३६ उम्मेदवारले कटाउन सकेनन् सय मत



सुर्खेत ।

कर्णाली प्रदेशमा यो पटक विशेषगरी चार पक्षीय चुनावी प्रतिस्पर्धा भयो । पुराना तीन राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच प्रतिस्पर्धा भएको हो । यसअघिका चुनावमा पुराना तीन दलहरूबीच हुने प्रतिस्पर्धामा यो पटक रास्वपा सामेल मात्र भएन, १२ मध्ये एउटा सिट नै जित्न सफल बन्यो ।

सुर्खेत, दैलेख र सल्यानमा त दोस्रो नम्बरमा लागि प्रतिस्पर्धामा आयो । यहाँ विगतमा तेस्रो, चौथो नम्बरमा राप्रपा, नेमकिपाजस्ता दलहरू मत ल्याउँथे, तर यो पटक उक्त स्थानमा रास्वपा आएको छ । चार पक्षीय प्रतिस्पर्धाका क्रममा कतिपय उम्मेदवार यस्ता पनि देखिए, जसले १०० मत पनि ल्याउन सकेनन् ।

प्रदेशभर प्रतिस्पर्धामा आएका १३८ उम्मेदवारमध्ये ३६ जना उम्मेदवारले १०० मत ल्याउन सकेका छैनन् । जाजरकोटमा ११ जना उम्मेदवार रहेकामा पाँच जनाले १०० मत पनि ल्याउन सकेनन् । उज्यालो नेपालका कर्णबहादुर नेपालीले ६७, राष्ट्रिय जनमोर्चाका रत्न खड्काले ५५, प्रलोपाका मेघबहादुर ओलीले ३८, नेमकिपाका धनीराम जैसीले २५ र मंगोल नेशनल अर्गनाइजेशनका कमान बुढाले जम्मा ९ मत पाए ।

सल्यानमा १४ जना उम्मेदवार रहेकोमा १०० मत कटाउन नसक्ने उम्मेदवार संख्या चार जना रहेको छ । नेमकिपाका उम्मेदवारले यहाँ ६६ मत मात्रै पाएका छन् । नौ जना उम्मेदवार रहेको डोल्पामा तीन जनाले मात्रै १०० मत कटाएका छन् । १०० मत नकटाउनेमा राप्रपाका हरि डाँगी (९२), स्वतन्त्र ओमेन्द्र ओली (५४), प्रलोपाका विकास बुढा (२१), उज्यालो नेपालका दिलबहादुर विष्ट (११) र मितेरी पार्टीका जुनु भण्डारी (२) रहेका छन् ।

मुगुमा सात जनामध्ये प्रलोपाका ऐटन कुमाल मल्लले २२ मत मात्रै पाए भने जुम्लामा विप्लव माओवादीका बिर्ख शाहीले ७१, जनता पार्टीका रनीलविक्रम शाहीले ४३, स्वतन्त्र उम्मेदवार भक्त रावलले १४ मत मात्रै पाएका छन् । कालीकोटमा दुई जना स्वतन्त्र उम्मेदवारले पनि १०० मत ल्याउन सकेनन् ।

दैलेख १ मा जनमोर्चाका नरबहादुर सिंहले ९१, लोगबहादुर बोगटी (२९) र आम जनताकी मेना श्रेष्ठले १६ मत पाएकी छिन् । यस्तै, दैलेख २ मा पनि तीन जनाले ५० मत पनि कटाउन सकेनन् । यस्तै, सुर्खेत १ मा दुई जना, सुर्खेत २ मा सात जना उम्मेदवारले १०० मत कटाएका छैनन् । यता रुकुम पश्चिममा चार जनाले १०० मत नकटाएको प्रदेश निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार