विष्णु पादुका
बा भन्नू हुन्थ्यो यो कलियुग हो । यो युगमा हरेक कुरा छिटो हुन्छ । म दंग पर्थेँ । सूर्योदय र सूर्यास्त त उस्तै होला । हरेक दिन चौबीस घन्टाकै ,हप्ता सात दिनकै अनि बर्ष तिनसय पैसठ्ठी दिनकै । फेरि पनि बा सम्झाउनु हुन्थ्यो । “हल देख्दै जालास् । बुझ्दै जालास् । सबै कुराको ठोस जवाफ हुँदैन कान्छा , कति कुरा भोगाइले मात्र बुझ्न सकिन्छ ।“ आज बाको भौतिक उपस्थिति छैन । तर ती वचनहरू बेलाबेला स्मृतिमा आएर घन्टी बजाउँछन् । हो देशकै घन्टी जोडतोडले बजेको बेला म नाथेको मनमा बज्ने मधुर घन्टीले केहि लछारपाटो लाउने त होइन फेरि पनि सोचमग्न हुन रोक्दैन । मास्टरको जागिर खाएको तीस वर्ष नाघ्यो । त्रिपन्न सालका विद्यार्थी आज विभिन्न तह तप्कामा हुनुहुन्छ । तर मास्टर जागिर छोड्न सकेको छैन । छुट्न सकेको छैन । आजको समय साँघुरो हुँदै गएको अवस्थामा समयले नै किचिएर सकाउँछ कि कतै बरु । उसो त यो कुराले आजको शैक्षिक वृत्तमा सबैलाई चासो थपेको छ । एक्लै घोत्लिएर सोच्दा सुम्पिएको साँघुरो समयमा आत्यावश्यक ज्ञानको उज्यालो कसरी दिन सकिन्छ भन्ने कुरा आजको लेखनमा आयो । आजको घट्दो समय र बढ्दो जिम्मेवारीलाई निर्देशन र अनुशासनभित्रै सम्भव पारेर देखाउन शिक्षाक्षेत्रमा हामी के गर्न सक्छौ त ? नेपालजस्तो देशमा शिक्षा केवल पाठ्यपुस्तकको विषय मात्र होइन । यो जीवनसँग जोडिएको एउटा निरन्तर साधना हो । कहिले चाडपर्व, कहिले प्राकृतिक विपत्ति अवस्था, कहिले नीतिगत निर्णयहरू यी सबैले विद्यालयको समयलाई टुक्र्याइरहन्छन् । अहिले इन्धन संकटका कारण हप्ताको दुई दिन बिदा दिइएको अवस्था पनि त्यही श्रृंखलाको एक कडी हो । तर समय घट्दै जाँदा ज्ञानको आवश्यकता त घट्दैन बरु अझ तीव्र हुन्छ । यस्तो अवस्थामा आन्दोलन र विरोधले तत्काल राहत दिन सकदैन । तसर्थ त्यो अनावश्यक कुरामा एक पल खर्चिनु पनि ब्यर्थ छ । बरू समाधान त अनुशासन, योजना र सामूहिक प्रतिबद्धतामा लुकेको हुन्छ । समयको पुनर्संरचना अनुसार हाम्रा शैक्षिक कार्यक्रम कसरी कम समय र गहिरो सिकाइमा लैजाने त्यस बारेमा पहलकदमी लिनुपर्छ । अब प्रश्न समयको लम्बाइ होइन उपयोगको गहिराइ हो ।शिक्षकले सबै पढाउने नभएर अत्यावश्यक कुराको छनोट गर्नुपर्छ । पाठ्यक्रमलाई तीन भागमा विभाजन गरेर हेर्नुपर्ने भएको छ ।अत्यावश्यक ,सहयोगी र पूरक ।पहिलो तहलाई प्राथमिकता दिँदा विद्यार्थीले आधार गुमाउँदैनन् । यसले शिक्षालाई भारी या बोझ होइन, स्पष्टता दिन सकोस् । कक्षाको पुनः परिकल्पना गर्दा अब केवल शिक्षक होइन विद्यार्थीको सहयात्री र सहयोगी हुनुपर्ने छ । परम्परागत शैलीमा शिक्षक बोल्ने र विद्यार्थी सुन्ने ढाँचा समयको दृष्टिले प्रभावकारी देखिन छोडिसक्यो । यसको सट्टा समूह छलफल , प्रश्नमा आधारित सिकाइ , छोटा परियोजना र मूल्यांकन प्रणाली चुस्त बनाउन शिक्षकले पहल गर्नुपर्ने छ ।यस्ता विधिले थोरै समयमा धेरै सिकाइ सम्भव बनाउँछन्।
विद्यार्थीले केवल उत्तर दिने नभएर प्रश्न उठाउने बनुन् । घर र विद्यालय बिच समन्वय राख्दै सिकाइ कक्षाभन्दा बाहिर पनि सम्भव छ भन्ने बोध विद्यार्थीमा पनि हुन जरुरी छ । समय घट्दा सिकाइलाई कक्षाभित्र मात्र सीमित राख्न सकिँदैन । घरमा गरिने अध्ययन कार्यलाई बोझ होइन कि खोज बनाउन अभिभावकलाई साक्षी बनाउनु पर्ने दिन आएका छन् । यसले सिकाइलाई पारिवारिक जीवनसँग पनि जोड्छ । नेपालका सबै ठाउँमा उच्च प्रविधिको पहुँच सम्भव नहुन सक्छ। तर सानो प्रयासले पनि ठूलो काम गर्न सकिन्छ ।मोबाइलमार्फत अडियो÷भिडियो सामग्री , सन्देश मार्फत छोटो अभ्यास गराउन सकिन्छ । यसले बिदाको दिनलाई पनि शून्य हुन दिदैन । बिदा आफैमा कामको मुक्ती होइन बरू कामलाई प्रत्येक पल सकारात्मक रूपमा लेउ भन्ने एउटा सन्देशको रूपमा बिकसित गर्नुपर्ने भएको छ । समयभन्दा ठूलो शक्ति हो अनुशासन । विद्यार्थी र शिक्षक समयमै कक्षामा उपस्थित हुनु र सिकाइको तदारुकता देखाउनु अनि विद्यार्थी तयारीका साथ रहनु आवश्यक छ । विद्यालयका आफ्नै स्पष्ट योजना बन्नु जरुरी छ । समय कम भए पनि यदि अनुशासन बलियो छ भने कर्तव्यबोध र कर्मनिष्ट भएर लाग्दा त्यो कम समय पूरा समय जस्तै प्रभावकारी हुनेछ । मानसिकता परिवर्तन अहिलेको पहिलो शर्त हो । काम पूरा गर्नु मात्र होइन त्यो कामको उपयोगिता बुझ्नु अहिलेको गंभिर चुनौती हो । हामीले वर्षौंदेखि एउटा भ्रम बोकेका छौं ।पाठ्यक्रम पूरा गर्नु नै शिक्षा हो । तर सत्य के हो भने बुझिएको एक पृष्ठ, नबुझिएको सय पृष्ठभन्दा मूल्यवान हुन्छ । यसैले अब लक्ष्य परिवर्तन गर्न अनिवार्य छ । कति पढायौं होइन कति बुझायौं भन्ने प्रश्न सोधौं आफैलाई । चुनौतीभित्र जहिल्यै सम्भावना लेकेका हुन्छन् । समय घट्नु एउटा समस्या हो तर यसले हामीलाई एउटा अवसर पनि दिन्छ । शिक्षालाई पुनःपरिभाषित गर्ने अवसर । अनुशासन, सहकार्य, र सृजनात्मक सोचले हामी यही सीमित समयमा पनि विद्यार्थीलाई आवश्यक ज्ञान, सीप र चेत दिन सक्छौं । यो अवस्थाको मार भोग्नुपरेका विद्यार्थीलाई पनि सम्बोधन गरिनु आवश्यक छ । समय घट्दा पनि आफू नघट्ने विद्यार्थी बनौं हामी । बिदा बढ्यो, पढाइ घट्यो… अब के हुन्छ ? यो प्रश्न स्वाभाविक हो । तर साँचो कुरा के हो भने, समय घट्नु भनेको अवसर हराउनु होइन, अवसरलाई नयाँ तरिकाले समात्न सिक्नु हो । हप्ताको दुई दिन बिदा सुनिँदा रमाइलो लाग्छ । तर यदि त्यो समय खाली भएर खेर गयो भने, त्यो बिदा होइन हराएको एक सुवर्ण अवसर सावित हुन्छ । त्यसैले सबै विद्यार्थीले आफैलाई सोध्न जरुरी छ – आज मैले के सिकेँ , जुन किताबभन्दा बाहिर पनि काम लाग्छ । परिक्षा भन्दा वरपर पनि उपयोगी हुन्छ । यो क्रममा घरको काम सिक्नु ,आमा–बुवासँग जीवनका अनुभव सुन्नु , आफूलाई कमजोर लागेको विषय दोहो¥याउनु यी सबै पनि शिक्षा हुन् । सिकाइ हुन् । परीक्षामा मात्र होइन, जीवनमा काम लाग्ने कुराको ज्ञान गहिरो हुनै पर्छ । सानो समयलाई ठूलो ध्यानको रूपमा बुझ्नुपर्ने हुन्छ । अब कक्षामा बस्ने समय कम छ। त्यसैले शिक्षकले भनेको कुरा ध्यान दिएर सुन्नु , नबुझेको कुरा त्यहीँ सोध्नु , बुँदा टिपोट गर्नु , नोटहरू बनाउन छोड्नु भएन । कक्षाको भरमा मात्र पासहुन खोज्ने विद्यार्थीले अझ गंभिरतापूर्वक लिनुपर्छ यो समयको संकुचनलाई ।
बुझौ कि , धेरै समय बस्नु भन्दा सही तरिकाले बस्नु महत्त्वपूर्ण हुन्छ । आफूलाई आफैंले पढाउने बानीको विकास गरौं । सबै कुरा शिक्षकले पढाइदिन्छन् भन्ने समय अब छैन । अब आफुले आफैंलाई पनि पढाउनुपर्छ । एक शिक्षकले जस्तै हरेक विद्यार्थिले आफ्नो दैनिक लक्ष्य निर्धारण गर्नुपर्छ । यसको नियमितताले प्रत्येक विद्यार्थीको भावी लक्ष्यमा समेत स्पष्टीकरण देखिन्छ । जब विद्यार्थी स्वयं आफ्नो शिक्षक बन्छन् । सिकेको जानेको कुरा स्थायी हुन्छ । त्यो ज्ञान कहिल्यै हराउँदैन । साथीहरूसँग मिलेर सिकाइ हासिल गर्न सकिन्छ । एक्लै पढ्दा कहिलेकाहीँ गाह्रो हुन्छ । साथीहरूसँग सानो समूह बनाएर छलफल गर्नु एकअर्कालाई प्रश्न सोध्नुले सिकाइ चिरस्थायी हुन्छ । स्मरणीय हुन्छ । पालैपालो एउटा विषयमा पवेश गरेर सिक्दा पढाइ नै खेलजस्तो लाग्न थाल्छ । अबका बिदामा मोबाइल होइन मौका छोपौं । संरचनात्मक काम गरौं । मोबाइल आफैमा नराम्रो होइन,तर कसरी प्रयोग गर्छौ भन्ने महत्त्वपूर्ण हो ।दस बीस मिनेट ठिकै हुनसक्छ । तर घण्टौको निरन्तर स्क्रोलले समयको नास मात्र होइन तपाईंको स्वास्थ्य समेत खाइरहेको छ । आवश्यक भिडियो खोजेर हेर्नू होस् । आवश्यक कुरा लेख्नुहोस् । मोबाइल तपाईंको आवश्यकता हो तपाईं मोबाइलको लागि आवश्यकता नबन्नु होस् । त्यसैले मोबाइलले हामीलाई होइन हामीले मोबाइल चलाउने हो । मोबाइलमा आएका सबै कुरा हामी जीवनभर मोबाइल नछोडे पनि सकिदैन यो यथार्थ नभुलौं । यस्ता नियमित बिदामा मन कमजोर हुन दिनु हुन्न ।कहिलेकाहीँ यस्तो लाग्न सक्छ पढाइ पूरा हुँदैन होला… अरूभन्दा पछि पर्छु कि… नसोचौं । डरले होइन, प्रयासले भविष्य बन्छ । समय कम भए पनि यदि हामीले निरन्तर प्रयास ग¥यौ भने हामी पछि पर्दैनौ बरु बलियो बन्छौँ । निदाउनु अघि सबै विद्यार्थीले आफूलाई एउटा प्रश्न गरौं । आज मैले के सिकेँ ? यदि उत्तर भेटियो भने, हामी सही बाटोमा छौ । हरेक परिस्थितिभन्दा ठूलो हामी हौं । समय घट्यो, नियम बदलियो तर एउटा कुरा बदलिएको छैन त्यो हो तपाइँको क्षमता। यो समय तपाईंलाई रोक्न आएको होइन । तपाईंलाई झन् बलियो बनाउन आएको परीक्षा हो । त्यसैले गुनासो कम र
प्रयास बढि अनि आत्मविश्वास राखिरहनु पर्छ । “म यो अवस्थामा पनि सिक्न सक्छु,अघि बढ्न सक्छु । चुनौतीसँग जुध्न म तयार छु ।” यो मुल मन्त्र भुल्नु हुँदैन । हामी नै भविष्य हौ , समयले हामी लाई घटाउन खोज्दा पनि, हामी आफैलाई बढाइरहने छौं । विद्यार्थीमा मात्र होइन अभिभावकमा समेत थप चिन्ता छ । उहाँहरूलाई समेत चिन्तित नहुन अनुरोध छ । अध्ययनरत सन्तानको समय घट्दा अभिभावकको भूमिका झन् बढ्छ । परिस्थितिले विद्यालयको समय घटाइदिएको छ । तर एउटा सत्य यथावत् छ कि बालबालिकाको सिकाइ रोकिनु हुँदैन। यस्तो बेला विद्यालय मात्र होइन, घर पनि दोस्रो विद्यालय बन्नुपर्छ । तर त्यो दबाबको ठाउँ होइन कि समझदारी र साथको ठाउँ हुनुपर्छ ।
बालबालिकाले बिदा पाए भनेर उनिहरूलाई पूर्ण रूपमा स्वतन्त्र छोडिदिनु वा अत्यधिक नियन्त्रण गर्नु दुवै अतिसयोक्ती हुन्छ । बरु सन्तुलन खोजौँ । दिनको अधिक तर निश्चित समय पढाइका लागि बाँकी समय खेल, सृजनात्मक काम, विश्रामका लागि भनेर छुट्याइदिउँ । यसरी बालबालिकालाई बुझाउनु नै छ “मेरो समयको मूल्य छ, तर म स्वतन्त्र पनि छु ।” अक्सर हामी भन्छौँ , “ पढ् ! नत्र पछि पछुताउँछस् ” “अरूले कति पढिरहेका छन्, तँ किन नपढेको ? ” यी शब्दहरूले डर त दिन्छन् तर सिक्ने इच्छा जगाउँदैनन् ।यसको सट्टा आज के नयाँ कुरा सिक्यौ, कुन विषय गाह्रो लागिरहेको छ ? यस्ता प्रश्नले बालबालिकाको मन हलुका भएर खुल्छ । हामी घरमै सानो सिकाइको वातावरण सिर्जना गर्न सक्छौं । महँगा सामग्री आवश्यक छैन । साधारण तर नियमित वातावरण दिन अनिवार्य हुन्छ ।पढ्ने सानो शान्त ठाउँ होस् । आवश्यक कापी–कलमको व्यवस्था होस् । मोबाइल÷टिभीको सीमित प्रयोग गरौं । जब घरमा सिकाइ महत्त्वपूर्ण छ भन्ने बुझिन्छ अनि बालबालिका आफै जागृत हुन्छन् सिक्न ।जीवन सिकाइ पनि त्यत्तिकै महत्वपूर्ण छ । आनिबानी घरायसी काम सबै जीवनका सिकाइ हुन् । शिक्षा केवल किताबमा सीमित छैन । बजार जाँदा हिसाब सिकाउन सकिन्छ । घरको काममा जिम्मेवारी दिन सकिन्छ । आफन्तसँग व्यवहार सिकाउनु सकियो । यी सबै जीवनका पाठ हुन् जुन विद्यालयले मात्र दिन सक्दैन । तुलना भन्दा सजिलोसँग प्रोत्साहन दिनुपर्नेछ छोराछोरीलाई । सबैभन्दा गहिरो चोट दिने कुरा के हो भने तुलना । “छिमेकीको छोरो त…” “तेरो साथीले त…” यस्ता कुराले उनीहरुको आत्मविश्वास घटाउँछ । बरु “तिमी हिजोभन्दा आज राम्रो हुँदैछौ।” यो एक वाक्यले बच्चालाई अगाडि बढ्न शक्ति दिन्छ । अभिभावक र शिक्षक दुई अलग होइनन् । एकै लक्ष्यका र एकै यात्राका सहयात्री हुन्। समय–समयमा शिक्षकसँग कुरा गर्नु बच्चाको प्रगति र समस्या बुझ्नु , घर र विद्यालयबीच समान समझदारी बनाउनु पर्छ । यसले बच्चालाई द्विविधामा पार्दैन । सबैभन्दा ठूलो कुरा त साथ हो । बा आमाको प्रेमिल साथ । जोसुकै बच्चाले के रोज्छ ? न महँगो किताब न ठूलो दबाब , उसले खोज्छ रोज्छ साथ र विश्वास । जब ऊ कहिलेकाही असफल हुन्छ तपाईंले उसलाई समात्नुहोस् । आफुलाई त्यागेर बालबालिका च्याप्ने अभिभावक मात्र सफल अभिभावक हुन सक्छन् ।
“म तिम्रो साथमा छु है ! “ यो वाक्य नै उसको सबैभन्दा ठूलो ऊर्जा हो । परिस्थिति बदलिन्छ, आधार होइन । समय घटेको छ, तर अवसर सकिएको छैन । बरु यो समयले अभिभावकलाई सम्झाएको छ । “तपाईं केवल अभिभावक होइन, पहिलो शिक्षक पनि हुनुहुन्छ ।” यदि घरले साथ दियो भने विद्यालयको कम समय पनि पर्याप्त हुन्छ । किनकि अन्तत बच्चा किताबबाट मात्र होइन घरको वातावरणबाट पनि बलियो हुने हो । हामी विविधता युक्त समाजमा छौं । दिनभर अफिस ,पसल ,मेलापात , उद्योग ,अस्पताल जताततै हुन सक्छौं । सजिलो पक्कै छैन तर स्विकार्नु त छँदैछ । जसरी नि पासको नीति पक्कै होइन । पहिलो शर्त सिक्नु हो । कसरी हुन्छ बालबालिकाले सिक्ने अवसर पाउनु पर्छ । कहिलेकाही यसरी बुझ्दा हाम्रो दैनिकी फेरिन सक्छ । त्यसैले त्यसलाई सामान्य पार्न समय तालिकाको ठूलो भूमिका हुन्छ । सन्तुलित दिनचर्या जीवनकै अपरिहार्य तत्व हो । त्यसैले घरमै सिकाइ र जीवनको तालमेल मिलाएर लानुपर्ने हुन्छ । त्यसैले यो संक्षिप्त समयमा पनि हाम्रा सिकाइ बृहत हुनबाट रोकिन दिनु हुँदैन ।









प्रतिक्रिया दिनुहोस्