वीरेन्द्र जैसी । नेपालगन्ज ।
केही दिनअघि नेपालगन्ज भन्सारको एकीकृत जाँच चौकी आइसीपीमा भारतबाट तीन थान हार्भेस्टरहरू नेपाल प्रवेशका लागि आएका थिए । तर, नेपालगन्जका अटो व्यवसायीहरूले उक्त सूचना पाएपछि ती हार्भेष्टरहरू नेपाल भित्रिन भने पाएनन् । नेपालमा हिउँदे बाली भित्र्याउन लागेका बेला आएका ती हार्भेष्टरहरू भन्सारका लागि तोकिएको मापदण्ड पूरा नगरेकै अवस्थामा आएका थिए ।
भन्सारबाट हार्भेष्टर भित्र्याउनका लागि रिपर र कलेक्टर समेत भएको कम्बाइन्ड हार्भेष्टर हुनुपर्ने व्यवस्था छ । तर, नेपाल भित्र्याउन लागिएका हार्भेष्टरमा त्यस्तो सुविधा थिएन । ती हार्भेष्टरहरू नेपाल भित्रिन दिए आफूहरूले आन्दोलन गर्ने चेतावनी दिएपछि फिर्ता भएका बाँके अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष नरेन्द्र ओली बताउँछन् ।
उनले कृषि कर्मको हरेकजसो सिजनमा अस्थायी अनुमति लिएर कृषि सामग्रीहरू भारतबाट आउने समस्याले यहाँका व्यवसायीहरू समस्यामा रहेका बताए । दोब्बरदेखि तेब्बरसम्म भन्सार तिरेर भित्र्याइएका कृषि सामग्रीहरू प्रयोगको सट्टा भारतबाट सामग्रीहरू ल्याएर आउने र लाखौँको कारोबार गरेर जाने समस्या रहेको ओलीले बताए ।
ओली भन्छन्, ‘भारतबाट ट्याक्टरदेखि अन्य कृषियन्त्रहरू दैनिक भाडामा लिएर आउने गरिएको छ । त्यसले यहाँका लाखौँ रूपैयाँ कर तिरेर ल्याइएका र बिक्रीमा राखिएका कृषियन्त्रहरू नबिकेर थन्किएर रहने अवस्था छ ।’ ओलीले यस विषयमा नेपालगन्ज भन्सारका प्रमुख जनार्दन आचार्यलाई भेटेरै ध्यानाकर्षण गराएका थिए । उनले त्यस्ता साधनहरूलाई भन्सारमै रोक्न माग गरेका थिए ।
ओलीले कृषियन्त्रमा भारतबाट भन्सार तिरेर वा नतिरेर भाडामा ल्याइने कृषियन्त्र रोक्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् । ‘केही वर्षअघि दुई दर्जन बढी कृषियन्त्र बेच्ने डिलरहरू रहेको नेपालगन्जमा अहिले आधा दर्जन पनि छैनन् । ती सबै व्यवसायीहरू पलायन भएका हाम्रो अध्ययनले देखाएको छ । सरकारले यहाँका व्यापारीहरूले भन्सार तिरेर ल्याएका कृषियन्त्रलाई असर पर्नेगरी भारतबाट ल्याउन दिन रोक्नुपर्छ,’ ओलीले भने ।
ओलीका अनुसार अहिले नेपालगन्जमा नेपाली कृषकहरूलाई आवश्यक पर्ने सबै किसिमका कृषियन्त्रहरू उपलब्ध छन् । ट्र्याक्टर, पावर टिलर, मिनी टिलर, हार्भेष्टर, हलो, जस्ता ठूला यन्त्रदेखि साना औजारसम्म सजिलै पाउन सकिने अवस्था छ । यसैगरी माटो तयार पार्न प्रयोग हुने रोटाभेट, धान रोप्ने मेसिन कल्टिभेटर, धान, गहुँ काट्न प्रयोग हुने रिपर, हार्भेस्टर, धान, गहुँ, मकै, तोरी आदि छोडाउने मेसिन थ्रेसर, पेडल थ्रेसर, पावर टिलर अपरेटेड र ट्याक्टर अपरेटेड थ्रेसर आदि उपलब्ध रहेका ओलीले बताए ।
यसैगरी मकै छोडाउने कोर्न शेलर, कीटनाशक छर्न प्रयोग हुने स्प्रेयर, पावर स्प्रेयर, फगिङ मेसिन र सिँचाइ उपकरणहरू पानी पम्प, स्प्रिंकलर, ड्रिप इरिगेसनका औजार पनि उपलब्ध रहेका छन् । अन्य उपकरणहरू घाँस काट्ने मेसिन, लेभलर, सीड ड्रिल, आलु रोप्ने मेसिन, चक्की मिल, राइस मिल जस्ता मेसिन पनि बजारमा उपलब्ध छन् ।
दर्ता नवीकरण र नामसारीमा झन्झट हटाउन माग
बाँके अटोमोबाइल्स एसोसिएसनले नेपालभर सञ्चालनमा रहेका बाइक, कार, जिप, ट्रक, बस, ट्रयाक्टर, एक्स्काभेटर, रोलर, स्काभेटर लगायतका सवारीसाधनको दर्ता तथा नामसारी प्रक्रियाको झन्झट हटाउन माग गरेको छ । एसोसिएसनका अध्यक्ष नरेन्द्रबहादुर ओलीले नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै नेपालमा भित्रिएका यस्ता सवारीसाधनहरू जहाँ छन् त्यहाँबाट नजिकको यातायात कार्यालयमा दर्ता नवीकरण र नामसारीसम्बन्धी काम हुने व्यवस्था मिलाउन माग गरेका हुन् ।
काठमाडौँमा दर्ता भएका गाडी लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा चल्दा तथा कर्णालीदेखि लुम्बिनीमा दर्ता भएका सवारी अन्य प्रदेशमा चलिरहेको र त्यहाँबाट दर्ता भएको कार्यालयमा पुग्नु अनावश्यक झन्झट हुने उक्त पत्रमा उल्लेख छ । यसले किसान, निर्माण व्यवसायी र सवारीसाधन प्रयोगकर्तालाई ठूलो झन्झट थपिरहेकोले सम्बन्धित कार्यालयहरूबीच समन्वय तथा भिडिओ कलमार्फत जाँचपासको काम गरी सहजीकरण गर्न माग गरिएको छ ।
‘कालोबजारी नगर्नु, गरे कारबाही भोग्नु’

बाँके अटोमोबाइल्स एसोसिएसन अटोमोबाइलको व्यापारमा कालो बजारी नगर्न व्यवसायीहरूलाई अनुरोध गरेको छ । एसोसिएसनका अध्यक्ष वलीले एक पत्र जारी गर्दै कालो बजारी गर्ने व्यक्तिहरूको सूचना आएमा वा प्रमाणित भएमा उनीहरूलाई राजस्व कार्यालय र प्रहरी प्रशासनबाट छापा हानी कारबाही गर्न लगाइने चेतावनी दिएका छन् ।
गलत प्रमाणित भएमा दोषीलाई तुरुन्त कारोबार बन्द गराउनु र नेपालभर कारोबार गर्न नपाउने गरी कालो सूचीमा राखिने पनि उक्त पत्रमा उल्लेख छ । यसका साथै भन्सार नाकामा कडाइ भएपछि नेपाली बजारमा व्यवसाय बढ्ने, भएकोले मार्जिन घटाउने र धेरै व्यापार गरेर मुनाफा बढाउन सकिने भएकाले सोहीअनुरूप सेवा दिन पनि अनुरोध गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्