कवि निरुको ‘वनफूलको विद्रोह’को गृह विमोचन



नेपालगन्ज ।
कवि निरन्जना चन्द निरुको कविता संग्रह ‘वनफूलको विद्रोह’को गृह विमोचन गरिएको छ । प्रगतिशील लेखक संघले आयोजना गरेको एक कार्यक्रमका बीच निरुको वनफूलको विद्रोह कविता सङ्ग्रहको गृह विमोचन गरिएको हो । कार्यक्रममा प्रगतिशील लेखक संघका केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिना, वरिष्ठ कथाकार सनत रेग्मी, प्रा.डा. कृष्णप्रसाद घिमिरे, लेखक नरेन्द्रजंग पिटर र कृतिकार निरञ्जन चन्द निरु लगायतले कविता संग्रहको विमोचन गरेका थिए ।

कार्यक्रम प्रगतिशील लेखक संघ बाँकेका अध्यक्ष चरित्रा शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाठक प्रतिक्रिया व्यक्त गर्दै जीतबहादुर शाहले कृति अब्बल र विचारोत्तेजक कविताहरूले भरिएको बताएका थिए । यसैगरी समीक्षक डा. पुष्कर रिजालले कृतिका सबल पक्षका रूपमा नारी समवेदना र सामाजिक यथार्थको आलोचनात्मक चेत रहेको उल्लेख गरेका थिए ।

उनले निरुका कविताहरूले लक्ष्मीप्रसाद देवकोटाकोजस्तै स्वच्छन्दतावादी र प्रगतिवादी धार समात्न खोजेको धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका डा. तिमिल्सिनाले कवि चन्द अब्बल कवि रहेको पुष्टि भइसकेको भन्दै निरन्तर साधनामा रहन सुझाव दिए । यसैगरी लेखक पिटर, रेग्मी र प्रा.डा. घिमिरेले पनि कृतिकारलाई शुभकामना मन्तव्य दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार