नन्दराम जैशी । सुर्खेत ।
भदौ लागेसँगै नेपाली समाजमा तीजको रंग चढ्थ्यो । रातो सारी, चुरा, पोते र गरगहनाले बजार रंगिन्थ्यो । टोल–टोलमा तीजका भाका घन्किन्थ्ये । अनी माइती–चेलीको भेटघाट, दर खाने निम्तो र सामूहिक नाचगानले गाउँदेखि सहरसम्म उत्सवको वातावरण बन्ने गथ्र्यो । तर यसपटक भने खासै यी दृश्य देखिएनन् । तीज आयो, तर अघिल्ला वर्षजस्तो तीज आएको अनुभूति भएन । बजारमा चहलपहल त छ, तर त्यो पुरानो उत्साह छैन । टोलमा गीत बजाउनेदेखि सामूहिक नाचगानको व्यापकता घटेको छ । कतिपय ठाउँमा तीज विशेष कार्यक्रम नै स्थगित भएका छन् भने सामाजिक सञ्जालमा पनि विगतजस्तो तीजको रंगीचंगी प्रदर्शन कम देखिएको छ ।
विभिन्न कारणमध्ये यस्तो हुुनुुको मुुख्य कारण हो, भोटेकोशीको बाढीले निम्त्याएको राष्ट्रिय विपत्तिको पीडा । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पु¥याएको छ । सडक, पुल, ऊर्जा आयोजना, विद्यालयलगायतका संरचना प्रभावित भएका छन् । हजारौँ मानिस प्रभावित भएका छन् । यस्तो अवस्थामा ‘देश शोकमा रहेका बेला आफू मात्रै कसरी उत्सव मनाउने ?’ भन्ने भावनाले पनि यस वर्षको तीजको रौनकलाई स्वाभाविक रूपमा कम गरेको देखिन्छ ।
सुर्खेतमा हरेक वर्ष तीजको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै आएको बागीना समूहले समेत यस वर्ष कार्यक्रम स्थगित गरेको छ । विपत्तिमा परेका नागरिकको पीडाप्रति ऐक्यबद्धता जनाउँदै उत्सवलाई प्राथमिकता नदिने निर्णय गरिएको समूूहका अध्यक्ष गणेश बस्नेतले बताए । ‘यसपटकको बाढीले तीजको उत्साहमा तत्कालीन ब्रेक लगाए पनि तीजको रौनक भने विगत केही वर्षदेखि नै घट्दै आएको छ,’ उनले भने, ‘तीजको परम्परागत सामूहिकता कमजोर हुँदै गएको छ, भने सामाजिक सञ्जालमा बढी निर्भर हुन थालेका छन् ।’
बढ्दो खर्च, देखासिकी, सहरीकरण र परिवारको बदलिँदो संरचनाले पनि तीजको पुरानो स्वरूपमा परिवर्तन ल्याएको संस्कृतविद रमानन्द आचार्य बताउँछन् । उनका अनुुसार तीजको रौनक घटेको सबैभन्दा प्रत्यक्ष कारण अहिलेको राष्ट्रिय विपत्ति हो । भोटेकोशी बाढीले ठूलो मानवीय संवेदना सिर्जना गरेको उनले बताए । ‘यस्तो अवस्थामा तीजमा गरिने ठूलो खर्च, भोजभतेर र भड्किलो कार्यक्रमप्रति स्वयं नागरिक सचेत देखिए,’ उनले भने, ‘विपत्तिको समयमा उत्सवको स्वरूपलाई संयमित बनाउनु सामाजिक उत्तरदायित्वको अभिव्यक्ति पनि हो ।’
उनका अनुसार रसुवामा घरबार गुमाएका, आफन्त गुमाएका वा आफ्नो जीविकाको आधार गुमाएका परिवार सम्झिँदै देशका विभिन्न ठाउँमा तीजलाई संयमित बनाउनु अस्वाभाविक होइन । उक्त बाढीमा कर्णालीका १६८ जना नागरिक अँझै बेपत्ता छन् । बाढी प्रभावित परिवारका घर, व्यवसाय, सडक, पुल, विद्यालय र जीविकोपार्जनका आधारहरूमा क्षति पुगेको छ । बाढीपछिको पुनर्निर्माण र पुनरुत्थानका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रूपैयाँँ आवश्यक पर्ने अनुमान गरेको छ ।
यस्तो अवस्थामा कतिपयले तीजमा गर्ने खर्च कटाएर विपदमा सहयोग गर्ने घोषणा पनि गरेका छन् । तीज र विपद्लाई सँगै हेर्दा यसपटक पर्वको अर्को सामाजिक पक्ष उत्सवभन्दा सहानुभूति ठूलो हो भन्ने पृष्टि भएको छ । कतिपय संघसंस्थाले विपत्तिको समयमा तीज नमनाएर त्यसका लागि छुट्याएको रकम बाढीपहिरो प्रभावितलाई सहयोग गरेका छन् ।
बजारमा तीज, घरमा दबाब
तीजको रौनक घटेको अर्को महत्वपूर्ण कारण आर्थिक पक्ष पनि हो । तीजलाई पछिल्ला वर्षमा उपभोगको ठूलो अवसर बनाइएको छ । सारी, गहना, चुरा, पोते, मेकअप, जुत्ता, ब्यागदेखि दरका लागि महँगा खानेकुरा र उपहारसम्मको सूची बढ्दै गएको छ । ‘पर्व खुसीको हुनुपर्ने हो । तर जब पर्व ‘देखाउनैपर्ने’ संस्कृतिमा बदलिन्छ, त्यही पर्व कतिपय परिवारका लागि आर्थिक दबाब बन्न थाल्छ,’ संस्कृतविद आचार्यले भने, ‘समाजमा आर्थिक हैसियतअनुसार तीज मनाउने प्रतिस्पर्धा पनि बढेको देखिन्छ । ऋण खोजेर भए पनि नयाँ कपडा र गहना किन्ने प्रवृत्तिले पर्वलाई खर्चिलो र देखावटी बनाएको छ ।’
यसले तीजको रौनकलाई दुई भागमा विभाजन गरेको उनी बताउँछन् । एकातिर खर्च गर्न सक्नेका लागि तीज ‘इभेन्ट’ बनेको छ । भने अर्कोतिर सीमित आय भएका परिवारका लागि तीज ‘दबाब’ बन्न थालेको उनको भनाइ छ । त्यसैले कतिपय मानिसले तीजलाई पहिलेभन्दा कम मनाएको देखिए पनि त्यसलाई धार्मिक वा सांस्कृतिक मोह घटेको अर्थमा बुझ्न नहुने आचार्यले बताए । ‘फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबजस्ता माध्यमले तीजलाई घर र टोलबाट बाहिर निकालेर संसारभर पु¥याएका छन्, यो सकारात्मक पक्ष पनि हो, नेपाली संस्कृति विश्वभर फैलिएको छ,’ उनले थपे, ‘तर यही माध्यमले तीजलाई प्रदर्शनको वस्तु पनि बनाएको छ । पहिले कसले राम्रो गीत गायो भन्ने कुरा गाउँको समूहले सुन्थ्यो । आल कुन भिडियो भाइरल भयो भन्ने कुरा महत्वपूर्ण बनेको छ ।’
तीजका गीत र भिडिओमा मौलिकभन्दा बजारमुखी शैली हाबी हुँदै गएको छ भने सामाजिक सञ्जालमा लोकप्रिय हुने होडले मौलिकतालाई असर गरेको टिप्पणी पनि हुँदै आएको छ । हरेक वर्ष नयाँ कपडा, नयाँ गहना, नयाँ दर, नयाँ कार्यक्रम र नयाँ भिडिओको प्रतिस्पर्धाले अन्ततः पर्वलाई उत्सवभन्दा ‘प्रोजेक्ट’जस्तो बनाएको समाजसेवी पीतामबर ढकाल बताउँछन् । ‘मौलिक तीजको केन्द्रमा माइती र चेलीको सम्बन्ध थियो । त्यसमा भेटघाट थियो । आत्मीयता थियो । दुःख–सुख साट्ने अवसर थियो,’ उनले भने, ‘पहिले पहिले महिलाले आफ्ना मनका कुरा गीतमार्फत सार्वजनिक गर्ने स्वतन्त्रता थियो । तर अहिले यी पक्ष पूर्णरूपमा हराइसकेका छन् ।’
उनका अनुसार परिवारको संरचना बदलिएको छ । संयुक्त परिवारको ठाउँमा एकल परिवार बढेको छ । रोजगारी र अध्ययनका कारण मानिसहरू गाउँबाट सहर र देशबाहिर पुगेका छन् । एउटै गाउँमा हुर्किएका दिदीबहिनी, भाउजू, चेली र साथीहरू वर्षभरि एउटै ठाउँमा भेटिन पाउँदैनन् । यसले सामूहिक पर्वको चरित्रलाई कमजोर बनाएको ढकाल बताउँछन् । उनका अनुुसार सहरीकरणसँगै तीजको स्थान पनि बदलिएको छ । पहिले आँगनमा जम्मा हुने महिलाहरू अहिले पार्टी प्यालेसमा निर्धारित समयका लागि भेटिन्छन् । पहिले गीत आफैँ सिर्जना हुन्थ्यो, अहिले व्यावसायिक उत्पादन सुन्ने चलन बढेको छ । यसरी तीजको भौतिक स्वरूप आधुनिकतातिर गए पनि त्यसको आत्मीयता भने त्यही गतिमा बलियो नभएको उनले बताए । ‘तीज नयाँ स्वरूपमा आउन सक्छ । तर त्यसले आफ्नो सामाजिक स्मृति, महिलाको आवाज, आपसी आत्मीयता र सांस्कृतिक पहिचान गुमाउनु हुँदैन,’ उनले भने ।
तीज आयो, व्यापार भएन
हरितालिका तीजको अवसरमा विगतका वर्षमा सुर्खेतका बजारमा चहलपहल बढ्थ्यो । विभिन्न सौन्दर्य सामग्री किन्ने ग्राहकको भीड लाग्थ्यो । कपडा पसलमा ग्राहकलाई सामान देखाउन भ्याइनभ्याइ हुन्थ्यो भने सुनचाँदी पसलमा समेत कारोबार बढ्थ्यो । तर यसपटक भने अवस्था ठ्याक्कै उल्टो छ । तीजको समयमा पनि बजारमा अपेक्षाअनुसारको व्यापार हुन नसकेको व्यवसायीहरू बताउँछन् । व्यापारीहरूका अनुसार अघिल्ला वर्षको तुलनामा ग्राहकको आवागमन र खरिदबिक्रि दुवै घटेको हो ।
‘पसलमा तीजका लागि भनेर ल्याइएका नयाँ कपडा, गरगहना, चुरा, पोते तथा अन्य सामग्री थन्किएका छन्,’ व्यवसायी कमल शर्माले भने, ‘तीज आउँदा व्यापार बढ्छ भन्ने आशामा सामान थपियो । तीज आयो, तर व्यापार आएन ।’ उनका अनुसार अघिल्ला वर्ष यही समयमा पसलमा ग्राहकको भीड हुन्थ्यो । यसपालि हेर्दाहेर्दै तीज सकियो तर व्यापार भने निकै कम छ । भोटेकोशी बाढीपछि सिर्जित राष्ट्रिय शोक र मनोवैज्ञानिक प्रभावका कारण विगतमा जस्तो भव्य र खर्चिलो ढंगले तीज मनाउने वातावरण नबनेको व्यापारीहरूको भनाइ छ । उनीहरूका अनुसार महँगी, घट्दो आम्दानी, कमजोर क्रयशक्ति, रोजगारीको समस्या र तीज मनाउने शैलीमा आएको परिवर्तनले समेत बजार प्रभावित भएको छ ।
व्यापारीहरूका अनुसार तीजको व्यापार घट्नुको अर्को कारण बजारमा बढेको महँगी पनि हो । दैनिक उपभोग्य वस्तुको मूल्य बढेसँगै परिवारको ठूलो हिस्सा खानपान, शिक्षा, स्वास्थ्य, घरभाडा तथा यातायातजस्ता आधारभूत आवश्यकतामा खर्च भइरहेको छ । त्यसपछि मात्रै चाडपर्वका लागि बजेट छुट्याउनुपर्ने अवस्था छ । यसले तीजमा गरिने अतिरिक्त खरिद घटाएको व्यापारीहरूको अनुभव छ । व्यापारीहरूका अनुसार विशेषगरी मध्यमवर्गीय परिवारको खर्च गर्ने क्षमता कमजोर हुँदा त्यसको प्रत्यक्ष असर तीज बजारमा परेको हो ।
तीजमा नयाँ कपडा लगाउने, गरगहना किन्ने र दर खाने परम्परा भए पनि अहिले धेरै परिवारले चाडपर्वको खर्चसमेत हिसाब गरेर गर्न थालेका छन् । तीजलाई लक्षित गरेर व्यापारीहरूले एक महिनाअघिदेखि नै सामानको तयारी गरेका थिए । तर अपेक्षाअनुसार बिक्री नभएको फेन्सी व्यवसायी कृष्णा गुुरुङको भनाइ छ । ‘ग्राहक आउँछन्, हेर्छन्, मूल्य सोध्छन् तर किन्नेको सङ्ख्या कम छ,’ उनले भनिन्, ‘पहिले एउटै परिवारले दुई–तीन जोर कपडा लैजान्थ्यो । अहिले आवश्यक परे मात्रै एउटा कपडा किन्ने अवस्था छ ।’
तीजसँगै सुनचाँदीको कारोबार पनि बढ्ने अपेक्षा गरिएको थियो । तर यसपटक सुनको मूल्य उच्च हुनुका कारण पनि कारोबार प्रभावित भएको व्यवसायी मनसुुर सुुनारले बताए । ‘सुनको मूल्य बढेपछि धेरै ग्राहकले पुरानै गहना प्रयोग गर्ने गरेका छन्,’ उनले भने, ‘नयाँ गहना बनाउनेभन्दा पुरानो गहना मर्मत गर्ने वा सानो सामानमा चित्त बुझाउने ग्राहक धेरै छन् ।’ व्यवसायीका अनुसार तीजका लागि भनेर आउने ग्राहकले समेत अहिले बजेटअनुसार सामान रोज्ने गरेका छन् । यसले तीजमा हुने गरगहनाको परम्परागत खरिद संस्कृतिमा समेत परिवर्तन ल्याएको छ ।








प्रतिक्रिया दिनुहोस्