अछाम ।
कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुगेका थिए। आफ्नै काठे डुङ्गा लिएर घाँस काट्न गएका उनीहरूमध्ये जेठो छोरा १४ वर्षीय दिलीपले आफूभन्दा पहिले पालैपालो बुबा र भाइलाई पारि पठाएका थिए ।
अन्तिममा आफू तरे । नदी तरिसकेपछि पहलसिंहले कर्णाली नदीमा जाल थापे । त्यसपछि तीनै जनाले घाँस काटे । तीन भारी घाँस काटिसकेपछि साँझपख जेठो छोरा दिलीपले डुङ्गामा पालैपालो तीनै भारी घाँस तारे। घाँस तारेर बुबा र भाइ लिन दिलीप डुङ्गा लिएर पुनः कर्णाली पारि पुपे । साँझ झमक्क परिसकेको थियो ।
दिलीपले बुबालाई पालैपालो डुङ्गामा पारी पुर्याउने प्रस्ताव गरे । तर पहलसिंहले दिलीपलाई भने, “छोरा घाँस तार्दातार्दा तिमीलाई थकाइ पनि लागेको छ । रात परिसक्यो सबै जनासँगै जाऔँ”, दिलीपले ‘हुन्न त्यसरी नजाउँ’ पनि भने, तर बुबाले मानेनन्।नभन्दै नदीको बिच भागमा पुगेपछि डुङ्गा पल्टियो । डुङ्गा पल्टिनेबित्तिकै दिलीप पौडी खेल्दै जसोतसो नदी किनारमा निस्किए ।
रुँदै, गुहार्दै वरपरका मान्छेलाई खबर गरे । डुङ्गा पल्टिएर उल्टो भएपछि ११ वर्षका भाइ नरेश डु¬ङ्गामै च्यापिए। पहलसिंहले कान्छो नरेशलाई बचाउन च्यापिएका ठाउँबाट निकालेर पिठ्युँमा बोके । अनि नदी पार गर्न पौडिन थाले। नदी पार गर्ने बेलामा पानीको बहावसँगै दुवै जना बेपत्ता भए । त्यस रातभरि परिवार र स्थानीय खोजीमा जुटे।
कतै फेला परेनन्।सशस्त्र प्रहरी बल खप्तड गुल्मको विपद् उद्धार टोली, सुर्खेतबाट आएको गोताखोरको टोली, स्थानीय बासिन्दा र नेपाल प्रहरीको संयुक्त प्रयासमा निरन्तर खोजी गर्दा कर्णाली नदीको खोँचमा वैशाख ५ गते छोरा नरेश र ६ गते बुबा पहलसिंहको शव फेला पर्याे ।बाबुछोराकै निधनपछि अहिले पहलसिंहको परिवारमात्रै होइन, पूरै गाउँ शोकमा छ ।
पहलसिंहको परिवारको मुख्य पेसा कृषि थियो । कर्णाली नदी किनारमा बसोबास गर्ने भएकाले उनीहरूको दैनिक जीवनयापन नदीमा माछा मार्ने र पशुपालन थियो । जेठो दिलीप बसुन्धरा मावि थालपाटामा कक्षा ८ मा अध्यनरत थिए।कान्छो नरेश भने कक्षा ४ मा अध्यनरत थिए । श्रीमान् र नाबालक छोराको निधनपछि पहलसिंहकी ३३ वर्षीया श्रीमती शान्तिकुमारी माझी (बुढा) अझै राम्रोसँग होसमा आएकी छैनन् । श्रीमान्काे भरमा चलेको परिवारमा श्रीमान् नै नभएपछि कसरी जीविका चलाउने भन्ने चिन्ता थपिएको छ।









प्रतिक्रिया दिनुहोस्