कोहलपुर (बाँके) ।
लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन जारी छ । २०८२ मंसिर ८ गतेदेखि सुरु भएको अधिवेशन हालसम्म जारी छ । पछिल्लोपटक २०८२ माघ २० गते चौथो बैठक बसेर स्थगित भएको अधिवेशन दुई महिनापछि २०८२ चैत २२ गते सुरु भएको थियो । त्यता लगातार चैत २७ गतेसम्म बैठक निरन्तर सञ्चालन भयो ।
एक साता स्थागित भएको अधिवेशन आइतबारबाट फेरि सुरु भएको छ । आइतबार बसेको सातौँ अधिवेशनको १२ औँै बैठकमा सभाका १० जना सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राखे । यसैगरी लुम्बिनी प्रदेश सभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ ।
सातौँ अधिवेशनअन्तर्गत आइतबार बसेको १२औँ बैठकले उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाएको हो । बैठकमा उक्त प्रस्ताव उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रस्तुत गरेका थिए । सो अवसरमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा गरिन् ।
१२औँ बैठकमा प्रदेश सरकार सदस्यहरूले संघीय सरकारको काम कारबाही, प्रदेश सरकार अन्तर्गतका योजना, निर्वाचन क्षेत्रमा रहेका समस्यासहितका विषयमा प्रदेश सभा सदस्यहरूले आफ्नो धारणा राखेका थिए । प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले बैठकलाई सम्बोधन गर्दै नेपालको शैक्षिक समस्याको मूल जड विद्यार्थी संगठन नभई शिक्षा प्रणाली नै रहेको जिकिर गरे ।
उनले आफ्नो निर्वाचन क्षेत्रको बैजनाथ गाउँपालिकामा रहेको करेली खोलामा आएको बाढीले चार वटा घर बगाएकोले तत्काल तटबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार गत आवमा सम्पन्न भएका योजनामा ठेकेदारले रकम नपाएकोले छिटो भन्दा छिटो भुक्तानी दिनुपर्छ । प्रदेश सभा सदस्य बसिउद्धिर खाँले लुम्बिनी प्रदेशमा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा गम्भीर मानव अधिकार उल्लंघन भइरहेको बताए । यस्तै उनले प्रदेशका अस्ततालहरूको सेवा शुलभ बनाउनुपर्नेमा जोड दिए ।
प्रदेश सभा सदस्य मिना कुमारी श्रेष्ठले बाँके राष्ट्रिय निकुञ्ज आसपासका जनताले असुरक्षित जीवनयापन गरिरहेको भन्दै बाघ, चितुवासहितका जंगली जनावरहरूको आतंकले सास्ती भोगिरहेको बताइन् । उनले नेपालगन्ज सहरमा फोहोर व्यवस्थापन नहुँदा जनस्वास्थ्यमा असर गरिरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । बाँके जिल्ला भारतसँग सीमा जोडिएको संवेदनशील क्षेत्र भएको भन्दै स्वास्थ्य सेवाको पहुँच पु¥याउन अनुरोध गरिन् ।
प्रदेश सभा सदस्य तुलसी राम शर्माले प्रदेशभर खानेपानीका योजना ओझेलमा परेको बताए । यसैगरी सामाजिक विकास कार्यालयमार्फतका योजनामा समेत सरकारले विशेष ख्याल गर्नुको विकल्प नभएको उनको भनाइ थियो । प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले मंहगीका कारण किसानले सास्ती भोगेको बताए ।
उनका अनुसार संघीय सरकारले यस विषयमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिए । अहिलेसम्म देशभरका किसानका पक्षमा सरकारले काम नगरेको भन्दै किसान अब आन्दोलन गर्न बाध्य हुनु अवस्था आएको गुप्ताको भनाइ थियो । बैठकमा भण्डारीलाल अहिर, भगवती अधिकारी, बादशाह कुर्मी, चिन्तामणि पाण्डेले कृषि, पशु, यातायात लगायतका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । अब १३औँ बैठक सोमबार आज बस्नेछ ।









प्रतिक्रिया दिनुहोस्