नेपालगन्ज ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई लक्षित गरेर यातायातका साधनको रुट कायम गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आबद्ध व्यवसायीहरूलाई परिपत्र गरेको छ । साथै अस्पतालमा सेवा लिन आउने क्यान्सरका बिरामीहरूलाई निःशुल्क सेवा दिन पनि महासंघले परिपत्र गरेको हो ।
महासंघमा आबद्ध लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका यातायात व्यवसायी संघ, समिति, कम्पनी, प्रालि र संस्थाहरूलाई खजुरा क्यान्सर अस्पताल पुग्न सहज हुनेगरि रुट निर्धारण गर्न महासंघले परिपत्र गरेको हो । साथै सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सरका बिरामीहरूलाई निःशुल्क यात्राको व्यवस्था गर्न पनि परिपत्र निर्देशन दिइएको छ ।
खजुरा क्यान्सर अस्पतालले लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै नेपाल भारत सीमा नजिकैको भारतीय क्यान्सरका बिरामीलाई समेत सेवा प्रदान गरेको उल्लेख गर्दै परिपत्रमा अस्पताल परिसरसम्म यातायात सञ्चालन नहुँदा बिरामीहरूलाई अस्पताल पत्ता लगाउन र अस्पतालसम्म पुग्न कठिनाइ भइरहेको उल्लेख गरिएको छ ।महासंघले क्यान्सर अस्पतालसँग समन्वय गरि अस्पताल परिसरबाटै रुट निर्धारण गर्न र क्यान्सरका बिरामीहरूलाई सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क यात्राको सेवा प्रदान गराई महासंघलाई जानकारी गराउन प्रदेश संयोजकहरूलाई निर्देशन दिएको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले हस्ताक्षर गरेको परिपत्रमा अस्पतालको प्रस्तावलाई आत्मसाथ गर्दै तीनैवटा प्रदेश संयोजकहरूमार्फत अस्पताल परिसरबाट रुट निर्धारण गर्न र क्यान्सरका बिरामीहरूलाई निःशुल्क यात्राको प्रबन्ध मिलाउन निर्देशन गरिएको उल्लेख छ ।छिट्टै महासंघको निर्णय कार्यान्वयनमा आउने जनाउँदै महासचिव गौतमले पश्चिम नेपाललाई नै क्यान्सर उपचारमा योगदान गरिरहेको अस्पताललाई सघाउनु यातायात व्यवसायीहरूको पनि कर्तव्य भएको बताएका छन् ।
गत आर्थिक वर्षमा ४० हजार बढी क्यान्सरका बिरामीलाई उपचार सेवा दिएको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले यातायात व्यवसायीहरूले अस्पतालसम्म रुट कायम गरेर सेवा दिएका सेवा लिन आउनेहरूलाई निकै सहज हुने अपेक्षा गरिएको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्