बाँकेको कोहलपुर नगरपालिका– ११ स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान (शान्तिनगर) क्षेत्रको अतिक्रमण हटाउन थालिएको छ । कोहलपुर नगर विकास समितिको नाममा रहेको करिब २८ बिघा जग्गा अतिक्रमण गरि बनाइएका संरचना हटाउन एक दशक अघिदेखि प्रयास हुँदै आएको थियो ।
गणेश रावत । कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका– ११ स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान (शान्तिनगर) क्षेत्रको अतिक्रमण हटाउन थालिएको छ । कोहलपुर नगर विकास समितिको नाममा रहेको करिब २८ बिघा जग्गा अतिक्रमण गरि बनाइएका संरचना हटाउन एक दशक अघिदेखि प्रयास हुँदै आएको थियो ।
पछिल्लोपटक कोहलपुर नगरपालिकाले शान्तिनगरमा बनेका घर टहरासहितका संरचना हटाउन १० दिने अल्टिमेटम दिएको थियो । सो अल्टिमेटम शुक्रबार सकिएसँगै शनिबारदेखि कोहलपुर नगरपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा अतिक्रमण गरेर बनाएका संरचना हटाउन थालेको हो । पहिलो दिन शनिबार डोजर लगाएर तीन दर्जनभन्दा बढी घरटहरा भत्काइएको कोहलपुर नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए ।
‘नगर विकास समितिको नाममा बनेका संरचना हटाउन शनिबारदेखि नै सुरु गरिसकेका छौँ,’ उनले भने, ‘नगरपालिकाको सूचनापछि सामानहरू सारेर खाली भएका ४० वटा घरटहरा डोजर लगाएर शनिबार भत्काएका छौँ ।’ नगरपालिकाको सूचनापछि नगर विकास समितिको जग्गामा घरटहरा बनाएर बसेकाहरूले केहीयता आफ्ना सामानहरू सारिरहेका छन् । शनिबार समेत नगरपालिकाले घरटहरा खाली गर्न समय दिएर यसअघि नै खाली गरिसकेका संरचनामा डोजर चलाएको थियो ।
शनिबार अपरान्ह २ बजेपछि मात्र दुई डोजर प्रयोग गरेर संरचना भत्काउन थालिएको भए पनि बाँकी रहेका संरचनाहरू आज हटाइने नगर प्रहरी प्रमुख थापाले मिसन टुडेलाई जानकारी दिए । ‘कतीपयले आफैँ घर खाली गर्ने भनेपछि शनिबार केही घरटहरा मात्रै भत्काएका छौँ,’ उनले भने, ‘आइतबार बिहानैदेखि थप डोजरहरू प्रयोग गरेर बाँकी रहेका सबै संरचना हटाउँछौँ ।’
कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुकुम्वासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको बताए । हालसम्म नगरपालिकाको सम्पर्कमा ७३ परिवार वास्तविक भूमिहीन सुकुम्वासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
नगरप्रमुख आचार्यका अनुसार वडा नं ११ स्थित कोहलपुर नगर विकास समितिको कोहलपुर ३ (ख)अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास) जग्गा अतिक्रमण गरी सात साय ५१ परिवार घरटहरा बनाएर बसिरहेका छन् । तीमध्ये अव्यवस्थित बासोबासी चार सय १६, भूमिहीन दलित एक सय ७२ र भूमिहीन सुकुम्वासी एक सय ६३ जना रहेको उनले बताए ।
‘बस्ती विकास तथा बसोबासका क्रममा केही व्यक्ति तथा बिचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, जग्गा किनबेच गराउने तथा आर्थिक लाभ लिने गतिविधि भएको भनेर उजुरी पनि आएका छन् । सो सम्बन्धमा सम्बन्धित निकायबाट अनुसन्धान जारी छ,’ उनले भने ।
यसैबीच नगर क्षेत्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी वर्षौँदेखि बसोबास गर्दै आएका वास्तविक सुकुम्वासी तथा भूमिहीन दलितको पहिचान गर्न सुरु गरिएको छ ।
नगरपालिकाले एउटा अभिलेख व्यवस्थापन समिति गठन गरेर घरधुरीको अवस्था, बसोबास अवधि, आर्थिक अवस्था, अन्यत्र जग्गाजमिन भए नभएकोलगायत विषय अध्ययन गरिरहेको छ । त्यहाँ बसिरहेका परिवारको तथ्यांक संकलन तथा कागजात प्रमाणीकरणको काम अघि बढाएको समितिका संयोजक सुनिता सुनारले जानकारी दिइन् ।
केही व्यक्तिले आफूलाई भूमिहीन दाबी गरे पनि अन्यत्र घरजग्गा रहेको तथ्य भेटिए त्यस्ता व्यक्तिलाई सूचीबाट हटाइने उनले बताइन् । ‘गत वर्ष उक्त स्थानका सात सय ५१ जना भूमिहीन सुकुम्वासी र भूमिहीन दलितले फाराम भरे पनि पहिचान गर्दा भूमिहीन दलित एक सय ५३ जना र भूमिहीन सुकुम्वासी एक सय ४१ जना रहेका छन्,’ संयोजक सुनारले भनिन् ।









प्रतिक्रिया दिनुहोस्