आदिकविको बहसमा तानिएका भानुभक्त



लेक प्याकुरेल

विषय प्रवेश

आज असार २९ अर्थात् नेपाली साहित्यका गौरव आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती । व्यक्तित्व जसले नेपाली भाषालाई उचाइ प्रदान गरे र सामान्यजस्तै लाग्ने नेपाली भाषामा विशिष्टकृत स्वरूप प्रदान गरे अनि नेपाली भाषालाई जनजिब्रोको भाषा बनाउनका लागि उल्लेखनीय भूमिका निर्वाह गरे । उनै साधक धर्ती अवतरण गरेको दिन । नेपाली साहित्यका क्षेत्रमा महाकाव्य लेखनको खडेरीलाई चिर्दै रामायण (१९१०) जस्तो सशक्त महाकाव्यका दाता, नेपाली साहित्यमा औँलामै गन्नसकिने केही साहित्यकारहरूको न्यून सङ्ख्यामा रहेका साहित्यिक कृतिहरूको दायरालाई फराकिलो बनाउँदै प्रश्नोत्तरी (१९१०), भक्तमाला (१९१०), बधु शिक्षा (१९१०), राम गीता (१९२५) लगायतका सशक्त कृतिहरूको योगदान दिने साधक भानुभक्त आचार्यले धनञ्जय र धर्मावती देवीको पुत्रको रूपमा चुँदीरम्घामा आँखा उघारेको दिन ।
अतः यस पुनित अवसरमा उनै अविस्मरणीय व्यक्तित्व भानुभक्त आचार्यप्रति श्रद्धाभाव व्यक्त गर्दै उनको काव्यधर्मिता एवं सोही काव्यधर्मिताले प्रदान गरेको आदिकवि उपाधिमाथि देखिएको मतमतान्तरलाई प्रस्तुत गरिनु सान्दर्भिक देखिन्छ । नेपाली साहित्यको प्राथमिक कालका केन्द्रीय प्रतिभा भानुभक्त आचार्य भक्तिभावमा समाहित रहेर कविता लेख्ने राम भक्तिधाराका महत्त्वपूर्ण हस्ताक्षर मानिन्छन् । आफ्ना कवितामा नीति र उपदेशका स्वरहरू सुसेल्न मन पराउने आचार्यका केही कवितामा नेपाली समाजको यथार्थतालाई समेत उतारिएको छ । अज्ञान हटाउने तत्त्व विद्या हो । विद्याले नै अज्ञानताको समूल नष्ट गर्छ भन्ने मान्यता मुताबिकका कविता लेख्ने कवि आचार्यले नेपाली जातीयताको सगौरव वर्णन गरेका छन् । दया, करुणा, सहिष्णुता र परोपकारजस्ता मानवीय मूल्यहरूको पक्षपोषण गर्ने अर्थमा आचार्यलाई आंशिक रुपबाट मानवतावादी विचार अभिव्यक्त गर्ने कवि मान्न सकिन्छ । धर्म र लोककल्याणको संयोजक आचार्य प्रकृतिको मनमोहक चित्रक पनि मानिन्छन् । नेपालको इतिहासमा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गर्ने कर्ताको श्रेय पाएका छन् भने नेपाली भाषा साहित्यका माध्यमबाट जातीय एकताको भावना स्थापित गर्ने श्रेय भानुभक्त आचार्यलाई जान्छ ।

मूलतः पूर्वीय दर्शन निकट रहेर आदर्श र सुधारका पक्षपाती देखिएका आचार्यले सामाजिक प्रशासनिक र सांस्कृतिक विसंगतिका अनेकौँ पाटालाई केन्द्र बनाएर छोटाछोटा व्यवहारिक, शिक्षाप्रद र व्यङ्ग्यात्मक स्वर भरिएका कविता पनि लेखेका छन् (सुवेदी, २०५५ पृ.५८) । नेपाली समाजका विश्वास, अन्धविश्वास, आस्था र व्यवस्थाको घनिभूत चित्रण पाइने उनका कविताहरूमा व्यक्तिका आचरण, समाजका विकृतिहरू अनि उच्च ओहोदामा बसेकाहरूको अकर्मन्य अवस्थाप्रति खरो प्रहार गरी सुधारको सन्देश सम्प्रेषण गरिएको हुन्छ । अनुवादलाई प्राथमिकतामा राखेर रामायण जस्ता महाकाव्य सिर्जना गर्ने आचार्यका बधु शिक्षा जस्ता मौलिक रचनाहरूको समेत प्राप्त भएका छन् । यसर्थ आचार्य अनुवाद र मौलिकता दुवैलाई मध्यनजर गरी साहित्यको सिर्जना गर्ने सर्जक पनि हुन् । धारा प्रवाह लेखनशैलीका कारण आँसु कवित्वको क्षमता राख्ने योगदान दिएका आचार्यका रचनाहरूमा व्यङ्ग्यात्मक प्रवृत्तिका साथै समाज सुधारको आग्रह पनि पाइन्छ । छन्दका सुगन्धहरू राखेर साहित्य सिर्जना गर्ने सर्जक आचार्यका रचनाहरूमा शब्दालङ्कार र अर्थलाङ्कारको बाक्लो उपस्थिति पाइन्छ । करुण रस वीर रस शान्तरस जस्ता रसगत विविधताले सजिएका उनका कृतिहरू नेपाली जनजिब्रो अनुकूलको भाषिक प्रयोगका कारण महत्त्वपूर्ण मानिन्छन् ।

आदिकवित्वमाथिका बहसहरू

संस्कृत साहित्यका बाल्मीकि, ग्रिसेली साहित्यका होमर, रोमेली साहित्यका भर्जिल, अङ्ग्रेजी साहित्यका जिओफ्री चौसर, हिन्दी साहित्यका चन्दबरदाई, बङ्गाली साहित्यका कृतिवास ओझाजस्तै नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य हुन् । भानुभक्त आचार्यलाई पहिलोपटक आदि कवित्वको पगरी गुथाउने साहित्यकारका रूपमा मोतिराम भट्ट चिनिन्छन् । उनले भानुभक्त आचार्यको जीवनचरित्र (१९४८) नामक कृतिमा ‘नेपाली भाषामा हुन त धेरै नामी कविहरू भानुभक्त भन्दा पहिले भए तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्’ भन्ने विचार अघि सारे जुन विचार भानुभक्त आचार्यलाई आदिकविको उपाधि प्रदान गर्ने पहिलो विचार दर्ज भयो । भानुभक्तको आदिकवित्वका सन्दर्भमा सरकारी मातहतबाट आदिकविको उपाधि प्रदान गर्ने व्यक्ति हुन् जुद्धशमशेर राणा । भानुभक्त स्मारक ग्रन्थमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले भानुभक्तलाई आदिकवि भनी लेखिदिए पछि आदिकविको उपाधि राज्यका तर्फबाट समेत अनुमोदन भएको देखिन्छ । यसपश्चात् बहसमा आएको भानुभक्तको आदिकवित्व माथि विभिन्न समालोचकहरूले आआफ्नै धारणा अघि सारेका छन् । यस सन्दर्भमा कोही भानुभक्तलाई नै आदिकवि मानिनुपर्ने विचार राख्छन् भने कोही यसको विपरीत धारमा उभिएका छन् जसको विस्तृत चर्चा प्रस्तुत गरिनु सान्दर्भिक हुन्छ । साहित्यकार तथा समालोचक दिनानाथ सापकोटाका अनुसार भानुभक्तले रामायण लेख्नुभन्दा धेरै अघिदेखि नै आदिकवि रघुनाथद्वारा अनुवादित रामायणको प्रचार पूर्व मेचीदेखि पश्चिम महाकाली पर्यन्त भएको थियो । तथापि साहित्यसेवीहरूले रघुनाथको रामायण नदेखेका हुँदा सापकोटाले भानुभक्त आचार्यलाई नै आदिकवि पदले विभूषित गर्नुपर्ने मान्यता अघि सारेका छन् । यसै क्रममा खोज अन्वेषक बाबुराम आचार्यले पुराना कवि र कविता (२००३)मा भानुभक्तको रामायण काव्यलक्षणले भरिएको हुनाले नेपाली भाषाका आदिकवि भनेर यिनलाई नै कान्छी औँलामा गन्न सकिन्छ भन्दै भानुभक्त आचार्यलाई प्रदान गरिएको आदिकविको उपाधिमाथि समर्थन जनाएका छन् ।

भानुभक्त महान कवि हुन् । भानुभक्त आचार्यलाई आदिकविका रूपमा प्रस्तुत गर्दै सान्दर्भिक र सारगर्भिक विचार राख्ने समालोचक मोहनराज शर्मा हुन् । समालोचक शर्माले भानुभक्त आचार्यलाई समयका आधारमा होइन कृतित्वका आधारमा अभिधार्थमा होइन लाक्षणिक अर्थमा आदिकवि मान्नुपर्ने विचार अघि सारेका छन् । शर्माका अनुसार भानुभक्तको योगदानप्रति श्रद्धा र आदर अभिव्यक्त गर्नका लागि पनि भानुभक्त आचार्यलाई नै आदिकवि मानिनुपर्दछ । नेपाली साहित्यको इतिहासमा भानुभक्तले प्राप्त गरेको आदिकविको उपाधि माथि जति सहमति जनाइएको छ त्यति नै बाक्लो सङ्ख्यामा विमति जनाइएको छ । भानुभक्त आचार्यको आदिकवित्वमाथि प्रश्न उठाउने प्रमुख व्यक्तित्व हुन् वासुदेव त्रिपाठी । त्रिपाठीले सिंहावलोकन (२०२७)मा भानुभक्त उनका पूर्ववर्ती कविहरूभन्दा निर्विवाद रूपमा महान छन् तर उनी आदिकवि होइनन् आदित्वमा उनको अधिकार छैन भन्दै भानुभक्तलाई आदिकवि मान्न नसकिने तर्क अघि सारेका छन् । आचार्यको आदिकवित्वमाथि प्रश्न उठाउने अर्का समीक्षक हुन् बालकृष्ण पोख्रेल । पोखरेलले भानुभक्तलाई आदिकवि भनेर उनीभन्दा पहिलेका कविहरूको देनलाई होच्याउनुभन्दा उनलाई महाकवि भनेर कदर गर्नु बेस हुने तर्क अघि सारेका छन् । भानुभक्तलाई आदिकवि मान्न सकिँदैन भन्ने पक्षका अर्का पक्षधर हुन् हृदयचन्द्र सिंह प्रधान । प्रधानले नेपाली साहित्यका प्राचीन कवि वसन्त शर्माले नेपाली भाषाको विशिष्ट प्रयोग गरेका कारण वसन्त शर्मालाई नै आदिकवि मानिनु उपयुक्त हुने राय व्यक्त गरेका छन् । नेपाली समालोचनामा खरो भएर आफ्ना विचार राख्ने समालोचक रामकृष्ण शर्मासमेत त्रिपाठी, पोखरेल र प्रधानको कित्तामा उभिएर भानुभक्तलाई आदिकवि स्वीकार्य नहुने विचार अभिव्यक्त गर्छन् । शर्माले नेपाली कविका हैसियतमा भानुभक्तलाई कुन स्थान दिनु हुन्छ भन्ने प्रश्न कसैले मलाई गरेछ भने प्रथम स्थान भन्ने उत्तर कदापि पाउने छैन भन्दै घुमौरो शैलीमा भानुभक्त आचार्य आदिकवि नभएको आशय प्रकट गरेका छन् । भानुभक्तको आदिकवित्वको प्रसङ्गमा अर्का समालोचक तारानाथ शर्माले भने सन्तुलित विचार राखेका छन् । उनको बुझाइमा आदिकवि भन्ने शब्द नै अवैज्ञानिक छ । शर्मा भाषाका आधारमा आदि कवित्वलाई मूल्यांकन गर्ने नै हो भने भविष्य पर्खन सुझाउँछन् ।

नेपाली साहित्यका मुर्धन्य कवि भानुभक्त आचार्यलाई प्रदान गरिएको आदिकवि उपाधिमाथिको सहमति र विमतिमा आधारित दुवै प्रकृतिका विचारहरू आआफ्ना ठाउँमा शक्तिशाली देखिन्छन् । दुवै पक्षमा उत्तिकै दरिला तर्क पेस भएका छन् यद्यपि साँचो अर्थमा भानुभक्त आचार्यलाई नै आदिकवि मान्ने वा नमान्ने भन्ने विषयमा कुनै ठोस निष्कर्ष निकाल्नुपर्ने अपरिहार्यता छँदै छ । यस सन्दर्भबाट मूल्यांकन गर्दा नेपाली साहित्यले बामे सर्नसमेत नभ्याएको अवस्थामा काव्यगत विविधता अगाल्ने वा साहित्यको लघु, मझौला र बृहत्रूपका काव्यिक कृतिहरूको योगदान दिने क्षमता मात्रै भानुभक्त आचार्यमा देखिन्छ । नेपालको प्राथमिककालीन वा प्रारम्भिक चरणका साहित्यकारहरूको तुलनामा उनी सङ्ख्यात्मक एवं गुणात्मक दुवै दृष्टिले अब्बल कवि मानिन्छन् । यसर्थ भानुभक्त आचार्यलाई आदिकवि मानिनु सान्दर्भिक हुन्छ । यस प्रसङ्गमा समालोचक मोहनराज शर्माले सुझाएजस्तै आदि शब्दलाई अभिधात्मक रूपमा नभई लाक्षणिक रुपबाट बुझ्ने हो भने पनि भानुभक्त आचार्यलाई दिइएको आदिकविको उपाधि सान्दर्भिक देखिन्छ । नेपाली भाषा साहित्यको कोणबाट हेर्दा भानुभक्त आचार्य कवि मात्र होइनन् उनी भाषा एकीकरणका माध्यमबाट राष्ट्रिय एकता, जातीय एकता कायम गर्ने प्रथम व्यक्ति पनि हुन् । यसर्थ भानुभक्त आचार्यलाई नेपाली भाषा एकीकरणको प्रतीक मानेर आदिकवि मानिनु उपयुक्त हुन्छ ।
भानुभक्त आचार्यको गुणात्मक लेखनीलाई नजरअन्दाज गर्दै समयका दृष्टिले हालसम्म प्राप्त तथ्यअनुसार सर्वप्राचीन मानिएका कवि सुवानन्द दासलाई नै आदिकवि भन्ने हो भने भोलि हुनसक्ने सम्भावित खोजमाथि अन्याय पर्न सक्छ । अथवा खोज र अन्वेषणका सिलसिलामा सुवानन्द दासभन्दा अगाडि पनि नेपाली साहित्य जान सक्ने सम्भावनालाई जीवितै राख्दा उक्त उपाधि सुवानन्दमाथि जुराइनु फितलो हुन्छ । अतः प्राचीन कविहरूमध्ये समयलाई भन्दा गुणात्मकतालाई मध्यनजर गर्दै भानुभक्त आचार्यलाई नै आदिकविको उपाधि प्रदान गरिनु यस अर्थमा पनि सान्दर्भिक छ । भानुभक्त आचार्यको आदिकविको उपाधिका प्रसङ्गमा राज्यले गरेको आधिकारिक निर्णयलाई समेत नियालिनुपर्ने हुन्छ । यस सन्दर्भमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका जुद्ध शमशेरले लिखित रूपबाटै भानुभक्त आचार्यलाई आदिकवि स्वीकारेका छन् । आचार्यबाहेक अन्य कुनै पनि कवि वा साहित्यकारहरूलाई हालसम्म राज्यको स्तरबाट यसरी आदिकविले सम्बोधन नगरिएकाले आदिकविको श्रेय भानुभक्तलाई दिइनु उपयुक्त हुन्छ । त्यसैगरी आदिकविको विषयमा केन्द्रित विश्व साहित्यमा भएका अभ्यासहरूलाई मूल्यांकन गर्दा पहिलो नभएर पुरानो तर महत्वपूर्ण साहित्यकारहरूलाई आदिकवि उपाधि प्रदान गरिएका प्रशस्त उदाहरणहरू पाइन्छन् । यसर्थ नेपाली साहित्यमा भानुभक्त आचार्यलाई नै आदिकवि भनिनुमा कुनै अनुपयुक्तता देखिँदैन ।

निष्कर्ष

विक्रम सम्वत १८७१ असार २९ का दिन धनञ्जय आचार्य र धर्मावती देवीको पुत्रका रूपमा तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यको प्राथमिककालीन अग्रणी कवि हुन् । भक्तिधाराअन्तर्गत रामभक्तिधारामा समाहित भएर कलम प्रवाहित गरेका आचार्यले रामायणसहित आधा दर्जन जति साहित्यिक कृतिको योगदान दिएका छन् । घाँसीको परोपकारी भावनाबाट प्रेरित भएर साहित्य लेखन कर्ममा होमिएका भानुभक्त आचार्यका लेखनीमा नीति, उपदेश र आदर्शका विचारहरू परेका छन् । साहित्यको हकमा संस्कृतको बोलवाला रहेको तत्कालीन समयमा उपेक्षितजस्तै बनेको नेपाली भाषामा सर्वस्वीकार्य हुने गरी रामायण लगायतका कृतिहरू प्रकाशनमा ल्याउनु भानुभक्त आचार्यको महत्वपूर्ण योगदान हो । पृथ्वीनारायण शाहको भौगोलिक एकीकरणको सामिप्यतामा राखेर तुलना गर्नसकिने किसिमले भाषिक एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएका उनै भानुभक्त आचार्यलाई प्रदान गरिएको आदिकवि उपाधिमाथि नेपाली समालोचकहरूबिच मतैक्यता नदेखिनु दुर्भाग्यपूर्ण विषय हो । वासुदेव त्रिपाठी, बालकृष्ण पोखरेल, हृदयचन्द्र सिंह प्रधान, रामकृष्ण शर्मा, तारानाथ शर्मा लगायतका समालोचकहरू उनलाई दिएको आदिकविको उपाधि निरर्थक देख्छन् यद्यपि मोतीराम भट्ट, बाबुराम आचार्य, मोहनराज शर्मा लगायतका व्यक्तित्वहरूले भने नेपाली साहित्यको इतिहासमा भानुभक्त आचार्यलाई आदिकवि उपाधि धारण गर्ने सबैभन्दा उपयुक्त पात्र देखेका छन् । विश्व साहित्यमा आदिकवि पहिलो नभई पुरानो तर उत्कृष्ट लेखन क्षमता भएका व्यक्तित्वहरूलाई मान्ने नजिर स्थापित भएका कारण पनि भानुभक्त आचार्य आदिकविको हकदार देखिन्छन् । समग्रमा नेपाली साहित्यको प्राचीन समयका मूर्धन्य कवि भानुभक्त आचार्यलाई सर्वसाधारणका तहबाट मात्र नभई राज्यको प्रधानमन्त्री जस्तो गरिमामय तहमा आसिन व्यक्तित्वका तहबाट समेत आदिकविको संज्ञा दिइनुले भानुभक्त आचार्यलाई नै आदिकविको उपाधिले विभूषित गरिनु सान्दर्भिक हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार