शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउ यतिबेला बजारमा छ्याप्छ्याप्ती छ । कर्णाली प्रदेशका जुम्ला, हुम्ला, कालीकोट र मुगुमा उत्पादित स्याउ बजारमा सहजै उपलब्ध छन् । कर्णालीमा उत्पादित स्याउका मुख्य बजार काठमाडौँ, बुटवल, सुर्खेत, बाँके र बर्दिया लगायतका जिल्लामा सहज रूपमा बिक्री वितरण भइरहेको छ । बाँकेको नेपालगन्ज, कोहलपुर, बर्दियाको गुलरिया, बाँसगढी र राजापुर, दाङको तुलसीपुर, घोराही र लमहीमा मुख्य फलफूल बजारदेखि गल्ली–गल्लीका ठेलासम्म अहिले राताम्मे कर्णालीकै स्याउ देख्न सकिन्छ ।
फुटकर तथा होलसेल व्यवसायीहरूले स्याउ बिक्री वितरण गरिरहेका छन् भने ठूलो सङ्ख्याका स्थानीय व्यवसायीले ठेला, रिक्सा र पसलमा ती स्याउ बिक्री गरिरहेका छन् । यतिमात्रै होइन महिलाहरूले बोकेरै विभिन्न क्षेत्रमा स्याउ पु¥याउने गरिरहेका हुन् । अहिले कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ स्थानीय बजारमा उपलब्ध छन् । अहिले स्याउ बजारीकरणको उपयुक्त समय हो । कर्णालीका कालीकोट र मुगुका जिल्लामा यसअघि साउन दोस्रो सातादेखि बजारमा आइसकेको थियो ।
पूर्ण रूपमा नपाक्दै काँचो अवस्थामै बाहिरी बजारमा आएको स्याउ महंगो मूल्यमा खरिद–बिक्री भएको थियो । पछिल्लो समय कर्णालीभन्दा बाहिरी जिल्लामा आएको अधिकांश स्याउ जुम्लाको हो । नेपालकै पहिलो अर्गानिक जिल्ला घोषित जुम्लामा उत्पादित स्याउ पछिल्ला वर्षहरूमा सडकमार्ग तथा स्थलमार्ग हुँदै देशभर पुग्ने गरेको छ । विसं २०७० सालयता जुम्लाससहित कर्णालीमा उत्पादित स्याउको व्यापार उल्लेख्य रूपमा बढेको छ । यद्यपि किसानले उत्पादनको मूल्य आफैँ निर्धारण गर्न नपाउने, उचित मूल्य नपाउने, ढुवानीमा सरकारी सहुलियतको अभाव, समयमै कार्टुन उपलब्ध नहुने र बजारमा अपेक्षित मूल्य नपाउने समस्या अझै कायम छन् । विगतका वर्षझैँ यसपटक पनि उक्त समस्या दोहोरिएको छ ।
जुम्लामा उत्पादित स्याउ व्यापारीहरूले किसानसँग प्रतिकेजी ८० देखि ९० रूपैयाँँमा खरिद गर्छन् ।व्यवसायी मुनबहादुर विष्ट कर्णालीको स्याउले गुणस्तर अनुसारको मूल्य नपाएको बताउँछन् । उनका अनुसार विशेषगरी जुम्लाको गुणस्तरीय र परिपक्व स्याउ बजारमा पुगेको छ । तर, स्याउले उचित मूल्य पाउन नसकेको विष्टले बताए । जुम्लाको अर्गानिक स्याउ न्यूनतम ६० रूपैयाँँदेखि अधिकतम १४० रूपैयाँँमा खरिद बिक्री भइरहेको उनको भनाइ छ । उनले जुम्लाका किसानहरूको बगैँचामै गएर किसान ८० देखि ९० रूपैयाँँ प्रतिकेजीमा स्याउ खरिद गरेर थिए ।
उनी भन्छन्, ‘स्याउ संकलन कामदारको ज्याला, गाडी भाडा र कार्टुन लगायतको खर्च जोड्दा अहिले हामीले जुन मूल्यमा बेचिरहेका छौँ, त्यो जुम्लाको अर्गानिक स्याउको उचित मूल्य होइन ।’ यसपटकभन्दा अघिल्लो वर्ष जुम्लाको स्याउ राम्रो मूल्य पाएको उनी बताउँछन् । स्याउ बेच्ने उपयुक्त समयमा पनि बजारभाउ घट्नु राम्रो नभएको उनले बताए । जबकी दैनिक टनका दरले स्याउ बजारमा आइरहेको छ । कोल्डस्टोरमा हाल्दासमेत राख्ने ठाउँ हुँदैन । बजारमा स्याउ राख्न खोज्दा सटर पनि पाइँदैन । व्याापारीहरूले गाउँ गाउँमा गाडी लिएर स्याउ खसालिरहेका छन् ।
तर, धेरै समय राख्दा कुहिने वा लगानी नउठ्ने डरका कारण सस्तो मूल्यमा व्यापारीहरू स्याउ बेच्न बाध्य भएको विष्टको भनाइ रहेको छ । जुम्लाको स्याउ बिक्रीका लागि उचित व्यवस्थापन नहुँदा किसाान र व्यापारी दुवै पक्षमा मर्कामा परेको उनको तर्क छ ।अर्का व्यवसायी सागर सुनार कर्णालीको अर्गानिक स्याउ पूर्वी नेपालका जिल्लाहरूमा लैजाने सुरसार गर्दैछन् । उनका अनुसार जुम्लाबाट स्याउ कर्णाली राजमार्ग हुँदै कोहलपुर आउने क्रममा रहेको छ । केही दिनमा स्याउ पूर्वी नेपालका इलाम र झापा लगायतका जिल्लाहरूमा पु¥याउने तयारीमा रहेको उनले बताए ।
भदौको पहिलो सातादेखि हालसम्म मात्रै उनले कोहलपुरमा झण्डै १ सय क्विन्टल स्याउ बिक्री गरिसकेका छन् । जुम्लाको स्याउ हालसम्म प्रतिकेजी अधिकतम् १४० रूपैयाँँमा बिक्री भइरहेको छ । अहिले व्यवसायीहरूले प्रति कार्टुन न्युनतम १७ सय देखि साढे १९ सयसम्म खरिद् बिक्री गरिरहेका छन् ।यसपटक पूर्ण रूपमा पाकेको स्याउ बजारमा आए पनि हाल बिक्री वितरण भइरहेको अधिकतम मूल्य विगतका तुलनामा कम हो । जबकी विगतका वर्षहरूमा २ सय रूपैयाँँसम्म पनि बिक्री वितरण हुने गरेको थियो । यसको प्रमुख कारण भने जुम्लाबाहेक कर्णालीका अन्य जिल्लाका स्याउ साउन पहिलो सातामै बजारमा पुग्नु रहेको उनको भनाइ छ ।उनले भने, ‘म केही वर्षदेखि स्याउ बिक्री वितरण गर्दै आइरहेको छु । विगतमा छिटो बजारमा स्याउ आउँथ्यो । मूल्य पनि राम्रो पाउँथ्यो । एकपटक विशेषगरी परिपक्व र पाकेको जुम्लाको स्याउ ढिलोगरी आएको छ । तर उचित मूल्य र राम्रो बजारीकरण पाउन सकेको छैन ।’
चिनियाँ स्याउ नआउँदा कर्णालीको स्याउले मूल्य पाउने विश्वास
भदौ १० को विनाशकारी बाढीका कारण रसुवागढी नाका ठप्प भएको छ । बाढीले नेपालतर्फ मात्रै होइन चीनतर्फ पनि सडक, भन्सार तथा अन्य पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । उक्त नाका हुँदै चीनबाट वार्षिक ८० अर्ब रूपैयाँँभन्दा बढी मूल्यका तयारी कपडा, विद्युतीय गाडी, इलेक्ट्रोनिक सामान, स्याउ, नासपाती लगायतका वस्तु आयात हुने गरेको छ । रसुवा बाढीले सडकसहित भन्सार कार्यालयका संरचनासमेत बगाएको छ । व्यवसायीले आयात गरेका सामानसमेत चीनतर्फको केरुङमा रोकिएका छन् ।
तातोपानी नाका लामो समयदेखि बन्द भएकोले चीनबाट आयात हुने वस्तुको ठूलो हिस्सा रसुवा नाकामा केन्द्रित थियो । हरेक वर्ष चाडपर्वको समयमा मात्रै यो नाकाबाट दैनिक ३५ भन्दा बढी कन्टेनर सामान आयात हुने गरेको छ । नेपालका ठूला चाडपर्व नजिकिँदै गर्दा ठूलो बाढीका कारण आयात पूर्ण रूपमा बन्द भएको छ । चाडपर्वको समयमा उत्तरी नाका बन्द भएपछि सरकारलाई वैकल्पिक नाकाका रूपमा मुस्ताङको कोरला नाकाबाट सामान आयात गर्न सकिने विकल्प छ । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदूर चुडालका अनुसार रसुवा बाढीका कारण व्यवसायीहरू केरुङमा बाँकी रहेका सामान ल्याउन र नयाँ सामान आयात गर्न तत्काल देखिएका छैनन् । मुस्ताङ भन्सारबाट अहिले दैनिक ८ देखि १० कन्टेनर सामान नेपाल भित्रिने गरेको छ ।
नेपालमा बर्सेनि चीन र भारतबाट अर्बौँ मूल्यका स्याउ आयात हुने गरेका छन् । आर्थिक वर्ष २०८१–०८२ मा १० अर्ब ५५ करोड ७५ लाख रूपैयाँँको ९ करोड २ लाख ५३ हजार १ सय २५ किलो स्याउ आयात भएको थियो । चीनबाट ९ अर्ब ७४ करोड १६ लाख रूपैयाँँको ७ करोड ९८ लाख ६५ हजार किलो स्याउ आयात भएको सरकारी तथ्यांक छ ।भारतबाट ८१ करोड ५९ लाख रूपैयाँँको १ करोड ३ लाख ८७ हजार किलो आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको तथ्यांकअनुसार नेपालभर सबैभन्दा धेरै कर्णाली प्रदेशमा स्याउ खेती र उत्पादन हुने गरेको छ ।
कर्णालीमा ३ हजार ४ सय १९ हेक्टरमा स्याउ खेती भइरहेको कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ । आर्थिक वर्ष २०८१–८२ मा कर्णालीमा ३२ हजार ९ सय ५२ टन स्याउ उत्पादन भएको थियो । अहिले स्याउ विभिन्न बजारमा पुगिरहेको छ । व्यवसायी शुक्रऋषि चौलागाई रसुवा बाढीका कारण चिनियाँ स्याउ नेपाल नआउँदा कर्णालीको स्याउले मूल्य पाउने विश्वास गर्छन् । उनका अनुसार कर्णालीको स्याउको बजार सिंगो नेपाल हो । भारतीय र चिनियाँ स्याउ आयात नहुँदा कर्णालीमा उत्पादित स्याउको बजारीकरणको लागि सरकारले समेत भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
उत्पादन क्षमताभन्दा आधा मात्रै उत्पादन
गत वर्ष मात्रै जुम्लाबाट ७० करोड रूपैयाँँभन्दा बढी मूल्यको १९ हजार टन स्याउ निर्यात भएको सरकारी तथ्यांक छ । जुम्लामा अहिले ४ हजार ६०४ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार क्षेत्रफल विस्तार भए पनि उत्पादन भने अपेक्षाअनुसार बढ्न सकेको छैन । कूल स्याउ खेती भएको क्षेत्रफलमध्ये करिब २ हजार ३०० हेक्टरबाट मात्रै उत्पादन भइरहेको छ । कूल उत्पादनको करिब ७० प्रतिशत स्याउ बजारमा पुग्ने गरेको र बाँकी जिल्लामै खपत हुने गरेको उनले बताए ।
‘कूल उत्पादनको ७० प्रतिशत स्याउ बजारमा पुग्छ । बाँकी स्याउ जिल्लामै रहन्छ । उत्पादन भएको सबै स्याउ बजारमा पु¥याउने गरी राज्यले सहयोग गर्नुपर्छ । ग्रेडिङ गरेर स्याउ निर्यात गर्ने र बाँकी स्याउबाट विभिन्न परिकार बनाउने उद्योग सञ्चालन गर्न जरुरी छ,’ अधिकारीले भने । जुम्लामा वार्षिक एक अर्ब रूपैयाँँभन्दा बढी मूल्यको स्याउ उत्पादन हुने भए पनि निर्यातबाट ६० देखि ७० करोड रूपैयाँँ मात्रै आम्दानी हुने गरेको उनको भनाइ छ ।
जुम्लाको आर्थिक समृद्धि र किसानको आयस्तर उकास्ने प्रमुख आधार स्याउ खेती भएकाले उत्पादन वृद्धि, मूल्य निर्धारण र बजारीकरणमा तीनै तहका सरकारले नीतिगत रूपमा काम गर्नुपर्ने उनले बताए ।विभिन्न चुनौतीका बीच पछिल्ला वर्षमा सामूहिक तथा व्यक्तिगत रूपमा व्यावसायिक स्याउ खेती विस्तार हुँदै गएपछि जुम्लामा आर्थिक समृद्धिको सम्भावना बढेको छ । अर्गानिक जिल्लाको पहिचान कायम राख्न काँचो स्याउ टिप्न र बिक्री गर्न रोक लगाउने तथा सहकारीमार्फत बगैँचामै प्रतिकिलो ९० रूपैयाँँसम्म मूल्य उपलब्ध गराउने अभ्यासले किसानलाई राहत दिएको छ ।








प्रतिक्रिया दिनुहोस्