काँग्रेसमा विशेष महाधिवेशन अघिसम्म संस्थापन भनिने देउवा–खड्का गुट छ भने अर्कोतर्फ विशेष महाधिवेशनले सभापति चुनेका गगन थापा तथा विगतमा निकै शक्तिशाली रहेका कोइराला परिवारको प्रतिनिधित्व गर्ने शेखर गुट पनि सक्रिय छ ।
कृष्ण खनाल । काठमाडौँ।
विशेष महाधिवेशनबाट नेपाली काँग्रेसको पार्टी सभापतिमा चयन भएका गगन थापालाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि यतिखेर त्यस पार्टीभित्रका विभिन्न समूह अस्तित्व रक्षाका लागि शक्ति दाउपेचमा लाग्न थालेका छन् । काँग्रेसमा विगतदेखि नै तीन समूह सक्रिय छन् । र, सर्वोच्चको फैसलापछि ती गुट अस्तित्व रक्षाका झनै सक्रिय भएका छन् ।
काँग्रेसमा विशेष महाधिवेशन अघिसम्म संस्थापन भनिने देउवा–खड्का गुट छ भने अर्कोतर्फ विशेष महाधिवेशनले सभापति चुनेका गगन थापा तथा विगतमा निकै शक्तिशाली रहेका कोइराला परिवारको प्रतिनिधित्व गर्ने शेखर गुट पनि सक्रिय छ । यी तीन गुट सधैँ पार्टी नेतृत्व र प्रभाव कसरी जमाउने भन्ने प्रतिस्पर्धामा रहँदै आएका छन् ।
सोहीक्रममा आइतबार निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले आफू समर्थकबीच छलफल कार्यक्रम ग¥यो । सोही दिन नै नेताहरू शेखर–शशांक कोइराला समूहले पछि छुट्टै छलफल गरेको थियो । देउवा, खड्का पक्षले आयोजना गरेको बैठकमा केही नेताहरूले परिस्थितिअनुसार छुट्टै राजनीतिक दल गठन गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको स्रोतले बताएको छ।
छलफलका क्रममा कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं र गुरु बरालले पार्टीभित्र स्वाभिमान, अवसर र निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित नभए छुट्टै दल गठन गर्नुपर्ने धारणा राखेको एक सहभागीले बताए । उनका अनुसार विशेष महाधिवेशनबाट आएको समूहले जबरजस्ती गर्न खोजेको र पहिलादेखि नै संघर्ष गर्दै आएकालाई बेवास्ता गरेको बैठकमा सहभागी धेरैले महसुस भइरहेको बताएका थिए ।
यदि पार्टीभित्र योग्यताको सम्मान र प्रतिष्ठा कायम हुन सकेन भने वैकल्पिक बाटो खुला राख्नुपर्ने अवस्था आउन सक्ने सुझाव प्राप्त भएको उनले जानकारी दिए । देउवा–खड्का पक्षले अदालतको निर्णयलाई औपचारिक रूपमा स्वीकार गरे पनि आन्तरिक रूपमा असन्तुष्टि कायमै रहेको समेत उनले बताए । अहिलेको पार्टी सञ्चालनको शैली, सदस्यता वितरण र निर्णय प्रक्रियामा सुधार आवश्यक रहेको उनीहरूले माग गर्दै आएका छन् ।
यता यही बेला अहिलेको संस्थापन पक्ष बाँकी केन्द्रीय सदस्य चयन गर्ने तयारीमा रहँदा झनै विवाद बढाएको छ । महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिक गर्दै महाधिवेशनको प्रक्रिया अघि बढाइने बताएका छन् ।
शेखर–शशांक समूह थापा नेतृत्वसँग छलफलमा
काँग्रेसभित्रको अर्को शक्तिशाली शेखर कोइराला र शशांक कोइराला गुटले सर्वोच्च अदालतको आदेशपछि विशेष महाधिवेशनले चयनन गरेका गगन थापासँग नजिकिने प्रयास गरेको छ । केही महिनाअघिसम्म आफ्नो समूहलाई बलियो बनाउने तयारीमा रहेको यो गुट गगन थापा समूहसँग नजिकिँदा पद बाँडफाँडमा हिस्सा पाउने प्रयासमा रहेको राजनीतिक विश्लेषकहरू अनुमान लगाउँछन् ।
शेखर–शशांक गुटले पार्टीभित्र पछिल्लो समयमा नयाँ परिस्थितिमा विकास भएको जनाउँदै सर्वोच्च अदालतको निर्णय स्वीकार गर्ने र गगन थापा नेतृत्वलाई मान्यता दिने निर्णय गरेको बताइएको छ । विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा आइतबार बसेको छलफलले पार्टीको एकता र संस्थागत मजबुतीलाई प्राथमिकतामा राख्ने निर्णय गरेको निवर्तमान उपसभापति धनराज गुरूङले बताए ।
यद्यपि त्यस बैठकमा शेखर कोइराला विराटनगरमा भएकाले सहभागी भने हुन नसकेको गुरुङले बताए । गुरूङका अनुसार लोकतान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने शक्तिहरूले अदालतको निर्णय अस्वीकार गर्न नमिल्ने धेरैको धारणा थियो । ‘अबको प्राथमिकता पार्टीलाई थप सुधार गर्दै एकताबद्ध बनाउनु हो,’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्