आलोपालो सरकार सञ्चालनको पूर्वसहमति कार्यान्वयन नभएपछि प्रदेशमा काँग्रेस र एमालेको गठबन्धन क्रमशः भत्किँदैछ । प्रदेश सरकार फेरबदल हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्णायक देखिएको छ । विगतको तिक्ततापूर्ण सम्बन्धलाई सुधारको प्रयास गरिरहेका नेकपा एमाले र नेकपा प्रदेशमा वाम गठबन्धनको गृहकार्यमा जुटेका हुन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
२१ फागुन २०८२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि प्रतिपक्षमा रहेका कम्युनिष्ट दलहरु फेरि नजिकिन थालेका छन् । प्रतिनिधिसभामा तेस्रो र चौथो दलसहित प्रतिपक्ष दलको भूमिकामा रहेका नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सरकारमा भने सत्ता सहकार्यको गृहकार्य गरिरहेका छन् । आलोपालो सरकार सञ्चालनको पूर्वसहमति कार्यान्वयन नभएपछि प्रदेशमा काँग्रेस र एमालेको गठबन्धन क्रमशः भत्किँदैछ ।
सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशमा प्रदेश सरकार परिवर्तनको कोर्स अगाडि बढिसकेको छ । कोशी र लुम्बिनीको सत्ता भने केन्द्रको निर्णयबाट प्रभावित हुनेछन् । यी प्रदेशमा दुवै दल केन्द्रको निर्देशन कुर्दै ‘पर्ख र हेर’को अवस्थामा छन् । काँग्रेस र एमालेको साझेदारी भत्किँदा पनि गण्डकी र मधेश सरकारमा असर पर्ने देखिँदैन । यसरी प्रदेश सरकारहरु परिवर्तन हुने प्रक्रियाहरु अघि बढे पनि नयाँ कोर्स अब कसरी अगाडि बढ्छ भन्ने टुंगो छैन ।
यस्तो अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभामा विपक्षमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नयाँ सत्ता समीकरणमा निर्णायक देखिएको छ । काँग्रेस र एमालेको गठबन्धन भत्किएपछि प्रदेशमा नेकपा निर्णायक भूमिकामा आएको हो । प्रदेशमा सरकार गठनका लागि निर्णायक मानिएको नेकपाले सत्ताधारी नेपाली काँग्रेस र नेकपा एमालेसँग निरन्तर संवाद गरिरहेको छ । काँग्रेस र एमालेले सत्ता साझेदारी तोड्दा निर्णायक शक्ति बन्ने नेकपाका ती नेताका अनुसार नयाँ सरकारबारे छलफलमा भने सघन बनेको छ ।
प्रदेश सरकार हेरफेर हुँदा वाम सहकार्य गर्ने मोडालिटीमा पनि नेकपा र एमालेका नेताहरु छलफलमा छन् । दक्षिण एसिया क्षेत्रीय सम्मेलनमा भाग लिएर तीन दिने श्रीलंका भ्रमण सकाएर नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि नेकपा निर्णायक तयारीमा जुटेको छ । सोही तयारीस्वरुप नेकपाका संयोजक प्रचण्डले सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेका थिए । दुई नेतावीच काँग्रेस, एमाले र नेकपा सम्मिलित सहमतिको सरकार बन्ने स्थितिमा मात्र सरकारमा जानुपर्ने विषयमा छलफल भएको थियो ।
यदि सरकार नै नबन्ने स्थिति आएमा के गर्ने भन्ने विषयमा पार्टीले ठोस निर्णय गर्नुपर्नेमा प्रचण्ड र नेपाल एकमत देखिएका छन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रदेश सरकारमा सहभागी हुने विषयमा पार्टी हतार गर्ने पक्षमा छैन । सातवटै प्रदेशमा सहमतिको सरकार बनाउने पक्षमा पार्टीले पहल गरिरहेको आचार्यको भनाइ छ । एमाले र नेकपा प्रदेशमा तीनवटै दल मिलेर जानुपर्ने पक्षमा देखिँदा नेपाली काँग्रेस भने त्यसको विपक्षमा देखिएको छ ।
एमाले र नेकपाले प्रदेशमा तीन दल मिलेर सरकार बनाउने भनिरहँदा नेपाली काँग्रेस भने तीन दल मिल्ने पक्षमा देखिँदैन । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार हेरफेर हुँदा तीन दल मिलेर प्रतिपक्षविहीन बनाउने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारिसकेका छन् । केन्द्रीय मुख्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनबाट उनले संविधानको भावना, नागरिकको चाहना र निर्वाचनको अभिमतभन्दा विपरीत काँग्रेसले निर्णय नलिने अडान लिए ।
शर्माले भने, ‘आवश्यक प¥यो भने नेपाली काँग्रेस प्रतिपक्षमा बस्न तत्पर हुन्छ । सबै दलहरु एउटै सरकारमा अटेर बस्नुपर्छ भन्ने मान्यता राख्दैन । आन्तरिक रुपमा अभ्यासहरु, संवादहरू भइरहेका छन् । हाम्रो बटमलाइनमा स्पस्ट छौँ, कुनै पनि प्रदेशसभा प्रतिपक्षीविहीन बन्नु हुँदैन ।’ त्यसो त वाम सहकार्यको गृहकार्य अलि अघिदेखि नै चल्दै आएको छ । गत १४ असारमा मदन भण्डारी फाउण्डेसनले शीर्ष वाम नेताहरूलाई एकठाउँ उभ्याएर वाम आन्दोलनबारे बोल्ने वातावरण मिलाएको थियो ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसर पारेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपाल एउटै मञ्चका वक्ता थिए । तिक्ततापूर्ण सम्बन्धमा रहेका नेताहरुलाई एउटै मञ्चका वक्ता बनाउने प्रयत्न संयोग मात्र थिएन । फाउण्डेसनले पार्टीभित्रै एकअर्काविरुद्ध संघर्ष गरिरहेका नेताहरूलाई वाम आन्दोलनबारे धारणा राख्न भनिएको थियो । कार्यक्रममा कम्युनिष्ट नेताहरुले वामपन्थी एकता आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
एमालेका तर्फबाट सिर्जना गरिएको अवसरजस्तै कार्यक्रम नेकपाका नेताहरुले पनि आयोजना गर्दैछन् । ८ साउनमा पुष्पलाल मित्रता केन्द्रको ब्यानरमा ‘वाम आन्दोलनको भूमिका’ विषयक अन्तरक्रिया राजधानीमा राखिएको छ । उक्त कार्यक्रममा प्रचण्ड, माधव नेपाल, मोहनविक्रम सिंह, प्रदीप ज्ञवाली र आहुति वक्ता छन् । जगन्नाथ खतिवडा अध्यक्ष रहेको यो केन्द्रले सातै प्रदेशमा वाम बहस चलाउने तयारी गरिहेको छ । यसैबीच, प्रदेश सरकार फेरबदल र वाम सहकार्य लगायतका विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच निर्णायक छलफलको तयारीसमेत भइरहेको छ ।
प्रदेशमा सहमतिकै आधारमा सरकार गठनका लागि नेकपाका संगठन विभाग प्रमुख वर्षमान पुन र नेता प्रमेश हमाल काँग्रेस र एमालेसँग निरन्तर छलफलमा छन् । काँग्रेसबाट उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गगनकुमार थापा संवादमा छन् भने एमालेबाट उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेल निरन्तर छलफलमा संलग्न छन् । नेकपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता प्रकाश ज्वालाले काँग्रेस वा एमालेसँग मात्र मिलेर प्रदेशमा सरकार गठन गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पारेका छन् ।









प्रतिक्रिया दिनुहोस्