जुम्ला ।
आर्थिक रूपमा कमजोर तथा जेहेनदार विद्यार्थीको प्राविधिक शिक्षामा पहुँच बढाउन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । कर्णाली प्राविधिक शिक्षालय जुम्ला र लक्ष्मी सनराइज बैंकबीच भएको सम्झौताअनुसार प्रत्येक वर्ष २५ विद्यार्थीलाई ‘लक्ष्मी सनराइज सीप विकास छात्रवृत्ति’ प्रदान गरिने छ । सम्झौतामा बैंकका प्रमुख ब्रान्ड स्ट्राटेजी अफिसर भारती पाण्डे र शिक्षालयका प्रमुख इन्जिनियर विकल अधिकारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकले आगामी ६ वर्षमा कूल १५० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छ । शिक्षा क्षेत्रमा निजी क्षेत्रको यस्तो लगानी अति नै प्रेरणादायी छ । छात्रवृत्ति कार्यक्रमले विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षाको अवसर सुनिश्चित गर्नेछ । सम्झौतापत्र आदानप्रदान गर्दै कर्णाली प्राविधिक शिक्षालय सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्राविधिक शिक्षा अध्ययन गर्न रुचि भएका विद्यार्थीलाई आर्थिक अभावका कारण अब रोकिनुनपर्ने बताए ।
विद्यार्थीका लागि यस्तो कार्यक्रमले ठूलो राहत पुग्ने उनको भनाइ छ । चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज जैसी, शिक्षालयका प्रमुख इन्जिनियर विकल अधिकारीले छात्रवृत्तिले आर्थिक रूपमा कमजोर विद्यार्थीको शैक्षिक यात्रालाई सहज र सहयोगी बनाउने भन्दै खुसी व्यक्त गरे ।
लक्ष्मी सनराइज बैंक जुम्ला शाखा प्रबन्धक खड्कप्रसाद देवकोटाले एक ब्याचका विद्यार्थीका लागि करिब ३० लाख ६६ हजार रूपैयाँँसम्म खर्च गरिने बताए । शिक्षालयमा डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन इन्जिनियरिङ, डिप्लोमा इन प्लान्ट साइन्स, डिप्लोमा इन फरेस्ट्रीलगायत विभिन्न कार्यक्रममा करिब ५५० विद्यार्थी अध्ययनरत छन् ।









प्रतिक्रिया दिनुहोस्