आजदेखि रास्वपाको महाधिवेशन



काठमाडौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा हुँदैछ । पार्टी स्थापना दिवसको अवसर पारेर रास्वपाले आजदेखि प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा गर्न लागेको हो । भरतपुरको गेस्ट हाउस चौरमा आज दिउँसो २ बजे प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन हुनेछ । तीन दिनसम्म चल्ने महाधिवेशनले रास्वपाको नयाँ नेतृत्व समेत चयन गर्नेछ । विसं २०७९ असार ७ गते रास्वपाको स्थापना भएको थियो ।

प्रतिनिधिसभामा दुईतिहाइ नजिक बहुमत सदस्य रहेको रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनलाई राजनीतिक बृत्तमा बडो महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन, सभामुख डोलप्रसाद अर्याल तथा सबै मन्त्रीहरूसमेत उपस्थिति हुने महाधिवेशनको उचित सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला सुरक्षा समितिले चारवटै सुरक्षा निकायको संयुक्त योजनामा सुरक्षा तयारी गरेको हो ।

जिल्ला सुरक्षा समितिका प्रमुख चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लास्थित सुरक्षा निकायका बैठक बसेर महाधिवेशनमा आउने विशिष्ट पदाधिकारीसहित सहभागीलाई सुरक्षा दिने विस्तृत सुरक्षा योजना बनाइएको जानकारी दिए । उनले सुरक्षाका चारवटै निकायलाई परिचालन गर्ने बताए । तर, पहिलो घेरामा प्रहरीको सुरक्षा रहने छ । जसमा प्रदेशका अन्य जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालयबाट समेत थप जनशक्ति ल्याइएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले जानकारी दिए ।

महाधिवेशनको सुरक्षा व्यवस्थापनको चुनौतीको रूपमा ट्राफिक व्यवस्थापनलाई लिइएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार ट्राफिक व्यवस्थापन र नारायणी पुल जस्ता क्षेत्रलाई बढी संवेदनशील क्षेत्रको रूपमा सुरक्षा समितिले लिएको छ । ती ठाउँमा सुरक्षा व्यवस्थापन र सहज आवागमनको लागि यातायातका साधन डाइभर्ट गर्ने र आवश्यक पर्दा सशस्त्र प्रहरी, नेपाली सेनालाई समेत सुरक्षामा खटाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

ट्राफिक व्यवस्थापनको लागि सेक्टर छुट्याएर व्यवस्थापन गरिएको एसपी पौडेलले बताए । जसमा पूर्वबाट आउनेलाई साझा बसपार्क, पश्चिमबाट आउनेलाई वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री भवन भएको चौर गरेर मुख्य सडकमा प्रभाव नपर्ने गरि व्यवस्थापनको तयारी गरिएको उनले जानकारी दिए । भीआइपी सुरक्षाको लागि पनि जिल्ला सुरक्षा समितिले तयारी गरेको छ । महाधिवेशनको लागि अधिकांश मन्त्रीहरू शनिबार साँझसम्म चितवन आइसकेका छन् ।

संघीय सरकारका प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीहरू महाधिवेशनमा सहभागी हुने जनाइएको छ । प्रधानमन्त्री शाह भने आजमात्रै चितवन आउनेछन् । तर, उनी आउने समय र बसाइ कहाँ हुने भन्ने विषय भने शनिबार रातिसम्म गोप्य नै राखिएको थियो । यस्तै उद्घाटन कार्यक्रमलाई भव्य बनाउन चितवनको सांस्कृतिक पहिचान झल्किने विभिन्न जातीय नृत्य तथा प्रस्तुतिहरू पनि समावेश गरिनेछ । उद्घाटन समारोहका लागि भरतपुरको गेस्ट हाउस चौरमा ‘जर्मन ह्याङ्गर’ निर्माण गरिएको छ । महाधिवेशनको बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी हलमा सञ्चालन गरिनेछ ।

प्रतिनिधिहरूको आवास व्यवस्थापन भरतपुर, नारायणगढ, सौराहा, टाँडी, मेघौली र आसपासका होटलहरूमा मिलाइएको छ । प्रतिनिधिहरूले होटल खर्च आफैँ बेहोर्नुपर्नेछ भने पार्टीले खाना, खाजा र यातायात (सटल बस) व्यवस्था गर्ने जनाएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट लेबीसमेत संकलन गरिने तयारी गरिएको छ । करिब ४ हजार प्रतिनिधि र अन्य सहभागी गरी ठूलो सङ्ख्यामा सहभागी हुने अपेक्षा गरिएको छ । पार्टीले महाधिवेशनलाई संगठन विस्तार र नीति निर्माणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

पाँच प्रतिवेदन पेस गरिने

रास्वपाको महाधिवेशनमा ५ वटा प्रतिवेदन पेस गरिने भएको छ । प्रथम महाधिवेशनमा सभापति रवि लामिछानेसहितका ५ वटा प्रतिवेदन पेस हुनेछन् । रास्वपा महामन्त्री भूपदेव शाहका अनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सांगठनिक प्रतिवेदन महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहले प्रस्तुत गर्नेछन् । यस्तै लेखा प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारी, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोगका प्रमुख भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोग प्रमुख रमाकान्त रिमालले प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री शाहले बताए ।

पुराना तीन दलबाट शीर्ष नेता नजाने

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनलाई शुभकामना दिन पुराना ३ राजनीतिक दलबाट शीर्ष नेता नजाने भएका छन् । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामले संसद्को सबभन्दा ठूलो दलका रूपमा स्थापित दलको महाधिवेशनमा अन्य दलका प्रमुख नेता सहभागी नहुनुको ‘राजनीतिक अर्थ’ खोज्न थालिएको छ । नेपाली काँग्रेसले कसलाई पठाउने भन्नेबारे हालसम्म केही तय गरेको छैन ।

एमालेले पूर्वपदाधिकारी प्रदीप ज्ञवाली र नेकपाले पदाधिकारी तहका वर्षमान पुनलाई पठाउने भएको छ । राप्रपाबाट भने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैँ जाने छन् ।
संसद्को तेस्रो र चौथो दलका रूपमा रहेका एमाले र नेकपाले तल्लो हैसियतका नेता पठाउने भएपछि नेपाली काँग्रेस कसलाई पठाउने भन्नेमा हालसम्म अनिर्णित छ । प्रमुख प्रतिपक्षी दलको पार्टी सभापति रहेका गगन थापा आफैँ त्यहाँ जान चाहेका थिए ।

तर, एमाले र नेकपाले ‘सेकेण्डम्यान’भन्दा पनि तलको हैसियतका नेता पठाउने भएपछि सभापति थापा आफू जान समर्थ भएनन् । पठाउने कसलाई ? यसबारे पनि निर्णय लिन सकेका छैनन् । एमालेले त १९ जना बहालवाला पदाधिकारी हुँदाहुँदै अघिल्लो कमिटीका पदाधिकारी चयन गरेको छ । नेकपा अध्यक्ष प्रचण्डपछि माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल जस्ता नेता छन् । तर, रास्वपा महाधिवेशनलाई शुभकामना दिनका लागि उनीहरूभन्दा तल्लो वरीयताका वर्षमान पुन जाने भएका छन् ।

दुवै दलका अध्यक्षले ‘अस्वस्थ्य’ भन्ने कारण देखाएर ती प्रतिनिधि तय गरेका हुन् । जबकि एमालेसँग १९ जना पदाधिकारी छन् । अध्यक्ष जान नसक्दा पनि पाँचजना उपाध्यक्ष छन् । प्रतिनिधित्व चाहिँ पूर्वपदाधिकारीले गर्नुलाई एमालेभित्रै अर्थपूर्ण रूपमा हेरिएको छ । राजनीतिक विश्लेषक आनन्दराम पौडेल रास्वपाका सन्दर्भमा एमाले र नेकपाले गरेको निर्णयलाई ‘अहङ्कार’को संज्ञा दिन्छन् । यो घटना हिजो ती दलले ‘नोथिङ’ भनेकाहरू ‘समथिङ’ भएर आएपछिको अत्यास भएको उनले बताए । ‘प्रायः उहाँहरूकै पार्टीमा हिजो काम गरेका मान्छेले रास्वपालाई ठूलो बनाए, उहाँहरूको पार्टी निकै खुम्चिएको छ, तर अहङ्कार खुम्चिएन, झन् बढेको छ,’ उनले भने ।

प्यानल र गुटबन्दीमा पूर्ण रोक 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले पार्टीको राष्ट्रिय महाधिवेशन निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी तथा मर्यादित बनाउन ‘राष्ट्रिय महाधिवेशन निर्वाचन आचारसंहिता, २०८३’ जारी गरेको छ । पार्टीको विधान, राष्ट्रिय महाधिवेशन कार्यविधि तथा निर्वाचन कार्यविधिले दिएको अधिकार प्रयोग गर्दै जारी गरिएको आचारसंहिताले उम्मेदवार, प्रतिनिधि तथा निर्वाचनसँग सम्बन्धित सबै पक्षलाई बाध्यकारी हुने जनाएको छ ।

आचारसंहिताअनुसार उम्मेदवारी निर्वाचन आयोगबाट प्रमाणित भएपछि मात्र प्रचार–प्रसार गर्न पाइनेछ । निर्वाचनलाई पूर्ण रूपमा व्यक्तिगत प्रतिस्पर्धामा आधारित बनाइएको भन्दै कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार–प्रसार गर्न रोक लगाइएको छ । निर्वाचन प्रचारका लागि अधिकतम २ इन्टु २ फिट आकारको एउटा मात्र पोस्टर प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ ।

महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा ब्यानर, फ्लेक्स, पर्चा, पम्प्लेट वा अन्य प्रचार सामग्री प्रदर्शन तथा वितरण गर्न निषेध गरिएको छ । सामाजिक सञ्जाल, एसएमएस वा अन्य सञ्चारमाध्यममार्फत भ्रामक सूचना फैलाउन, सशुल्क विज्ञापन गर्न वा मत माग्न नपाइने व्यवस्था गरिएको छ । उम्मेदवारले प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न सक्ने भए पनि नाराबाजी, जुलुस, शक्ति प्रदर्शन वा होहल्ला जस्ता गतिविधिमा रोक लगाइएको छ ।

आचारसंहिताले पार्टीका बहालवाला पदाधिकारी, मन्त्री तथा सांसदलगायत जिम्मेवारीमा रहेका सदस्यलाई आफ्नो पद, स्रोत, अधिकार वा प्रभाव प्रयोग गरी निर्वाचन प्रभावित पार्न नपाइने स्पष्ट गरेको छ । आर्थिक प्रलोभन, उपहार वितरण, भोजभतेर, पदको आश्वासन, डर–धम्की तथा चरित्रहत्याका गतिविधि पनि निषेध गरिएको छ ।
मतदान प्रक्रियालाई गोप्य र व्यवस्थित बनाउन मतदान कक्षभित्र मोबाइल फोन, क्यामेरा वा अन्य इलेक्ट्रोनिक उपकरण लैजान तथा फोटो वा भिडिओ खिच्न प्रतिबन्ध लगाइएको छ ।

बन्दसत्रमा निर्वाचन आयोगबाट स्वीकृत प्रतिनिधि, उम्मेदवार तथा सम्बन्धित कर्मचारी र प्राविधिक सहयोगी मात्र प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी घटना भएको २४ घण्टाभित्र वा निर्वाचन परिणाम घोषणा हुनुअघि वस्तुनिष्ठ प्रमाणसहित दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । उल्लंघन प्रमाणित भएमा चेतावनीदेखि उम्मेदवारी खारेजीसम्मका कारबाही हुन सक्ने र आवश्यक परे केन्द्रीय अनुशासन आयोगमा सिफारिस गरिने उल्लेख गरिएको छ । महाधिवेशन निर्वाचन समितिको निर्णयउपर चित्त नबुझेमा केन्द्रीय निर्वाचन आयोगमा पुनरावेदन गर्न सकिने र आयोगको निर्णय अन्तिम हुने व्यवस्था पनि आचारसंहितामा गरिएको छ ।

विदेशबाट पनि मतदान गर्न मिल्ने 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेदवारहरूको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ । पहिलो चरणको मतदान गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने छ । केसीका अनुसार निर्वाचित भएका सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ ।

केसीले यही असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको जानकारी दिए । असार ८ गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गरिने उनको भनाइ छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ ।प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाइँदै छ । विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरूले एपमार्फत मतदान गर्नेछन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र १० जना सदस्य रहेका छन् । निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भए पनि मतदान गर्न पाउने व्यवस्था छ ।

केन्द्रीय सदस्यमा चुनावको सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदमा निर्वाचन हुने भएको छ । रास्वपाले संशोधन गरेको विधानअनुसार १ सय जना निर्वाचित हुने व्यवस्था छ । एक नेताले दिएको जानकारी अनुसार, केन्द्रीय समिति सदस्यहरूमा सर्वसम्मत हुने सम्भावना कम देखिएको छ । संशोधन विधानअनुसार केन्द्रीय समिति सदस्य १ सय जना मात्रै निर्वाचित हुने व्यवस्था भएकोले निर्वाचनको सम्भावना धेरै देखिएको हो ।

केन्द्रीय कमिटी चयन भइसकेपछि अरु पदाधिकारीका लागि पनि निर्वाचन हुनसक्ने रास्वपाका एक शीर्ष नेताले जानकारी दिए । शनिबार चितवनमा बसेको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन अपिल पनि गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार