नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक पुग्यो



रूकुम पश्चिम ।

जिल्लामा नयाँ शैक्षिकसत्र २०८३ का लागि पाठ्यपुस्तक आइपुगेको छ । जनक शिक्षा सामग्री केन्द्रबाट अनुमतिप्राप्त व्यवसायीहरूले जिल्लाका विभिन्न विद्यालयहरूका लागि किताब खरिद गरेर ल्याएका हुन् । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रूकुम पश्चिमका अध्यक्ष कर्णबहादुर ओलीले नयाँ शैक्षिकसत्रका लागि बेलैमा किताब खरिद गरेर ल्याइएको जानकारी दिए ।

उनका अनुसार जिल्लाका ६ वटा पालिकामा फरक फरक सप्लासर्यले किताब ढुवानीको जिम्मा पाएका छन् । जनक शिक्षा सामग्री केन्द्रले पुस्तक ढुवानीका लागि फरक फरक दिनमा सप्लायर्सको सम्पर्क मिति तोकेर जिल्लामा किताब पठाएको हो । ओलीले मुसीकोट नगरपालिकामा पाँच वटा पुस्तक व्यवसायीले ढुवानीको जिम्मा पाएअनुसार नै किताब ल्याइसकेको बताए ।

अन्य पालिकामा पनि आइसकेको उनको भनाइ छ । चौरजहारी नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाजंग ओलीका अनुसार केही विद्यालयमै किताब पुगिसकेको छ । ‘शीतल मावि लगायतका विद्यालयमै पुस्तक पुगिसकेको छ । अन्य विद्यालयका लागि पनि व्यवसायीले ढुवानी गरेर ल्याएका छन्,’ उनले भने, ‘अब केही दिनमै बाँकी सबै विद्यालयमा किताब पुगिसक्नेछन् ।’

उनका अनुसार विभिन्न सामुदायिक विद्यालयहरूसँगको सम्झौताबमोजिम जिम्मेवारी पाएका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक ढुवानी गरेका हुन् । पुस्तकको शुल्क सम्बन्धित पालिकाले विद्यालयलाई र विद्यालयले सम्बन्धित सप्लायर्सलाई उपलब्ध गराउने गर्दछन् । सामुदायिक विद्यालयका कक्षा १, २ र ४ का किताब निजी छापाखाना र अन्य कक्षाका किताब जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ भएका हुन् । सम्बन्धित छापाखानाले किताब सप्लायर्सलाई ढुवानी खर्च व्यवस्थापन गर्ने व्यवस्था रहेको छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका जिल्ला सचिव शिशिर गौतमले सबै विद्यालयमा किताब पुगिसकेपछि मात्र व्यवसायीले छापाखानाबाट ढुवानी रकम पाउने बताए । विद्यालयले उपलब्ध गराएको विद्यार्थी सङ्ख्याको आधारमा सम्बन्धित सप्लासर्यले विद्यालयमै पुस्तक उपलब्ध गराउने गरेको उनले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख ताराप्रकाश पुनका अनुसार विगतका वर्षहरूमा किताबको अभाव हुने गरेको गुनासो सुनिए तापनि यस वर्ष भने माग बमोजिमका किताब उपलब्ध भइसकेका छन् । ‘गत वर्ष केही विषयका पुस्तक अभाव रहेका थिए । यस वर्ष भने सबै विषयका पुस्तकहरू आइपुगेका छन्,’ उनले भने, ‘रूकुम पश्चिममा २८४ वटा सामुदायिक विद्यालय रहेका छन् । सरकारले यी विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क किताब उपलब्ध गराउने गर्दछ ।’

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार