किशोरी बलात्कारपछि हत्या आरोपमा चार जना पक्राउ



वीरेन्द्रनगर ।

सुर्खेतमा एक १६ वर्षीया किशोरीलाई बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु नाबालक रहेको भन्दै प्रहरीले उनीहरूको नाम खुलाएको छैन । पक्राउ पर्नेमा सबै १८ वर्षमुनिका व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।

उनका अनुसार घटना फागुन २३ गते बिहानको हो । वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनमा शनिबार बिहान ९ बजेतिर मर्निङ वाक गर्न गएकाहरूले किशोरी बेहोस अवस्थामा फेला परेको भन्दै प्रहरीलाई फोन गरेका थिए । डिएसपी बुढ्थापाका अनुसार पछि सोधपुछका क्रममा गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विक भएको पत्ता लागेकोे थियो ।

त्यसपछि उपचारका लागि प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । सोही दिन प्रहरीले घटनास्थल नजिकैबाट १६ वर्षीय एक बालकलाई पक्राउ गरेको थियो । पीडित पक्षले फागुन २४ गते नै उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

मृतक बालिका वीरेन्द्रनगरको एक निजी स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन् । प्रहरीलाई आफन्तहरूले भने अनुसार इनिसा २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर उनी पढ्ने विद्यालय र इनिसा बेहोस अवस्थामा भेटिएको स्थान निकै टाढा छ । स्कुलभन्दा उत्तरतर्फ करिब १० किलोमिटर दूरीमा पर्ने उक्त जंगलमा इनिसा रक्ताम्य अवस्थामा भेटिएकी थिइन् ।

ट्युसन पढ्न भन्दै बिहान ६ बजेतिरै घरबाट निस्किएकी ती किशोरी जंगलसम्म पुग्नुका पछाडि ती १६ वर्षीया युवकसँग प्रेम सम्बन्ध भएर हो कि भन्ने आशंका रहेको प्रहरीले जनाएको छ । तर त्यो विषयमा थप अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार घर परिवारले ट्युसन पढ्न गएको भने पनि पक्राउ परेका १६ वर्षीय किशोरले मर्निङ वाक गर्न गएको बयान दिएका छन् ।

मर्निङ वाक जाने बहानामा उनीहरुले जबरजस्ती करणी गरी हत्या गरेको आशंका प्रहरीले गरेको छ । तर घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले घटनाबारे सबै जानकारी दिइएको छैन । अनुसन्धानपछि सबै थाह हुने प्रहरीले जनाएको छ । मृतक किशोरीका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै दोषीहरूलाई कारबाहीको माग गरेका छन् । शवको पोष्टमार्टम प्रदेश अस्पताल सुर्खेतमा भए पनि सद्गत भने गरिएको छैन ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार