काठमाडौँ ।
ईस्पोट्र्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स ईस्पोट्र्सले जितेको छ । विजेता टोलीले पुरस्कार स्वरूप ४०० अमेरिकी डलर प्राप्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को स्वीकृत कार्यक्रमअन्तर्गत देशभरबाट छनोट भएका १६ टोलीले दशरथ रंगशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते प्रतिस्पर्धा गरेका थिए । दुई दिने फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स ई स्पोट्र्स च्याम्पियन बनेको हो ।
विजेता टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल तथा ईशानका कार्यवाहक अध्यक्ष हिमविक्रम केसीले ट्रफी र पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताबाट उत्कृष्ट १२ टोली ‘रोड टु पीएमजीओ’ अन्तर्गतको अर्को चरणमा छनोट भएका छन् ।
यस चरणले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगितातर्फ अघि बढ्ने अवसर प्रदान गर्नेछ । ईशानका सचिव आशिष दाहालले नेपालमा ई–स्पोट्र्सलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए ।









प्रतिक्रिया दिनुहोस्