लेक प्याकुरेल
विषय प्रवेश
आमा मैनाकुमारी खत्री र बुवा जितबहादुर भट्टराई खत्रीकी सुपुत्रीका रूपमा सिम्पानी ८ खोटाङमा जन्मेकी तारा खत्री हाल नेपालगन्ज ४ बाँके बस्दै आएकी छन्। पूर्णतारा फाउन्डेसन नेपालकी संस्थापक अध्यक्ष, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घकी पूर्व उपमहासचिव, मानवअधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रकी संस्थापक सदस्य, लायन्स क्लब अफ नेपाल नेपालगञ्ज भेरीकी संस्थापक अध्यक्ष, उज्यालो बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष, पौरखी बहु उद्देश्य सहकारी संस्थाकी सदस्य लगायत दर्जनौं संघसंस्थाहरूमा आबद्ध तारा रोकाया साहित्यतर्फ भेरी साहित्य समाज केन्द्रीय समितिकी केन्द्रीय सदस्य, सृजना कला साहित्य प्रतिष्ठानकी सदस्य, महेन्द्र पुस्तकालय नेपालगञ्जकी आजीवन सदस्य लगायतका संघसंस्थाहरूका महत्वपूर्ण जिम्मेवारीमा रही साहित्य लेखन कर्ममा सक्रिय रहेको देखिन्छ। तारा रोकायाको हालसम्म साह्रै पिर पर्दो रहेछ गीति एल्बम (२०७७), पापी रहेछ कोरोना गीति एल्बम (२०७८), खेलौँ खेलौँ देउसी र भैलो गीति एल्बम (२०७८), माइतीको सम्झना भाग २ गीति एल्बम (२०८०) सहित चारवटा गीति एल्बम सार्वजनिक भएका छन् भने तीजको सौगात गीतिसंग्रह (२०६८) र शुक्लाम्बारा (२०८१) सहित दुईवटा साहित्यिक कृतिहरू प्रकाशनमा आएका छन्।
शुक्लाम्बाराको परिधीय संरचना
तारा खत्री रोकायाले आफ्नो दोस्रो कृतिका रुपमा प्रकाशनमा ल्याएको शुक्लाम्बरा साहित्यको उपन्यास विधा सम्बन्धित कृति हो। प्रिन्टोहब ट्रेड लिङ्क प्रालि बागबजार काठमाडौँद्वारा २०८१ मा प्रकाशित शुक्लाम्बराले २०० पृष्ठको लमाइगत आयाम चर्चेको छ। उपन्यासभित्र प्रत्येक परिच्छेदको शीर्ष स्थानमा परिच्छेदलाई प्रतिनिधित्व गर्ने शीर्षकको व्यवस्थापन गरिएको छ। यसरी व्यवस्थापन गरिएका २१ वटा शीर्षकहरू केन्द्रित विषयवस्तुले निर्माण गरेको शुक्लाम्बरा २१ परिच्छेदमा विस्तारित मध्यम कायाको आख्यानात्मक कृति हो। मूलतः वर्णनात्मक शैलीलाई अङ्गीकार गरी प्रस्तुत गरिएको उपन्यासमा पत्रात्मक शैली र आंशिक रुपमा निबन्धात्मक शैलीको समेत प्रयोग भएको छ।
शुक्लामबरा भित्रका नारीहरू
सुक्लाम्बरा मूलतः नारीहरूको कथा व्यथामा आधारित भएर तयार पारिएको औपन्यासिक कृति हो। यसो भन्दै गर्दा उपन्यासभित्र अन्य विषय क्षेत्रले प्रवेशै नपाएको भने होइन । उपन्यासभित्र झन्डै मध्यखण्डतिर आइ नपुग्दै प्रवेश पाएका महत्त्वपूर्ण पात्र हुन् नरहरी सर। पेशाले ओभरसियर नरहरी सरलाई केन्द्रमा राखेर उपन्यासको मध्यक्रम अघि बढेको छ। म पात्रलाई एकोहोरिएर माया गर्ने उनै नरहरी सर र उनको प्रेमिल मन केन्द्रित मनोविज्ञान, नरहरी सरको अघात प्रेमले क्रमश पग्लिँदै गएकी म पात्रको सुसुप्त प्रेमले सिर्जना गरेको मानसिक द्वन्द, आफूसँग बिहे गर्नु पूर्व नै श्रीमती र सन्तान समेत रहेका नरहरी सरले यथार्थ लुकाएर म पात्रसँग विवाह गरेपछि म पात्रको मनमा जन्मेको मानसिक द्वन्द र मृत्युन्मुखी चेत, स्कुलबाट भागेर गोठालो होइन गोठालोबाट भागेर स्कुल जाने नरहरी सरको पढ्ने हुटहुटी, विद्यालयबाट फर्किएर आउँदा आमा बाउले श्रीमती भनेर हुलिदिएको महिलासँग विवाह गरिदिनुपर्ने बाध्यात्मक विगत, आफूले चाहेको एउटा तर घरपरिवारको जालझेलका कारण पाएको अर्कैसँग जीवन बिताउनुपर्ने बाध्यात्मक अवस्थामामा फसेका नरहरी सरको विसंगति पूर्ण जीवनजस्ता समस्यालाई पनि अत्यन्त घनिभूत रुपमा उठाइएको छ। अहिलेको कानुनले वर्जित गरेको बालविवाह र बहुविवाह गरिनु धाक, रवाफ र धर्मको विषय ठान्ने नेपाली समाजको यथार्थ चित्रण पनि उपन्यासभित्र परेकै छ। यति हुँदाहुँदै पनि उपन्यासभित्र घनिभूत रुपमा प्रवेश पाएको विषय नारीहरूको पीडा र सङ्घर्ष नै हो। जसको विस्तृत चर्चा गरिनु सान्दर्भिक ठहर्छ। नेपाली समाजको विगत र वर्तमानमा बाँचेका नारीहरूको जीवनलाई नियाल्ने सुन्दर आँखीझ्याल हो तारा रोकायाको शुक्लाम्बरा। शुक्ल+अम्बर भएर बनेको सिङ्गो शब्द शुक्लाम्बरको अर्थ सेतो कपडा हो। उपन्यासभित्र सेतो कपडाको विशेषताका बारेमा गरिएको टिकाटिप्पणीमा आधारित कथावस्तु पाइँदैन बरु सेता कपडा धारण गर्ने विधवा महिलाको कारुणिक कथाले उपन्यासलाई रोचक बनाएको छ अनि पाठकको मनलाई त्यही कारुणिकताले विरेचित तुल्याएको छ । उपन्यास भित्र जवानीमै सेतो कपडामा बेरिने भाउजुहरूका कथा छन् अनि हजुरबा गुमाएर एक्लो जीवन बाँच्ने हजुरआमाका व्यथाहरू छन्।यसर्थ शुक्लाम्बरा शीर्षक स्वयं विधवा नारीको संकेत हो। यही संकेतको मियोमा घुमेको प्रस्तुत उपन्यास नारीहरूको दुःख पीडा वेदना र संघर्षशील जीवनको महत्वपूर्ण दस्तावेज बनेको छ। उपन्यास पारिवारिक घटनाक्रममा आधारित छ। यद्यपि सोही घटनाक्रम विगतको नेपाली समाज र त्यतिखेर नारीलाई हेर्ने पितृसत्तात्मक दृष्टि प्रगेल्ने ऐना बनेको छ। आवरण पृष्ठ देखि कथावस्तु हुँदै समग्र कृतिकै तहसम्म नारीहरूलाई महत्व दिएर तयार पारिएको शुक्लम्बराभित्र हजुरआमाको पुस्ता आमाको पुस्ता र अहिलेका पुस्ता सहित तीन पुस्ताका नारीहरूको कथा परेको छ। कृतिभित्र ७ वर्षमै पराईका घर जान बाध्य पारिएका नारीहरूको कथाहरू बिझाउने व्यथा बनेर आएका छन्। छोरा जन्मदा विश्वयुद्ध जितेभन्दा धेरै खुसी हुनुपर्ने र छोरा नजन्माइदिएकै कारण सौता थप्नुपर्ने परिवेशले निर्माण गरिदिएको नारीहरूका घाउहरू उपन्यासभित्र असह्य भएर दुखेका छन्। उपन्यासभित्र छोरीहरू लक्ष्मी र सरस्वतीको स्वरूप लिएर जन्मनुको साटो आफ्नै जननीको थाप्लोमा सौताको बोझ थपिदिने पात्रका रुपमा चित्रित छन्। यसर्थ उपन्यासभित्र पटकपटक छोरी जन्मेपछि आफूले जन्माएको छोरीको अनुहारसम्म नहेर्ने र छोरा दिनै नसकेका कारण आत्महत्या गर्न समेत उद्दत देखिने महिलाहरूका व्यथाहरुले सिर्जित कारुणिकता पनि त्यत्तिकै प्राथमिकतामा राखिएको छ। पराई घर जाने जातले अक्षरसँग मितेरी लाउनु हुँदैन भन्ने मान्यता बोकेका नारी पात्रहरूको समेत कमी नरहेको उपन्यासभित्र रजस्वाला हुनु पूर्व नै कन्यादान गर्न सके वा सन्तानका रूपमा मात्रै छोराको मुख हेर्न पाए सोझै स्वर्गको खुड्किलो उक्लिन पाइने चिन्तन बोकेका नारी पात्रहरू पनि प्रयोगमा आएका छन्।
प्रेरणापुञ्जका रूपमा शुक्लाम्बरा भित्रका नारीहरू
शुक्लम्बरा उपन्यास भित्र निरीह लाचार र पुरुषहरूको पिछेलग्गु भएर जीवन व्यतित गर्ने नियती भोगेका नारीहरू मात्र परेका छैनन् बरु संघर्ष गरेर जीवनको पृथक अध्याय फुकाउने अस्तित्ववादी नारीहरुको उपस्थिति पनि पाइन्छ। पोखिएको दूधमा चित्त दुखाउन भन्दा जोगिएको दूधमा चित्त बुझाउन सिकेका कतिपय नारीहरू सौता च्यापेर तराई झर्ने श्रीमान सम्झेर आँसुको जीवन बाँच्नुको साटो परिवाररुपी फूलहरूलाई विक्षिप्त हुन नदिएर सिङ्गो माला बनाउन उद्दत भरपर्दो धागो भएर बाँचेका छन्। उनीहरूको परिस्थितिसँग जुध्ने सामथ्र्य, निर्णय लिने क्षमता, असहजता का बीच सहजताको खोजी गर्ने चाहना प्रशंसनीय छ। शुक्लम्बरा भित्र विसङ्गतिले थिचिएका नारीहरूको सङ्ख्या पनि बाक्लै छ भने केही नारी पात्रहरू अस्तित्ववादी चिन्तनबाट प्रभावित देखिन्छन्। आँसुको दहमा लुकामारी खेल्न बाध्य पारिएका केही नारीहरू पात्रहरू पाठकमा करुणा सिर्जना गर्छन् भने केही नारी पात्रहरुको साहस, त्याग र आट आजको जीवन बाँचिरहेका नारीहरूका लागि पनि अनुकरणीय बनेर आएको छ। यस्तै अनुकरणीय कार्य गर्ने नारी पात्र हुन् उपन्यासभित्रकी म पात्र। उपन्यासमा मुखपात्र बनेर आएकी म पात्र आफ्नो बाबु र दाजुको धम्की र खबरदारीका बावजुद आफूलाई हदैसम्म मन पराउने पात्रलाई जीवनसाथी चुनेर आफ्नो अस्तित्वको निर्णय स्वयं आफैंले गरेकी छ। विवाह पश्चात अनेक दुःख पीडा र अभावले सताइएकी म पात्र विचलित भएकी छैन। बरु एक्लै संघर्ष गरेर दुःख र अभावलाई सकेसम्म किनारा लगाएकी छ। झन्डै झन्डै स्वस्थानी कथाका शिव भट्ट ब्राह्मण र गोमाको जस्तो माया भएर पनि अभावको जिन्दगी बाँचिरहेकी म पात्रको विवाह पश्चातको प्रारम्भिक जीवन कारुणिक छ तर निराशाजनक छैन । आशावादी छ तर पश्चातापपूर्ण देखिँदैन। यसर्थ म पात्र वर्तमान समय भोगिरहेका हरेक नारीहरुलाई संघर्ष को पाठ सिकाउने प्रेरणादायी पात्र बनेर आएकी छन्।
विभिन्न मान्यताका कसीमा शुक्लाम्बारा भित्रका नारीहरू
नारीवादी स्वर सन्धानका दृष्टिले महत्व राख्ने शुक्लाम बराले उग्र नारीवाद भन्दा सम्यमित नारीवादलाई महत्व दिएको छ। पीडा अभाव का कारण विसंगति बोध गर्ने नारीहरू पात्र बनेर आएको शुक्लाम्बरामा अस्तित्ववादी चिन्तन बोकेका नारीहरू पनि भेटिन्छन्। सामाजिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद, विसंगतिवाद र अस्तित्ववाद जस्ता मान्यताहरू परेको शुक्लाम्बराभित्र नारीहरूले बिताएको विगतको ज्ञान छ अनि उनै नारीहरूको घतलाग्दो मनोविज्ञान छ। करुणा र प्रेरणाको संयोग छ अनि भौगोलिक विकटता र मानसिक विकटताले निम्तो दिएको चुनौती पनि छ। उपन्यासभित्रका नारी पात्रहरू यो गरौँ कि त्यो गरौँको अन्योलताले सिर्जना गरेको अन्तरद्वन्दमा फसेका छन् र उक्त अन्तद्र्वन्दबाट स्वयं उपाय निकालेर भविष्यका मार्गहरू स्वयं आफैंले प्रशस्त गरेका छन्। उपन्यासभित्र सिमन्त बुवाले परिकल्पना गरेजस्तो पुरुषको सत्ता अस्वीकार गर्ने नारीभन्दा पुरुषको सहयात्री भएर जीवनको रथ सञ्चालन गर्ने आएका नारी पात्रहरू पाइन्छन्। जी किलरले परिकल्पना गरेको साहसिक र चमत्कारिक नेतृत्वको क्षमता राख्ने नारीभन्दा यथार्थ परक जीवन बाँच्ने नारी भेटिन्छन्। च्बमष्अब िाझष्लष्कm की सबैभन्दा प्रत्यक्ष र प्रभावशाली आवाजमध्ये एक केट मिलेटले भनेजस्तो महिलाहरू हरेक क्षेत्र र हरेक प्रसङ्गमा पुरुषहरूबाट मात्रै शोषित हुन्छन्। पुरुषहरूका अगाडि उनीहरूको अस्तित्व शून्य प्राय हुन्छ भन्ने मान्यताभन्दा माथि उठेर सुक्लामबरा भित्र पुरुष पात्रहरू पनि शोषणमा परेका छन् र जबरजस्तीका शिकार भएका छन्। कृतिभित्र नारीहरू परिस्थितिका दास होइनन् न त पुरुषहरूका। उनीहरू आफ्नो संसार आफै निर्माण गर्ने क्षमता राख्छन्। आफ्नो सुन्दर जीवनको जस्तो खाका कोर्छन् त्यस्तै जीवन बाँच्ने आधार तय गर्ने ल्याकत राख्दछन् भन्दै नारीहरूलाई निरीह र विचाराको कोणबाट माथि उठेर मूल्याङ्कन गर्न सुझाइएको छ। अर्का पाश्चात्य चिन्तक ब्लमचभब म्धयचपष्ल ले महिलालाई समाजले घृणित, हिंसा र यौनजन्य वस्तुका रूपमा लिएको तर्क अघि सार्दै पितृसत्तात्मक संरचना रहेसम्म महिलाहरूको मात्रै दुहाई हुने विचार अघि सारेकी छन्। जसलाई आंशिक समर्थन गरे पनि धेरै संवादहरूमा त्यसको ठिक विपरीत धारमा उभिएको शुक्लाम्बराले केही महिलाहरू पुरुषवादी सत्ताबाट नराम्रोसँग पिल्सिए पनि कतिपय महिलाहरु आफ्नो सत्तो निर्माणमा आफै सक्षम रहेको निष्कर्ष निकालेको छ।
निष्कर्ष
तारा रोकायाको प्रस्तुत शुक्लाम्बरा आख्यानका दृष्टिले पहिलो र समग्रमा दोस्रो साहित्यिक कृति हो। आख्यानका दृष्टिले पहिलो कृति भए तापनि शुक्लाम्बरा तारा रोकायालाई सफल आख्यानकारमा दर्ज गर्ने गरी थुप्रै सम्भावना बोकेर ल्याएको कृति बनेको छ। कारुणिक र विसङ्गत जीवन बाँच्न बाध्य पारिएका नारीहरू तथा सङ्घर्षशील र अस्तित्ववादी चिन्तन सँगालेर बाँचिरहेका दुवै प्रकृतिका नारीहरू उपन्यासभित्र पात्र बनेर आएका छन्। यसर्थ नारीहरूको दैनिकी, जीवनको उकाली ओरालीलाई अत्यन्त जीवन्त बनाएर प्रस्तुत गरिएको प्रस्तुत कृति वर्तमानमा बाँचिरहेका नारीहरूका लागि पनि प्रेरणापुञ्ज बनेर आएको छ। त्यसो त कृतिभित्र केही सुधारजन्य सीमाहरू पनि भेटिन्छन् । उपन्यासभित्र परेका केही घटना अस्वाभाविक र अतिसयक्तिपूर्ण वर्णनमा आधारित छन्। अशिक्षित र शिक्षित पात्रहरूको संवादमा तात्विक भिन्नता देखिँदैन। भावुक प्रेममा आधारित संवादमा थप रागात्मक र प्रेमिल भाषाको प्रयोग सान्दर्भिक देखिन्छ। समग्रमा दुःखको र सङ्घर्षको जीवन बाँचेका नारीहरुलाई एउटै उपन्यासभित्र समेटेर मर्मस्पर्शी कारुणिक कथानक उन्न सफल सुक्लाम्बरा विगत र वर्तमानको जीवन बाँचिरहेका नारीहरूलाई चिहाउने एउटा सुन्दर आँखीझ्याल हो।









प्रतिक्रिया दिनुहोस्