लेक प्याकुरेल
विषय प्रवेश
वि.सं.२०२४ कार्तिक २५ गते स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–४, कुरुम्चेमा माता कलावती न्यौपाने र पिता खेमराज न्यौपानेका सुपुत्रका रूपमा जन्मिएका श्यामप्रसाद न्यौपानेले हाल सुनवल–१२, भुमही नवलपरासीलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन् ।नेपाली विषयमा स्नातकोत्तर तथा भाषाविज्ञानमा विद्यावारिधि (एज.म्.) सम्मको उच्च शिक्षा हासिल गरेका न्यौपानेको औपचारिक साहित्यिक यात्रा वि.सं. २०४६ सालमा सूर्यमुखी पत्रिकामा प्रकाशित ‘स्वतन्त्रता’ शीर्षकको निबन्धसँगै प्रारम्भ भएको हो। नेपाली साहित्यका बहुआयामिक स्रष्टा, समालोचक तथा भाषाविद् श्यामप्रसाद न्यौपाने साहित्यका क्षेत्रमा स्थापित बनिसकेको परिचय हो। बोली गजबको गजलसङ्ग्रह (२०५९) सँगै साहित्यिक कृतिको योगदान दिने श्रृङ्खला सुरु गरेका श्यामप्रसाद न्यौपानेले ’मिस्कल’ लघुकथासङ्ग्रह (२०८२) सम्म आइपुग्दा १७ वटा साहित्यिक कृतिहरू प्रकाशनमा ल्याइसकेका छन्। विधागत विविधतालाई अँगालेर लेख्न मन पराउने साहित्यकार न्यौपानेले साहित्यका गजल, मुक्तक, खण्डकाव्य, फुटकर कविता, ताङ्का, लघुकथा र गीत जस्ता विधा सम्बन्धित पुस्तकाकार कृतिहरूको रचना गरी नेपाली साहित्यको भण्डारलाई थप समृद्ध बनाएका छन्। नेपाली समाजका विकृति र विसंगतिहरूलाई साहित्यका माध्यमद्वारा चिरफार गर्न रुचाउने न्यौपाने समालोचना लेखनमा पनि उत्तिकै रुचि राख्छन् । न्यौपानेको ’मिस्कल’ सङ्ख्याको दृष्टिले सत्रौँ कृति हो भने उनैले यसअघि ’माल्विका’ लघुकथासङ्ग्रह (२०७०) प्रकाशनमा ल्याइसकेका कारण मिस्कलले लघुकथा सङ्ग्रहका कोणबाट दोस्रो कृति बन्ने अवसर प्राप्त गरेको हो।
मिस्कलको शीर्षक विधान
साहित्य परिषद् नवलपरासीद्वारा २०८२ सालमा प्रकाशित ’मिस्कल’ लघुकथा संग्रह ९७ पृष्ठको लमाइगत आयाम धारण गरेको ५०वटा लघुकथाहरूको सङ्ग्रह हो। प्राविधिक शब्द मोबाइलसँग सम्बन्धित रहेको आगन्तुक शब्द ’मिस्कल’ लाई कृतिको नामाकरणका रूपमा जुराइएको प्रस्तुत कृतिभित्र २४ औँ क्रममा शीर्षकथा ’मिस्कल’लाई समावेश गरिएको छ। सामान्यतया कथाहरूको शीर्षक व्यवस्थापन गर्दा एउटै शीर्षकका दुईवटा लघुकथा समावेश भएमा कथालाई विशिष्टीकृत वा पृथकीकृत गर्नका लागि एक र दुईले सम्बोधन गर्ने गरिन्छ। मिस्कल भित्र भने उक्त प्रक्रिया अगालेको देखिँदैन।संग्रहभित्र छत्तीसौँ क्रममा स्वाभिमान शीर्षकको एउटै मात्र कथा परेको छ जसलाई ’स्वाभिमान–२’ भनेर सम्बोधन गरिएको छ। संग्रहभित्र सङ्ग्रृहीत कथाहरूमध्ये ४९औ क्रममा रहेको कथाले ऊ सर्वनामलाई शीर्षकका रूपमा धारण गरेको छ । कृतिभित्र ४७ औँ क्रममा धनभन्दा विद्या ठुलो शीर्षकको लघुकथा प्राप्त गर्न सकिन्छ। उल्लिखित शीर्षकले प्रचलनमा रहेको वादविवाद विधालाई सङ्केत गरेको छ। लघुकथाको शीर्ष स्थानमा पर्नेगरी व्यवस्थापन गरिने शीर्षक सामान्यतया सरल, संक्षिप्त, सूत्रात्मक, प्रतिनिधिमूलक र आकर्षक हुनुपर्दछ। यस कोणबाट मिस्कलभित्र अटाएका ५० वटा शीर्षकहरूमध्ये अधिकांश शीर्षकहरू एक शब्दका छन् भने अधिकतम तीन शब्दसम्मका शीर्षकहरू छनोटमा परेका छन्। कृतिभित्र बुझ्नलाई कठिन वा क्लिष्ट शीर्षकहरू नभई सरल र बोधगम्य प्रकृतिका शीर्षकहरु छनोटमा परेका छन्। कथा संग्रह भित्रका शीर्षकहरू सूत्रात्मक र प्रतिनिधिमूलक त छँदै छन् साथसाथै एकाध शीर्षकहरूलाई छोडेर अधिकांश शीर्षकहरू पाठकका मन तान्ने आकर्षक प्रकृतिका छन्। यसर्थ शीर्षक व्यवस्थापनका दृष्टिले ’मिस्कल’ लघुकथा सङ्ग्रह सफल देखिन्छ।
मिस्कलभित्रको कथावस्तुले उठाएका स्वरहरू
’मिस्कल’ भित्रका कथावस्तुहरूले नेपाली समाजका विकृति, विसंगतिको उजागर गर्दै सुधारका लागि सचेत रहन हरेक चेतनशील नागरिकलाई मिस्कल दिएका छन् भने समाजलाई विद्रुप पार्दै अधोगतितर्फ डोर्याउने तमाम दूषित तत्वहरूलाई सावधान रहन र बेलैमा आफ्नो कुकृत्य सच्याउन मिस्कल दिएका छन्। कथासङ्ग्रहभित्र श्रीमती गुमाएको एकल पुरुषको मर्मस्पर्शी कथा, बाआमा जिउँदा छँदा फर्केर हेर्न नचाहने तर उनीहरूको मृत्युपश्चात उनीहरूकै सम्पत्तिमा डमरु बजाएर ताण्डव नृत्य देखाउने नाममात्रका स्वार्थी छोराहरूको कथा, देशका संवेदनशील क्षेत्रहरूमा समेत आरक्षण कोटाबाट आरक्षित व्यक्तिहरू पुग्दा त्यसले निम्त्याउने दुर्घटनाको संकेत गर्दै नीति निर्माताका तहमा रहेकाहरूलाई समेत झक्झक्याउने गरी प्रस्तुत भएको कथा, जैसा करणी वैसा भरणी भनेजस्तै आफूले जुन बिउ रोपेको छ त्यसै अनुरूपको फल पाउन बाध्य मन्त्रीज्यूहरूको लाचारितालाई उजागर गरेका कथाहरू समेत मर्मस्पर्शी ढङ्गले प्रस्तुत भएका छन्। यसर्थ मिस्कलभित्र नेपाली जनताको अवस्थालाई मात्रै होइन आवश्यकता महसुस भएका कतिपय व्यवस्थालाई समेत परिवर्तन गरिनु जरुरी छ भन्ने गम्भीर विषयमा आधारित मिस्कल दिइएको छ। मुखमा राम राम बगलीमा छुरा हुनेहरू अहिंसाका भजन गाएर कहिल्यै थाक्दैनन् यद्यपि उनकै टेबलमा चिकन र मटन अनिवार्य हुनुपर्छ अन्यथा व्यवस्थापन गर्नेहरूप्रति नै प्रश्न चिन्ह खडा गर्छन्। कथनी एउटा करणी अर्को भएका यस्ता मानिसहरू समाजका लागि किमार्थ शोभनीय हुँदैनन् भन्ने कथावस्तुको मिस्कल मात्र होइन सिङ्गो कल नै बनेर आएको छ न्यौपानेको ’मिस्कल’। आफूमा खोट नदेख्ने तथापि अरुप्रति औंला तेस्र्याएर उम्कने नेपालीहरूको कथा, म खाउँ मै लाउँमा बाँच्न पल्केका सिङ्गो मानव जातिका कथा, किताब बेच्ने पसल होइन रक्सी बेच्ने दोकानहरू मौलाउँदा छाएका विकृति विसंगतिहरूका कथा, कुरोको चुरो नै भ्याउ नपाएर निर्णयमा पुग्न खोज्दा न्याउरीमारी पछुतो हुन सक्ने सम्भावना उजागर गर्ने कथा, यथार्थ नबुझिकनै लङ्का जलाउन उद्दत नारीहरूको शङ्कालु स्वभावको कथा, उमेरले नेटो काट्दै गएपछि जो कोहीले भोग्नुपर्ने विभत्स नियतिसँग सम्बन्धित कथाहरुले कृतिभित्र कथावस्तुका रूपमा प्रवेश पाएका छन्।
मिस्कल भित्र नेपालीले सबैभन्दा बढ्ता जानेको नै अरुलाई सल्लाह दिनु हो। उसले आफ्नै मात्रै काम जान्दैन बाँकी सबैका काम अक्षरसः जानेको हुन्छ। यस विषयलाई व्यङ्ग्यात्मक तवरबाट उठाइएको छ। गाउँलाई विशिष्ट योगदान दिने व्यक्तित्वहरूको सम्मानमा सिङ्गो गाउँकै तेजोबध गर्ने, गाउँमा त्रासको बास गराउने, गाउँको सुनौला सपनाहरुलाई धुलिसाफ बनाउन कम्मर कस्ने गाउँलेहरूलाई पीडाका आँसु बगाउन बाध्य पार्ने व्यक्तिलाई प्रमुख अतिथि बनाएर उनैका हातबाट सम्मानित गर्ने घटनाक्रमलाई जुराएर कुकर्मीहरूको कुकर्मलाई धोई पखाली गर्न वासिङ मसिन जस्तै बनेका समाजका कथित भलाद्मीहरुप्रति पनि व्यङ्ग्य गरिएको छ। समाजमा एक खाले मानिसहरू सार्वजनिक सम्पत्तिलाई आफ्नै घरको दालभात जत्तिकै सस्तो ठान्छन्। उनीहरू नदीको यसरी दोहन गर्छन् ताकि नदीले आफ्नो पेटभित्र हरेक मानिसलाई निलोस् अनि सिङ्गो गाउँलाई नै बगर बनाओस्। यति गरेपछि ठडिएका आलिसान घरका मालिकहरू नै गाउँभरि मान चुलिएर समाजमा सर्वस्वीकार्य भगुमान् (भगवान्) कहलाएका छन् । अतः ’मिस्कल’ सङ्ग्रहले यस्ता विकृतिविसंगतिप्रति तीखो व्यङ्ग्य गर्दै खबरदारीको मिस्कल बजाउने प्रयत्नसमेत गरेको छ। समग्रमा श्यामप्रसाद न्यौपानेको ’मिस्कल’ कथासङ्ग्रहभित्र पारिवारिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, वैचारिक, नीतिगत, मानवीय प्रवृत्ति सम्बन्धित विषय क्षेत्रसँग सम्बन्धित कथावस्तुहरू प्रयोगमा ल्याइएका छन् । कथाभित्र प्रयुक्त कथावस्तुहरूमा अङ्ग्रेजी साहित्यमा प्रयोग हुने (क्ष्चयलथ) व्यङ्ग्य र (क्बतष्चभ) कटाक्षको शैलीमा देखिएको अशित व्यङ्ग्यलाई प्रयोग गरिनुका साथै सामाजिक यथार्थवाद र आलोचनात्मक यथार्थवाद निकट कथावस्तुलाई बढी महत्व दिइएको छ। केही कथाहरूमा विसङ्गतिवाद निकटका कथावस्तु परेका छन् भने अत्यन्त न्यून सङ्ख्यामा रहेका कथाहरूले गरिब दुखेका पक्षमा वकालत गर्दै प्रगतिउन्मुख स्वरहरू सन्धान गरेका छन् ।
लघुकथाको सैद्धान्तिक कसीमा ’मिस्कल’
क) नेपाली तथा हिन्दी साहित्यको लघुकथासम्बन्धी मानकताका आधारमा ’मिस्कल’
पछिल्लो समय व्यापक रूपमा लेखिँदै आएको विधा हो लघुकथा। लघुकथा लेखनको आयाम बाक्लिँदै जाने क्रममा यसप्रतिका दृष्टिकोण र स्वयं विद्वत व्यक्तित्वहरूका बुझाइ पनि फरक फरक ढङ्गबाट प्रस्तुत हुँदै आएका छन्। केही समालोचक लघुकथालाई अधिकतम २५० शब्दको सीमाभित्र अटाउनै पर्ने बाध्यकारी विचार अघि सार्छन् भने केही समालोचक एउटा उद्देश्य लिएर अघि बढ्दै गर्दा २५० को शब्द सीमाभित्र कथावस्तुले निर्धारण गरिएको उद्देश्यलाई भेटाउन नसकेमा त्यसलाई आवश्यकता अनुसार तन्काउन पाउनुपर्छ भन्ने मत अघि सार्छन्। यसै सन्दर्भमा ’मिस्कल’ भित्र भेटिएका कथाकार श्यामप्रसाद न्यौपाने शब्द सीमामा लचकता अपनाउन सकिने दोस्रो प्रकृतिका विचारक भएर उभिएका छन्। पछिल्ला केही मान्यताहरूले लघुकथामा विपरीत धारको अन्त्यलाई परिकल्पना गरेको छ। लघुकथाको प्रारम्भले जे विषय उठाएको छ त्यसको विपरीत धारमा गएर कथावस्तुलाई समापन गरिनुपर्छ यसो गर्दा लघुकथाको उपसंहार रोचक,आकर्षक,र करेन्ट जस्तै झट्का दिन सक्ने हुने भएकाले पाठकको ध्यानलाई केन्द्रीकृत गर्न सफल हुन्छ भन्ने मान्यता भित्र मिस्कल भित्रका श्यामप्रसाद न्यौपाने अटाएका छैनन्। यसरी कथावस्तुले माग नगर्दा नगर्दै पनि नियमै बनाएर विपरीत धारको अन्त्यमा प्रवेश गरिनु पर्ने बाध्यकारी अवस्थाले कथालाई कृत्रिम, असुहाउँदो र भद्दा पनि बनाउन सक्छ। खुला अन्त्यको माग गर्दै आएको उत्तरआधुनिकतावादी वर्तमान परिवेशमा न्यौपानेले अपनाएको यो सुझबुझपूर्ण तरिका चित्त बुझ्दो देखिन्छ। लघुकथाको अर्को मान्यता हो हठात सुरुवात वा घटना निर्देशित आरम्भ। यस कोणबाट हेर्दा श्यामप्रसाद न्यौपानेको मिस्कलका केही कथाहरूले उल्लिखित प्रवृत्तिलाई आत्मसात गरेका छन् भने केही लघुकथाहरू स्वस्फुर्त रुपमा आरम्भ भई अगाडि बढेका छन्। हठात सुरुआत नगरिएका कथा भित्रका कथावस्तुको प्रारम्भले मध्यलाई र मध्यले अन्त्यलाई निर्देशित गरेका छन् । लघुकथा लेखनमा कालदोषले पनि उत्तिकै चुनौती थपिरहेको हुन्छ। खासगरी कथाले अङ्गीकार गर्ने समयगत र स्थानगत परिवेशमा कैयौँ लघुकथाहरू चुक्ने गर्दछन्। न्यौपानेका ’मिस्कल’ भित्रका लघुकथाहरुले उल्लिखित चुनौतीहरूलाई चिरेर लघुकथाको मानकतालाई अङ्गीकार गरेका छन् । भारतीय मूलका समालोचक कमल चोपड़ाका अनुसार हरेक लघुकथामा कम शब्दमा अधिक अर्थ, सशक्त कथ्य, जीवनको यथार्थ चित्रण र पाठकलाई सोच्न बाध्य पार्ने क्षमता आवश्यक हुन्छ। अर्का समालोचक बलराम अग्रवालका अनुसार लघुकथा आकारले सानो भए पनि विचारले विशाल हुनुपर्छ। यसले सामाजिक विसङ्गति र मानवीय संवेदनालाई तीक्ष्ण रूपमा अभिव्यक्त गर्नुपर्छ। भन्ने विचार राखेका छन् भने लघुकथा ः स्वरूप और संवेदना कृतिमा जीवनको कुनै एक क्षण वा अनुभूतिलाई अत्यन्त संक्षिप्त रूपमा प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने विधाका रूपमा लघुकथालाई चिनाएका छन्। भारतमा प्रचलनमा रहेका लघुकथाका उल्लिखित विशेषताहरूलाई न्यौपानेको ’मिस्कल’ लघुकथा सङ्ग्रह भित्रका लघुकथाहरूले अक्षरसः पालना गरेका छन्। यसर्थ हिन्दी साहित्यमा स्थापित गरिएको मान्यतानुरूप पनि मिस्कल भित्रका लघुकथाहरू सफल देखिन्छन्।
ख) अङ्ग्रेजी साहित्यमा प्रचलित मान्यताका कसीमा ’मिस्कल’
अङ्ग्रेजी साहित्यमा लघुकथालाई सम्बोधन गर्ने गरी ठ्याक्कै त्यस्तो शब्द जुराइएको पाइँदैन यद्यपि अङ्ग्रेजी साहित्यमा प्रचलनमा रहेका कजयचत–कजयचत कतयचथ, ाबिकज ाष्अतष्यल वा mष्अचयाष्अतष्यल सम्बन्धी अवधारणाले लघुकथाको प्रतिनिधित्व गर्ने ल्याकत राख्छन्। अङ्ग्रेजी साहित्यमा कथाका सिद्धान्त निर्माण गर्ने भ्मनबच ब्ििबल एयभ,व्बलभत द्यगचचयधबथ,इ. ज्भलचथ,ऋजबचभिक भ्. ःबथ जस्ता विचारकहरूका अनुसार कजयचत–कजयचत कतयचथ, ाबिकज ाष्अतष्यल वा mष्अचयाष्अतष्यल जस्ता साहित्यले द्यचभखष्तथ (संक्षिप्तता), ग्लष्तथ या भाभअत (प्रभावको एकता), भ्अयलयmथ या ध्यचमक (शब्दको मितव्ययिता), ऋयलाष्अित यच त्भलकष्यल (द्वन्द्व वा तनाव), ऋजबचबअतभच च्भखभबितष्यल (पात्रको प्रभावकारी उद्घाटन),क्गचउचष्कभ यच त्धष्कत भ्लमष्लन (अप्रत्याशित अन्त्य), क्थmदयष्किm बलम क्गननभकतष्खभलभकक (प्रतीकात्मकता र संकेतात्मकता), भ्mयतष्यलब ियच क्ष्लतभििभअतगब िक्ष्mउबअत (भावनात्मक वा बौद्धिक प्रभाव) लगायतका विशेषताहरू बोकेका हुन्छन्। उल्लिखित विशेषताहरू नेपालमा प्रचलित लघुकथाहरूले अङ्गीकार गर्ने विशेषताहरूसँग मेल खाने भएकाले पनि लघुकथाको मूल्याङ्कन गर्दा उल्लिखित विशेषताहरूलाई कसी बनाइनु अपरिहार्य छ। यस आधारमा श्यामप्रसाद न्यौपानेको मिस्कल कथासङ्ग्रह प्रभावको एकता, पात्रको प्रभावकारीता, प्रतीकात्मकता र संक्षिप्तता लगायतका मान्यतामा खरो भएर उत्रिएको छ भने शब्दको मितव्ययिता, द्वन्द वा तनाव, अप्रत्याशित अन्त्य लगायतका मान्यतालाई पूर्ण रूपले अङ्गीकार गर्न सकेको छैन। अतः उल्लिखित मान्यताहरू मिस्कलभित्रका लघुकथाहरूले आंशिक रुपमा उपयोगमा ल्याएका छन् भने केही मान्यताहरूको प्रयोगका दृष्टिले लघुकथाहरू उदासिन देखिन्छन्।
निष्कर्ष
साहित्य परिषद् नवलपरासीद्वारा २०८२ सालमा प्रकाशित ’मिस्कल’ ५०वटा लघुकथाहरूको संग्रह हो। विशेषतः सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रलाई विषयवस्तुको स्रोत बनाइएको सङ्ग्रहभित्र समाजमा व्याप्त विकृति विसङ्गतिहरूप्रति खबरदारी गर्दै सुधारको अपेक्षा राख्ने कथाहरूको बाहुल्यता रहेको छ। व्यङ्ग्यात्मक शैलीका कारण रोचक र घोचक साबित भएका कृतिभित्रका प्रयोगमा आएको सरल र सम्प्रेष्य भाषा प्रशंसनीय देखिन्छ। उल्लिखित विशेषता बोकेको मिस्कलको शक्तिपक्ष सशक्त हुँदाहुँदै पनि कृतिभित्र केही सुधार गर्न सकिने सीमाहरू पनि आएका छन्। अधिकांश कथाहरू सामाजिक क्षेत्रसँग सम्बन्धित रहँदा शैक्षिक एवं मनोविज्ञानको क्षेत्र तुलनात्मक रूपले कमजोर बनेर आएका छन् । शीर्षकीकरण ’मिस्कल’ गरिनुले विज्ञान प्रविधिलाई बढी जोड दिइएको छ यद्यपि विज्ञान प्रविधिलाई न्याय गर्ने गरी आएका कथाहरूको सङ्ख्या शून्यप्राय छ। एउटा पात्र जो देश छोडेर विदेश लागेको छ, विदेशमा निकै धन कमाएको छ,केही समयपछि श्रीमती मरेकी छ, आमा मरेकी छन्, छोरा नसेडी बनेको छ। यी सम्पूर्ण परिवेश एउटै कथामा समाहित हुनु लघुकथाको परिवेश सम्बन्धी मूल मर्मको प्रतिकूल रहेको छ। त्यसैगरी केही कथाहरूमा प्रयुक्त संवाद लघुकथाले अपेक्षा गरे अनुरुपको संक्षिप्त र सूत्रात्मक नभई व्यापक र विस्तारपूर्ण देखिन्छन्। यसर्थ न्यौपानेका लघुकथासङ्ग्रह भित्र सानै मात्रामा भएपनि सुधारजन्य सीमाहरू छँदैछन्। समग्रमा शक्ति र सीमा दुवै खुट्याउन मिल्ने न्यौपानेको मिस्कल कथासङ्ग्रहले रोचक कथावस्तुको संयोजन,विषयवस्तुको सान्दर्भिकता, कथानकको प्रभावकारिता,कलात्मकता, व्यञ्जनात्मकता, कथ्यको सघनता, प्रभावकारी सन्देश र समकालीन चेतना जस्ता वैशिष्ट्य धारण गरेका आधारमा उल्लिखित कृतिभित्र समाहित लघुकथाहरू सफल देखिन्छन्।









प्रतिक्रिया दिनुहोस्