डोल्पा ।
हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलन सुरु भएसँगै जिल्लाका अधिकांश सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यार्थीहरू अभिभावकसँगै धमाधम हिमाली पाटनतर्फ जान थालेपछि विद्यालयमा विद्यार्थीको उपस्थिती न्यून बन्दै गएको हो । विद्यार्थी नआएपछि पठनपाठन सञ्चालन गर्न कठिन भएपछि विद्यालयहरूले बाध्य भएर बिदा घोषणा गरेका छन् ।
हरेक वर्ष जेठ महिनासँगै सुरु हुने यार्सागुम्बा संकलन डोल्पाली नागरिकको प्रमुख मौसमी आम्दानीको स्रोत मानिन्छ । यही कारण विद्यालय उमेरका बालबालिका समेत परिवारसँगै पाटन जाने परम्परा रहँदै आएको छ । यस वर्ष जिल्लाका सम्पूर्ण यार्सापाटन जेठ १० गतेदेखि खुला भएपछि विद्यार्थीहरू विद्यालय छाडेर संकलन क्षेत्रमा जान थालेका छन् ।
सारस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम केसीले विद्यार्थीहरू विद्यालय आउनै छाडेपछि विद्यालय बन्द गर्नु परेको बताए । ‘विद्यार्थी जति सबै यार्सागुम्बा टिप्न जान थाले । अहिले विद्यालयमा विद्यार्थी नै आउँदैनन्, त्यसैले विद्यालय बन्द गर्नु परेको हो,’ उनले भने, ‘जेठ सुरु भएसँगै कक्षाकोठा खाली हुन थालेका थिए । दैनिक उपस्थित हुने विद्यार्थी सङ्ख्या निरन्तर घटेपछि नियमित पठनपाठन सञ्चालन गर्न असम्भवजस्तै बनेको छ ।’
त्यस्तै मुकुटेश्वर माध्यमिक विद्यालयका शिक्षक गंगाराम कठायतले पनि यार्सागुम्बा संकलनकै कारण विद्यालय बन्द गर्नु परेको बताए । उनका अनुसार अधिकांश विद्यार्थी पाटनतर्फ गइसकेका छन् भने विद्यालय जेठ २५ गतेसम्मका लागि बन्द गरिएको छ । विद्यालय बन्द भएपछि शिक्षकहरू पनि यार्सागुम्बा संकलन गर्न जाने तयारी रहेको जनाइएको छ ।
यी दुई विद्यालय मात्र होइन, जिल्लाभरका अधिकांश सामुदायिक विद्यालय अहिले प्रभावित भएका छन् । कतिपय विद्यालयले औपचारिक रूपमा बिदा दिएका छन् भने केही विद्यालयमा शिक्षक उपस्थित भए पनि विद्यार्थी नआउँदा कक्षा सञ्चालन हुन सकेको छैन । काइके गाउँपालिकाका शिक्षा शाखा प्रमुख गोविन्द घर्तीले पालिकाले विद्यालय बन्द नगर्ने प्रयास गरे पनि विद्यार्थीको उपस्थिति शून्यजस्तै भएपछि अन्ततः विद्यालय बन्द गर्नु परेको बताए ।
‘हामीले विद्यालय खुला राख्ने प्रयास गरेका थियौँ, तर विद्यार्थी नै नआएपछि विद्यालय बन्द गर्नु पर्ने अवस्था आयो,’ उनले भने, ‘हरेक वर्ष यार्सागुम्बा संकलनको समयमा यही समस्या दोहोरिने गरेको छ । यसको दीर्घकालीन समाधान आवश्यक छ ।’ उनका अनुसार यार्सागुम्बा संकलन अवधिलाई लक्षित गरेर विशेष शैक्षिक क्यालेन्डर, वैकल्पिक कक्षा सञ्चालन तथा विशेष बिदा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ भने विद्यार्थीको पढाइलाई निरन्तरता दिन वैकल्पिक शैक्षिक कार्यक्रम आवश्यक छ ।
डोल्पामा हरेक वर्ष जेठको दोस्रो सातादेखि असारको दोस्रो सातासम्म करिब एक महिना यार्सागुम्बा संकलन हुने गर्दछ । यस अवधिमा हजारौँ स्थानीय बासिन्दा हिमाली पाटनतर्फ जाने भएकाले गाउँघर सुनसान बन्ने, विद्यालय बन्द हुने, बजार र सरकारी सेवा प्रवाह समेत प्रभावित हुने गरेको स्थानीयहरू बताउँछन् ।
शिक्षकहरूका अनुसार यार्सागुम्बा संकलनबाट धेरै परिवारको आर्थिक अवस्था सुधार भए पनि यसको प्रत्यक्ष असर बालबालिकाको शिक्षामा परेको छ । लामो समय विद्यालय बन्द हुँदा पाठ्यक्रम पूरा गर्न कठिन हुने, पढाइमा निरन्तरता नहुने तथा सिकाइ उपलब्धि कमजोर हुने समस्या बर्सेनि दोहोरिने गरेको छ ।
स्थानीय तह, विद्यालय र अभिभावकबीच समन्वय गरेर यार्सागुम्बा संकलन र शिक्षाबीच सन्तुलन कायम गर्ने नीति आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । अहिले भने डोल्पाका अधिकांश विद्यालय सुनसान छन् भने विद्यार्थीहरू हिमाली पाटनतर्फ लागेका हुन् ।









प्रतिक्रिया दिनुहोस्