काठमाडौँ ।
पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनपछि यो सिजन खेलाडीको रूपमा आफ्नो अन्तिम हुन सक्ने बताएका छन् । ४१ वर्षीय रोनाल्डोले गत मंगलबार आफ्नी पार्टनर जोर्जिना रोड्रिगेजसँग विवाह गरेका छन् र अब उनी आफ्नो भविष्य परिवारमा केन्द्रित गर्ने सोचमा छन् । पाँच पटकका बालोन डी’ओर र पाँच पटकका च्याम्पियन्स लिग विजेता रोनाल्डोले इंग्ल्याण्ड, स्पेन, इटाली र साउदी अरबमा लिग उपाधिहरू जितेका छन् ।
उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । हाल साउदी प्रो लिग टोली ‘अल–नासर’मा रहेका रोनाल्डोको सम्झौता अब एक वर्ष मात्र बाँकी छ । भेग म्यागजिनलाई आफ्नो विवाहको बारेमा दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यो सम्भवतः फुटबलमा मेरो अन्तिम वर्ष हो, र म एउटा शानदार विरासत छोडेर जान चाहन्छु । मैले मेरो भविष्यको योजना बनाइसकेको छु । मसँग व्यस्त रहनका लागि यति धेरै कुराहरू छन् कि कुनै एक मात्र भन्न गाह्रो छ । फुटबल छोडेपछि जीवनमा ठूलो रिक्तता महसुस हुन सक्छ, त्यसैले त्यो समय भर्न विभिन्न उपायहरू सोच्नुपर्छ । म अझ धेरै रमाइलो गर्न, यात्रा गर्न, मलाई मनपर्ने ‘पाडेल’ खेल खेल्न र हामीले २५ वर्षको कडा परिश्रम र त्यागबाट जे आर्जन ग¥यौँ, त्यसको आनन्द लिन चाहन्छु ।’
रोनाल्डो आफ्नो खेल जीवनको कूल १,००० गोल पूरा गर्नबाट अब मात्र २४ गोल टाढा छन् । उनका पुराना प्रतिद्वन्द्वी लियोनेल मेस्सीले पनि हालै आफू कहिलेसम्म खेल्ने भन्नेमा अनिश्चित रहेको बताएका थिए । पछिल्लो विश्वकपमा मेस्सीको प्रदर्शन उत्कृष्ट रह्यो, जहाँ उनले ८ गोल गर्दै अर्जेन्टिनालाई फाइनलसम्म पु¥याए । अर्कोतर्फ, रोनाल्डोको टोली पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको थियो ।
गत जुलाईमा आफ्नो छैटौँ विश्वकप अन्तिम हुने हो कि होइन भनेर सोधिएको प्रश्नमा रोनाल्डोले परिवारसँग सल्लाह गरेर ‘शान्त दिमागले’ निर्णय लिने बताएका थिए । शनिबार अल–नासरले अल फत्तेहविरुद्धको खेलसँगै नयाँ सिजनको सुरुवात गर्दा रोनाल्डो मैदानमा भने उत्रिएनन् । उनले दर्शकदीर्घामा परिवारसँगै बसेर आफ्नो टोलीको जितको खुसी मनाए ।









प्रतिक्रिया दिनुहोस्