खजुरारोडमा अवैधानिक बसपार्क?ः यात्रु तानातानदेखि सडक जामसम्म



तिलक गाउँले । खजुरा (बाँके) ।

बाँके नेपालगन्जको धम्बोझी चोकनजिकै खजुरा रोडको अवस्था हेर्दा सडक हो कि अवैधानिक बसपार्क छुट्याउनै मुस्किल पर्छ । सडकको दुवैतर्फ यात्रु ओसारपसार गर्ने बस, मिनीबस, म्याजिक भ्यान, अटो रिक्सादेखि ई–रिक्सासम्म जथाभावी पार्किङ गरिएका हुन्छन् । साँघुरो सडक त्यसै पनि सवारीको चापमा परेको छ । त्यसमाथि सडककै छेउछाउमा सवारीसाधन रोक्ने, यात्रु चढाउने र ओराल्ने तथा यात्रु तानातान गर्ने क्रमले सर्वसाधारणले सास्ती खेपिरहेका छन् ।

धम्बोझीबाट खजुरातर्फ जाने यो सडक नेपालगन्जको व्यस्त सडकखण्डमध्ये एक हो । तर सडकको क्षमताभन्दा धेरै सवारीसाधन सञ्चालन हुँदा यहाँ दिनहुँजसो अस्तव्यस्त अवस्था देखिन्छ । सडकमा गुडिरहेका सवारीसाधनभन्दा सडक छेउमा यात्रु कुरेर बसेका र यात्रु तान्न प्रतिस्पर्धा गरिरहेका सवारीसाधनका कारण समस्या झन् बढेको छ । एउटा गाडीले यात्रु देख्नेबित्तिकै हर्न बजाउँछ । अर्को गाडीले त्यही यात्रुलाई आफ्नो सवारीमा चढाउन आवाज लगाउँछ । कतिपय अवस्थामा एउटै यात्रुलाई दुई–तीन वटा सवारीले तानातान गर्ने अवस्था देखिन्छ । यात्रु चढाउने विषयमा चालक तथा सहचालकबीच भनाभनसमेत हुने गरेको स्थानीयको गुनासो छ ।

यात्रुलाई आफ्नो सवारीमा चढाउन खोज्दा कतिपय अवस्थामा अवस्था यतिसम्म असहज बन्ने गरेको छ कि श्रीमान् एउटा गाडीमा र श्रीमती अर्को गाडीमा पुग्ने अवस्थासमेत आउने गरेको यात्रुहरू बताउँछन् । यात्रु तानातानको यस्तो प्रवृत्तिले यात्रुलाई सहज यात्राभन्दा पनि झन्झट र असुरक्षाको अनुभूति गराउने गरेको छ । केही दिनअघि प्रहरीले यात्रु तानातान गर्ने केही सवारी चालक तथा सहचालकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि नियन्त्रणमा लिएको थियो । प्रहरीले केही दिन नियन्त्रणमा लिएपछि छाडे पनि त्यसको प्रभाव लामो समय टिक्न सकेन । अहिले पुनः खजुरा रोडको अवस्था उस्तै बन्न थालेको छ । प्रहरीको निगरानी र कारबाही केही समयका लागि मात्रै प्रभावकारी हुने तर दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले ठोस व्यवस्था गर्न नसक्दा समस्या दोहोरिने गरेको स्थानीय बताउँछन् ।

करोडौँ खर्चको बसपार्क, सडकमा किन सवारी ?

नेपालगन्जमा यात्रु तथा सवारीसाधनको व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले करोडौँ रुपैयाँको लागतमा अत्याधुनिक बसपार्क निर्माण गरिएको छ । बसपार्कमा यात्रुका लागि आवश्यक पूर्वाधारदेखि सवारी पार्किङ र सञ्चालनका लागि समेत पर्याप्त संरचना बनाइएको छ । तर विडम्बना, बसपार्क निर्माण भएको लामो समय बितिसक्दा पनि यात्रुवाहक सवारीसाधनको ठूलो हिस्सा सडकबाटै सञ्चालन भइरहेको छ । बसपार्क सञ्चालनमा आए पनि खजुरा रोड, वाटरपार्क र कारकाँदो चोकमा सवारीसाधनको भीड घटेको छैन ।

बरु सडककै छेउलाई बसपार्कको विकल्पका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको देखिन्छ । बसपार्कमा जानुपर्ने सवारीसाधन सडकमा रोकिएर यात्रु तानातान गर्ने काम गरिरहेका छन् । यसले एकातिर सडकको आवागमन प्रभावित भएको छ भने अर्कोतिर बसपार्कको उद्देश्यसमेत प्रश्नमा परेको छ । अझ रोचक पक्ष त के छ भने बसपार्क ठेक्कामा लिएका ठेकेदार पक्षले खजुरा रोडमै आएर सवारीसाधनबाट बसपार्क शुल्क उठाउने गरेको स्थानीयको भनाइ छ । त्यसका लागि सडकमा छुट्टै व्यक्ति खटाइएको बताइन्छ ।

यदि सवारीसाधन बसपार्कमा प्रवेश नै नगरी सडकमा यात्रु चढाउने र ओराल्ने हो भने बसपार्क शुल्क किन र कसरी उठाइन्छ ? सडकमा शुल्क उठाउने अनुमति कसले दिएको हो ? सडकलाई नै पार्किङस्थल र यात्रु चढाउने–ओराल्ने ठाउँ बनाउने छुट कसरी मिलिरहेको छ ? यी प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ ।

यात्रुलाई सास्ती, चालकलाई मनपरी

खजुरा रोडमा यात्रुका लागि अर्को ठूलो समस्या भनेको सवारीसाधनको प्रतिस्पर्धा हो । यात्रु देख्नेबित्तिकै सवारी रोक्ने, अगाडि बढ्न नदिने र यात्रुलाई आफ्नो सवारीमा चढाउन खोज्ने प्रवृत्तिले सडकको आवागमन प्रभावित भइरहेको छ । कतिपय चालकले यात्रु पाउने आशामा सडकको बीचभागसम्मै सवारी रोकेर बस्ने गरेका छन् । पछाडिबाट आएका सवारीसाधनले बाटो पाउन नसक्दा सडकमा जाम हुने गरेको छ । साना सवारीसाधनको सङ्ख्या बढ्दै जाँदा समस्या झन् जटिल बनेको छ ।

अटो रिक्सादेखि ई–रिक्सासम्म सडकको दुवैतर्फ पार्किङ हुँदा सडकको वास्तविक चौडाइ झनै साँघुरो भएको छ । सडकमा सवारी साधनको ट्याँ–ट्याँ र टुँ–टुँले पैदलयात्रीसमेत हैरान छन् । विद्यालय जाने विद्यार्थी, वृद्धवृद्धा, महिला तथा बालबालिकाले सडक पार गर्नसमेत कठिनाइ भोग्ने गरेका छन् । सडकमा जथाभावी पार्किङ र यात्रु तानातानले दुर्घटनाको जोखिमसमेत बढाएको छ । अचानक सवारी रोकिने र यात्रु चढाउन–ओराल्न सडकको बीचमै प्रतिस्पर्धा हुने भएकाले पछाडिबाट आउने सवारीले नियन्त्रण गुमाउने जोखिम रहन्छ ।

ट्राफिक व्यवस्थापन कहाँ छ ?

सडकमा देखिएको यो अव्यवस्था नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी ट्राफिक प्रहरीको पनि हो । तर प्रहरी केही समय सक्रिय हुने र त्यसपछि अवस्था पुनः पुरानै अवस्थामा फर्किने गरेको देखिन्छ । प्रहरीले कारबाही मात्रै गरेर समस्या समाधान हुँदैन । सवारीसाधन कहाँ रोकिने, कहाँबाट यात्रु चढाउने–ओराल्ने र कुन सवारीले कुन रुटमा सञ्चालन गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था आवश्यक छ ।
बसपार्क निर्माणको उद्देश्य नै सडकमा हुने अव्यवस्थित पार्किङ र यात्रु ओसारपसारलाई व्यवस्थित गर्नु हो । त्यसैले बसपार्क बनेपछि पनि मुख्य सडकलाई बसपार्कजस्तै प्रयोग गर्न दिइनु आफैँमा व्यवस्थापनको कमजोरी हो । सम्बन्धित यातायात व्यवसायी, नेपालगन्ज उपमहानगरपालिका, ट्राफिक प्रहरी तथा जिल्ला प्रशासनबीच समन्वय गरेर यसको दीर्घकालीन समाधान खोज्नुपर्ने देखिन्छ ।
कहिलेसम्म सहने यात्रुले ?

धम्बोझी–खजुरा रोडको समस्या आजको मात्रै होइन । लामो समयदेखि यात्रु, चालक, पैदलयात्री र स्थानीयले यस क्षेत्रमा भइरहेको अव्यवस्थाबारे गुनासो गर्दै आएका छन् । केही दिन प्रहरीको कारबाही हुन्छ, केही दिन सडक व्यवस्थित देखिन्छ, तर फेरि उही पुरानो अवस्था दोहोरिन्छ । प्रश्न अब यति मात्रै हो—सडकलाई सडककै रूपमा राख्ने कि अवैधानिक बसपार्क बनाइरहने ? करोडौँ खर्च गरेर अत्याधुनिक बसपार्क बनाइएको छ भने त्यसको प्रयोग अनिवार्य गराउनुपर्छ । सडकमा यात्रु तानातान गर्ने, जथाभाबी पार्किङ गर्ने र ट्राफिक व्यवस्थालाई चुनौती दिने प्रवृत्ति रोक्नुपर्छ । यात्रुले आफ्नो गन्तव्यमा पुग्नका लागि सवारी चढ्दा श्रीमान् एउटा गाडी र श्रीमती अर्को गाडीमा पुग्ने अवस्था आउनु कुनै पनि सभ्य यातायात व्यवस्थाको परिचय होइन ।

धम्बोझी–खजुरा रोडलाई व्यवस्थित बनाउने हो भने तत्कालका लागि जथाभावी पार्किङ हटाउने, यात्रु चढाउने–ओराल्ने निश्चित स्थान तोक्ने, यात्रु तानातान गर्ने सवारीमाथि नियमित निगरानी तथा कारबाही गर्ने र बसपार्कबाटै सवारी सञ्चालन हुने बाध्यकारी व्यवस्था गर्नुपर्ने देखिन्छ । नत्र करोडौँ खर्चमा बनेको अत्याधुनिक बसपार्क एउटा संरचनाका रूपमा मात्रै सीमित हुनेछ, अनि नेपालगन्जका मुख्य सडकहरू भने दिनप्रतिदिन अव्यवस्थित बसपार्कमा परिणत हुँदै जानेछन् ।

नियम सबैका लागि बराबर हुनुपर्छ

सडक सार्वजनिक सम्पत्ति हो । कुनै व्यक्ति, व्यवसायी वा यातायात समूहले आफ्नो सुविधाका लागि सडकलाई पार्किङस्थल बनाउन पाउने अधिकार हुँदैन । यात्रु तानातान गर्ने, सडकमा जथाभावी सवारी रोक्ने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न स्पष्ट नियम र प्रभावकारी कार्यान्वयन आवश्यक छ । बसपार्क निर्माणमा राज्यको करोडौँ रुपैयाँ लगानी भइसकेको अवस्थामा त्यसको पूर्ण उपयोग गराउनु पनि सम्बन्धित निकायको दायित्व हो ।

बसपार्क खाली राखेर सडकमा सवारीको भीड बढाउने हो भने करोडौँको लगानीको औचित्यमाथि नै प्रश्न उठ्छ । सवारीसाधनबाट शुल्क उठाउने हो भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया पनि सार्वजनिक हुन आवश्यक छ । बसपार्कमा प्रवेश नगर्ने सवारीसाधनबाट सडकमा शुल्क उठाउने व्यवस्था छ भने त्यसको अनुमति र राजस्वको पारदर्शिताबारे पनि सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार