२५ वर्षीया रुबीकुमारी बनिन् उपसभामुख



अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबाट ‘सहयोग’ गर्ने वचन पाएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामा अन्ततः प्रतिनिधिसभाको उपसभामुखमा पराजित भएकी छन् ।

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबाट ‘सहयोग’ गर्ने वचन पाएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामा अन्ततः प्रतिनिधिसभाको उपसभामुखमा पराजित भएकी छन् । लामिछानेबाट सहयोग गर्ने जवाफ पाएपछि उपसभामुखका लागि मनोनयन दर्ता गरेकी लामाले शुक्रबारको निर्वाचनमा जम्मा पाँच मत मात्र प्राप्त गर्न सकिन् ।

लामालाई राप्रपाबाहेक अन्य कुनै पनि सांसदले सहयोग गरेनन् । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह, महामन्त्री कवीन्द्र बुर्लाकोटीलगायतको वचन पाएकी श्रम संस्कृति पार्टीकी २५ वर्षीया रुबीकुमारी ठाकुर भने उपसभामुखमा अत्यधिक मत पाएर विजयी भएकी छन् । उनले २२९ मत प्राप्त गरिन् । ठाकुरलाई रास्वपासहित नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टीले पनि समर्थन गरे । नेकपा एमालेले भने मतदानमा भाग लिएन ।

नवनिर्वाचित उपसभामुख ठाकुरले शुक्रबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच ठाकुरलाई सभामुख डोल प्रसाद अर्यालले शपथ ग्रहण गराएका थिए । शपथ समारोहमा उपराष्ट्रपति रामसाहय प्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री वालेन्द्र शाह लगायत उच्च पदस्थको सहभागीता रहेको थियो ।

उपसभामुखका कसलाई समर्थन गर्ने भन्ने विषयमा देखिएको अन्योलले रास्वपाभित्र शक्तिसंघर्ष सुरु भइसकेको कतिपयले अनुमान गरेका छन्। यद्यपि शुक्रबार संसद् भवन पुगेको पार्टी सभापति लामिछानेले भने कतिपय अवस्थामा विभिन्न परिस्थितिका कारण निर्णय फेरबदल हुने दाबी गरे । उनले निर्णय फेरबदल गर्नुपर्ने कुन अवस्था आयो भन्नेबारे भने केही खुलाएनन् ।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीका अनुसार लामिछानेले फोनमार्फत उम्मेदवारी दिन आग्रह गरेका थिए । खसआर्य समुदायबाट सभामुख चयन भइसकेकाले उपसभामुख जनजाति समुदायबाट हुन उपयुक्त हुने धारणा लामिछानेले राखेको उनको भनाइ छ । रास्वपा महामन्त्री बुर्लाकोटीले विभिन्न दलसँग निरन्तर छलफल भइरहेका कारण अन्तिम समयमा आएर निर्णय टुंगिएको बताए ।

तर, रास्वपा निकट स्रोतले भने प्रधानमन्त्री शाहले राप्रपासँग सहकार्य गर्न असहमति जनाएपछि समीकरण फेरिएको जनाएको छ। पुराना दलहरूसँग दूरी कायम राख्ने नीति अनुसार बालेन राप्रपासँगको सहकार्यमा सकारात्मक नभएको उनको भनाइ छ । प्रधानमन्त्रीले संवैधानिक परिषद्मा हुने उपसभामुखको प्रभावको सन्तुलनलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको स्रोतको भनाइ छ।

यसअघि पनि गृहमन्त्री नियुक्ति विषयमा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच मतभेद देखिएको थियो । तर, पछि प्रधानमन्त्रीले आफू अनुकूल हुने गरी गृहमन्त्रीमा सुधन गुरुङलाई नियुक्त गरेका थिए । अन्तिम समयमा रास्वपाले श्रम संस्कृति पार्टीकी ठाकुरलाई मत दिएपछि यी दुई राजनीतिक दलबीच सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ ।

केही समयअघिसम्म श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ प्रधानमन्त्री शाहलाई आलोचना गर्नेमध्येका एक थिए । अबका दिनमा साम्पाङ र शाहबीच कस्तो सम्बन्ध हुन्छ भन्नेबारे भने यकिन भइसकेको छैन ।

गठन भए सबै संसदीय समिति 

प्रतिनिधिसभाको बैठक सुरु भएको ९ दिनमै सबै संसदीय समिति गठन भएको छ । संघीय संसद्अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् । राष्ट्रियसभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ति समिति यसअघि नै गठन भइसकेका छन् ।

प्रतिनिधिसभा अन्तर्गत १० वटा विषय समिति रहन्छन् । बाँकी दुई वटा संयुक्त समिति रहेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यी सबै समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ । संसदीय सुनुवाई समिति पनि शुक्रबार नै गठन भएको छ । जसको सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भीष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीब खत्री, डा. लेखजंग कार्की, वर्षमान पुन रहेका छन् ।

यस्तै प्रतिनिधिसभाका विषयगत समितिको निर्वाचन वैशाख ४ गते हुने भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा समिति सभापतिहरूको निर्वाचन वैशाख ४ हुने सभामुख डीपी अर्यालले जानकारी गराएका थिए । बैठकमा विषयगत समितिका सदस्यहरूको नाम प्रस्ताव भएकोमा बैठकले अनुमोदन गरेको थियो । प्रतिनिधिसभामा विषयगत समिति १० वटा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार