बालिकाहरूलाई काममा लगाउने स्पाका सञ्चालक पक्राउ



नेपालगन्ज ।

नेपालगन्जमा सञ्चालित स्पा तथा मसाज सेन्टरहरूमा बालिकाहरूलाई काममा लगाइने गरेको पाइएको छ । बाँके प्रहरीले गरेको छड्के जाँचका क्रममा बालबालिकालाई काममा लगाएको पाइएपछि तीनजना स्पा सञ्चालकहरूलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । पक्राउ परेकामध्ये एकजना भारतीय नागरिकसमेत छन् ।बाँके प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरका अनुसार विभिन्न स्पामा उमेर नपुगेका बालबालिकाहरूलाई गैरकानुनी रूपमा काममा लगाइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटाइएको थियो ।

त्यसक्रममा बालबालिकाहरूलाई काममा लगाइरहेको फेला परेपछि प्रहरीले तीन जना स्पा सञ्चालकहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा सञ्चालन भइरहेको न्यू प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, आदर्शनगरमै रहेको आयुर्वेदिक रिल्याक्स स्पाका सञ्चालक दुर्गा थारू र नेपालगन्ज उपमहानगरपालिका वडा नं. २, न्यूरोडमा रहेको रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले विभिन्न उमेरका बालिकाहरूलाई गैरकानुनी तरिकाले स्पामा काममा लगाइएको पाइएपछि पीडित बालिकाहरूको उद्धार पनि गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम जिल्ला अदालत बाँकेबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको राठौरले जानकारी दिएका छन् । नेपालगन्जमा पछिल्ला केही वर्षमा स्पा तथा मसाज सेन्टरहरू खुल्ने क्रम तीव्ररूपमा बढेको छ ।

ती स्पाहरू भारतीय नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएका बताइन्छ । तर, स्पाहरूको मापदण्ड पुगे नपुगेको विषयमा जिल्ला प्रशासनलगायत जिम्मेवार निकायहरूले अनुगमन गरेका छैनन् । अहिले कानुनले कडा रूपमा बन्देज गरेको बालबालिकालाई काममा लगाउन नपाइने व्यवस्थालाई पनि स्पाहरूले उल्लंघन गरेको पाइएपछि प्रशासनको भूमिकामाथि पुनः प्रश्न उठेको छ ।

मिसन टुडे दैनिकले स्पाहरूको नियमित अनुगमन नहुने गरेको र नियमन पनि फितलो रहेको विषयमा रिपोर्ट प्रकाशित गरेको थियो । स्पाहरूमा नियमित अनुगमन नहुँदा र नियमनमा लापरबाही गरिँदा त्यहाँ स्पामा हुनुपर्ने सेवा प्रदान गरिनेभन्दा अनैतिक क्रियाकलपाहरू हुने गरेको स्थानीयवासीहरूले बताउँदै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ९ गते मंगलबार