पृथ्वी राजमार्ग अवरोध हँदा उपत्यकामा आपूर्ति संकट



वीरेन्द्र जैसी । नेपालगन्ज ।

देशको संघीय राजधानी काठमाडौँ यतिखेर खाद्यान्नदेखि इन्धनसम्मको आपूर्ति संकट झेलिरहेको छ । तराईसँगको सहज सडक सम्पर्कविच्छेदजस्तै भएको छ । आवतजावत र आपूर्ति श्रृंखला अवरुद्ध बनेको छ । स्थलमार्गबाट काठमाडौँ पुग्न र बाहिरिन लामो र जोखिमपूर्ण सडकमार्गहरू प्रयोग गर्नुपरिरहेको छ । देशको प्रमुख प्रशासनिक सहर नै सडक यातायात सम्पर्कको संकटमा परेको आधा महिना भइसकेको छ । यस्तो अवस्था आउनुको कारण काठमाडौँलाई पश्चिमतर्फ र तराईसँग जोडने ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गको करिब एक सय ५० मिटर सडकखण्ड भासिनु हो ।

काठमाडौँबाट करिब ८१ किलोमिटर दूरीमा पर्ने पृथ्वी राजमार्गअन्तगर्त धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ स्थित कृष्णभिरमा भदौ १४ गते सडक भासिएपछि काठमाडौँमाथि सडक सम्पर्कको संकट आइपरेको हो । उक्त संकट टार्न सरकारले कृष्णभिरमै डाइभर्सन ट्रयाक बनाइरहेको छ । उक्त ट्रयाक बनिसक्न अझै केही दिन लाग्ने बताइएको छ । उक्त ट्रयाक सञ्चालनमा आए पनि उक्त सडकमा हुने सवारीसाधनकोे भारी चाप कति थेग्नसक्ने भन्ने अझै यकिन भएको छैन । त्यसैमाथि दशैँतिहारजस्ता चाडबाड पनि नजिकिइरहेकोले एकैपटक सवारीसाधनको चाप बढ्ने अवस्था आउँदै छ ।

अहिले सडक अवरुद्ध हुँदा काठमाडौँको आपूर्ति शृंखला नै प्रभावित हुँदा उपभोग्य वस्तुहरूको उपलब्धतामा समस्या नअनाइसकेपनि ढुवानी लागत र बजार मूल्यमा भने असर परिसकेको छ ।
काठमाडौँमा भित्रिने खाद्यान्न, पेट्रोलियम पदार्थ, एलपी ग्यास, फलफूल तथा औद्योगिक सामग्रीको ठूलो हिस्सा तराई र भारततर्फबाट पृथ्वी राजमार्ग नै भएर भित्रन्छ । कृष्णभिरमा सडक क्षतिग्रस्त भएपछि ठूला ट्रक र विशेषगरी ग्यास बुलेटको आवागमन प्रभावित भएको छ भने त्यस्ता सवारीसाधनहरू त्रिभुवन राजपथ र कान्ति लोकपथ हुँदै भित्र्याउनुपर्दा लागत पनि बढेको छ । सडक भासिँदा उद्योगी व्यापारीहरूले काठमाडौँका गोदाममा दुईदेखि तीन महिनासम्म पुग्ने चामल रहेको दाबी गरेका थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार भने चामल कम्तीमा एक महिनालाई पुग्ने मौज्दात छ भने दाल तथा गेडागुडीको तीन महिनाभन्दा बढीको मौज्दात छ । बजारमा चिनी, चामल र तेलको मूल्य पनि बढ्न थालेको छ । बाढीअघि प्रतिकिलो करिब एक सय देखि एक सय २० रूपैयाँमा पाइने चिनी मूल्य कतिपय व्यापारीहरूले १४० रूपैयाँसम्म पुगेको उपभोक्ताहरूले गुनासो गर्न थालेका छन् । यस्तै, चामलको बोरामा पनि २०० देखि ३०० रूपैयाँसम्म वृद्धि भएको तथा सनफ्लावर तेल प्रतिलिटर ३०० भन्दा माथि पुगेको छ ।

सडक अवरोधले सबैभन्दा बढी चुनौती इन्धनको आपूर्तिमा सिर्जना गरिदिएको छ । नेपाल आयल निगमका अनुसार करिब दुई हप्तालाई पुग्ने पेट्रोल र डिजेल मौज्दात छ भने मट्टीतेल करिब एक महिना र हवाई इन्धन करिब तीन हप्ताको माग धान्न सक्ने अवस्थामा मौज्दात छ ।नेपालमा कूल पेट्रोलियम खपतको करिब ७० प्रतिशत आपूर्ति मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट हुने गरेको छ । काठमाडौँमा इन्धन भण्डारणको पर्याप्त व्यवस्था नहुँदा ट्यांकरको नियमित आवागमन नै निर्विकल्प माध्यम रहेको छ । अमलेखगन्जबाट काठमाडौँ ढुवानी गर्ने साना ट्यांकरले अहिले त्रिभुवन राजपथ प्रयोग गरिरहेका छन् ।

काठमाडौँको आपूर्ति प्रणालीमा सबैभन्दा ठूलो समस्या खाना पकाउने ग्यासमा छ । ग्यास अभावकै कारण उत्पन्न परिस्थितिले सरकारका आपूर्ति गौरीकुमारीले राजिनामा दिनुपरेको छ । पहिलेदेखि नै अभाव रहेको खाना पकाउने ग्याँस सडक अवरुद्ध भएपछि झनै खलबलिकएको छ ।अहिले पनि उपभोक्ताहरू दुई हप्ताभन्दा बढीसमयसम्म पर्खिँदा पनि ग्यास नपाइरहेको गुनासो गरिरहेका छन् । एकजना उपभोक्ता प्रकाश तिमिल्सैनाले काठमाडौँमा ग्यास नपाइएपछि टोलका छिमेकीहरू मिलेर हेटौँडा पुगेर ग्यास ल्याउनुपरेको भन्दै सरकारले आपूर्ति व्यवस्थापन गर्न नसकेको गुनासो गरेका छन् ।

नेपाल आयल निगमसँग काठमाडौँमा ठूलो रणनीतिक एलपी ग्यास भण्डारण गृह वा बोटलिङ प्लान्ट नहुँदा उपत्यकाको ग्यास आपूर्ति निजी क्षेत्रका करिब १८–२० उद्योगमा निर्भर छ । केही दिनअघि उपत्यकाका उद्योगमा ग्यासको मौज्दात लगभग सकिएको र दैनिक ८–१० हजार सिलिन्डर मात्रै बजारमा पुगिरहेको व्यवसायीको भनाइ थियो । जबकि उपत्यकाको दैनिक माग करिब ४० हजार सिलिन्डर रहेको छ । पछिल्ला दिनमा दैनिक औसत करिब ३० हजार ३०० सिलिन्डर ग्यास आपूर्ति भइरहेको बताइएको छ ।

भरपर्दाे वैकल्पिक राजमार्ग नहुँदाको परिणाम 

करिब ५३ वर्षअघि सन् १९७३ मा चीन सरकारको सहयोगमा निर्माण भएको पृथ्वी राजमार्ग काठमाडौँबाट जनसङ्ख्याको ठूलो हिस्सा रहेको तराई तथा पश्चिम नेपाल जोड्ने एकमात्र भरपर्दाे विकल्पको रूपमा छ । नौबिसे, गल्छी, गजुरी, मलेखु, कुरिनटार, मुग्लिन, आबुखैरेनी, डुम्रे, दमौली हुँदै पोखरा जोड्ने यो राजमार्ग राजधानी जोड्ने यो राजमार्ग मुग्लिन–नारायणगढ सडकखण्डको माध्यमबाट पूर्व पश्चिम राजमार्गलाई जोड्ने सडक पनि हो । तर यही एउटा राजमार्ग पनि हरेक वर्षायाममा अवरुद्ध हुने हुँदा नागरिकहरूले वर्षाैँदेखि सास्ती खेप्दै आएका छन् ।

यति महत्वपूर्ण सडकको विकल्प समयमै नसोचिँदा अहिले अकल्पिनीय संकट आइपरेको छ । करिक दुई दशकअघिसम्म पहिरो सताउने गरेको कृष्णभिरमा पछिल्लो दुई दशकमा ठूलो समस्या आएको थिएन । तर, उक्त खण्ड पहिरोको जोखिममा रहेको कुरालाई राज्यका निकायहरूले बेवास्ता गर्दा अहिले देशको मुख्य यातायातको माध्यम राजमार्ग नै ठप्प भएको छ । सरकारलले दुई हप्ता बितिसक्दा पनि यातायात सञ्चालन हुने व्यवस्थामा सफलता पाइसकेको छैन ।राजधानीलाई देशका अन्य भागसँग जोड्ने पृथ्वी राजमार्गको विकल्पको रूपमा रहेका थानकोट–नागढुंगा–नौबिसे–पालुङ–दामन हुँदै हेटौँडा जोड्ने त्रिभुवन राजपथ पूर्वी नेपालसँग जोड्ने विपी राजमार्ग, कान्ति लोकपथ लगायतका मार्गहरू पनि भरपर्दाे छैनन् ।

यस सडकको सहज विकल्पको रूपमा अघि सारिएको काठमाडौँ–निजगढ फास्ट ट्रयाकको काम पनि सुस्त छ । चार वर्षमा सम्पन्न गर्ने गरी नेपाली सेनाले निर्माणको जिम्मा लिएको उक्त सडक नौ वर्ष पूरा हुँदासम्म पनि करिब ४९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । कुल ७०.९७७ किलोमिटर लामो दूरीको फास्ट ट्रयाकको ४८ किलोमिटर सडक हुनेछ । साथै लामा र छोटा गरी पुलको कूल लम्बाइ १२.९ किलोमिटर हुनेछ । यसैगरी सुरुङमार्गको माध्यमबाट दूरी छोट्याउने उक्त परियोजनाको लक्ष्य हो । केही दिनअघि सबैभन्दा लामो सुरुङमार्ग उद्घाटन गरिएको छ भने १० किलोमिटरको अर्काे सुरुङमार्ग बनाउने काम भइरहेको छ ।

वैकल्पिक बाटो नरहेका कारण सरकारले फास्ट ट्रयाकलाई नियमित सडक आयोजना जस्तो सामान्य रूपमा नलिएर उच्च प्राथमिकता दिइ निर्माणको गति बढाउनुपर्ने आवाज अहिले उठिरहेको छ ।
पूर्वाधार विज्ञ तथा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापा कृष्णभिरमा देखिएको जोखिमले फास्ट ट्रयाकको आवश्यकता झन् बढाएको भन्दै यो आयोजनालाई अब उच्च प्राथमिकतामा राखेर फास्ट ट्रयाक शैलीमा काम अघि बढाउनुपर्ने बताउँछन् ।यसैगरी लामो समयदेखि दुःख दिँदै आएको र पहिरोका हिसाबले जोखिमपूर्ण अवस्थामा रहेको कृष्णभिरको विकल्प पनि खोज्नुपर्ने थापाको भनाइ छ ।

अहिलेको परिस्थितिमा कृष्णभिरमा अस्थायी सडक निर्माण गरेर यातायात चलाउने प्राथमिकता राखिएको कुरा परिस्थितिजन्य बाध्यता भएको बताउँदै थापा भन्छन्, ‘तर कृष्णभिरमा अन्य विकल्प खोजिएन भने नालायकी नै हुनेछ । एउटा छोटो सुरुङ निर्माण गर्न वा २ वटा १५० मिटरका पुलहरू निर्माण गर्न सरकार र नेपाली निर्माण व्यवसायीहरू प्राविधिक र आर्थिक रूपले सक्षम छन् । २५ वर्षअघि विदेशी गुहार्न पथ्र्यो भने अहिले पर्दैन ।’पृथ्वी राजमार्गको कृष्णभिर यसपटक मात्रै प्रभावित भएको होइन । करिब २५ वर्षदेखि यो क्षेत्र पटक–पटक पहिरो, नदी कटान र सडक भासिने घटना दोहोरिँदै आएका छन् । कृष्णभिरमा ठूलो पहिरोको समस्या २०५६ सालतिर देखिएको थियो । त्यसपछि करिब पाँच–छ वर्षसम्म यो क्षेत्र नेपालकै जोखिमपूर्ण पहिरो क्षेत्रका रूपमा चिनियो ।

विशेषगरी २०५७ देखि २०६१ सालसम्म हरेक मनसुनमा पहिरो जाने र पृथ्वी राजमार्ग लामो समय अवरुद्ध हुने गरेको थियो । २०५७ साल साउन २७ गते गएको ठूलो पहिरोले राजमार्ग करिब ११ दिनसम्म अवरुद्ध भएको थियो । भूगर्भीय अध्ययनहरूले कृष्णभीरको पुरानो पहिरो सन् १९९७ देखि २००५ सम्म सक्रिय रहेको देखाएका छन् । २०५७ सालको विनाशकारी पहिरोपछि सडक विभागले कृष्णभिरलाई स्थिर बनाउन विभिन्न जियोटेक्निकल तथा बायोइन्जिनियरिङ प्रविधि अपनाएको थियो । तर २०८१ साल असोजमा कृष्णभिरमा पुनः सडक भासिने समस्या देखिएको थियो ।

त्यसबेला त्रिशूली नदीको बहावले नदी किनारमा निर्माण गरिएको करिब २०० मिटर लामो संरचनामा क्षति पु¥याएपछि नदीले सडकको तल्लो भाग क्रमशः कटान गरेको थियो ।विश्व बैंकसँग सम्बन्धित पृथ्वी राजमार्ग सुधारसम्बन्धी अध्ययनले पनि कृष्णभिरलाई राजमार्गको उच्च पहिरो जोखिमयुक्त क्षेत्रमध्ये एकका रूपमा पहिचान गरेको छ । यहाँ पुरानो मास मुभमेन्ट तथा कमजोर भू–संरचनाका कारण अत्यधिक वर्षा, भूकम्प वा अन्य प्राकृतिक कारणले पहिरो पुनः सक्रिय हुन सक्ने जोखिम रहेको अध्ययनले औँल्याएको छ ।

विकल्पहरूको खोजीमा सरकार 

सरकारले पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्कालीन र दीर्घकालीन समाधानको खोजी गरिरहेको बताइएको छ । पूर्वाधार विकास मन्त्रालयले कृष्णभिरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वाल निर्माण गर्नेदेखि ‘सेक्रिफिसियल ग्याबियन बक्स’ र ‘बोल्डर’ हिलसाइडबाट तल खसाल्ने कामसमेत गर्ने काम अघि बढाएको जनाएको छ ।सडक विभागले तत्काल कृष्णभिरमा सडक सञ्चालन गर्ने र काठमाडौँ तथा प्रभावित जिल्लाबीचको आपूर्ति प्रणालीलाई अवरुद्ध हुन नदिने रणनीति लिएको जनाएको छ ।

कृष्णभीरको अहिलेको क्षति तत्काल मर्मत गरेर मात्रै दीर्घकालीन रूपमा सुरक्षित नहुने निष्कर्षमा सरकार पुगेको छ । पूर्वाधार विकास मन्त्रालयको बैठकले कृष्णभिरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने निर्णय गरेको छ ।यसमा सुरुङ निर्माणलाई प्रमुख विकल्पका रूपमा हेरिएको छ । त्यस्तै सोइल नेलिङ तथा सिट पाइलजस्ता प्रविधिबाट पहाडको स्थायित्व बढाउने र सडकको संरचनालाई थप मजबुत बनाउने सम्भावनाबारे पनि प्राविधिक अध्ययन गरिनेछ ।

मन्त्रालयले कृष्णभिरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पको तत्काल अध्ययन गरी चालू आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।
पूर्वाधार विज्ञ थापा भने पहिलो विकल्प पहिरो प्रभावित क्षेत्रलाई छलेर पहाडभित्रबाट छोटो सुरुङ निर्माण गर्ने र दोस्रो विकल्प त्रिशूली नदीमा दुईवटा पुल निर्माण गरी नदीपारिबाट राजमार्गको नयाँ खण्ड निर्माण गर्ने सुझाव दिन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार