नेपालगन्ज ।
बाँके नेपालगन्जको मुख्य सडक रत्न राजगमार्गमा निर्माण भइरहेको फुटपाथ निर्माण हुँदै हुँदै भत्किएको छ । कमसल निर्माणका कारण उक्त फुटपाथ ठाउँठाउँमा भाँसिएको छ भने लगाइएका टायलहरू उप्किन थालेका छन् । विशेषगरी नेपालगन्जको धम्बोझी चोकमा निर्माण भएको फुटपाथ ठाउँ ठाउँमा भासिएको छ ।
स्थानीयवासीहरूले फुटपाथ निर्माणमा लापरबाही गरिएका कारण भासिएको बताएका छन् । ‘हामीले दुवैतर्फ इँटाको मेडी लगाएर फुटपाथ बनाउ भनेका थियौँ । तर उनीहरूले मानेनन् । अहिले एकै दिनको पानीले पनि फुटपाथ भासिएको छ । यस्तो कमसल निर्माण त गर्नु भएन नि,’ धम्बोझीका एक व्यवसायीले भने । फुटपाथ निर्माण गर्दा दुवैतर्फ इँटाको कर्व निर्माण गर्नुपर्नेमा अधिकांश ठाउँमा एकातर्फ मात्रै कर्व निर्माण गरिएको छ ।
जसले गर्दा मोर्टार बगेर नालीमा गएको छ र टायलहरू धँस्सेका छन् । २०८० सालको माघ महिनाबाट सुरु भई २०८१ जेठभित्र गणेशमान चोकदेखि झम्बोझी चोकसम्म फुटपाथ निर्माण गरिसक्ने भनिएकोमा दुई वर्ष थप समय लाग्दा पनि अहिलेसम्म उक्त खण्डको निर्माण कार्य नै पूरा हुन सकेको छैन । एक वर्षसम्म गणेशमान चोकबाट औद्योगिक क्षेत्रसम्म मात्रै टायल बिछ्याउने र भत्काउने गर्दै निर्माणकार्य द्रुत गतिमा नगरेर सास्ती दिएको थियो ।
अहिले नगरस्तरीय प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर चौडा फुटपाथ निर्माण गरी वृक्षारोपणसमेत गर्ने योजना उपमहानगरको छ । उक्त निर्माणकार्य यही असार मसान्तसम्म सकिसक्नु पर्ने गरी मिति तोकिएको छ । तर निर्माणकार्य अहिलेसम्म धम्बोझी चोकसम्म मात्रै पूरा भएको छ ।
यसैगरी राँझा विमानस्थल जाने सडकमा पनि यही योजनाअन्तर्गत फुटपाथ निर्माण भइरहेको छ । दुई करोड सात लाख ९९ हजार दुई सय ११ रूपैयाँँमा उक्त निर्माण सक्ने गरी गाउँले कन्स्ट्रक्सन÷पञ्चदेवी निर्माण सेवा र ए एण्ड ए कन्स्ट्रक्सन जेभीले ठेक्का पाएका छन् । आयल निगमदेखि दक्षिण तीन सय ९० मिटर र धम्बोझीदेखि कारकाँदोसम्म दुई हजार दुर्य सय मिटर फुटपाथ निर्माण गरिने योजना रहेको छ ।









प्रतिक्रिया दिनुहोस्