कर्णालीका लोक, नृत्य र नाटक नौमूलेमा प्रदर्शन हुने



दैलेख ।

कर्णाली प्रदेशको मौलिक कला, लोक नृत्य र नाट्य विधाको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले दैलेखको नौमूलेमा ‘कर्णाली लोक नृत्य एवं सांस्कृतिक सम्मेलन २०८३’ आयोजना हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नौमूले गाउँपालिकाको सहकार्यमा आज र भोलि उक्त सम्मेलन हुन लागेको हो ।

सम्मेलनको तयारी र उद्देश्यबारे जानकारी दिन दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमालले कार्यक्रमको विस्तृत रूपरेखा प्रस्तुत गरे । उनले कर्णालीका १० वटै जिल्लाका मौलिक लोक नृत्य र लोक नाटकहरू एउटै मञ्चमा प्रदर्शन गरिने जानकारी दिए ।

‘हामीले यस कार्यक्रमलाई तीन विशेष सत्रमा विभाजन गरेका छौँ,’ प्राज्ञ हमालले भने, ‘एउटा सत्रमा कर्णालीको लोक नृत्य र संस्कृतिको वर्तमान अवस्थाबारे गहन अन्तरक्रिया एवं गोष्ठी हुनेछ भने अर्को सत्रमा १० वटै जिल्लाका विशिष्ट लोकसङ्गीत र नृत्यका स्रष्टा एवं सर्जकहरूलाई विशेष सम्मान गरिनेछ ।’ उनले यस पटकको सम्मेलनमा दैलेखको कला र संस्कृतिलाई विशेष महत्वका साथ प्रदर्शन गरिने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले पालिकाले कार्यक्रमको भव्य तयारी गरिरहेको बताए । भौगोलिक विकटताका कारण नौमूले बजारमा यति ठूलो प्रदेशस्तरीय कार्यक्रम व्यवस्थापन गर्नु चुनौतीपूर्ण भए पनि कुनै समस्या हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरे ।

‘पाहुनाहरूको खाना, बसोबास र सुरक्षाको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको छ,’ अध्यक्ष सुवेदीले भने, ‘व्यवस्थापनको पाटोमा हामी कतै पनि चुक्ने छैनौँ ।’ उनका अनुसार कार्यक्रमको स्थानीय व्यवस्थापन, खाना र बसोबासको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने छ भने कलाकारहरूको यात्रा खर्च र स्रष्टा सम्मानलगायत अन्य प्राविधिक खर्च प्रज्ञा–प्रतिष्ठानले व्यहोर्ने गरी सहकार्य भएको छ ।

अन्तरक्रियाका क्रममा सञ्चारकर्मीहरूले कर्णाली कला र संस्कृतिको खानी भए पनि यसको उचित पहिचान हुन नसकेको र पुस्तान्तरणको अभावमा मौलिक प्रतिभाहरू हराउँदै जान लागेकामा चिन्ता व्यक्त गरेका छन् । प्रज्ञा–प्रतिष्ठानले नौमूले जस्तो स्थानीय तहमा पुगेर अनुसन्धान र प्रदर्शनको कार्य थाल्नुले सांस्कृतिक पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास पत्रकारहरूको थियो ।

सम्मेलनमा दैलेखका ११ वटै स्थानीय तहका सांस्कृतिक समूहहरू केन्द्रित हुने छन् भने अन्य नौ जिल्लाबाट कलाकार आफ्ना मौलिक प्रस्तुतिसहित सहभागी हुनेछन् । नेपाल सङ्गीत, नाट्य र नृत्यको क्षेत्रमा अनुसन्धान गर्ने तथा स्रष्टालाई प्रोत्साहित गर्ने प्रतिष्ठानको उद्देश्यअनुसार यो कार्यक्रम आयोजना गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार