहरूमा स्थान दिएका छन्। मल्लका रचनाहरूमा प्रकृतिको मानवीकरण र मानवको प्रकृतीकरण दुवै प्रविधिको उपयोग गरिएको हुन्छ। थोरैमा धेरै भन्नसक्ने सूत्रात्मक कथनशैलीका धनी प्रेमप्रकाश मल्लका रचनाहरु गीतिलय, मात्रा निकट गद्यलय एवं विशुद्ध गद्य लयको प्रयोग गरी लेखिएका हुन्छन् । पात्र नाम र विषयवस्तुको अन्तर मिश्रणबाट आफ्ना रचनाहरुको शीर्षकीकरण गर्न रुचाउने प्रेम प्रकाश मल्लले आफ्ना रचनाहरूमा अत्यन्त कम पात्र, मानवीय मानवेतर दुबै किसिमका पात्रहरूका साथै प्रायः अनुकूल र स्थिर पात्रको संयोजन गर्ने गर्छन्। विविध विम्व, प्रतीक र अलङ्कारहरूको प्रयोग गरिएका उनका रचनाहरूमा अनुप्रासगत विविधता एवं अनुकरणात्मक शब्दहरूको प्रयोग गरी भाषामा सांगीतिकताको सिर्जना गरेको पाइन्छ। विचलनयुक्त काव्यात्मक शैली एवं माधुर्य गुणयुक्त भाषाको प्रयोग गर्ने प्रेमप्रकाशले मूलतः करुण र अंशतः अन्य रसहरूको उपयोग गरी आफ्ना रचनाहरू रचेको पाइन्छ।
प्रेम प्रकाश मल्लको योगदान र कदर
साहित्य सिर्जनाको क्षेत्र बाहेक गीत सङ्गीतका क्षेत्रमा समेत अविस्मरणीय योगदान पुरÞ्याएका प्रेमप्रकाश मल्लका ’वनकी म चरी’, ’माछापुच्छ्रे फेवातालमा’, ’आँखैमा हिउँचुली’ लगायत डेढ दर्जन जति गीतहरु आफ्नै स्वर र सङ्गीतमा रेकर्ड भई रेडियो नेपालबाट समेत बेलाबेलामा प्रसारण हुने गर्दछन् भने ’माछापुच्छ्रे फेवातालमा’, ’वनकी चरी’, ’हे राजा’ जस्ता तीनवटा गीतहरु नेपाल टेलिभिजनबाट पनि प्रसारित भएका छन् ।यसरी साहित्य सिर्जना र गीत सङ्गीतमा महत्त्वपूर्ण योगदान पुरÞ्याएका आधारमा प्रेमप्रकाश मल्लले दर्जनौ सम्मान एवं पुरस्कार प्राप्त गरेका छन्। उनले प्राप्त गरेका केही प्रमुख सम्मानहरुमा युवा खेलकूद तथा संस्कृति मंत्रालयद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार (२०५४), रोटरी क्लब सम्मान, उद्योग व्यापार मेला म.प. बाट सम्मान (२०५७), नेकपा एमाले भेरी अञ्चल समन्वय कमिटीद्वारा अभिनन्दन (२०५८), श्री ५ वीरेन्द्र ऐश्वर्य सेवापदक २०५८, प्रथम राष्ट्रिय चलचित्र महोत्सवद्वारा कदर पत्र (२०६२), २०००० राशिको छिन्नलता गीत पुरस्कार तथा सम्मान (२०६०), नेपाल सांस्कृतिक संघद्वारा अभिनन्दन पत्र, दर्शन–सेवा समाजद्वारा सम्मान (२०६३ ), नेपाल राष्ट्रिय कला मन्दिर पुरस्कार (२०६३), शिव संकल्प साहित्य परिषद् नर्मदापुरम मध्यप्रदेशद्वारा सम्मान (२०६४), मध्यपश्चिम स्रष्टा समाजद्वारा अभिनन्दन पत्र (२०६४) का साथै महेन्द्र पुस्तकालय नेपालगञ्ज, राप्ती कला केन्द्र दाङ, आकुरा नेपालगन्ज, हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवन, नेपाली साहित्य मन्दिर काठमाडौँ, मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान नेपालगन्ज लगायत दर्जनौं साहित्यिक संघसंस्थाहरूले सम्मान तथा पुरस्कार प्रदान गरेका छन्। गीत संगीत र साहित्यका त्रिवेणी प्रेम प्रकाश मल्लको योगदानको विशेष कदर गर्दै मरणोप्रान्त सम्मान गरिएको छ। यस क्रममा पोखरा महानगरपालिकाले मिति २०८० चैत्र ४ का दिन मरणोप्रान्त मल्ललाई अभिनन्दन पत्रसहित सम्मान गरेको हो।
प्रेम प्रकाश मल्लको साहित्यिक एवं साङ्गीतिक योगदानलाई जीवन्त बनाइ राख्न भए गरेका कार्य प्रशंसनीय छन्। यस सन्दर्भमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागको मातहतमा रही शोधार्थी हरिप्रसाद तिमल्सिनाले प्रेमप्रकाश मल्लको जीवनी व्यक्तित्व र कृतित्व(२०५८) शीर्षकमा अनुसन्धान कार्य सम्पन्न गरेका छन् भने अर्का शोधार्थी लेकप्रसाद प्याकुरेलले प्रेमप्रकाश मल्लको काव्यकारिता (२०६४) शीर्षकमा शोध सम्पन्न गरेको पाइन्छ । त्यसैगरी महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको नेपाली विभागको मातहतमा रही शोधार्थी गोपाल पोखरेलले प्रेमप्रकाश मल्लको गाउँदा गाउँदै कविता संग्रहमा प्रयुक्त व्यङ्ग्य चेतनाको अध्ययन (२०७२) विषयक शोध गरेका छन् भने इन्दिरा रावलद्वारा प्रेम प्रकाश मल्लको गाउँदा गाउँदै कृतिको कृतिपरक अध्ययन (२०८३) समेत सम्पन्न भइसकेको छ। उनै प्रेमप्रकाश मल्लका बारेमा पीडाका सगरमाथा प्रेम प्रकाश मल्ल नामकरण गरिएको ग्रन्थ प्रकाशनमा आएको छ भने गोपालप्रसाद शर्मा अधिकारीको समालोचनाको यात्रा (२०७६),मध्यपश्चिमका कविता (२०५५), नेपाली लेखकहरूको परिचयात्मक पुस्तक (२०५५),मध्यपश्चिम स्रष्टा समाजद्वारा प्रकाशित सिर्जना (२०६५), मधु प्रदक्षिणा (२०७१), संयक दर्शन (२०८०) बाँके शताब्दी साहित्य (२०८०), दृष्टिविम्ब (२०८२) लगायतका साहित्यिक एवं समालोचनात्मक कृतिहरूमा पनि प्रेम प्रकाश मल्लको चर्चा अटाएको छ। यस बाहेक मल्लका सन्दर्भमा विभिन्न साहित्यिक एवं समाचारमूलक पत्रपत्रिकाहरूले पनि प्रेमप्रकाशलाई चिनाउने प्रयत्न गरेका छन्। यसरी योगदान पुर्याउने संस्थागत रूपमा प्रकाशनमा आएका केही महत्वपूर्ण पत्रपत्रिकाहरूमा भेरी साहित्य समाजको मुखपत्र दौँतरी, मध्यपश्चिम स्रष्टा समाजद्वारा प्रकाशित पीडाको सगरमाथा प्रेमप्रकाश मल्ल तथा यसैको सिर्जना अङ्क, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरद्वारा प्रकाशित समालोचना विशेषाङ्क, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जद्वनरा प्रकाशित युगवाडी रहेका छन्। यसै सन्दर्भमा जनमत अर्धसाप्ताहिक लगायतका पत्रिकाहरूले प्रेमप्रकाश विशेषाङ्क प्रकाशन गरी उनको योगदानलाई उच्च कदर गरेको देखिन्छ भने पाउन कठिन हुँदै गएका उनका कृतिहरूलाई भोलिका पाठकहरूसम्म जीवित पुर्याउन मल्लका सबै कृतिहरु एकत्रित गरी प्रेम प्रकाश मल्ल ’मधुकर’ रचनावली प्रकाशनको प्रयासले अन्तिम स्वरूप प्राप्त गर्दैछ। प्रेमप्रकाश मल्लको योगदानलाई जीवन्त बनाउन भेरी साहित्य समाज केन्द्रीय समितिले स्थापना गरेको प्रेमप्रकाश मल्ल मधुकर स्मृति पुरस्कार (२०७३) पनि स्मरणीय छ।प्रत्येक वर्ष प्रेमप्रकाश मल्लको जन्मजयन्तीको अवसर पारेर प्रदान गरिने उक्त पुरस्कारद्वारा एक दर्जन बढी साहित्यसाधक पुरस्कृत भइसकेका छन्।
निश्कर्ष
पश्चिम नेपालका उज्ज्वल नक्षत्र प्रेमप्रकाश मल्ल गीत, संगीत र साहित्यका त्रिवेणी हुन्। सरल, संक्षिप्त र सूत्रात्मक रचनाद्वारा पाठकका मनछुने प्रभावकारी विचार सम्प्रेषण गर्ने प्रेमप्रकाश मल्लले आठवटा साहित्यिक कृतिहरूको योगदान दिएका छन्। पोखरा त साँच्चिकै को पोखरा नै रहेछ, वनकी म चरी कल्ले, म मरे पनि मेरो देश बाचिरहोस् जस्ता सारगर्भिक गीतका रचना र गायनका माध्यमद्वारा सांगीतिक क्षेत्रमा अमिट छाप छोड्न सफल प्रेमप्रकाश पिबी शेली, लक्ष्मीप्रसाद देवकोटा र माधव प्रसाद घिमिरे जस्ता मुर्धन्य साहित्यकारहरूबाट प्रभावित भई लेखनकर्मलाई थप निखार्दै लगेको देखिन्छ। स्वच्छन्दतावादी प्रवृत्तिलाई आत्मसात गरी साहित्य लेखनकर्ममा उद्धत प्रेमप्रकाश मल्लका रचनाहरूमा प्रकृतिको तनमय र मनमय चित्रण गरिएको हुन्छ। समाजका विकृति र विसंगतिहरुलाई रोचक एवं घोचक पाराले प्रस्तुत गर्ने मल्लले आफ्ना रचनाहरूमा वैयक्तिक एवं सार्वजनिन पीडाहरूलाई प्रस्तुत गरेका छन्। राष्ट्रियताका भावलाई समेत अत्यन्त सारगर्भिक तवरबाट उठाउने मल्लको साहित्यिक एवं साङ्गीतिक योगदानको उच्च कदर गर्दै दर्जनौँ पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। प्रेम प्रकाश मल्लको पार्थिव शरीर यस संसारमा नरहे पनि सधैंभरि अमर तुल्याउने गरी भएका शोधहरू, अध्ययन अनुसन्धानहरू, उनका बारेमा प्रकाशित गरिएका लेख रचनाहरू प्रशंसनीय छन् । उनै प्रेमप्रकाश मल्ल उनका मन छुने कालजयी गीत, कर्णप्रिय गाएकी एवं सारगर्भित कृतिका माध्यमद्वारा पाठकहरूको मन मस्तिष्कमा दिगदीगन्तर बाँचिरहनेछन्।









प्रतिक्रिया दिनुहोस्