नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब काठमाडौँदेखि धनगढी जानका लागि अधिकतम भाडा प्रतिव्यक्ति २३ हजार ५९ रूपैयाँ पुगेको छ । मंगलबार नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय २५ रूपैयाँबाट बढाएर २ सय ५१ रूपैयाँ पु¥याएको थियो ।
काठमाडौँ ।
मध्यपूर्वमा बढेको तनावको असर नेपालसम्म आइपुगेको छ । पेट्रोल, डिजेल, ग्यासको मूल्यवृद्धि भएका कारण त्यसको मार खेपिरहेका उपभोक्ताले अब हवाई भाडा वृद्धिको भार पनि खेप्नु पर्ने भएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएको भन्दै वायुसेवा सञ्चालक संघले बुधबार आन्तरिकतर्फका सबै रुटको भाडा दर करिब दोब्बरले वृद्धि गर्ने निर्णय गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब काठमाडौँदेखि धनगढी जानका लागि अधिकतम भाडा प्रतिव्यक्ति २३ हजार ५९ रूपैयाँ पुगेको छ । मंगलबार नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय २५ रूपैयाँबाट बढाएर २ सय ५१ रूपैयाँ पु¥याएको थियो ।
इन्धन लागत हवाईसेवा सञ्चालनको मुख्य खर्च भएकाले भाडादर समायोजन गरिएको संघले जनाएको छ । करिब एक महिनादेखि अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि इन्धनको भाउ बढेको छ । खासगरी इरानको हर्मुज टापुबाट निकासी हुने इन्धन सहजै रूपमा अन्यत्र जान पाएको छैन ।
खाडीका संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरेयिबा, इरानलगायतका मुलुकमा उत्पादन हुने इन्धन हर्मुज नाका हुँदै एशियाली मुलुकहरूमा जाने गथ्र्यो । तर अमेरिका र इजरायलसँगको टक्करपछि इरानले हर्मुज नाकामा अवरोध सिर्जना गरेको छ । सोही अवरोधका कारण यतिखेर इन्धनको अभाव भइरहेको हो ।
आवश्यकता पूर्तिका लागि रसिया लगायतका अन्य मुलुकबाट इन्धनको आयात गर्नुपर्दा उपभोक्तालाई मार परिरहेको छ । नेपालमा मध्यपूर्वको तनावपछि पेट्रोल तथा डिजेजलमा प्रतिलिटर ३० रूपैयाँभन्दा बढी वृद्धि भइसकेको छ । विश्लेषकहरू मध्यपूर्वको तनाव चाँडै अन्त्य नभए आर्थिक अवस्था अझै बिग्रेर जाने बताउँछन् ।
त्यति मात्र नभई खाडीको द्वन्द्व बढ्दै गए त्यहाँ काम गर्न गएका करिब १९ लाख नेपाली जोखिममा पर्ने र जसका कारण नेपाल भित्रिने रेमिटेन्स प्रभावित हुने खतरा छ । अहिले वर्षमा नेपाल भित्रिने करिब १३ खर्ब रेमिटेन्समध्ये आधाजसो खाडी मुलुकबाट आउने गर्छ । पछिल्ला केही वर्षयता नेपालको आम्दानीको मुख्य स्रोतको रूपमा रेमिटेन्स रहँदै आएको छ ।
मध्यपूर्व तनावको असर अमेरिकामा समेत पर्न थालेपछि त्यहाँका सर्वसाधारण सडकमा निस्केर राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गर्न थालेका छन् । हवाई भाडा वृद्धिका कारण सबभन्दा बढी काठमाडौँ–धनगढी रुट प्रभावित भएको छ । यसअघि काठमाडौँ–धनगढी रुटमा इन्धन शुल्क ५ हजार ६ सय १० रूपैयाँ थियो भने अहिले ११ हजार ९० रूपैयाँ पुगेको छ ।
यससँगै न्यूनतम भाडा १४ हजार ४ सय ५७ रूपैयाँ कायम गरिएको छ । सोही भाडामा कम्पनी शुल्क, १३ प्रतिशत भ्याट र विमानस्थल शुल्क समेत जोडिन्छ । यसैगरी सिमरा–धनगढी रुटको अधिकतम भाडा २६ हजार ३ सय ६ रूपैयाँ पुगेको छ, जसमा इन्धन शुल्क मात्र १२ हजार ७ सय ३५ रूपैयाँ रहेको छ ।
उद्योगले उत्पादन घटाए
मध्यपूर्वका खाडी क्षेत्रको तनावले नेपाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव देखिन थालेको छ । कच्चापदार्थको आपूर्ति अवरुद्ध हुनुका साथै मूल्य अत्यधिक बढेपछि विभिन्न उद्योगहरूले उत्पादन कटौती गर्न थालेका छन् । यो अवस्था लामो समयसम्म कायम रहे औद्योगिक उत्पादन, विदेशी मुद्रा सञ्चिति, रोजगारी, बजार मूल्य र समग्र आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरिएको छ ।
विशेषगरी प्लास्टिक, प्याकेजिङ, पेय पदार्थ, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु, औषधि, पाइप लगायत करिब ९ प्रकारका उद्योगले आवश्यक कच्चापदार्थ नपाएको बताएका छन् । सिमेन्ट तथा फलाम–डन्डी उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरत आचार्यका अनुसार पेट्रोलियमसँग सम्बन्धित कच्चापदार्थको आपूर्ति घट्दा उद्योग सञ्चालनमा कठिनाइ देखिएको छ ।
नेपालले खाडी मुलुकबाट प्रत्यक्ष आयात नगरे पनि भारतमार्फत आउने अधिकांश सामग्री सोही क्षेत्रसँग जोडिएकाले प्रभाव नेपालसम्म आइपुगेको उनले बताए । भारतीय बन्दरगाहहरूमा देखिएको अवरोधले समस्या अझ जटिल बनेको छ । विशाखापट्टनम र कोलकाता बन्दरगाहमा हजारौँ कन्टेनर थन्किएका छन् भने रेलमार्गमा चाप बढ्दा सामान नेपाल आउन ढिलाइ भइरहेको छ । यसले उद्योगहरूको उत्पादन योजना प्रभावित भएको उद्योगीहरूको भनाइ छ ।
आचार्यका अनुसार अवस्था केही समयमै सुधार नभए उद्योग बन्द गर्नुपर्ने जोखिम बढ्दै गएको छ । उत्पादन घट्दा बैंकको किस्ता र ब्याज तिर्न समेत उद्योगीहरूलाई कठिनाइ भइरहेको छ । अमेरिकी डलरको भाउ बढ्दा कच्चापदार्थ आयात लागत थप महँगो भएको उद्योगीहरूले बताएका छन् । करिब दुई करोड डलरभन्दा बढीका सामान आयातका लागि एलसी खुलिसके पनि सामान नआउँदा उद्योगहरूको नगद प्रवाह प्रभावित भएको छ ।
खाडी तनावको सबैभन्दा बढी असर प्लास्टिक उद्योगमा देखिएको छ । पोलिमर ग्रानुल्स अभावले उत्पादन ठप्पजस्तै भएको छ । प्याकेजिङ उद्योगमा बोरा, बट्टा र खोलको अभाव देखिँदा अन्य उद्योग पनि प्रभावित भएका छन् । पेय पदार्थ उद्योगमा बोतल र जार अभावले उत्पादन घटेको छ भने खाद्यान्न उद्योग प्याकेजिङ नपाउँदा समस्यामा परेको छ ।
औषधि उद्योगले एपिआई र इथानोल अभावका कारण उत्पादन घटाउनुपरेको जनाएको छ । पाइप उद्योगमा पनि पोलिमर अभावले उत्पादन सीमित भएको छ । सिमेन्ट उद्योगमा बोरा र फर्नेस आयलको कमी देखिएको छ भने फलाम–डन्डी उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेको छैन । खाडी तनावको प्रभाव घरायसी उपभोगमा पनि देखिन थालेको छ ।
एलपी ग्यास सहज रूपमा उपलब्ध नभएपछि उपभोक्ताले हप्तौँ कुर्नुपर्ने अवस्था आएको छ । नेपाल आयल निगमले ग्यास आयात बढेको दाबी गरे पनि बजारमा अभाव कायमै छ । माग र आपूर्ति मिलाउन आधा सिलिन्डर ग्यास मात्र वितरण गरिँदै आएको छ । ग्यास अभावकै कारण केही रेस्टुरेन्टले मेनु घटाएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल १० डलर बढ्दा बजार मूल्य ०.४ प्रतिशत विन्दुले बढ्ने आकलन गरिएको छ । हाल तेलको मूल्य ४० डलरभन्दा बढी बढिसकेको छ, जसले मुद्रास्फीति करिब १ प्रतिशत विन्दुले बढ्न सक्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्टका अनुसार तेल संकटले विश्व अर्थतन्त्रलाई संकुचनतर्फ धकेल्न सक्छ ।
अन्तर्राष्ट्रिय बजारमा तेल महँगिँदा भारतमा महँगी बढ्छ र त्यसको असर नेपालमा तत्काल देखिने भएकाले आर्थिक वृद्धि कमजोर हुने जोखिम रहेको उनले बताए । महँगो तेल आयात गर्न डलर बढी खर्च गर्नुपर्दा विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने र यसले अर्थतन्त्रमा असन्तुलन बढाउने सम्भावना पनि उनले औँल्याए ।









प्रतिक्रिया दिनुहोस्