श्यामलाल पोखरेल । बुटवल ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्नो ७३औँ स्थापना दिवस मनाएको छ । विशेष कार्यक्रमको आयोजना गरी आइतबार संघको कार्यालयमै स्थापना दिवस मनाइएको हो । उक्त कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले नीजि क्षेत्र र सरकार एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने बताए ।
सरकारले नीजि क्षेत्रलाई ललिपप देखाएर समस्याको समाधानप्रति खासै चासो नदेखाएको आरोप लगाए । सरकारले बजेटमा स्रोतको सुनिश्चित नगरिकन काम गर्दा अगाडि सारिएका आयोजनाले गति लिन नसकेको बताउँदै नीजि क्षेत्र कमजोर भए देशको अर्थतन्त्र बलियो हुन नसक्ने उपाध्यक्ष श्रेष्ठले बताए ।
निर्वाचनको बेला दलका नेता उम्मेदवारहरूले आर्थिक एजेण्डालाई प्राथमिकता दिए पनि ति एजेण्डाहरूलाई स्थापित गर्ने आधार नदेखिएको तर्क गरे । संघका अध्यक्ष हरिप्रसाद अर्यालले संघले यस क्षेत्रमा शैक्षिक विकासका लागि सहयोग गर्दै आएको बताए । उनले स्थापना दिवसको शुभकामना दिँदै बुटवल उद्योग वाणिज्य संघले उद्योग र औद्योगिक क्षेत्रका साथै सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील रहेको बताए ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नीजि क्षेत्र र स्थानीय सरकारबीच सहकार्य गर्नुपर्नेमा जोड दिँदै उपमहानगरपालिका नीजि क्षेत्रसँगको सहकार्य र समन्वय गरेर अगाडि बढेको बताए । बुटवललाई चलायमान बनाउनु पर्ने र त्यसका लागि बुटवल उपमहानगरपालिका अभिभावक भए पनि नीजि क्षेत्रको साथ सहयोग आवश्यक पर्ने बताए ।
कार्यक्रममा संघका पूर्वकार्यसमिति सदस्यसमेत रहेका काँग्रेसको तर्फबाट उम्मेद्वार चुन्नप्रसाद पौडेलले बुटवलको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउँदै उद्योगी व्यवसायीको प्रतिनिधित्व जनाउन आफूलाई मतदान गर्न आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष एजाज आलम, संघका सम्मानित पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, पत्रकार यमलाल भुसाल, कान्ति माविका प्रअ गोविन्द ज्ञवालीले पनि शुभकामना दिएका थिए ।
स्थापना दिवसको अवसरमा संघले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गरेको छ । संघले बुटवलको कान्ति माध्यमिक विद्यालय, तिलोत्तमा माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालयमा १ लाख १ हजार रूपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापनासमेत गरेको छ। संघमा गठित औषधि तथा सर्जिकल वस्तुगत समितिको समन्वयमा मावन सेवा आश्रमलाई आवश्यक औषधि प्रदान गरेको छ भने स्थापना दिवसकै अवसरमा संघको कार्यालय परिसरमा श्रीखण्ड चन्दनको वृक्षारोपण गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्