पाण्डुलिपिमाथि अन्तरक्रियाको ‘नौलो अभ्यास’



शुभाकर विश्वकर्मा

पश्चिम नेपाल र बाँकेको साहित्य क्षेत्रमा परिचित नाम हो, महानन्द ढकाल । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहीसकेका ढकाल लामो समयदेखि शिक्षण र साहित्य लेखनमा सक्रीय छन् । ‘बुह्रान’ जस्तो चर्चित उपन्यासका लेखकसमेत रहेका यी लेखक अहिले आफ्नो आठौं कृति प्रकाशनको तयारीमा छन् । हरेक पटक नयाँ विधामा पुस्तक प्रकाशनको परिचय बनाएका ढकाल यसपटक भने नियात्रा सङग्रहका साथ पाठक माझ आउँदैछन् । बहु विधामा पुस्तक लेखनको छुट्टै पहिचान बनाएका लेखक ढकालले नेपाली साहित्यमा खास्सै प्रचलनमा नरहेको ‘दुलर्भ’ कार्यको सुरुवात गरेका छन् । त्यो हो, ‘प्रकाशोन्मुख कृतिमाथि अन्तरक्रिया र खुल्ला बहस’ । लेखक तथा साहित्यकार ढकालको प्रकाशोन्मुख नियात्रा सङग्रहको पाण्डुलिपिमाथि कोहलपुरमा खुल्ला बहस कार्यक्रम गरिएको छ । कुनै पनि लेखकले आफ्नो प्रकाशित हुन लागेको कृतिमाथि खुल्ला रुपमा बहस कार्यक्रमको आयोजना गरेको यो सम्ववत पहिलो पटक हो । आफ्नो प्रकाशोन्मुख कृतिमाथिको बहस बारे ढकाल भन्छन्, ‘वर्षेनि हजारौं कृतिहरू प्रकाशन हुन्छन् । प्रायः कृतिहरूको लोकार्पण कार्यक्रम राखिन्छ । समीक्षकहरूले कृतिमाथि परिचर्चा गर्छन् । लोकार्पण गर्दाको दिन कृतिका एकादुई दोषहरू बाहेक गुणहरूलाई प्राथमिकता दिइन्छ । यो स्वभाविक पनि हो ।’ तर कुनै पनि लेखकको कृति विचोमन वा लोकार्पण गर्दाको दिन दोषहरू खोज्नु पनि हुदैन भन्छन् उनी । कतिपय कृतिहरू लोकार्पण भएको केही दिनपछि नै हराएर जाने उनको बुझाई छ । ‘केही कृतिहरू मात्रै समालोचकको आँखामा पर्ने, कृतिको गुण दोष केलाइने, सुझाव दिइने गरेपनि त्यतिबेलासम्म धेरै ढिलो भइसकेको हुन्छ ।’ उनले बताए । उनी थप बताउँछन्, ‘कतिपय कृतिहरूले साहित्यिक उचाइ प्राप्त गर्न सकिरहेका हुदैनन् । अपेक्षित सफलता प्राप्त नहुदा लेखकमा निराशा बढ्छ । साहित्यिक बजारलाई हेरेर कृतिकारले पुनः परिमार्जन गरेर कृति प्रकाशन गर्ने आँट नै गर्दैनन् ।’

तर, नेपाली साहित्य चलिरहेको प्रचलनलाई ब्रेक गर्दै सम्बन्धित विधाका लेखक तथा विज्ञ समालोचक, पाठक तथा पत्रकारहरूका बीचमा पाण्डुलिपि माथि बहस गर्न आपूmले ठूलै जोखिम मोलेर आँट गरेको ढकालले बताए । कृतिमा देखिएका कमीकमजोरी हटाउन सकियो भने कृति स्तरीय हुन सक्छ भन्ने लागेर नै नयाँ अभ्यासको प्रयास गरिएको ढकालले बताए । प्रकाशन पूर्व पाण्डुलिपिमाथिको वहसले कृतिको स्ततरीयता र भविष्य समेत आंकलन गर्न सकिने भएकोले पनि यस्तो वहसको जोखिम मोलेको ढकालले बताए । बहसमा सहभागी फरकफरक व्यक्तिहरूका फरकफरक दृष्टिकोण तथा सुझावहरू प्राप्त भएको र आफूले नजरअन्दाज गरेका कतिपय विषयहरूलाई गहिरिएर अध्ययन गर्ने प्रेरणा मिलेको उनको भनाइ छ । ढकालको प्रकाशोन्मुख नियात्रा सङग्रहको पाण्डुलिपिमाथि अन्तक्र्रिया कार्यक्रमको सहजीकरण गरेकी थिइन्, कथाकार सुमित्रा न्यौपानेले । समालोचक, सोही विधामा लेखक र पाठक एउटै मञ्चमा बसेर पाण्डुलिपिका लेखकलाई अगाडि राखेर चिरफार गरिनु र सो कार्यक्रममा सहजीकरण गर्नु आफ्नो लागि नौलो अभ्यास भएको उनी बताउँछिन् । उनले भनिन्, ‘यो अभ्यास धेरै ठाउँमा हुने गरेको छैन । हाम्रो क्षेत्रको लागि पनि नयाँ अभ्यास नै हो ।’ यस प्रकारका कार्यक्रमले पुस्तक प्रकाशन पश्चात् कृतिमा देखिने त्रुटीमा सुधार देखिने न्यौपानेको अपेक्षा छ । पाण्डुलिपिमा भएका सकारात्मक र सबल पक्षको प्रशंसा र देखिएका र भेटिएका सुधारात्मक पक्षका लागि महत्वपूर्ण सुझाव, सल्लाह र हौसला लेखकका लागि अमृत समान भएको उनले बताइन् । त्यसरी कोहलपुरमा पहिलोपटक आयोजना गरिएको लेखक ढकालको प्रकाशोन्मुख नियात्रा सङग्रहको पाण्डुलिपिमाथि अन्तक्र्रिया कार्यक्रममा नियात्रा लेखननमा सक्रीय नियात्राका कृतिहरू प्रकाशन गरिसकेका नियात्राकारहरू नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्राज्ञ खगेन्द्र गिरी कोपिला, सागर गैरे र भरत रानाभाटले आ आफ्ना अनुभवहरू सुुनाउँदै पाण्डुलिपिमा समिटिएका विषयवस्तु र शीर्षकमाथि विचार व्यक्त गरेका थिए । समालोचकद्धय डा.पुस्कर रिजाल र डा.खोपीराम वली क्षेत्रीले नियात्राको लेखन शैली, संरचना र नियात्राहरूले बोकेको विचारमाथि छलफल गरेका थिए । लेखक तथा साहित्यकार विष्णु पादुका तथा बद्री ढकाल हिरामणीले नियात्रा लेखनको काव्यिक पक्षमाथि विमर्श गरेका थिए ।

नियात्राकार तथा प्राज्ञ गिरीले ढकाल प्रकाशोन्मुख पुस्तकको पाण्डुलिपिमाथि प्रकाशन पूर्वको ‘प्रसव विमर्श’मा सहभागी हुने दुर्लभ अवसर पाएको भन्दै यस्तो किसिमको नौलो अभ्यास सुरुवात हुनु राम्रो कुरा भएको बताए । नियात्राकार भरत रानाभाट नयाँ थालनी तथा सार्थक वहसले ढकालको नयाँ कृति शसक्त र पठनीय भएर पाठक माझ आउने विश्वास व्यक्त गरे । यसैगरी समालोचक डा. पुष्कर रिजाल तथा डा.खोपीराम वली क्षेत्रीले कृति आउनुभन्दा अगाडि करिब १० जना लेखक तथा समालोचकहरूलाई पाण्डुलिपि अध्ययन गर्न दिएर संयुक्त पृष्ठपोषण लिएर आएका सुझावलाई आत्मसात् गर्ने हेतु आयोजना गरिएको पाण्डुलिपि विमर्श कार्यक्रम नौलो बताएका छन् । कविताबाट साहित्य लेखन सुरु गरेका ढकालको पहिलो प्रकाशित रचना आमा (२०५१) शीर्षकको कविता हो । यो कविता ‘सिर्जना’ पत्रिकामा प्रकाशित भएको थियो । ‘खण्डित आत्मा’ गजलसङ्ग्रह (२०५८) ढकालको पहिलो साहित्यिक कृति हो । यस्तै ढकालका ‘उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरू’ गजलसङ्ग्रह (२०५९) र ‘अव्यक्त प्रत्याशा’ गजलसङ्ग्रह (२०६३ ) प्रकाशित रहेका छन् । ढकालको ‘घाम उदाए’ हाइकुसङ्ग्रह (२०६८ ) यस क्षेत्रको पहिलो हाइकु सङ्ग्रह हो । ‘सिमाना’ मुक्तकसङग्रह (२०७८) प्रकाशन गरेका ढकालको ‘बुह्रान’ उपन्यास (२०७९) चर्चामा रहेको उपन्यास हो । विश्व नेपाली साहित्य समाज लुम्बिनी शाखाले यो उपन्यासलाई ‘उत्कृष्ठ पठनीय कृति’का रुपमा सम्मान गरेको थियो । ‘खटप्वालबाट नियाल्दा’ समालोचना सङग्रह (२०८२) ढकालको गतसाल प्रकाशित पछिल्लो कृति हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार