
???????????????
काठमाडौँ ।
थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुम्बासी/भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीबाट ल्याइएका सुकुम्बासी परिवारको लगत संकलन गरिरहेका छन् ।
अपराह्न १ः३० बजेसम्म २३ परिवारको लगत संकलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन् । सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको उनले बताइन् ।
अस्थायी बसोबासस्थलमा उनीहरूको व्यवस्थापन भएपछि दोस्रो चरणमा राज्यले जमिन प्रदान गर्ने कार्य थालनी गरिने उनले जानकारी दिइन् ।थापाथलीमा अवैध रूपमा निर्माण गरिएका संरचना भत्काइएपछि ती परिवारलाई सरसामानसहित रंगशाला ल्याइएको हो ।
अहिले पनि सुकुम्बासीहरू आफ्नो जाने थातथलो कहीँ नभएको भन्दै सरकारी सहयोगको खोजीमा रंगशाला आउने क्रम जारी छ । ‘वास्तविक सुकुम्बासीहरू यहाँ आउनुभएको छ, अन्य आफ्नो व्यवस्था गरी गइसक्नुभएको छ’, प्रमुख केसीले भनिन्, ‘केही परिवार यहाँ आएर पनि सरकारले तोकेको ठाउँमा नबस्ने भनी निस्कनुभएको छ ।’
उनका अनुसार रंगशालाभित्रै सुकुम्बासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन काठमाडौं महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली खटिएको छ । सुकुम्बासी परिवारलाई सुरक्षित बसोबासस्थलसम्म लैजाने क्रममा आइपर्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न चिकित्सक, नर्स र प्यारामेडिक्ससहितको टोली खटिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जानकारी दिए ।
यसैबीच, थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने काम सम्पन्न भएको छ । त्यहाँ अवैध रूपमा निर्माण गरिएको संरचना डोजर लगाएर हटाइएको छ । केही सुकुम्बासी परिवार आफ्नो सरसामानलाई सुरक्षित रूपमा अन्यत्र लैजान खटिइरहेका छन् । रासस








प्रतिक्रिया दिनुहोस्