कृति समीक्षाःवाचाल स्वरहरुको गर्जन



खगेन्द्र गिरि ‘कोपिला’

स्मृति
पीडायुक्त ध्यानजस्तो हुँदोरहेछ
जहाँ म हराउँछु आफूलाई
र पाउँछु पनि
कल्पिन्छु कि कसैले मलाई
परेवा बनाएर उडाइदिएको छ
आकाशतिर

कसरी रसाउँछन् भित्ताहरु ? कसरी पग्लिन्छन् चट्टानहरु ? कसरी बोल्छन् अक्षरहरु ? कसरी सङ्लिन्छन् विचारहरु ? कसरी उजेलिन्छन् अन्धकारहरु ? कसरी कठोर हुन सक्छ पानी ? कसरी विद्रोह गर्न थाल्छ आफ्नै बानी ? कसरी आफैदेखि टाढिन थाल्छन् आफ्नै सपना ? कसरी जिस्क्याउन थाल्छ विपनाले ? सके यस्ता थुप्रै अनुत्तरित प्रश्नहरु सलबलाएपछि उर्लिदा होलान् कविता ! लेखिदा होलान् कविता !

म श्रमको परिणाम हुँ
मेरा हातहरुले ढुङ्गा फुटाल्दा
हलोले चिरेर धर्ती उल्ट्याउँदा
कलमले कागजमा कविता कोर्दा
मैले आफ्नै अनुपम अस्तित्व
निर्माण गरिरहेको हुन्छु

आहा ! निर्माणको यस्तो अनौठो रहर बोकेका रहेछन् कवि केशव निमेषले । कोहलपुरका पुराना कवि केशव निमेषको नयाँ कविता सङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ पढेपछि मलाई छोप्न आइपुगेको मीठो तरङ्गले मलाई अनेक प्रश्न र अनेक उत्तरको रोटेपिङ्मा निकै बेर मच्चाइरह्यो । म प्रश्नैप्रश्नको थुप्रोले थिचिएँ । म उत्तरैउत्तरको भारीले पुरिएँ । त्यही थिचाइ र पुराइभित्र मैले अक्षरको शक्ति र भावको कला अनुभूत गरेँ । तैपनि मैले दिन सकिनँ कविता के हो? भन्ने मौन प्रश्नको कुनै गतिलो उत्तर । म त केशव निमेषका कविताको ललित रागमा लट्ठिदै बिन बज्दा नाँच्न थाल्ने सर्पजस्तै एकोहोरो नाचिरहेँ । पाठकलाई यस्तो विचित्रको अनुभूति गराउने कला नै पो हो कि कतै कविता भन्नु पनि ?

जस्तोसुकै घात सहिदिने
पीरहरुको निर्मम प्याला पिइदिने
दुःखहरु दबाएर हाँस्न सक्ने
अनेक संघर्षहरुको बाटो हिड्न प्रेरित गर्ने
मान्छेको मन पनि
ठिङ्ग उभिएको एउटा पहाड नै हो

कहाँकहाँ दाँज्न भ्याएका छन् कविले मान्छेको मनलाई ! यी कविता पढ्दैगर्दा कविको मनसंगसंगै पाठकको मन पनि कतिखेर पीरहरुका निर्मम प्याला पिइदिन्छ । कतिखेर दुःखहरु दबाएर हाँसिदिन्छ । कतिखेर ठिङ्ग उभिएको पहाड भैदिन्छ र रसाइरहन्छ कविताका सुस्केरामा भावको मूल फुटाएर ।

मैले
लेख्न छाडिदिएँ भन्नुको अर्थ
बोल्नै छाडिदिएँ भन्नु हैन

तर यतिबेला
म जिब्रो भएर पनि चुपचाप छु
किन कि
मैले बोल्नै छाडिदिएँ भन्नुको अर्थ
सोच्नै छाडिदिएँ भन्नु कदापी होइन

केशव निमेषको यसै वर्ष प्रकाशित यस कवितासङ्ग्रहमा उनका चौतिस ओटा परिपक्क कविता समेटिएका छन् । उनले आफ्ना कवितालाई आक्रोशको आँधी, विचारको कारखाना र स्मृतिका जलकुम्भी भनेर अथ्र्याउँदै निश्चित आकारमा समेटेर पस्काएको भए पनि यी कवितामा आजको असन्तुष्ट समय, आजका मानिसको असहमत मन र आजका समस्याहरुको प्रष्ट रुपमा उठान गरेका छन् । यद्यपि कविको दृष्टि सर्वत्र पुगेको छ । हेर्न भ्याएका र समेट्न सकिने सबै विषयबस्तुमा कविको जिज्ञासा पुगेको छ । तर पनि कवि आजको समयका समस्या र समाधानप्रति बढी संवेदनशील देखिएका छन् । आजको समयका समस्या र समाधानको केन्द्रमा राजनीति हुने भएकोले कविले देशको राजनीतिलाई निर्देशित गर्ने र डो¥याउन खोज्ने व्यक्ति, समूह र सपनाहरु पट्टि नै आफ्ना प्रश्न सोझ्याएका छन् । आक्रोश तेर्साएका छन् । असहमति पोखेका छन्

कमरेड सजिलो छैन
भेरी सङ्लिएजस्तो इतिहासबाट बेदाग रहन
मेटिए होलान् हत्केलाका दाग
तर मस्तिष्कमा
विचारले पारेका खोपिल्टाहरु अझै होलान्
कहाँ पुग्यो समाजवाद ?
यसको त उत्तर चाहिन्छ मलाई !

केशव निमेषका कविता समकालिन सत्ता राजनीतिप्रति हरपल गुनासो गरिहन्छन् । उनलाई सत्ता र सत्तामा पुगेकाहरुले नै यो समयलाई बिगारेका हुन् भन्ने ठोकुवाले व्यग्र बनाएको छ । उनी आम मान्छेको अल्छी, निरपेक्षता, अरुले भनेको कुरा तत्काल पत्याइहाल्ने स्वभाव र नियतिलाई स्वीकार्ने बानी देखेर पनि नदेखेजस्तो गर्छन् । यद्यपि सत्ताको ससानो हेल्चेक्¥याइँलाई भने कविले क्षमा दिदैनन् । सत्तामा बस्नेहरुले ढाँट्नु हुन्न, काम बिगार्नु हुन्न र अलिकति त्रुटी गर्नु हुन्न भन्ने उनको उद्घोष छ ।

भन्नुस्
यो कुर्सीका लागि म तपाइँलाई
कुन माटो चढाउँ ?
सुस्ता सेलाउँ कि लिपुलेक लल्कारु ?
मत तयार छु बुद्ध बेच्न पनि !

भन्नुहोस् यो सिंहासनको खातिर
तपाइँको चरणकमलमा के चढाउँ?
सीता चढाउँ कि सगरमाथा सुम्पिउँ ?
छन त
पुर्खाहरु वीर थिए मेरा
संसारमा कहलिएका योद्धाहरु थिए
मेरा बाउबाजे
तर म आमा बेच्ने हाटमा आइपुगेँ

एकछिन घोत्लिएर आफैलाई प्रश्न गर्न बाध्य पार्दैन त पाठकलाई यस कविताले !
हुन त कवि केशव निमेषले स्वघोषणा गरेका छन्— ‘माक्र्सवादको विद्यार्थी हुन थालेपछि मैले समाजमा जे देखेँ त्यसले मलाई कविता लेख्न प्रेरित ग¥यो । जब सिंगो सत्ता पुँजिवादको कठपुतली बन्न थाल्छ, त्यतिबेला कविहरुले विद्रोहीको रुप लिन थाल्छन् ।’ उनले यसरी आफ्नो कवित्वलाई माक्र्सवादको पक्षपोषण र पुँजिवादप्रतिको असहसमतिकै परिधिभित्र राख्न खोजे पनि उनका कविता भने विचारको संकुचन तथा आग्रह र पूर्वाग्रहको सीमा नाघेर उन्मुक्त भएर गर्जेका छन् । आफ्नो बाटो र घोषित उद्धेश्य प्रति घात गर्ने कसैलाई पनि प्रहार गर्न छाडेका छैनन् उनले ।
माक्र्सवादले चेतना र विचारको प्रारम्भिक गोरेटो देखाएको भए पनि कवि केशव निमेष त्यही गोरेटोलाई समातेर बसेका छैनन् । उनको काव्यकला एकांकीपनको बर्को ओढेर मात्रै बसेको छैन । उनको चेतनाले व्यापक आयाम ओगटेको छ । आम कविहरु प्रायः आफ्नो विचार र आफ्नै चेतनाको बोझले थिचिएर कनिकनि लेखिरहेका हुन्छन् । तर केशव निमेषले भने आफ्नो कल्पनाशीलता र स्वतन्त्रतालाई खुकुलो पारेका छन् । त्यही भएर त उनी जसलाई पनि गुनासो गर्न, प्रश्न गर्न र कटाक्ष गर्न सक्षम भएका छन् ।

तिमीले एउटा उँचाई लिएपछि
एक पटक
अवश्य तल हेर्नु पर्ने थियो
तर तिमीले हेरेनौ
उँचाइबाट प्रायः
होचा देखिन्छन् हिमाल पनि
हिमालबाट बग्दै गरेका नदी पनि
मसिना धागाले कोरेका धर्काजस्ता देखिन्छन्

केशव निमेषका कवितामा आजको समय र आजका मानिसको मनोवृत्तिको उठान सुन्दर ढङ्गले भएको छ । आफ्ना अनुभूति, संवेदना र हृदयमा जागेका भावहरुलाई शब्द संयोजन र वाक्य गठनको कलाले कविताको स्वरुपमा ढाल्न उनले गरेको प्रयत्न लोभलाग्दो छ । कवितामा भन्नु पर्ने र लेख्नु पर्ने कुरालाई उनले निकै परिस्कृत र गहकिलो ढङ्गले प्रस्तुत गरेका छन् । कतै कतै विचार र आग्रहले स्वर चर्को हुन खोजेको भएपनि सबै प्रकारका पाठकहरुको मन जित्ने र पढिसकेपछि अपनत्व अनुभूत गराउने सामथ्र्य उनका कवितामा भेटिन्छ । मलाई लाग्छ उनको काव्यिक वैशिष्ट्य यही हो ।

कुनै यात्रामा निस्किएका होइनन् तिनीहरु
घर बिर्सेका चराहरु पनि हैनन्
आफ्नो आकाश बिर्सिएजस्तो
आकाशमुनिको न्यानो आँगन भुलेजस्तो
तर यतिबेला तिनीहरु
कुनै अञ्जान देशको बगरमा
गुमनाम हिडिरहेछन्

रोजगारीका अवसर खोज्दै देश छाडेर पराइ देशमा पुगेका युवाहरुको अवस्थालाई चित्रण गरिएको यस कवितांशले पाठकको हृदयलाई विदिर्ण बनाइदिन्छ । पढ्दापढ्दै आँखा रसाउन पुग्छन् । अरुको बाध्यता र व्यथा आफ्नैजस्तो गरेर पस्किनु र पाठकले त्यसलाई आफ्नै कुरा ठान्नु कुनै पनि कविताको शक्ति मानिन्छ । यी कवितामा प्रचुर त्यो शक्ति छ । त्यही शक्तिले मजस्तो भिन्न विचारको पाठकलाई पनि लोभ्याइरह्यो । शब्दशब्दको गुञ्जनले बाँधिरह्यो । यस कवितासंग्रहको नामले कताकता शुन्यताको आभास गराएको भए पनि यी कविताहरु आशावादिता र जीवनमुखी संघर्षका उत्प्रेरक नै हुन् । यो सङ्ग्रह कविका वाचाल स्वरहरुको गर्जन हो । ‘मृत्युगञ्जको मौनता’ नभएर ‘जीवनकुञ्जको मुखर उद्घोष’ नै हो यो सङ्ग्रह ः
सुन्न सक्यौ भने सुन्दै गर
तर यो बाँसुरी अब मौन बस्ने छैन
उसले क्रान्ति गाउने छ निरन्तर

हराउँछ भन्दै हिडेका आवाजहरुलाई भेटाइदिने छ

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ६ गते शनिबार