समीक्षाः चन्द्रवती अधिकारी र चन्द्राध्र्य



लेकप्रसाद प्याकुरेल

चन्द्रावती अधिकारीको वैयक्तिक एवं साहित्यिक परिचय

विक्रम संवत् २०२६ चैत्र १९ का दिन लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका ४ मा बुवा टीकानाथ अधिकारी र आमा खिनमाया अधिकारीकी सुपुत्रीका रूपमा जन्मिएकी चन्द्रावती अधिकारी हाल कोहलपुर नगरपालिका १० बाँके बस्दै आएकी छन् । बाँकेको कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा शिक्षण गर्दै आइरहेकी अधिकारीको हालसम्म ’लमजुडे सुसेली’ (२०७९) सुसेलीसङ्ग्रह तथा चन्द्राध्र्य(२०८२) कवितासङ्ग्रह प्रकाशित भएका छन् । साहित्यतर्फ मूलतः काव्य विधामा कलम चलाएकी चन्द्रावती अधिकारीले फुटकर कविता, मुक्तक, हाइकु, साइनो, सुसेली ,पञ्चाङ्ग , गजल ,कोपिला ,चारु, उदक ,शीत सन्देश, झर, षड्ऋतु, लघुकथा उपविधाहरूमा समेत सक्रियता देखाएकी छिन् । चन्द्रावती अधिकारी हालसम्म भेरी साहित्य समाजको केन्द्रीय सदस्य, पञ्चाङ्ग साहित्य समाजको उपाध्यक्ष, कोपिला साहित्य समाजको लुम्बिनी प्रदेश उपसंयोजक, उदकको राष्ट्रिय सदस्य, शितकाव्य समाजको केन्द्रीय सदस्य, झरसाहित्यको राष्ट्रिय सदस्य, कर्मदा सिर्जना मञ्च पाउँदीको आजीवन सदस्य, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सदस्य, महेन्द्र पुस्तकालय नेपालगन्जको आजीवन सदस्य, दुराडाँडा कलासाहित्य प्रतिष्ठान लमजुङको आजीवन सदस्य, धरा भाषासाहित्य प्रतिष्ठान, बाँसगढीको आजीवन सदस्य लगायतका साहित्यिक संस्थाहरूमा आबद्ध रहेकी छन् । चन्द्रावती अधिकारीले हालसम्म श्री संस्कृत सदन मावि, भूपू विद्यार्थी समाज दुराडाँडा लमजुङद्वारा आयोजित देवकोटा सतवार्षिकी कविता प्रतियोगिता २०६६ मा द्वितीय, पुष्पचन्द्र ट्रस्ट स्याङ्जाद्वारा आयोजित राष्ट्रव्यापी खुला कविता लेखन प्रतियोगिता २०८१ मा तृतीय पुरस्कार तथा विक्रम संवत् २०८० भदौमा सुसेली तिज गीत प्रतियोगितामा प्रथम भई राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् भने उनको तिज गीत छायाङ्कन भई बजारमा आएको छ।

चन्द्रावती अधिकारीका काव्यात्मक प्रवृत्तिहरू

नेपाली साहित्यको काव्यविधा अन्तर्गत शास्त्रीय छन्दमा आधारित पद्य कविताको रचनामा रमाउने चन्द्रावती अधिकारीले प्राय मन्दाक्रान्ता, शार्दूलविक्रीडित, शिखरिणी, स्रग्धरा र अनुष्टुप छन्दहरूलाई कविता अभिव्यक्तिको माध्यम बनाउँछिन् । कवितामा कर्णप्रिय स्वर भरेर वाचन गर्न रुचाउने साहित्यकार चन्द्रावती अधिकारीका रचनामा राष्ट्रियता, मातृत्व प्रेम र समानताका विचारहरू सम्प्रेषण गरिएको हुन्छ । नेपालभित्र प्रचलित संस्कार र संस्कृतिलाई समेत साहित्य सिर्जनाका विषयवस्तु बनाउने अधिकारीले आफ्ना रचनाहरूमा वर्तमान समाजका विकृति, विसङ्गतिहरूलाई केलाउने गर्दछिन् । देशको बिग्रँदै गएको राजनीतिप्रति चिन्ता प्रकट गर्ने अधिकारी राजनैतिक बेइमानीका कारण जनताहरूमा उत्पन्न निराशालाई समेत आफ्ना रचनाका विषयवस्तु बनाउँछिन् । आफ्ना रचनामा प्रकृति चित्रणलाई स्थान दिँदै आएकी अधिकारीले गरिब, दुःखी र निम्न वर्गीय जनताहरूले भोग्नुपरेको पीडा र कष्टकर जीवनको चित्रण गर्दै उनीहरूप्रति सहानुभूति प्रकट गर्ने गर्छिन् । साहित्यमा पछिल्लो समयमा प्रचलनमा आएका सुसेली, पञ्चाङ्ग, शीत जस्ता प्रविधाहरूमा केन्द्रित भएर कलम चलाउने चन्द्रावती अधिकारीले थोरै सङ्ख्यामा भए पनि लघुकथा लेखनमासमेत सक्रियता जनाएको पाइन्छ ।

विधागत तत्त्वको आधारमा चन्द्राध्र्य

चन्द्रावती अधिकारीको चन्द्राध्र्य भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा २०८२ मा प्रकाशित गरिएको ५८ वटा फुटकर कविताहरूको सङ्ग्रह हो। ५८ पृष्ठको लमाइगत आयाम धारण गरेको प्रस्तुत कवितासङ्ग्रहभित्र परेका सबै कविताहरू शास्त्रीय छन्दमा संरचित छन्। मूलतः मानव, देश र प्रकृतिलाई विषयवस्तु बनाएर रचिएका कविताहरूलाई समावेश गरी तयार पारिएको चन्द्राध्र्य भित्रका कविताहरूलाई विधागत तत्वका आधारमा चर्चा गरिनु सान्दर्भिक देखिन्छ।

शीर्षकका आधारमा

कविले कविताको नामाकरण गर्ने उद्देश्यले कविताको शीर्ष स्थानमा राख्ने गरी जुराएको शब्द नै शीर्षक हो। शीर्षक कविताको सारसंक्षेप पनि हो जसले कतै अभिधा, कतै लक्षणा त कतै व्यञ्जना अर्थ बोकेको हुन्छ (ज्यििथधययम पजबदबच.अयm)। सामान्यतया शीर्षक अर्थपूर्ण, विषयवस्तु केन्द्रित ,संक्षिप्त र सूत्रात्मक हुनु जरुरी छ। यही कोणबाट चन्द्रावती अधिकारीको चन्द्राध्र्यको मूल्याङ्कन गर्दा प्रस्तुत कविता संग्रहको नामकरणमा परेको शब्द ’चन्द्राघ्र्य’ चन्द्र + अर्घ भई बनेको तत्सम स्रोतको शब्द हो। चन्द्र शब्दले चन्द्रमालाई र अर्घ शब्दले सम्मानपूर्वक अर्पण गरिने जल, फूल आदि पूजा सामग्री लाई बुझाउँदछ । व्याकरणिक कोणबाट हेर्दा चन्द्र र अर्घको बिच स्वर सन्धि भएर बनेको चन्द्राघ्र्यले चन्द्रमालाई अर्पण गरिने सामग्री विशेषलाई सङ्केत गर्छ। समग्रमा आफ्नो कवितासंग्रह रूपी सामग्रीलाई स्वयं चन्द्रावती अधिकारीले चन्द्रमा जस्तै उज्ज्वल पाठकहरुलाई अर्पण गरेको अर्थमा कृतिको नामकरण चन्द्राघ्र्य राखेको देखिन्छ। चन्द्रार्घभित्र समेटिएका ५८ वटा कविताहरूको शीर्ष स्थानमा पर्नेगरी ५८ वटा शीर्षक जुराइएको छ जसमध्ये एक अक्षर, एक शब्द हुँदै चार शब्दसम्मका शीर्षकहरु परेका छन् भने शब्द तहदेखि वाक्य तहसम्मका शीर्षकहरूको संयोजन गरिएको छ। २९ औँ र ४४औं क्रममा रहेका दुई कविताहरूले समान होली र होली २ शीर्षक धारण गरेका छन्। प्राय अधिकांश एक शब्द र आंशिक रुपमा दुई शब्द वा तीन शब्दद्वारा संरचित शीर्षकहरूको व्यवस्थापन गरिएका कारण कवितामा प्रयुक्त शीर्षकहरू सङ्क्षिप्त र सूत्रात्मक हुनुपर्छ भन्ने मान्यता अनुरुपका छन् । चन्द्राध्र्य कृतिभित्र परेका कविताहरूले विभिन्न विषयक्षेत्रसँग सम्बन्धित शीर्षकहरू धारण गरेका छन । यस क्रममा कुनै शीर्षकमा राजनीति क्षेत्रले प्रवेश पाएको छ भने केही शीर्षकहरू समयको प्रतिनिधि भएर आएको छन्। केही शीर्षकहरूले स्वास्थ्य र राष्ट्रियताको प्रतिनिधित्व गर्छन् भने कविताका केही शीर्षकहरू मानवीय प्रवृत्तिसम्बद्ध छन् । त्यसो त कतिपय कविताहरूमा साहित्य, प्रकृति, चाडपर्व, श्रम, पेशा आदि विशेष क्षेत्रलाई प्रतिनिधित्व गर्ने शीर्षकहरू पनि परेका छन्। समग्रमा कृतिभित्रका ५८ वटा कविताले धारण गरेका शीर्षकलाई हेर्दा शीर्षकहरू एकल नभएर विविध विषयक्षेत्रसँग सम्बन्धित छन् ।

लयका आधारमा चन्द्राध्र्य

कवितालाई अन्य विधाबाट पृथक तुल्याउने महत्त्वपूर्ण तत्त्व लयविधान हो । फुटकर कवितामा लयविधान बद्ध र मुक्त गरी दुई प्रकारका हुने गर्दछन् । बद्धलयअन्तर्गत वार्णिक, मात्रिक र वर्ण मात्रिक कविताहरू पर्दछन् भने मुक्त लयअन्तर्गत गद्य कविताहरू पर्दछन् । यस कोणबाट मूल्याङ्कन गर्दा चन्द्राघ्र्य कवितासङ्ग्रह भित्र परेका सम्पूर्ण कविताहरू बद्धलयमा संरचित छन्। बद्धलय अन्तर्गत रहेर शास्त्रीय छन्दको प्रयोग गरिएको प्रस्तुत कृतिभित्र शार्दूलविक्रीडित, मन्दाक्रान्ता, स्रग्धरा, इन्द्रवज्रा, उपेन्द्रबज्रा, अनुष्टुप जस्ता छन्दहरूको प्रयोग गरिएको छ।

केन्द्रीय कथ्य वा भावका आधारमा आधारमा

कविताले अभिव्यक्त गर्न खोजेको मूल विचार वा विषयलाई नै केन्द्रीय कथ्य वा भावका रूपमा सङ्केत गरिन्छ । केन्द्रीय कथ्य र भावलाई कतिपय समालोचकहरूले भाव वा विचार भनेर पनि चिनाएका छन् । “जीवन जगतका सारा अनुभव तथा अनुभूतिहरूको कथन कवितामा हुन्छ । यसर्थ कवितामा कथन गरिएको जीवनजगत्को अनुभूतिहरूको सारतत्त्व नै कविताको भाव वा विचार हुने गर्दछ (महाश्रम शर्मा र कृष्णप्रसाद सुबेदी, पृष्ठ १२) ।“ यही केन्द्रीय कथ्यका आधारमा चन्द्राघ्र्यभित्र परेका कविताहरूको मूल्याङ्कन गर्दा कविताहरू नेपाली समाजमा व्याप्त विकृति विसङ्गतिलाई देखाउँदै सुधारको अपेक्षा राख्दछन् । कवितामा प्रेमका विविध स्वरूपहरू प्रकटीकरण भएका छन्। यस सन्दर्भमा प्रकृति प्रेम, माटो (जन्मभूमि) प्रेम, नेपाली भाषा, संस्कार र संस्कृतिप्रतिको प्रेम तथा जन्मदाता र पेसाप्रतिको प्रेमले कविताको स्वरूप धारण गरेका छन्। अहिलेको जल्दो बल्दो समस्या हो बेरोजगारी। यही बेरोजगारीका कारण कैयौँ युवाहरू विदेश पलायन भएका छन्। खासगरी आफ्नै देशमा रोजगारीको सिर्जना नहुँदा विदेश पलायन हुनुपर्ने बाध्यताहरू पनि कृतिभित्र परेका कविताका केन्द्रीय कथ्य हुन्। पसिना बेचेर घरको चुलो जलाउने श्रमिकहरू, मजदुरहरू र श्रम गरेर सिङ्गो संसार पाल्ने ल्याकत राख्ने किसानहरुका बारेमा उचित सम्मान प्रकट गर्दै हरेक नेपालीलाई श्रम गर्न र श्रमको महत्व बुझ्न आह्वान गरिएको छ। त्यसो त देश लुटेर खानेहरूप्रतिको खबरदारी गर्दै म मात्रै खाऊ, मैले मात्रै सुखको उपभोग गरुँ, म मात्रै बाँचू भन्ने स्वार्थमा लिप्त भएर अरु बाँचुन् वा मरुन् कसैको कुनै वास्ता नगर्ने क्षुद्र मानवीय प्रवृत्तिको विरोध गर्नु जस्ता विचारहरू समेत कृतिभित्र समेटिएका कविताहरुको मूल स्वर बनेर आएका छन्।

संरचनाका आधारमा

कविताको संरचना भन्नाले त्यसको बनोट र बुनोटलाई बुझिन्छ । कविताको बनोट र बुनोटका माध्यमबाट व्यक्त हुन आउने अर्थगत स्वरुपसँग संरचना सम्बन्धित हुने गर्दछ । ’बनोट कविताको हरफ पङ्क्ति, पाठ चरण अनुच्छेद, परिच्छेद, सर्ग, खण्ड आदि बाह्य संरचनासँग सम्बन्धित हुन्छ भने बुनोट कविताको आन्तरिक संरचनासँग सम्बन्धित हुन्छ । चन्द्रावती अधिकारीको चन्द्राध्र्य सङ्ग्रहभित्र परेका कविताहरूमध्ये मूल खाबो शीर्षकको कवितामा दुईदुई हरफको एक श्लोक निर्माण गरिएको छ भने अन्य सबै कविताहरू चार हरफे श्लोकद्वारा संरचित छन्। कृतिभित्र सबैभन्दा संक्षिप्त तीन श्लोकमा संरचित भार तिरूँ शीर्षकको कविता रहेको छ भने सबैभन्दा बढी आमाछोरा, कवि, नारी शीर्षकका कविता रहेका छन् जो छ श्लोकमा आबद्ध छन्। संग्रहभित्र परेका अधिकांश कविताहरूका श्लोकहरू एकआपसमा अन्तरसम्बन्धित छन्। सुरुका श्लोकहरुले जुन विषयवस्तुको उठान गरेका छन् अन्त्यसम्म नै त्यही विषयवस्तु केन्द्रित विचारहरू आएका छन्। यसै सन्दर्भमा केही कविताका केही श्लोकहरू भने स्वतन्त्र भावमा संरचित छन्। जहाँ प्रयोग भएका श्लोकहरुले फरक फरक ढङ्गका विषयवस्तुको उठान गरेका छन् तथापि यस्ता श्लोकहरूको सङ्ख्या अत्यन्त कम छन्।

कथन पद्धतिका आधारमा

कथन र पद्धतिबाट बनेको कथनपद्धति शब्दमा कथनले भनाइ वा विचारलाई बुझाउँछ भने पद्धतिले तरिकालाई सङ्केत गर्दछ । यस अर्थमा कवितामा कविले आफ्ना विचारहरूलाई पाठक समक्ष पुरÞ्याउन अपनाउने तरिका विशेष नै कथनपद्धति हो। कवितामा कथनपद्धति प्रथमपुरुषात्मक कथनपद्धति र तृतीय पुरूषात्मक कथनपद्धति गरी मूलतः दुई प्रकृतिका हुने गर्दछन् । प्रथम पुरुषात्मक कथनपद्धतिलाई कवि प्रढौक्ति उक्तिढाँचा र तृतीय पुरुषात्मक कथनपद्धतिलाई कविनिबद्ध प्रढौक्ति उक्तिढाँचा भन्ने गरिन्छ । कथन पद्धतिका आधारमा चन्द्रावती अधिकारीको चन्दाग्र्य कविता संग्रह भित्र परेका म, समर्पण, शिक्षक, हाम्रा सम्पत्ति, नेपालभित्रै मरु, म आएँ लगायतका कविताहरूमा प्रथम पुरुषात्मक दृष्टिबिन्दुको प्रयोग गरिएको छ भने नारी, सकस, दशैँ, आज, विसङ्गति, पृथ्वी, आह्वान लगायतका कविताहरूमा तेस्रो पुरुषात्मक दृष्टिबिन्दुको प्रयोग गरिएको छ। समग्रमा संग्रह भित्र परेका कविताहरूमध्ये संख्यात्मक रूपले तेस्रो पुरुषात्मक दृष्टिबिन्दुको प्रयोगमा आधारित कविताको उपस्थिति बाक्लो छ।

भाषाशैलीका आधारमा

विचार विनिमयको माध्यमलाई भाषा भनिन्छ । भाषा लिखित र मौखिक गरी दुई प्रकारका हुने गर्दछन् । यही भाषालाई साहित्यमा कलात्मक ढङ्गले प्रस्तुतीकरण गर्ने तरिका विशेष नै शैली हो । भाषाका दृष्टिले अधिकारीको चन्द्राघ्र्यलाई हेर्दा कृतिभित्र प्रयुक्त भाषालाई सबल बनाउन तत्सम, तद्भव, आगन्तुक जस्ता शब्द स्रोतहरूको यथोचित प्रयोग गरिएको छ भने नाम सर्वनाम विशेषण, निपात जस्ता पद वर्गहरूले शब्दभण्डारलाई थप मजबुत बनाउँदै भाषालाई सघाएका छन् । भाषा जब सरल ढङ्गले अभिव्यक्त हुन्छ तब त्यो केवल कुराकानी हुने गर्दछ यद्यपि त्यही भाषाले शैलीको सहारा लिएर मिठास भर्छ अनि मात्र साहित्यको सिर्जना हुन्छ । शैलीको यही महत्तालाई बुझेकी अधिकारीले चन्द्राध्य भित्र अभिधात्मक र प्रतीकात्मक दुवै शैलीको प्रयोग गरेकी छन् भने केही कविताहरूका केही हरफहरुले लक्षणमूलक शैलीलाई महत्व दिएका छन्। कविता संग्रह भित्र दशौँ क्रममा परेको आमाछोरा कविता संवादत्मक शैलीमा आधारित छ। जहाँ आमाले एक श्लोक व्यक्त गरिसकेपछिको क्रममा जोडिएका छोराले अर्को चार हरफे एक्लो अभिव्यक्त गरेका छन् यो सिलसिला कविताको अन्त्यसम्म नै देखिएकाले आमाछोरा कविता संवादात्मक शैलीमा लेखेको कविता बन्न गएको हो।

बिम्बालङ्कारका आधारमा

विम्ब र अलङ्कारको सिङ्गो स्वरूप विम्बालङ्कार हो । कुनै पनि साहित्य विशेषमा चित्रित विषयवस्तुले पाठकका मस्तिष्कमा जे जस्तो आकृति निर्माण गर्छ त्यस आकृति विशेषलाई नै विम्ब भनिन्छ । अलङ्कारको शाब्दिक अर्थ गहना हो । साहित्यका क्षेत्रमा अभिव्यक्त हुने कथनहरूलाई जसले सुन्दर बनाउँछ अथवा सजाउँछ त्यसलाई नै अलङ्कार भनिन्छ । प्राय प्राकृतिक, सांस्कृतिक एवं मानवीय जीवनजगत सम्बन्धित बिम्बहरूको प्रयोग भएको चन्द्राघ्र्यमा अनुप्रासगत शब्दअलंकारको सफल प्रयोग गरिएको छ। यसअन्तर्गत कविताका प्रत्येक श्लोकहरुमा गरिएको अन्त्यनुप्रासको प्रयोगले कविताको बान्कीलाई सजाएको छ भने आंशिक रूपमा भएपनि आध्यानुप्रास र मध्यानुप्रास पनि कृतिका गहना बनेका छन्। अर्थालङ्कार अन्तर्गत उपमा अलंकारको आधिक्यता रहेको कृतिभित्रका कविताहरूलाई प्रसङ्ग अनुकूल प्रयोग गरिएका रूपक दृष्टान्त र उत्प्रेक्षा अलंकारले थप सजाएका छन्।

सुझाव तथा निष्कर्ष

साहित्यकार चन्द्रावती अधिकारीको दोस्रो साहित्यिक कृति चन्द्राध्र्य ५८ वटा फुटकर कविताहरूको सङ्ग्रह हो। शार्दूलविक्रीडित,मन्दाक्रान्ता, अनुष्टुप, स्रग्धरा लगायतका शास्त्रीय छन्दहरूको प्रयोग गरी रचिएको कृतिभित्रका कविताहरुमा राष्ट्रियता संस्कार र संस्कृति प्रतिको मोह,समाजका विकृति विसंगतिहरूप्रतिको खबरदारी तथा राजनीतिक बेइमानी र त्यसले पारेको असर सम्बन्धी विषयवस्तुहरूलाई मुख्य मुद्दाका रूपमा उठाइएको छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतका देशका गहनाहरू प्रतिको सम्मान एवं श्रमजीवी वर्गहरूको कष्टकर जीवनलाई काव्यात्मक ढंगले प्रस्तुत गरिएको प्रस्तुत संग्रह बिम्ब, प्रतीक, अलङ्कार र सरल एवं सम्प्रेष्य भाषाशैलीका दृष्टिले समेत महत्वपूर्ण बनेको छ। केही कविताहरूमा छन्दनुरूपको गणसूत्र व्यवस्थापनमा कवि अधिकारी चुकेकी छन् । कृतिभित्र सामान्य वर्णविन्यासगत कसरमसर पनि छँदैछन्। कतिपय कविताहरू गम्भीर विषयवस्तु उठाउन सक्षम छन् भने केही कविताहरू सामान्य जस्ता लाग्छन्। समग्रमा मर्मस्पर्शी भाव र बिम्ब, प्रतिक, अलङ्कारमय सरल, सम्प्रेष्य भाषा प्रयोगलाई कायमै राखी उल्लिखित सीमा पक्ष सुधारिएर अधिकारिका आगामी कृतिहरू आउन सकेको खण्डमा नेपाली साहित्य र साहित्यका अध्यताहरूले अब्बल दर्जाको कृति प्राप्त गर्ने कुरामा कुनै दुई मत देखिँदैन।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार