युरोप भ्रमणः यात्रा अनुभूति र सिकाइ



दिनेश सिग्देल

२०८२ साउन ६ गते अर्थात् २२ जुलाई २०२५ को बिहान । झिसमिसेमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाम्रो ५१ सदस्यीय यात्रा टोली जम्मा भइसकेको थियो । देशका विभिन्न स्थानबाट आउनुभएका संस्थागत विद्यालयका सञ्चालकहरूको यो जम्बो टोली युरोपका तीन अग्रणी मुलुक डेनमार्क, स्विडेन र फिनल्याण्डको भ्रमणमा गएर त्यहाँको शिक्षा प्रणालीलाई नजिकैबाट बुझ्ने, अनुभव आदानप्रदान गर्ने र शिक्षाका नवीन अभ्यासहरू सिक्ने उद्देश्य राखिएको थियो । यात्रा भने पछि नयाँ ठाउँ हेर्ने र आनन्द लिने कुरा त स्वाभाविक हुने नै भइहाल्यो ।
टर्किस एअरको बोइङमा बोर्डिङ गर्दा सबैको अनुहारमा उत्सुकता थियो ।

कतिपयको युरोप यात्रा यो नै पहिलो थियो । पहिल्यै भ्रमण गर्नेहरूका लागि पनि यस्तो ठूलोे शैक्षिक टोलीको रूपमा यात्रा गर्नु रोमाञ्चकारी नै थियो । भ्रमण समूहमा प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्ण अधिकारी र उहाँकी धर्मपत्नी सुनिता विष्ट, प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्षा डी.के. ढुङ्गाना, केन्द्रीय उपाध्यक्ष सङ्गिता सिलवाल र नैनसिंह खत्री, महासचिव आरबि कटुवाललगायत देशभरीबाट ४९ जना थियौँ । बाँकेबाट बिएल भारती र शरदचन्द्र रावल र म गरी तीन जना थियौँ । साथै यात्राको चाँजोपाँजो मिलाउने ग्लोबल सर्भिस टाभल्सका कार्यकारी प्रमुख सञ्जिव भट्टराई र ग्लोबल हेल्प फाउन्डेसनका बोर्ड सदस्य प्रकाश खड्का पनि हाम्रो टोलीमै हुनुहुन्थ्यो ।

विमान उडेर उचाइ लिँदै गर्दा काठमाडौँका बडेमानका घरहरू सलाईका बट्टाजस्तै साना साना हुँदै गए, वरपरका हरिया पहाडहरू ठूलोे क्यानभासमा राम्रो चित्रकारले बनाएको सुन्दर चित्र जस्तो देखिँदै गए । बादल छिचोलेर जहाज माथिमाथि हानियो । झण्डै प्लेनको आधा यात्री हाम्रै टोली थियो । केही हल्लाखल्ला, हाँसो मजाक हुँदै गयो । जहाजमा ब्रेकफास्ट खाएपछि भने धेरैजना निदाउन थाल्नु भो । र झण्डै आठ घण्टाको उडान तय गरेपछि टर्कीको ऐतिहासिक शहर इस्तानबुलको एअरपोर्टमा अवतरण गरियो ।

इस्तानबुल आफैँ पनि एसिया र युरोपको ढोका हो । इस्तानबुलको विशाल विमानस्थलको भव्यताले आफैँले त्यसको संकेत गरेको थियो । करिब तीन घण्टाको ट्रान्जिट समयमा केहीले कफी लिएर आराम गरे, केहीले ड्यूटी–फ्री पसल घुमे र केहीले भने आफ्नो मोबाइलमा परिवारलाई सुरक्षित अवतरणको खबर पठाए । यात्राको क्रममा राष्ट्रिय उपाध्यक्ष संगिता सिलवाल र आरबि कटुवाल सरको सेन्स अफ ह्युमरको आनन्द अविष्मरणीय रह्यो । यात्रामा समूह ठूलोे भएपछि मान्छेले आफ्नो अनुकूलताको सानो सानो समूह बनाउँदो रहेछ । त्यो व्यक्तिगत रुची, भौगोलिक निकटता आदिका आधारमा बन्न जाने रहेछन् ।

स्वभाविक रूपमा सुर्खेतका नैनसिंह खत्री र बाँकेका हामी तीन जनाको अलग ग्याङ्ग यात्रा अवधीभरि नै बन्यो । यसै पनि बिएल भारती सर होटलमा बस्दा मेरो रुम पार्टनर हुनुभएकाले हामीसँगै हुन त स्वभाविकै थियो । पूर्वबाट पश्चिमको यात्रा गर्नुको एउटा अनौठो के हुँदो रहेछ भने २२ तारिखमा काठमाडौँबाट हिँडेको हामी त्यति लामो हवाइ यात्रा, ट्रान्जिट र त्यसपछि फेरी झण्डै साढे तीन घण्टाको उडान पछि पनि त्यही तारिखको साँझ डेनमार्कको राजधानी कोपेनहेगेन पुगी त हालियो । विमानको सिसाबाट तल देखिएको शहर बेलुकीको प्रकाश र व्यवस्थित सडकहरूले पहिलो झलकमा नै हामीलाई प्रभावित गरिसकेको थियो । विमानस्थलमा झर्दा हल्का चिसो हावा, सफा वातावरण र मुस्कुराउँदै स्वागत गर्ने गाइडको अनुहारले यो यात्रा विशेष हुने संकेत दिइसकेको थियो ।

कोपेनहेगेन (डेनमार्क)

लामो यात्रा र विमानस्थलको औपचारिकतापछि हामी पहिलो दिन साँझ होटलमा पुग्यौँ । त्यति लामो यात्रापछि पनि सबैको अनुहारमा यात्राको थकानभन्दा बढी उत्सुकता झल्किरहेको थियो । नयाँ ठाउँमा जाँदाको एउटा समस्या खानेकुरामा हुँदो रहेछ । हाम्रो दालभात खाने संस्कृति र युरोपियनहरूको खानाको संस्कृति पूरै भिन्न नै छ । हुन त आजकाल पिज्जा, बर्गर, पास्ता जस्ता युरोपका खानाहरू हाम्रो संस्कृतिमा पनि प्रभाव राख्दै गइरहेका छन् । तर पनि त्यसको बनाउने तरिका र स्वाद भने नेपालीहरूको मसलेदार खाने जिब्रोअनुसार बनाइन्छ । त्यसैले यात्रा व्यवस्थापकले हाम्रो पहिलो रातको डिनर भारतीय रेस्टुरेन्टमा गर्ने गरि तय गर्नु भएको रहेछ । सामुहिक आदानप्रदान, परिहास र खानपिनको रमाइलोले वातावरण तत्कालै आत्मीय बनायो ।

दोस्रो दिन बिहानै होटलमा बफे ब्रेकफास्टपछि हामी सेमिनार स्थलतर्फ लाग्यौँ । यहाँको सेमिनार दुई सत्रमा विभाजित थियो । पहिलो सत्रमा डेनमार्कको शिक्षा प्रणालीबारे विस्तृत जानकारी पाइयो । ७ देखि १६ वर्षसम्मको निःशुल्क र अनिवार्य शिक्षा, विद्यार्थीकेन्द्रित सिकाइ र प्रोजेक्ट–आधारित पठनपाठनको महत्व जस्ता विषयहरू उल्लेख्य रहेछन् । वक्ताहरूले समान अवसर र कम औपचारिक परीक्षणको अवधारणालाई विशेष जोड दिए । दोस्रो सत्रमा नवप्रविधिको प्रयोग जस्तै डिजिटल कक्षा, इन्टरएक्टिभ टुलहरू र अनलाइन स्रोतहरूले सिकाइलाई कसरी रोचक र जीवन्त बनाएको छ भन्ने कुरा देखाइयो । शिक्षालाई यति सहज, रमाइलो र व्यवहारिक बनाउन सकिन्छ भने हामीले पनि आफ्ना विद्यालयमा यसको केही अंश लागु गर्नैपर्छ भन्ने छाप हामी धेरैको मनमा पनि त्यसले छोड्यो ।

तेस्रो दिन शहरको दृष्यावलोकन गर्ने कार्यक्रम थियो । बिहानै हामी नुहाउनतर्फ हिँड्यौँ । १७औँ शताब्दीको यो ऐतिहासिक क्यानाल वरिपरिको दृश्य रंगीन पोस्टकार्डजस्तो लाग्थ्यो । पुराना काठका जहाजहरू, किनारमा बाक्लो लाइनमा सजिएका पहेँला, रातो, नीलो र हरिया घरहरू, अनि बाहिरको टेबलमा कफीको चुस्कीको आनन्द लिइरहेका पर्यटकहरू । सबै दृश्यहरू जीवित चित्रजस्ता थिए । क्यानालको छेउछाउका साना क्याफे र रेस्टुरेन्टमा पर्यटक र स्थानीयको भिडले भरिभराउ थियो । समुन्द्र किनारको जीवनलाई नजिकबाट अनुभव गर्न नपाएका हामीहरूलाई यो एउटा रोमाञ्चक अवसर थियो ।

त्यसपछि हामी रोसेनवर्ग क्यासल पुग्यौँ । १७औँ शताब्दीमा बनेको यो शाही महलले डेनमार्कको इतिहास र कला दुवैको गहिरो स्वाद दिन्थ्यो । बाहिरको किङ्गस् गार्डेनको हरियो घाँसे मैदान र थरिथरिका फूलले मिथकीय स्वर्गजस्तो अनुभूति दिन्थ्यो । त्यसको आनन्दले हिँडाइको थकान पनि हराएको जस्तो हुन्थ्यो । तस्बिर खिच्ने, टिकटक बनाउने त आम प्रवृत्ति जस्तै छ । मान्छेको मनलाई धेरै बाँधेर राख्न कसरी सकिन्थ्यो र ?
कोपेनहेगन बसाइमा डेनमार्कका लागि नेपाली राजदूत सुमिना तुलाधारसँग नेपाली राजदुतावासमा भेटघाट गर्ने संयोग पनि जु¥यो । उहाँ कोपेनहेगनमा भएको सेमिनारमा प्रमुख अतिथि भएर कार्यक्रममा पनि आउनुभएको थियो । विषयलाई गम्भीर रूपमा लिने आत्मिय स्वभावको हुनुहुँदो रहेछ । उहाँसँग पनि युरोपको शिक्षा प्रणाली र अन्य विषयमा कुराकानी भए ।

स्टकहोम (स्विडेन)

२५ जुलाईको बिहान, हामीले डेनमार्कको कोपेनहेगेनलाई बिदाइ दिँदै अर्को गन्तव्य स्टकहोमतर्फको बस यात्रा सुरु ग¥यौँ । गफगाफ, ठट्यौली र कतिपय सन्दर्भमा गम्भीर बहसहरूकै बीच त्यो दूरी हामीले पार ग¥यौँ । बसको झ्यालबाट देखिने हरिया जंगल र चम्किला तालहरूले नै हामीलाई यो देशको प्राकृतिक सौन्दर्यको झलक दिन थालेका थिए । प्राकृतिक स्थानहरूलाई उनीहरूले कति व्यवस्थित बनाएका रहेछन् भन्ने दृष्टान्त ति दृष्यले प्रष्ट देखाउँथे । विशाल हिमशिखर, पहाड, जंगल र अनेकन प्राकृतिक सम्पदा भएर पनि हामीले त्यसलाई व्यवस्थित गर्न सकेका छैनौँ । त्यो सम्झिँदा कहिलेकाहीँ ग्लानि जस्तो पनि हुने रहेछ ।

स्टकहोम पुग्नेबित्तिकै हाम्रो पहिलो गन्तव्य थियो स्टकहोमको पुरानो शहर गाम्ला स्तान । १३औँ शताब्दीमा बनेको यो ऐतिहासिक क्षेत्रमा ढुंगाका साँघुरा गल्ली, सुन्तला रंगका पुराना भवन र साना कला पसलहरूले अनौठो वातावरण सिर्जना गरेका थिए । यहाँको सडकमा हिँड्दा हरेक मोडमा कुनै न कुनै कथा लुकेको जस्तो लाग्थ्यो । कतै प्राचीन घर, कतै पुरानो घण्टाघर अनि कतै आकर्षक शैलीझ्याल र ढोकाहरू । वास्तवमा आर्किटेक्चरको हिसाबले ऐतिहासिक शहर रहेछ ।

हामीले स्टकहोम सिटी हल अवलोकन ग¥यौँ । यो भवन केवल प्रशासनिक केन्द्र मात्र होइन, वास्तुकलाको अद्भूत नमुना पनि हो । यहीँ प्रत्येक वर्ष नोबेल पुरस्कारको भोजसमारोह आयोजना हुन्छ भन्ने कुरा सुन्दा हामी सबै उत्साहित भयौँ । नजिकैको रिदारहोल्मेन चर्च शहरको सबैभन्दा पुरानो चर्चमध्ये एक रहेछ । र त्यो चर्च शाही समाधिस्थल पनि भएको हुनाले त्यसको सम्बन्ध स्विडेनको राजकीय इतिहाससँग पनि रहेछ ।
हाम्रो यात्रा केवल स्मारक र शहर अवलोकनमा मात्र सीमित थिएन । त्यहाँका स्थानीय विद्यालयको अवलोकन पनि हाम्रो कार्यक्रमको मुख्य अंश थियो । स्टकहोमको एक आधुनिक विद्यालयमा पुगेपछि हामीले पठनपाठनको नयाँ दृष्टिकोण प्रत्यक्ष अनुभव ग¥यौँ ।

विद्यार्थी र शिक्षकहरूसँगको त्यो अन्तरक्रिया हाम्रा लागि त्यहाँको शिक्षण अभ्यास बुझ्नलाई एउटा कडी बन्यो । विद्यार्थी केन्द्रित पढाइ, उनीहरूको रुची अनुसारका परियोजनामा संलग्न गराउने परिपाटी र प्रविधिको प्रयोग जस्ता विषयहरू हामीले त्यहाँ देख्न बुझ्न पायौँ ।
स्विडेनमा संवैधानिक राजतन्त्र भएको देश हो । तर यहाँका राजा आफ्नो औपचारिक कामका लागि मात्र दरबार जाने र अन्य समयमा गाउँकै आफ्नै निवासमा बस्ने रहेछन् । हामी पुगेका युरोपका सबै शहरमा मानिसहरूले मोटरबाइकको सट्टा साइकल प्रयोग भएको देखियो । के कुरालाई समाजले महत्व दिने भन्ने संस्कृतिको निर्माण आम मानिसहरूको सोचबाटै निर्माण हुने रहेछ भन्ने मलाई लाग्यो ।

हेलसिन्की (फिनल्यान्ड)

२७ जुलाईको साँझ, हामीले स्टकहोमको व्यस्त दिनपछि बाल्टिक सागरको चिसो हावामा क्रूजको यात्रा सुरु ग¥यौँ । विशाल जहाजको डेकमा उभिँदा, टाढासम्म फैलिएको समुद्री सतहमा अस्ताउँदो सूर्यको सुनौलो रङ पानीमा खेलिरहेको थियो । साथीहरूले समूहमा गीत गाउँदै, फोटो खिच्दै र कहिले तातो कफीको कप हातमा समात्दै झण्डै १७ घण्टाको त्यो सामुन्द्रिक यात्रा अझै रमाइलो बनाउनुभयो । मेरा लागि पनि त्यस प्रकारको यात्रा पहिलो थियो ।

२८ जुलाईको बिहान करिब १०ः३० बजे हामी हेलसिन्कीको तटमा पुग्यौँ । चिटिक्कको सानो एउटा टापुमा बसेको त्यो शहर हामीलाई स्वागत गर्न आतुर देखिन्थ्यो । यथार्थमा हामी नै त्यो शहरलाई समाहित हुन हतारिएका थियौँ । मान्छेलाई आफूले जे गर्न मन लाग्छ, अरुमा पनि त्यही भाव देख्दोरहेछ सायद । खानपान र आराम गरेपछि हामी सोमेनलिना सि फोर्टेस गयौँ । १८औँ शताब्दीमा बनेको यो समुद्री किल्ला युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत रहेछ । किल्लाको प्राचीन पत्थरका पर्खाल, समुद्री दृश्य र इतिहासका पाना समेटिएका संग्रहालयहरूले हामीलाई फिनल्यान्डको सांस्कृतिक र सैन्य महत्वबारे गहिरो जानकारी दियो ।

त्यसपछि हामी मार्केट स्क्वाएर पुग्यौँ । शहरको मुटुमा रहेको यो बजार रंगीन छाताहरू, हस्तकलाका सामान, ताजा माछा र बेरी बेच्ने स्टलहरूले भरिएको थियो । स्थानीय विक्रेताको मुस्कान र पर्यटकहरूको भिडबीच हामीले केही स्थानीय स्वादहरू चाख्यौँ र कतिपय साथीहरूले आफ्ना विद्यालयका लागि साना स्मरणचिन्ह पनि किन्नु भयो । २९ जुलाईको बिहान फेरी एउटा सेमिनारमा सहभागी हुनुथियो । त्यसमा हामीले शिक्षा नेतृत्व र व्यवस्थापनमा अन्तर्राष्ट्रिय दृष्टिकोणबारे प्रस्तुति सुन्यौँ । वक्ताहरूले विद्यालयको दीर्घकालीन रणनीति, विद्यार्थीको समग्र विकास र व्यवस्थापनमा पारदर्शिताबारे महत्वपूर्ण विचार प्रस्तुत गरे ।

यसले हामीलाई पनि आफ्नो संस्थाको दीर्घकालीन योजनाबारे पुनर्विचार गर्न प्रेरित ग¥यो । बेलुकी हामीले हेलसिन्कीको एक प्रतिष्ठित विद्यालयको अवलोकन भ्रमण पनि ग¥यौँ । फिनल्याण्डमा रहँदा हामीलाई नैनसिंह खत्री सरको सालो बाबु सन्तोष पौडेलले खाना खाने निम्तो पनि दिनुभयो । खत्री सरसँग बिएल सर, शरदचन्द्र सर र म सन्तोषजीसँगै खाना खायौँ । त्यसबेला त्यहाँ नेपाली विद्यार्थी र अप्रवासन गरेर आएका नेपालीहरू बारे पनि जानकारी पाइयो । ३० जुलाई युरोप भ्रमणको अन्तिम दिन थियो । तीनवटा देशका शहरहरूको भ्रमण, सेमिनार र नयाँ ठाउँ र संस्कृतिको आनन्द मात्र थिएन थुप्रै व्यवहारिक सिकाइ र अनुभवले हामीलाई फरक अनुभव भइरहेको थियो ।

हेलसिन्कीबाट फेरि इस्तानबुल हुँदै हामी ३१ जुलाईको बिहान काठमाडौँ फर्कियौँ । यो दश दिनको यात्रा मेरो लागि केवल विदेशी शहर घुम्ने संयोग मात्र होइन, जीवन र पेशामा नयाँ दृष्टिकोण निर्माण गर्न प्रेरित गर्ने अवसर पनि बन्यो । पढिएका र सुनिएका कुराभन्दा आफैँले प्रत्यक्ष अनुभव गरेका कुराले मान्छेको चिन्तन र कार्यशैली बदल्नलाई कति धेरै प्रभाव पार्दोरहेछ भन्ने अनुभव पनि मलाई भयो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार