आफ्नै जनशक्तिबाट गर्न सकिने काममा परामर्श खरिद गरी डीपीआर निर्माण



नन्दराम जैशी । सुर्खेत ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले आफ्नै प्राविधिक जनशक्तिबाट गर्न सकिने योजना तथा अध्ययन कार्यका लागि परामर्श सेवा खरिद गरी लाखौँ रूपैयाँँ खर्च गरेको पाइएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा २९ अनुसार सम्बन्धित सार्वजनिक निकायमा उपलब्ध जनशक्तिबाट कुनै काम सम्पन्न हुन नसक्ने अवस्था भएमा मात्रै परामर्श सेवा खरिद गर्न सकिने व्यवस्था छ ।

तर वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ मा सात वटा डीपीआर, दुई वटा वातावरणीय परीक्षण तथा एउटा आवधिक योजना निर्माणका लागि परामर्शदाता नियुक्त गर्दै २८ लाख सात हजार रूपैयाँँको खरिद सम्झौता गरेको हो । जुन काम नगरपालिकामा रहेको प्रशस्त जनशक्तिले सजिलै गर्न सक्थ्यो । महालेखा परीक्षणका क्रममा सार्वजनिक भएको विवरणअनुसार नगरपालिकाले यी अध्ययन तथा प्रतिवेदन तयार गराउँदा लागत अनुमान निर्धारणको स्पष्ट आधारसमेत नलिई स्वीकृत बजेटकै हाराहारीमा खर्च गरेको पाइएको छ ।

यसरी लागतको यथार्थ मूल्यांकन नगरी बजेटअनुसारकै रकम खर्च गर्नु उपयुक्त नदेखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै डीपीआर तथा अन्य अध्ययन कार्यका लागि नगरपालिकाको आफ्नै प्राविधिक जनशक्ति प्रयोग नगर्नुको कारणसमेत स्पष्ट नभएको औँल्याइएको छ । प्रतिवेदनले आगामी दिनमा यस्ता कार्य नगरपालिकाभित्र उपलब्ध प्राविधिक जनशक्तिबाटै गराउन सुझाव दिएको छ ।

तयार गरिएका डीपीआर, वातावरणीय अध्ययन तथा आवधिक योजनाका प्रतिवेदनलाई अभिलेखीकरण गरी लेखांकन प्रणालीमा समेत समावेश नगरिएको जस्ता कमजोरी महालेखाले औँल्याएको छ । नगरपालिकामा प्राविधिक कर्मचारी उपलब्ध हुँदाहुँदै परामर्शदातामार्फत अध्ययन तथा डीपीआर निर्माण गरिनुले सार्वजनिक स्रोतको मितव्ययी उपयोगबारे स्थानीयवासीले नगरको आलोचना गरेका छन् ।

स्थानीय तहमा दक्ष जनशक्ति हुँदाहुँदै बाह्य परामर्श सेवामा निर्भरता बढ्दा अतिरिक्त आर्थिक भार परेको देखिन्छ । पराशर्मदाताबाट डीपीआर बनाइएका योजनाहरुमा घण्टाघरपार्कको डीपीआर रहेको छ । यो डीपीआर सिभिलक्रियसन नेपाल प्रालि कपिलवस्तुले दुई लाख ९८ हजारमा गरेको हो । यस्तै स्टील स्ट्रक्चर पैदलयात्री फ्लाईओभर मंगलगढी चोकको डीपीआर सिभिल नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालिले चार लाख ४० हजारमा गरेको छ भने नगरपालिका क्षेत्रभित्र पर्ने झुप्रा खोला, भेरी नदी, गिरिघाटखोलाको नदीजन्य÷खोलाजन्य पदार्थ संकलन, उत्खनन, बिक्री वितरण र अन्तरिक निकासी गर्नको लागि आवश्यक पर्ने प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदन तयार गरिएको छ ।

यो प्रतिवेदन ग्रिन हिमालयन रिसर्ज कन्सल्टेन्सी प्रालिले दुई लाख ८४ हजारमा तयार गरेको हो । यता (इत्राम, नेवारे र खोर्के खोला)को नदीमा भेटिएका सामग्रीहरूको संकलन, उत्खनन, बिक्री, वितरण र आन्तरिक सरसफाइको लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्न एक लाख १८ हजार खर्च गरिएको छ । यो प्रतिवेदन प्यलेटफर्म इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कनस्लटेन्सी प्रालिले तयार गरेको हो ।

पराशर्मदातामार्फत वडा नं ३ ओभरहेड ट्याङ्क निर्माणको डीपीआर तयार गर्न चार लाख ५२ हजार खर्च गरिएको छ । यो डीपीआर प्यलेटफर्म इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कनस्लटेन्सी प्रालिले तयार गरेको हो । यस्तै वीरेन्द्रनगर नगरपालिकाका वडा नं. ११ मा शीतभण्डार निर्माण गर्ने कामको डीपीआर गर्ने काम रिप्पल ट्रेनिङ एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिले गरेको हो । यसमा चार लाख ६६ हजार खर्च गरिएको उल्लेख छ ।

नगरपालिकाले बसपार्क पश्चिम बसपार्क बिस्टर, वीरेन्द्रनगर ६, सुर्खेत र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६, सुर्खेतमा रहेको गोदामलाइन पार्किङस्थल निर्माणको डीपीआर पनि परामर्शदाताबाट तयार गरेको थियो । जुन डीपीआर निर्माणका लागि एसोसियटस आवरण प्रालिसँगको सम्झौतामा तीन लाख रकम खर्च गरिएको छ । यो डीपीआर निर्माणको औचित्य नै देखिँदैन ।

त्यस्तै एक भवन निर्माणको डीपीआर तयार गर्न परामर्शदाता मुनलाईट इन्जिनियरिङ एण्ड रिसर्च कन्सल्टेन्सी प्रालिले दुई लाख ९३ हजार खर्च गरेको छ । नगरपालिकासँगको सम्झौतामा डीपीआर तयार गर्न सो रकम खर्च गरिएको छ । तर आगामी दिनमा नगरपालिकाले आफ्नै जनशक्तिबाट गर्न सकिने काममा पराशर्म खरिद गरी डीपीआर बनाउने कार्य रोक्न जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार