काठमाडौँ ।
पश्चिमी वायुका कारण वर्षा भइरहे पनि नेपालमा मनसुनी वायु भित्रन अझै केही समय लाग्ने देखिएको छ । भारतीय मौसम विज्ञान विभागले केही सूचकका आधारमा नेपालतर्फ पनि मनसुनी वायु सरेको देखाए पनि जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रिएको घोषणा गर्न सूचक नपुगेको जनाएको छ । मौसमविद् डेभिड ढकालले मनसुन भित्रिन अझै केही समय लाग्ने जानकारी दिँदै मनसुन भित्रिसकेको घोषणा गर्न आवश्यक मापदण्ड पूरा नभएको बताए ।
नेपालमा सरदर जुन १३ (जेठ ३०) गते मनसुन भित्रिने गरेकामा दुई दिन विलम्ब भइसकेको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको आगमन, त्यसको फैलावट, तीव्रता, वायुमा जलवाष्पको मात्रा, बादल र वर्षाको व्यापकता आदिका आधारमा मनसुन भित्रिएको वा नभित्रिएको घोषणा गर्छ । यसमध्ये केही सूचकले मात्र मनसुन भित्रिएको संकेत दिइरहेको विभागले बताएको छ ।
प्रशान्त महासागरमा विकास भएको एलनिनो प्रणालीका कारण पनि मनसुनको आगमन प्रभावित भएको हुनसक्ने मौसमविद् ढकालले जानकारी दिए । मौसमविद् विनोद पोखरेलले धेरै ठाउँमा वर्षा कम भए पनि नेपालमा पानी पर्ने क्रम नरोकिएको बताए । सोमबारदेखि शुक्रबारसम्म थोरै ठाउँमा मात्र वर्षा हुने सम्भावना रहेको उनले बताएका छन् । शनिबारदेखि पूर्वी नेपालबाट राम्रै वर्षाको सुरूवात हुने उनको आंकलन छ ।
अर्को सोमबार र मंगलबारसम्म मनसुन भित्रने सम्भावना रहेको उनको भनाइ छ । मौसमविद्हरूको भनाइलाई आधार मान्दा नेपालमा यसपटक मनसुन भित्रिन कम्तीमा एक साता ढिला हुने देखिएको छ । अघिल्लो वर्ष सरदरभन्दा १५ दिनअगावै मनसुन भित्रिएको थियो । यसपटक औसतभन्दा कम वर्षा र बढी गर्मी हुने विभागले प्रक्षेपण गरेको छ ।









प्रतिक्रिया दिनुहोस्