इनिशा हत्या प्रकरणः अनुसन्धान लम्बिँदा आफन्त चिन्तित



नन्दराम जैशी । सुर्खेत ।

इनिशा विकको फागुन २३ गते हत्या भएको घटनाको अनुसन्धान अझै टुंगोमा पुग्न सकेको छैन् । घटना भएको लामो समय बितिसक्दा पनि दोषी पहिचान र पक्राउमा ढिलाइ हुँदा पीडित परिवार तथा आफन्तमा चिन्ता र छटपटी बढ्दै गएको छ । जिल्लाको गुर्भाकोट–६ स्थायी घर भई वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा कक्षा ११ मा अध्ययनरत थिइन् ।

इनिशाकी आमा तिला विकले छोरीको हत्यामा संलग्न व्यक्तिलाई यथाशीघ्र सार्वजनिक गरी कानुनी कारबाही गर्न माग गर्दै आएकी छन् । उनले भनिन्, ‘न्याय कहिले पाउँछौँ भन्नेमा हामी अन्योल छौँ । अनुसन्धान किन ढिलो भइरहेको हो ? भन्ने पनि स्पष्ट जानकारी पाउन सकेका छैनौँ ।’ इनिशाको न्यायका लागि देश तथा विदेशमा विरोध प्रर्दशन भइरहेको छ भने आफन्तजनले समेत घटनाको निष्पक्ष र छिटो अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् ।

विद्यार्थी समुदायले पनि इनिशाका लागि न्यायको माग गर्दै विभिन्न समयमा आवाज उठाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनाको अनुसन्धान जारी रहेको र विभिन्न कोणबाट छानबिन भइरहेको छ । प्रहरीले केही व्यक्तिसँग सोधपुछ गरिएको र आवश्यक प्रमाण संकलनको काम भइरहेको बताएको छ । तर, अहिलेसम्म ठोस नतिजा सार्वजनिक नभएकाले पीडित परिवारमा निराशा बढ्दो छ ।

मानवअधिकारकर्मी तथा नागरिक समाजले पनि संवेदनशील घटनामा ढिलाइ हुनु नहुने भन्दै शीघ्र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । इनिशाको घटनाको अनुसन्धान नसकिएपछि घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन । इनिशाका आफन्त र परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै न्यायको माग गरिरहँदा दुई सातादेखि इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालको शवगृहमै छ ।

घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान भइरहेको र केही दिनमै टुंगोमा पुगिने बताएको छ । घटनाको तथ्य पत्ता लगाउन मृतक र आरोपितको मोबाइलसहित भजाइनल स्वाब परीक्षण भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ ।

ती रिपोर्टहरू आएपछि घटनाको वास्तविक तथ्य खुल्नेछ । हत्या प्रकरणमा जोडिएका अभियुक्तहरूको बयान सकिए पनि उनीहरूले घटनामा इन्कारी बयान दिएका छन् । पक्राउ परेकामध्ये एक नाबालकले दुई वर्षदेखि इनिशासँग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन् । उनले आफूहरूबीच शारीरिक सम्बन्ध भएको र रक्तस्राव भएपछि इनिशा बेहोस भएको बताएको ती अधिकृतले बताए ।

इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको अभियुक्तले बताएका छन् । आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएको बयानअनुसार सिसिटिभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षे नाबालक किशोर मात्रै गएको देखिएको छ । ती युवाहरूले दिएको बयान सत्य हो या झूटो भन्ने कुरा पोलिग्राफबाट थाहा हुनेछ ।

घटनालाई वैज्ञानिक तवरले अनुसन्धान गर्न नेपालगन्जबाट पोलिग्राफको टोली पनि खटिएको छ । उक्त पोलिग्राफले सही वा झूटो बोलेको कुरा पत्ता लगाउने प्रहरीले जनाएको छ । घटनाको विभिन्न पाटोबाट अनुसन्धान सकिएको र फरेन्सिक रिपोर्टहरू आउन बाँकी रहेकाले निष्कर्षमा पुग्न नसकिएको प्रहरीले जनाएको छ ।

सुर्खेतको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् । इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान गरिरहेको छ ।

मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको देखिएको सुर्खेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले घटनामा संलग्न रहेका प्रेमी भनिएका १६ वर्षीय एक किशोरसहित चारजनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताए । फागुन २३ गते इनिशा सहिदपार्कस्थित सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार