जयेन्दु बालसुधार गृहमा जग्गादाताका मातापिताको स्मृति



नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ स्थित जयेन्दु बालसुधार गृहका जग्गादान गर्ने जयकेश सिंहका पिता–माताको स्मृति दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको छ । जग्गादाता सिंहले आफ्ना पिता स्वर्गीय तप्तबहादुर सिंह र माता स्वर्गीय हेमरानी सिंहको स्वामित्वमा रहेको चार बिघा दुई कठ्ठा जग्गा बालगृह निर्माणका लागि २०६७ मा सरकारलाई दान गरेका थिए ।

सिंहका तिनै पिताको स्मृति दिवसका अवसरमा बालसुधार गृहमा एक कार्यक्रम आयोजना गरेर उनीहरूको शालिकमा फूलमाला अर्पण गरिएको छ । २०७१ चैत २४ गते स्वर्गारोहण भएका सिंहको नाममा रहेको जग्गा जयकेशले बालसुधार गृहलाई हस्तान्तरण गरेका थिए । उक्त सुधार गृह परिसरमा २०७९ सालमा दानवीर सिंह दम्पत्तिको अर्धकदको शालिक निर्माण गरिएको थियो । बालसुधार गृहमा हाल २ सय २ जना बालकहरू आश्रित छन् ।

उक्त विशेष कार्यक्रममा सरोकारवाला, सुरक्षा अधिकारी, नागरिक समाजका अगुवा र बालबालिकाको सहभागिता रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सिंह परिवारको जग्गादानले बालगृह निर्माण मात्र नभई बालबालिकाको भविष्य निर्माणमा पनि योगदान पुगेको उल्लेख गरे ।

जग्गादाता सिंहले स्वर्गीय माता र पिताको मानव सेवा भावको प्रसंग कोट्याउँदै दानको सदुपयोग भएकोमा खुसी प्रकट गरेका थिए । सरकारले बालसुधार गृहको प्रभावकारी सञ्चालनका लागि गर्नुपर्ने दायित्व बिर्सन नहुने कुरामा सिंहको जोड छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २५ गते बुधबार